‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म ! « Khabarhub

समीक्षा

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !


२८ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा पाउँछ भगाएकी बेहुली अर्कै पो हुन्छे !

आफ्नी प्रेमिका भनेर भगाएको त्यो युवती कसको छोरी हुन् ? कोसँग विवाह गर्दै थिइन् ? यो कुरा ती युवालाई थाहा हुँदैन ।

आफ्नो प्रेम टुटेको तनावमा रहेको युवा अब झन चिन्तामा पर्छ । उसले अन्जानमै अर्काको बेहुली भगाएको हुन्छ ।

धन्न ती युवती जो कसैले भगाए पनि खुसी हुन्छिन् । कारण उनलाई प्रहरीसँग विवाह गर्नु थिएन ।

एक त मन्त्रीको छोरी । अर्काेतर्फ चार जनाको इन्काउन्टर गरिसकेको प्रहरी अफिसरकी बेहुली । यी सत्ताधारी र बर्दीधारी इगोमा त्यो युवा पर्छ । किनकि उसले मण्डपबाट मन्त्रीकी छोरी र प्रहरीकी बेहुली भगाएको छ ।

यही इगोको कथा हो– बेहुली । यो इगोको लडाइँबीच विगतका कही अप्रत्यासित सन्दर्भहरू खुलासा हुन्छन्, जसलाई फिल्मी भाषामा सस्पेन्स भनिन्छ ।

बेहुलीको भूमिकामा नायिका दिव्या रायमाझी छिन् । भगाउने युवा पारस बम कुल व्वाइ हुन् । प्रहरी अफिसरको भूमिकामा सुशान्त कार्की छन् । मन्त्रीको भूमिकामा घनश्याम जोशी छन् । अर्का पात्र ‘गेडी डन’को भूमिकामा सन्तोष बानियाँ छन् ।

निर्देशक कमजोर भएको फिल्म !

यो फिल्ममा निर्देशक सशान कँडेल फेल भएका छन् । उनले लभस्टोरी फिल्मलाई रोचक बनाउन क्राइम, फेमेली ड्रामा र कमेडीको नमिठो खिचडी पकाएका छन् । फिल्ममा समस्या यहीँ छ ।

अर्को तिर ‘कथा त खतरै हो’ भन्ने भ्रम दर्शकमा फैल्याउने नियतले उनले बेतुकको सस्पेन्स जोडेका छन् । अब निर्देशक के कारणले फेल भए त्यो चर्चा गरौं ।

यो फिल्म रोमान्टिक क्राइम थ्रिलर, रोमान्टिक कमेडी थ्रिलर, फार्स कमेडी, फ्यामेली ड्रामा वा लभस्टोरी मध्ये कुन हो ? निर्देशक नै स्पष्ट छैनन् । फिल्म दुई घण्टाको बनाउन उनले लजिक भन्ने चिज नै बिर्सिएका छन् । अनावश्यक प्लट थुपारेका छन् ।

फाइट सिनमा सिचुएस्नल कमेडी छ । यो किन आवश्यक पर्‍यो ? फाइट सिनले फिल्मलाई क्रिन्ज बनाएको छ । निर्देशकको यो निर्णय कथाका लागि न्यायोचित छैन । यस कारण उनी फेल हुन् ।

निर्देशक धेरै ठाउँमा चिप्लिएका छन् । काण्ड पुग्ने गरी निर्देशक चिप्लिएको भने क्लाइमेक्स हो । क्लाइमेक्समा सस्पेन्स राख्ने प्रयास गरिएको छ । क्लाइमेक्स कुल ब्वाइले मण्डपबाट दिव्यालाई उठाएको दृश्यसँग जोडिन्छ । तर, लजिक खोज्ने हो भने त्यहाँ भेटिन्न ।

अघिल्लो घटनासँग कलाइमेक्सको सस्पेन्स निर्देशकले गरेको दाबीसँग दर्शक सहमत हुन सक्दैनन् । लजिक नै पुग्दैन । जबकि सस्पेन्सलाई पुष्टि लजिक नै गर्ने हो । जति कडा लजिक, उतै नै अब्बल फिल्म ।

लजिक नभएका सस्पेन्सहरू कथालाई कमजोर पार्न कारक हुन् । निर्देशक कँडेल यहाँ काण्ड पुग्ने गरी बजारिएका छन् । सस्पेन्सले नै कथा अगाडि बढ्ने फिल्मको क्लाइमेक्सको सस्पेन्स नै ‘फुस्सा’ र लजिकल नहुनु नै निर्देशकलाई फेल बनाउन काफी तत्व हो ।

कथालाई जीवन्त बनाउन कलाकारको वास्तविक जीवनसँग जोडिएको छ । जस्तो दिव्याको नाम फिल्ममा पनि दिव्या नै राखिएको छ । उनलाई दिलिप रायमाझीसँग बारम्बार जोडिन्छ । तर, फाइट र प्रहरीबाट नायक–नायिका उम्किएको दृश्य साह्रै अव्यवाहारिक छन्, तर्कसंगत छैनन् । दुवै दृश्य साह्रै फितलो लाग्ने छन् ।

६ फिटको खाल्डोमा फसेका नायकलाई नायिकाले लहरो दिनुपर्छ ? त्यति लहरा त खल्डा भित्रसम्मै थिए त । दिव्याले लहरो दिएर कुल व्वाइलाई खाल्डोबाट निकालेको दृश्य हाँसो लाग्दो छ । क्यामेरा एङ्गल यसरी सेट गरिएको छ कि– मानौँ कुल ब्वाइ विशाल खाल्डोमा छिरेका थिए । खोइ लजिक ?

