काठमाडौं- बंगलादेशको चुनावमा जेन-जी नेतृत्व पत्तासाप भएको छ । सन् २०२४ को हिंसात्मक विद्यार्थी आन्दोलनको जगमा जन्मिएको ‘नेशनल सिटीजन पार्टी’ ले लज्जास्पद हार व्यहोरेको हो ।
बहुमत ल्याउने अपेक्षा गरिएको पार्टीले अहिलेसम्म ६ स्थानमा मात्रै जीत हासिल गरेको छ । २०० सीट जित्ने दाबी गरे पनि मतपरिणाम सोचेभन्दा फरक आएको छ ।
डेढ वर्षअघि भूतपूर्व सेनाका सन्तानलाई सरकारी जागिरमा आरक्षण दिने नीति विरूद्धको जेन–जीहरुले सरकारविरुद्ध आन्दोलन चर्काएका थिए ।
करिब एक महिना चलेको आन्दोलनमा १४ सय जनाको ज्यान गयो । त्यसैगरी २५ हजार बढी घाइते भए ।अन्ततः सरकार प्रमुख शेख हसिनालाई देशै छोडेर भाग्ने बनायो । हाल उनी भारतमा निर्वासित छिन् ।
हसिनाको १५ वर्षे शासनसत्ता ढाल्दै जन्मिएको पार्टीले अबको शासन हातमा लिने अपेक्षा गरिएको थियो । तर विध्वंश मच्चाउँदै राजनीतिमा स्थापित हुन आएका युवालाई मतदाताले भने खबरदारी गरेका छन् । जेन–जी दललाई जनताले पत्याउन सकेनन् ।
बंगलादेशको सिको गर्दै नेपालमा पनि भदौ २३ र २४ गते जेन–जी आन्दोलन भयो । २१ जना विद्यार्थीसहित ७६ जनाले ज्यान गुमाए । यसका साथै, केपी शर्मा ओली नेतृत्वको सरकार पनि ढल्यो । अन्तरिम सरकारले फागुन २१ गते चुनाव गर्दैछ । बंगलादेशमा प्रदर्शनकारीहरुले छुट्टै दल स्थापना गरेर चुनाव लडेका थिए ।
तर, नेपालमा भने जेन–जी आन्दोलनपछिको परिवर्तनको अपनत्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लिएको छ । जेन–जी आन्दोलनको आह्नवान गर्ने युवाहरुले उम्मेदवारी दिएका छैनन् । तर रास्वपाले जेन–जीको एजेन्डा आफूहरुले पूरा गर्न सक्ने दाबी गर्दै चुनावी मैदानमा पुगेको छ ।
बंगलादेशमा बिहीबार भएको आमनिर्वाचनमा बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले स्पष्ट बहुमत हासिल गरेको छ । जेन–जी विद्रोहपछि भएको पहिलो चुनावमै १७ वर्षपछि पुनः बीएनपी पार्टीले बहुमत ल्याएको हो ।
ढाका ट्रिब्युनका अनुसार ३०० सिटमध्ये बीएनपीले २१६ सिटमा जित हासिल गरिसकेको छ । जुन सरकार बनाउन आवश्यक बहुमत हो ।
पूर्वराष्ट्रपति जियाउर रहमान र पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित भएको छ । पूर्वप्रधानमन्त्री खालिदाको गत डिसेम्बर ३० मा ८० वर्षको उमेरमा निधन भएको थियो ।
रहमानले चुनाव लडेका दुवै क्षेत्रमा जित हासिल गरेका छन् । उनी गत २५ डिसेम्बरमा मात्रै १७ वर्ष लामो निर्वासनबाट स्वदेश फर्किएका थिए । बंगलादेशमा साढे ३ दशकभन्दा लामो समयदेखि खालिदा र हसिनाले शासन गरेका छन् ।
३ सय सिटमा प्रत्यक्ष निर्वाचन हुने बंगलादेशमा बहुमतका लागि १५१ सिट ल्याउनुपर्छ । बीएनपीले २९९ सिटमा भएको निर्वाचनमा २१६ सिट जितेको छ ।
बंगलादेशमा करिब २० वर्षपछि पहिलोपटक बीएनपीको नेतृत्वमा सरकार बन्ने भएको छ । सन् २००१ को निर्वाचनमा जित हासिल गरेर खालिदा जियाले २००६ सम्म सरकार चलाएयता बंगलादेशमा बीएनपीले चुनाव जितेको थिएन ।
त्यसैगरी, भारतमा निर्वासित जीवत बिताइरहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाले यो निर्वाचन पूर्ण रुपमा फर्जी र असंवैधानिक भएको बताएकी छन् । उनले मोहम्मद युनुसले गैरकानुनी र असंवैधानिक रुपमा सत्तामा कब्जा गरेको र त्यहीअनुसार चुनाव गराएको आरोप लगाएकी छिन् ।
हसिनाको दललाई निर्वाचन लड्न प्रतिबन्धसमेतलगाइएको थियो । निर्वाचन आयोगले २०२४ मा भएको विद्यार्थी आन्दोलनमा भएको हिंसामा ‘अवामी लिग’ को प्रमुख भूमिका भएको भन्दै निर्वाचन लड्न प्रतिबन्ध लगाएको थियो ।
२००८ देखि २०२४ सम्म लगातार अवामी लिगको सरकार चलेको थियो र शेख हसिना सत्तामा रहिन् । तर, हसिनाको पार्टीलाई प्रतिबन्ध लगाएर भएको निर्वाचनमा बीएनपी विजयी भएको हो ।

३५ वर्षपछि पुरुष प्रधानमन्त्री
बंगलादेशले ३५ वर्षपछि पुरुष प्रधानमन्त्री पाउने भएको छ । तर सत्तापरिवारभन्दा बाहिर भने जाने छैन । सन् १९८८ मा काजी जफर अहमद प्रधानमन्त्री बनेदेखि हालसम्म त्यहाँ पुरुष प्रधानमन्त्री बन्ने अवसर पाएका थिएनन् ।
सन् १९९१ देखि २०२४ सम्म बंगलादेशको राजनीतिमा पूर्वप्रधानमन्त्रीहरू खालिदा जिया र शेख हसिनापालैपालो प्रधानमन्त्री बने । विद्यार्थी आन्दोलनको बलमा हसिनाको सत्ता ढलेपछि मोहम्मद युनुसले सरकारको नेतृत्व गरे । तर, उनले प्रधानमन्त्री नभएर ‘प्रमुख सल्लाहकार’का रूपमा सरकारको नेतृत्व गरेका हुन् ।
सामाजिक सञ्जालमा ७५ लाख फलोअर्स भएकी तास्निम जारा समेत पराजित भएपछि नेपालमा पनि चुनावको नतिजा बंगलादेशको जस्तै हुने अनुमान गरिएको छ । ३१ वर्षीया जारा पेसाले चिकित्सक हुन् ।
आन्दोलनबाट उदाएकी युवा नेतृले भारी मतले चुनाव जित्ने अपेक्षा थियो । तर विपक्षी बंगलादेश नेसनालिस्ट पार्टीका हाबिबुर रसिदले १ लाख ११ हजार २१२ मत प्राप्त गर्दा उनले ४४ हजार ६८४ मत प्राप्त गरेकी छिन् ।
बंगलादेशको चुनावी परिणामले नेपालमा पनि प्रभाव पार्ने देखिन्छ । नेपालका शीर्ष नेतादेखि अन्तर्राष्ट्रिय सुपरस्टार खेलाडीको भन्दा धेरै फलोअर्स भएका बालेन्द्र साह भावी प्रधानमन्त्रीका रुपमा झापा–५ बाट उम्मेदवारी दिएका छन् ।
काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर उनी संघीय निर्वाचनमा होमिएका छन् । महानगरपालिकाको कार्यसम्पादनमा सबै भन्दा कम अंक प्राप्त गरेका उनी फलोअर्सकै भरोसा प्रधानमन्त्री बन्ने दौडमा छन् ।
पुराना राजनीतिक दलहरुका नेताहरु चरम भ्रष्टाचारमा लिप्त हुदाँ देशले गतिशिलता प्राप्त नगरेको भन्दै जेन–जी आन्दोलन भएको थियो ।
देशमा शिक्षा, स्वास्थ्य र रोजगारको अभावमा नागरिकले विदेशिनु परेको पीडाले आन्दोलनको उदय भएको थियो । उक्त आन्दोलनलाई हाइज्याक गरेर आफ्नो हातमा लिएको रास्वपा यसपटक बहुमत ल्याएर पुराना पार्टी र पुराना नेता बढार्ने दृढ योजनामा छ ।
त्यसैले रास्वपाले हरेक निर्वाचन क्षेत्रमा सामाजिक सञ्जालमा फलोअर्स बढी भएका उम्मेदवार उठाएको छ । कलाकार, पत्रकार, सामाजिक अभियन्ता लगायतले उम्मेदवारी दिएका छन् ।
तर बंगलादेशको चुनावी परिणामले नेपालमा पनि त्यस्तै पपरिणाम आउने बताइएको छ । फलोअर्सले होइन, भोटले मात्रै चुनाव जित्न सकिने भन्दै नागरिकहरुले आंकलन गरिरहेका छन् ।













प्रतिक्रिया