काठमाडौं– चितवन र मकवानपुरका साना तथा मझौला उद्योगहरूको अवस्थाबारे नेपाल राष्ट्र बैंकले गरेको विशेष अध्ययनले ५२.७ प्रतिशत उद्योगको व्यावसायिक कार्यसम्पादन खस्कँदै गएको देखाएको छ ।
नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेका लघु, साना तथा मझौला उद्यमहरू चितवन र मकवानपुर जिल्लामा चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको पाइएको छ । नेपाल राष्ट्र बैंक, वीरगञ्ज कार्यालयले गरेको एक विशेष अध्ययन अनुसार सर्वेक्षण गरिएका ३२१ उद्योगमध्ये ५२.७ प्रतिशतको कारोबारमा गिरावट आएको छ ।
अध्ययनका अनुसार २९ प्रतिशत उद्योगको कारोबारमा उच्च गिरावट र २३.७ प्रतिशतमा सामान्य गिरावट देखिएको छ २५, ३५ । बाँकीमध्ये २०.३ प्रतिशतको अवस्था स्थिर छ भने केबल २७.१ प्रतिशत उद्योगले मात्र आफ्नो कारोबार वृद्धि भएको बताएका छन् ।
क्षमताको आधा मात्र उपयोग, नाफा न्यून
अध्ययनले यी उद्योगहरूले आफ्नो कुल क्षमताको औसत ५०.७ प्रतिशत मात्र उपयोग गरिरहेको देखाएको छ । उद्योगहरूको औसत लगानी प्रतिफल ११.७ प्रतिशत रहेको छ । तथ्यांक अनुसार यी उद्योगहरूको वार्षिक औसत बिक्री ४० लाख रुपैयाँ, चुक्ता पुँजी २५ लाख रुपैयाँ र कुल स्थिर पुँजी ५० लाख रुपैयाँ रहेको पाइएको छ ।
अध्ययनले सरकार र केन्द्रीय बैंकका प्रोत्साहन कार्यक्रमहरूप्रति उद्योगीहरूको ठूलो असन्तुष्टि उजागर गरेको छ । ८२.१ प्रतिशत उद्योगीले सरकारी तथा केन्द्रीय बैंकका सहयोग कार्यक्रमहरू ‘खराब’ वा ‘अति खराब’ रहेको बताएका छन् ।
उद्योगीहरूले सो क्षेत्रमा केही मुख्य समस्या रहेको औँल्याएका छन् । जसमा औद्योगिक क्षेत्रमा रहेको श्रम वातावरणप्रति ५५.५ प्रतिशत उद्योगी असन्तुष्ट छन् । ४४.६ प्रतिशतले कर्जा सुविधालाई कमजोर मानेका छन्, जसमा ४३.३ प्रतिशतले चर्को ब्याजदरलाई मुख्य समस्या बताएका छन् ।
त्यस्तै, ४३।१ प्रतिशत उद्योगी वर्तमान कर प्रणाली र करको दरप्रति असन्तुष्ट देखिएका छन् भने ३२.१ प्रतिशत उद्योगीले प्रशासनिक प्रक्रिया झन्झटिलो रहेको गुनासो गरेका छन् ।
अस्थिरता मुख्य बाधक, महिला नेतृत्व सफल
आर्थिक र राजनीतिक अस्थिरतालाई उद्योगको कार्यसम्पादन घटाउने मुख्य नकारात्मक कारकका रूपमा पहिचान गरिएको छ । तर, अध्ययनले एउटा सकारात्मक पक्ष पनि देखाएको छ । पुरुषको तुलनामा महिला व्यवस्थापक भएका उद्योगहरूको कार्यसम्पादन उच्च पाइएको छ । त्यस्तै, सडक र सञ्चार जस्ता पूर्वाधारको अवस्थालाई ५१.९ प्रतिशत उद्योगीले ’राम्रो’ मानेका छन् ।
राष्ट्र बैंकको अध्ययनले उद्योगहरूको अवस्था सुधार गर्न केही महत्वपूर्ण सुझाव दिएको छ ।
– डिजिटलीकरण र प्रक्रियागत सरलीकरणः प्रशासनिक र कर प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्ने ।
– आर्थिक र राजनीतिक स्थिरताः लगानीकर्ताको मनोबल बढाउन नीतिगत स्थिरता कायम गर्नुपर्ने ।
– सहुलियतपूर्ण कर्जाः नवीन वित्तीय सेवा र सहुलियतपूर्ण ब्याजदरमार्फत कर्जाको पहुँच बढाउनुपर्ने ।
– क्षमता विकासः प्रविधि अपनाउन र कर्मचारीको सीप वृद्धि गर्न विशेष तालिमका कार्यक्रम ल्याउनुपर्ने ।













प्रतिक्रिया