कन्ट्युनिटीमा पनि समस्या छ । ब्याक टप हालिसकेको गाडी एकैछिनमा ओपन रुफमै फर्किन्छ । यति त ध्यान दिनु नि !
अरु ?

फिल्मको डाइलग कमजोर छन् । सबैभन्दा शक्तिशाली सुनिने भनेर ट्रेलरमा पनि राखिएको डाइलग छ– ‘अन्डरवयेर लगाएर, अन्डरवाटर लुकेका, अन्डरवर्ल्डका ठूला ठूला मान्छेहरूलाई अन्डर अरेस्ट गरेको हिस्ट्री छ मेरो ।’ यो डाइलग एसपीको भूमिकामा रहेका कार्कीले बोल्छन् ।

मेकरले हाइलाइट गरेको डाइलग त यस्तो छ । फेरि उक्त डाइलग पढ्नू त, अर्थ के लाग्छ ? अरुको हालत के होला ?
पदम तामाङलाई हिरोको छेउमा हिड्ने र सिचुएस्नल कमेडी गर्ने भूमिका दिइएको छ । कमेडीमा उनलाई दिइएको संवाद कच्चा छन् । कलाकारलाई ‘पाद्न लगाएर’ दर्शक हँसाउने सोचमा फिल्म बनाइएको छ ।

एसपीलाई कठोर देखाउन हरेक समय रिसले चुर बनाइएको छ । उसले जो अगाडि आएपनि झापड लगाइहाल्छ । एसपीले साधरण मान्छेलाई झापड लगाइहाल्नुको कारण त केही चाहिन्छ होला नि ? खोइ लजिक ?

गेडी डनको औरा भनायक देखाउन खोजिएको छ । अनि संवाद भने कमसल छ । सँगै उसको ग्याङमा ‘जोकर केटा’हरू छन् । यसले झन् गेडीलाई कमजोर देखाउँछ । उसको पर्दामा देखिएको हैसियत र औरा मिल्दैन । खोइ लजिक ?

एसपी कठोर छन् । अनि अन्य प्रहरीहरूको हातल बिजोग छ । बर्दी पनि भ्याङ्ग्लो । सहायक भूमिकामा रहेका प्रहरी शरीर–ज्यूडाल लाग्छ– यिनीहरूले प्रहरीको बर्दी मागेरै लगाएका हुन् ।

सहायक कलाकार कास्टिङमा समस्या छ । हुन त शीर्ष कलाकारमा कुलब्वाइ किन ? भनेर प्रश्न उठाउन सकिन्छ । उनको अभिनय निकै कमजोर छ । धेरै सुधार गर्नुपर्छ ।

दिव्याको अभिनय ठीक–ठाक छ । कलाकारहरूको कर्कस लाग्ने डाइलगबाजी निर्देशकले नियन्त्रण गर्न सक्नुपर्थ्यो ।

सम्पादन चुस्त नहुँदा फ्यामेली ड्रामाको प्लटले दर्शकलाई ‘फिल्म कहिले सकिन्छ’ भन्ने गराउँछ । दोस्रो हाफमा दर्शकको बेचैनी थप बढ्छ । दुवै हाफमा कमजोर सम्पादन देखिन्छ ।

क्यामेरा वर्कमा पनि समस्या छ । त्यसैले धेरै सिनहरू टेलिसिरियलका जस्ता छन् । क्यामेरा वर्क नपुग्दा फाइट सिनहरू अझ कमजोर बनेका छन् ।

फिल्मका गीतहरू दर्शकले मन पराएका छन् । तथापि संगीतकार अर्जुन पोखरेल अब ‘प्रेम गीतवाला गीत’ ह्याङबाट उत्रन आवश्यक छ । उनका हरेका गीतले ‘म यस्तो गीत गाउँछु’को भाइव दिन्छ ।

लजिक नभएका सस्पेन्स र कमजोर निर्देशकीय क्षमताले फिल्म कमसल बनेको छ । यसलाई क्रिन्ज कमेडी र कर्कश संवादले थप मलजल गरेको छ । सहायक कलाकारलाई निर्देशकले ध्यान नदिँदा दर्शकको आँखा बिझाउँछ ।

कमजोर क्यामेरका वर्कले फिल्म बढी टेलिसिरियल लाग्छ । फिल्म सुधारका पक्ष धेरै छन् । वास्तविकता नजिक देखाइएको फिल्मको संवाद अति नै फिल्मी छन् । निर्देशक हरेक कुरामा चुकेका छन् । स्मरण रहोस् फिल्मको पाइलट निर्देशक हुन् ।

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार  ७ : ४४ बजे

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको

एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौं – सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९