जम्बो टोलीसहित बेइजिङ उत्रिए ट्रम्प, यी पाँच मुख्य मुद्दामा दुई ‘शक्ति राष्ट्र’बीच हुँदैछ वार्ता « Khabarhub

जम्बो टोलीसहित बेइजिङ उत्रिए ट्रम्प, यी पाँच मुख्य मुद्दामा दुई ‘शक्ति राष्ट्र’बीच हुँदैछ वार्ता


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ८ वर्षपछि बुधबार चीन भ्रमणमा पुगेका छन्। उनको विमान बेइजिङको क्यापिटल इन्टरनेशनल एयरपोर्टमा अवतरण गरेको छ। जहाँ चिनियाँ उपराष्ट्रपति हान जेङ र चिनियाँ कूटनीतिज्ञ शी फेङले उनको स्वागत गरे।

एयर फोर्स वानबाट ओर्लिँदा करिब ३०० बालबालिका नीलो र सेतो रङको युनिफर्ममा एयरपोर्टमा उपस्थित थिए। उनीहरूले अमेरिका र चीनको झण्डा फहराइरहेका थिए। ट्रम्पसँगै उनका छोरा एरिक ट्रम्प र बुहारी लारा ट्रम्प पनि उपस्थित थिए।

यस क्रममा बालबालिकाले मन्डारिन भाषामा ‘वेलकम’ को नारा लगाएका थिए। समाचार अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङ र ट्रम्पबीच बिहीबार र शुक्रबार अलग-अलग चरणमा वार्ता हुनेछ।

दुवै नेताबीच व्यापार, ताइवान, दुर्लभ खनिज पदार्थ , एआई र इरान युद्धजस्ता मुद्दामा छलफल हुने सम्भावना छ। ट्रम्प १५ मेसम्म बेइजिङमा रहनेछन्। यो २०१७ पछिको उनको पहिलो चीन भ्रमण हो।

१७ ठूला व्यवसायी पनि चीनमा

ट्रम्पसँगै इलन मस्क, एप्पलका सीईओ टिम कुक र बोइङका सीईओसहित १७ जना ठूला अमेरिकी व्यवसायी पनि चीन गएका छन्। तर चिप कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङ भने यो भ्रमणमा सहभागी छैनन्।

यो भ्रमणमा ९ लाख करोड रुपैयाँभन्दा बढीको बोइङ विमान डिल हुन सक्ने छ। चीनले ५०० बोइङ ७३७ म्याक्स, १०० बोइङ ७८७ ड्रिमलाइनर र केही ७७७एक्स वाइडबडी विमान खरिद गर्न सक्ने छ। यदि सम्झौता भए यो इतिहासकै सबैभन्दा ठूलो विमान सम्झौता हुनेछ।

‘इरान युद्धमा टुंग्याउन चीनको आवश्यकता छैन’

यसैबीच ट्रम्पले इरानसँग चलिरहेको युद्ध समाप्त गर्न आफूलाई चीनको सहयोग आवश्यक नभएको बताएका छन्। ट्रम्पले यो कुरा वाशिङटनबाट बेइजिङ प्रस्थान गर्दा भनेका थिए।

पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले भने, ‘मलाई लाग्दैन कि हामीलाई इरानको मामिलामा कसैको सहयोग चाहिन्छ। अमेरिकाले यो युद्ध जसरी पनि जित्नेछ।’

ट्रम्पलाई अमेरिकामा जनताको आर्थिक समस्याले उनीहरूको निर्णयलाई प्रभावित गरिरहेको छ कि भनेर सोधिएको थियो। जवाफमा उनले भने, ‘म अमेरिकीहरूको आर्थिक अवस्थाको बारेमा सोच्दिन। म एउटै कुरा सोच्छु- इरानसँग परमाणु हतियार हुनुहुँदैन।’

चीनले अमेरिकी विदेशमन्त्रीको नाम लेख्ने तरिका बदल्यो

अमेरिकी विदेशमन्त्री मार्को रुबियो ट्रम्पसँगै चीन पुगेका छन्। विशेष कुरा के छ भने चीनले यसअघि नै उनै मार्को रुबियोमाथि प्रतिबन्ध लगाएको थियो।

मार्को रुबियो पहिले अमेरिकी सांसद थिए । उनी प्रायः चीनको आलोचना गर्थे। उनले उइघुर मुसलमान र हङकङ मुद्दामा चीनविरुद्ध आवाज उठाएका थिए। यसबाट रुष्ट भएर चीनले उनीमाथि प्रतिबन्ध लगाएको थियो, जसमा चीन प्रवेशमा रोक पनि समावेश थियो।

तर अहिले चीनले नयाँ तरिका निकालेको छ। चीनले मार्को रुबियोको नाम चिनियाँ भाषामा लेख्ने तरिका (ट्रान्सलिटरेसन) बदलिदिएको छ। पुरानो नाममा लागेको प्रतिबन्ध नयाँ नाममा लागू हुन नदिन यस्तो गरिएको हो । उनको चीन यात्रा गर्न नदिन यो कदम चालिएको हो ।

