नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा « Khabarhub

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

कुरा नमिले अगाडि बढ्ने विशेष महाधिवेशन पक्षको तयारी



काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा भने महाराजगञ्जस्थित निवासबाट नेतृत्व नछोड्ने सन्देश दिँदै बसेका छन् । आफ्नो पक्षबाट वार्तामा सहभागी नेताहरूलाई नेतृत्वबारे कुनै निर्णय नगर्न दबाब दिँदै देउवाले महाराजगन्जमा अड्डी कसेका छन् ।

निर्णायक भनिएको दोस्रो चरणको वार्ता चलिरहेको बेला देउवाले विशेष महाधिवेशन पक्षसँग नझुक्ने अडान लिएका छन् । नेतृत्वबारे कुरा नमिल्दा दोस्रो चरणको छलफल केही समयलाई स्थगित भएको छ । छलफलमा सहभागी संस्थापन पक्षीय एक नेताका अनुसार अन्य कुराहरूमा सहमति नजिक पुगे पनि देउवाले नेतृत्व छाड्ने विषयमा भने कुरा मिलेको छैन ।

‘हाम्रो तहबाट नेतृत्व परिवर्तनको विषयमा कुरा मिलेन । कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले थप छलफल गर्नु भनेका छौँ, केही समयलाई छलफल रोकिएको छ,’ छलफलमा सहभागी संस्थापन पक्षका ती नेताले भने, ‘सभापतिज्यूले तत्कालै कार्यवाहक सभापतिलाई नेतृत्व सुम्पिन्छु नभनेकाले कुरा मिलेको छैन । अन्य कुरामा हामी सहमति नजिक छौँ ।’

संस्थापन पक्ष र इतर पक्ष नेताहरूले सोमबार बेलुकादेखि नै वार्ताबाट समस्या टुङ्ग्याउने प्रयत्न गरेका थिए । मंगलबार वार्तामा संस्थापन पक्षबाट नेता बालकृष्ण खाण र रमेश लेखक सहभागी थिए । इतरका डा. शेखर कोइराला समूहबाट जीवन परियार र डा. मिनेन्द्र रिजाल वार्तामा सहभागी छन्।

विशेष महाधिवेशन पक्षबाट नेताहरू गुरुराज घिमिरे, देवराज चालिसे, मधु आचार्य र प्रदीप पौडेल खटिएका छन् ।

कोइराला समूहका एक नेताका अनुसार अहिले पनि कार्यवाहक सभापति खड्का र महामन्त्रीद्वय थापा र शर्मालाई वार्ता गर्न नेताहरूले भनेका छन् । स्रोतका अनुसार उनीहरू तीन जनाबीच वार्ताको तयारी भइरहेको छ । तर, वार्तामा विश्वप्रकाश उपस्थित हुन तयार हुँदा गगनबारे अझै अलमल छ।

महाराजगञ्जमा देउवा

वार्तामा नेताहरू खटाएर देउवा भने परिस्थितिको मूल्याङ्कन महाराजगञ्ज निवासबाटै गरिरहेका छन् । उनीनिकट नेता श्याम घिमिरेका अनुसार देउवा बिहानैदेखि महाराजगञ्ज निवासमा बसिरहेका छन्।

‘पार्टी सभापतिज्यू आफ्नै निवासबाट कुरा मिलाउने प्रयत्न गरिरहनु भएको छ, तर मिलेको छैन । उहाँ बाहिर निस्कनुभएको छैन’ घिमिरेले अगाडि भने, ‘आज रातभरमा वार्ता मिलाउने प्रयत्न गरिरहेका छौं । तर सभापतिलाई महामन्त्रीद्वयले भेट्ने कार्यसूची छैन। कार्यवाहक सभापतिले भेट्नु हुन्छ ।’

यता केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएर कार्यवाहक सभापति खड्का पार्टी कार्यालय सानेपामा पर्खिरहेका छन् । सानेपाको बैठकलाई महामन्त्रीद्वय शर्मा र थापाले बहिष्कार गरेका छन् ।

‘पूर्ण दाइलाई नेतृत्व सुम्पिए कुरा मिल्छ भनेर संस्थापन पक्षका नेताहरू सभापति देउवालाई भनिरहनु भएको छु, एक नेताले भने, ‘पूर्णबहादुर खड्कालाई नेतृत्व सुम्पेर जान आग्रह गरेका छन्। खड्कालाई जिम्मेवारी दिएर महाधिवेशन प्रतिनिधिलाई देउवाले सम्बोधन गर्न पनि संस्थापन पक्षका नेताहरूले सुझाएका छन् ।’

यता विशेष महाधिवेशन प्रतिनिधिको तर्फबाट प्रदीप पौडेल र गुरुराज घिमिरेले तत्काल नेतृत्व परिवर्तन गर्न देउवा लचक भएमा कुरा मिल्ने वार्ता समितिलाई जानकारी गराएका थिए । ‘नेतृत्वको विषयमा कुरा नमिल्दा अरू अड्किएका छन्। हामीले सभापतिलाई पूरा नेतृत्व पूर्ण दाइलाई दिएर महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्नुहोस् भनेका छौँ’, बैठकमा सहभागी शेखर पक्षका एक नेताले भने, ुमिलाउने प्रयत्न जारी छु तर दुवै पक्ष लचिलो नभएमा विभाजनतिर जाने जोखिम छ ।’

देउवा लगायतका शीर्ष नेताले आगामी प्रतिनिधिसभा निर्वाचनमा पनि नउठ्ने सङ्कल्पसहित राजीनामा गर्नुपर्ने अर्को अडान गगन र विश्वले राखेका छन् । उनीहरूले विशेष महाधिवेशनको स्वामित्व लिन र त्यहाँका निर्णय कार्यान्वयन गर्नेबारे पार्टीमा लिखित सहमति हुनुपर्ने माग राखिरहेका छन् ।

मंगलबार नै रातिसम्मम सहमति नजुटेमा विशेष महाधिवेशन प्रतिनिधिहरूले निर्वाचनको प्रक्रिया अघि बढाएर नयाँ नेतृत्व चुन्नेछन्। यता विशेष महाधिवेशन पक्षलाई अवैधानिक भनिरहेको संस्थापन पक्षले यदि नेतृत्व चुनेमा कारबाहीको तयारी गरिरहेका छन् ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ७ : ४९ बजे

आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाउन नहुने इरानको धारणा

तेहरान – इरानले शनिबार अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)को एक

चार हजार दुई सय बढी वडामा रास्वपाको अधिवेशन सम्पन्न

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चार हजार दुई सय

३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी जिल्ला अधिवेशनअन्तर्गत आज

आजका समाचार : परराष्ट्रमन्त्री दिल्लीमा व्यस्त, रास्वपाको जिल्ला अधिवेशन सुरु र मध्यपूर्वमा तनाव जारी

नेपाल-भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँ : परराष्ट्रमन्त्री खनालपरराष्ट्रमन्त्री

पोखरा बसपार्क आसपासका घर टहरा खाली गरिँदै (तस्बिरहरू) 

काठमाडौं- पोखरा महानगरपालिकाले सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा