नयाँ वर्षमा घुम्टेमा ‘गुराँस उत्सव’ « Khabarhub

नयाँ वर्षमा घुम्टेमा ‘गुराँस उत्सव’


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– हरेक वसन्तयाममा थरिथरिका गुराँसले ढकमक्क हुन्छ बागलुङको पर्यटकीय लेक घुम्टे। पछिल्लो समय नयाँ वर्ष पारेर ‘गुराँस उत्सव’ गर्न थालिएपछि घुम्टेको थप प्रचार भइरहेको छ । यसपालि पनि नयाँ वर्ष २०८३ का अवसरमा यहाँ १४औँ संस्करणको ‘गुराँस उत्सव’ आयोजना हुँदैछ। 

घुम्टे पर्यटन विकास केन्द्रले २०७० सालदेखि उत्सवसहित पर्यटन प्रवर्द्धनका काम गर्दै आएको छ । केन्द्रका अध्यक्ष झंकबहादुर बस्नेतले नयाँ वर्षको अवसरमा आज र मङ्गलबार घुम्टेमा विविध कार्यक्रम गर्न लागिएको बताए। 

तीन हजार ३२० मिटर उचाइमा रहेको घुम्टे लेकबाट नयाँ वर्षलाई स्वागत गरिने उनको भनाइ छ । ‘गुराँस उत्सव’ले प्रकृतिप्रेमी पर्यटक लोभ्याउने गरेको छ ।  विशेषगरी आन्तरिक पर्यटकले घुम्टेलाई नयाँ वर्षको गन्तव्य बनाउन थालेका छन् । गुराँस फुल्ने याम र नयाँ वर्षको अवसर पारेर यो उत्सव हुँदै आएको छ । 
    
घुम्टेको पर्यटन प्रवर्द्धन र राष्ट्रिय फूल लालीगुराँस संरक्षणको सन्देश दिन उत्सव आयोजना गरिएको अध्यक्ष बस्नेतले बताए। 

‘यस वर्षको अन्तिम सूर्यास्त र नयाँ वर्षको पहिलो सूर्योदय हेर्नका लागि पनि घुम्टे उपयुक्त गन्तव्य हो’, उनले भने, ‘यहाँ फुल्ने रङ्गीचङ्गी गुराँस र प्राकृतिक सौन्दर्यले जोकोहीलाई आकर्षित गर्छ ।’

घुम्टेको घना वन क्षेत्रमा दर्जनौँ प्रजातिका गुराँस फुल्ने गर्छन् । अध्यक्ष बस्नेतका अनुसार बढीजसो पर्यटक नयाँ वर्षको दिन घुम्टे चढ्ने गरेका छन् । उत्सवको पहिलो दिन पुग्ने पर्यटकले पदयात्रा, अवलोकन भ्रमण, ‘क्याम्प फायर’ र सांस्कृतिक साँझको अनुभव बटुल्न पाउनेछन् । नयाँ वर्षको पहिलो दिन मंगलबार सुर्योदय अवलोकन, पूजापाठ, झण्डोत्तलन, मौलिक कला, संस्कृतिको प्रर्दशनीसहित मूल समारोहको आयोजना गरिने भएको छ । 

यसपालि घुम्टेमा विश्वशान्ति यज्ञको समेत आयोजना गरिएको गलकोट नगरपालिका–७ मल्का वडाध्यक्ष राज थापाले बताए। 

‘विश्वशान्तिको कामना गर्दै २७ लाख दीप प्रज्ज्वलनसहित पाठपारायणसहित धार्मिक अनुष्ठान सञ्चालन हुनेछ’, उनले भने, ‘घुम्टेको धुरीमा रहेका प्रसिद्ध सिद्ध र भैरव मन्दिरमा विशेष पूजापाठसमेत हुनेछ ।’

गलकोट पण्डित समाजसँगको सहकार्यमा विश्वशान्ति यज्ञको आयोजना गरिएको हो । 

घुम्टे पर्यटन विकास केन्द्रले घुम्टेलाई ‘गुराँसको पहाड’ र वैशाख १ गतेलाई ‘राष्ट्रिय लालीगुराँस दिवस’ घोषणा गर्न सरकारसँग माग गर्दै आएको छ । विसं २०७० मा घुम्टेको धुरीमै मैत्रीपूर्ण पर्यटन भेला गरी केन्द्रले घुम्टेको पर्यटन प्रवर्द्धन सुरु गरेको थियो । धार्मिक, प्राकृतिक र जैविक हिसाबले महत्त्वपूर्ण मानिने घुम्टेको पर्यटकीय विकासमा ‘गुराँस उत्सव’ले टेवा पुर्याएको वडाध्यक्ष थापाले बताए।  
    
घुमफिरमा जाने पर्यटकसँगै त्यहाँ रहेका सिद्ध र भैरवको मन्दिरमा पूजाआजाको लागि जाने भक्तजन पनि उत्तिकै हुन्छन् । घुम्टेमा पूजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । केन्द्रले घुम्टेलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने, संरक्षित वनक्षेत्र बनाउने र जडीबुटीको अध्ययन केन्द्र बनाउने योजना अघि सारेको जनाएको छ । यो क्षेत्र गण्डकी प्रदेशको पर्यटकीय सूचीमा पनि सूचीकृत रहेको गन्तव्यस्थल हो । 

तीनै तहका सरकारसहित स्थानीयवासीको सहयोग र श्रमदानमा घुम्टेमा मन्दिर पुनर्निर्माण, पदमार्गलगायत पर्यटकीय पूर्वाधार निर्माण गरिएका छन् । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सीमामा पर्ने घुम्टेमा वैशाखे पूर्णिमामा परम्परागत मेला लाग्दै आएको छ । उक्त मेला भर्न हजारौँ पर्यटक तथा भक्तजन घुम्टे चढ्छन् । पौराणिक कालमा पाण्डवहरूले घुम्टेमा तपस्या गरेको जनश्रुती पाइन्छ । 
 

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ३ : १२ बजे

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा

सहकारी बैंक निर्वाचनमा साझा उम्मेदवारलाई सहयोग गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सहकारी बैंक लिमिटेडको आगामी

‘ज्येष्ठ नागरिकका अनुभव अनुसरणले मुलुकमा समृद्धि प्राप्त हुन्छ’

मोरङ – ज्येष्ठ नागरिकहरूसँग रहेको अनुभव र पारम्परिक ज्ञान युवा

कास्की र नवलपुर गण्डकी प्रदेश टी–२० क्रिकेटको फाइनलमा

कास्की – पोखरामा जारी चौथौ संस्करणको गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष

वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।