ट्रम्पलाई स्टेट डिनर

ह्वाइट हाउसका अनुसार चीन भ्रमणका क्रममा राष्ट्रपति सी चिनफिङले ट्रम्पको सम्मानमा स्टेट डिनर आयोजना गर्नेछन्। चीनमा यस्तो स्टेट डिनरलाई ठूलो कूटनीतिक सम्मानको रूपमा हेरिन्छ।

यस्ता कार्यक्रम सामान्यतया बेइजिङको ग्रेट हल अफ द पिपलमा आयोजना गरिन्छ, जहाँ चीनको उच्च नेतृत्वले विदेशी अतिथिको स्वागत गर्छ। यसमा दुवै देशका उच्च अधिकारी, व्यवसायी प्रतिनिधि र विशेष अतिथिहरू सहभागी हुन्छन्।

कूटनीतिक विशेषज्ञहरूका अनुसार कुनै विदेशी नेताको लागि चीनले जति ठूलो औपचारिक स्वागत गर्छ, त्यसलाई सम्बन्धको महत्वको संकेत मानिन्छ। स्टेट डिनरमार्फत् चीनले अमेरिकासँगको सम्बन्धलाई रणनीतिक स्तरमा महत्व दिइरहेको सन्देश दिन खोज्दैछ।

ट्रम्पको पहिलो कार्यकालमा सन् २०१७ को चीन भ्रमणका बेला पनि राष्ट्रपति सी चिनफिङले उनको सम्मानमा विशेष स्वागत कार्यक्रम राखेका थिए।

चार महत्वपूर्ण मुद्दा

१. व्यापारिक कर विवाद

अमेरिका–चीन व्यापार युद्ध अझै ठूलो मुद्दा छ। ट्रम्पले पहिले नै चिनियाँ सामानमा भारी कर लगाउने चेतावनी दिइसकेका छन्। दुवै देशले व्यापारिक तनाव घटाउने विषयमा छलफल गर्न सक्छन्।

२. ताइवान र हतियार बिक्री

ताइवानलाई लिएर पनि दुवै देशबीच तनाव छ। ट्रम्पले सी चिनफिङसँग ११ अर्ब डलरको अमेरिकी हतियार प्याकेजबारे कुरा गर्ने बताएका छन्। चीनले ताइवानलाई आफ्नो भाग मान्दै आएको छ। ताइवानमा अमेरिकी हतियार बिक्रीको निरन्तर विरोध चीनले गर्दै आएको छ।

३. रेयर अर्थ र एआई

रेयर अर्थ मिनरल्स इलेक्ट्रिक गाडीलाई नभइ हुँदैन। चिप्स र रक्षा उद्योगका लागि यो अत्यन्त महत्वपूर्ण छन्। चीन यसमा विश्वको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो। यसमा अमेरिकाले चीनसँग आफ्नो निर्भरता घटाउन चाहन्छ। एआई र सेमीकन्डक्टर प्रविधिमा पनि दुवै देशबीच प्रतिस्पर्धा बढेको छ।

४. सोयाबिन र कृषि व्यापार

चीन अमेरिकी किसानहरूका लागि ठूलो बजार हो। व्यापारिक युद्धपछि चीनले अमेरिकी सोयाबिन खरिद घटाएको थियो। अब ट्रम्प प्रशासनले कृषि निर्यात बढाउने प्रयास गर्न सक्छ।

५.इरानी तेल खरिदमा विवाद

इरानबाट तेल खरिदलाई लिएर अमेरिका र चीनबीच तनाव छ। ट्रम्प प्रशासनले यसअघिबाटै चीनले ठूलो परिमाणमा इरानी तेल खरिद गरेर तेहरानलाई आर्थिक सहारा दिइरहेको आरोप लगाइरहेको छ। जबकि चीनले यसलाई आफ्नो ऊर्जा आवश्यकतासँग जोडिएको विषय बताउँदै आएको छ।

अमेरिका र पश्चिमी देशहरूको प्रतिबन्धका बावजुद चीन लामो समयदेखि इरानबाट ठूलो परिमाणमा तेल खरिद गर्दै आएको छ

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ७ : ०८ बजे

प्रदेशको सम्भावना र समृद्धि देखाउन ‘सुदूरपश्चिम कचहरी २०८३’ हुँदै

कैलाली – सुदूरपश्चिम प्रदेशको समग्र विकास, समृद्धि र नीतिगत सुधारका

प्रधानमन्त्रीलाई आफ्नै गीतले पिरोल्यो, प्रतिपक्षीले भने, ‘हामीलाई जवाफ चाहियो सरकार’

कााठमाडौं- प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा दिनभर प्रमुख प्रतिपक्षी नेपाली

भारत सरकारको सहयोगमा अछाममा विद्यालय भवन निर्माण

काठमाडौं – भारत सरकारको आर्थिक सहयोगमा सुदूरपश्चिम प्रदेशको अछाम जिल्लास्थित

राजस्व हिनामिना गरेको अभियोगमा मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समिति