लामो इतिहासपछि देश युवाको काँधमा सरेको छ । यसअघिका सारा चुनौतीलाई चिर्दै नेपालको सुन्दर भविष्य निर्माणमा राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले पाएको नेपाली विश्वासलाई कुठाराघात गरियो भने हिजोझैँ देश अर्को भुमरीमा फस्ने हुन्छ । राजनीतिक परिवर्तनका खातिर धेरै युवाको ज्यान गएको छ, संरचनाहरू धेरै खरानी बनेका छन् । प्रजातन्त्र प्राप्तिपूर्व पनि धेरै शहीदहरू युवा नै थिए । धेरै भौतिक पूर्वाधार ध्वस्त भएका थिए ।
हिजो हामीले सत्तोशराप गर्यौँ कि सदा वृद्धले शासन सञ्चालन गरे, अपठित पनि थिए, जोस-जाँगर केवल आन्दोलनमा लगाए, आर्थिक क्रान्ति गर्न सकेनन्, तिनले राजनीतिक क्रान्ति गरे, आफ्नो अभीष्ट पूरा गरे, देशलाई काँचुली फेराउन सकेनन्, ऋणको भारी, उत्पादन ठप्प, बेरोजगारी तीव्र गराए । फलस्वरूप युवा जनशक्ति खाडीमा विस्थापित भयो ।
खाडीमा गएका तिनै युवाले खर्बौँ विप्रेषण पठाए, तिनको नोट चल्यो भोट चलेन । सायद यति ठूलो सङ्ख्यामा युवा पलायन देशकै इतिहासमा पहिलो हो । लोकतन्त्र र सङ्घीयताको आगमनले देश लुछ्ने नेताज्यूको कुकर्मका कारण युवाले तिनलाई विश्वास गरेनन् । विदेश भासिए । तिनले पठाएको पैसाले यहाँ पुँजी निर्माण हुन सकेन । विदेशबाट आएको रकम उपभोगमा खर्च भयो । जग्गाजमिन बेचिए, गाउँमा पर्व, मेलापात वा प्राङ्गारिक खाना भएन र सबै आयातित र विषादी जीवनका कारण अधिक रोगग्रस्त भइरह्यो समाज ।
पछिल्लो समय पीडाको शङ्खघोष गरियो र भदौमा जेन्जी आन्दोलनको बिगुल फुकियो । अब देशले युवा शक्तिको नेतृत्व पाइरहँदा ठेस पुग्ने काम भयो भने इतिहासले धिक्कार्नेछ । सरकारले सय दिने कामको बिगुल फुक्दा कतिपय विषय अपत्यारिला पनि देखिएका छन् ।
सिर्जनशीलता प्रयोग गर्न सकिए मुलुकको समृद्धि छिटो हुने हो । युवाशक्ति गुन्डा, मुन्द्रे र डनका रूपमा प्रयोग भएमा त्यसले मुलुकमा भारी उच्छृङ्खलता ल्याउन सक्छ । नेपालको जनसङ्ख्या विश्लेषण गर्दा १६ देखि ४० वर्ष उमेर समूहका अधिक छन् । देशको जनसङ्ख्या ३ करोड पुगेन, नेपाली भने जन्मँदै लाख बढीको ऋणमा छन् । सबै युवा शिक्षित, सीपसम्पन्न, अनुशासित र उद्यमशील हुने हो भने सोचेको विकासको रफ्तार टाढा हुन्न ।
युवा पुँजी पलायन हुन नदिने र श्रमशक्ति मुलुकमै प्रयोग हुने वातावरण सिर्जना गर्ने काम सरकारको हो । सबैलाई सरकारले रोजगारी दिन नसके पनि रोजगारीका अवसर सिर्जना गर्न सक्छ । मुलुकमा सरकार स्थिर भएन, नीति पनि स्थिर भएन । आफू र आफन्त आश्रित बुढाबुढीको सपना परिपूर्तिका लागि पनि घरजग्गा बेचेर, ऋण काढेर युवाशक्ति देशबाट पलायन भएको कति दिन हेरिबस्ने ? सरकारले सामाजिक सुरक्षाको कुरा गरे पनि युवाहरूले पत्याएनन् ।
रोजगारदाताको सूचीकृत सङ्ख्या नगण्य छ, उद्योग नै छैनन्, उत्पादन कसरी हुन्छ र रोजगारी ? रोजगारदाता यस अभियानमा उत्साहित भएनन् । बीमा कार्यक्रम पनि व्यापारिक हुँदै छ, रास्वपा सरकारले यसलाई सम्बोधन गर्न सकेन । महिलाका लागि दिने भनिएको हरियो बस सुरु नै नभई आलोचनामा परेको छ । करको बोझ अझ थपेको छ । बिजुली कर, पेट्रोलियम पदार्थमा बढेको मूल्य घटेको छैन, शिक्षा र स्वास्थ्यमा करको बोझ थपिएको छ ।
वृद्धलाई पनि हातमा लिन सकेको देखिएन, कर्मचारी त्रसित छन्, पूर्वराष्ट्रसेवक धेरै रिसाएका छन् । पेन्सन बढेन । बजारमूल्य सबैलाई उत्तिकै हुन्छ । मूलतः उद्योगधन्दा सिर्जना, तिनमा लगानी आकर्षणको कार्ययोजना आएन, टालटुले काम त पहिलेकाले पनि गरेका थिए ।
त्यसो त सामाजिक, सांस्कृतिक रूपान्तरण युवाकै जिम्मेवारीको विषय हो । त्यसको कार्ययोजना आएन । राजनीतिक रूपान्तरणमा युवा शक्तिको हात देखियो, अधिकांश परिवर्तन युवा शक्तिबाटै भए तर देश भने नराम्रो आर्थिक मन्दीमा फसेको छ । केही जेन्जी पुस्ताले मन्त्रालय पाउँदैमा देश कायापलट हुन्न । कालो जानु गोरो आउनुले ठूलो अर्थ लाग्दैन । काम परिणाममुखी हुनुपर्छ ।
विदेशी ऋणको ठूलो भारी बोकेर, असह्य पीडा धान्नै, पाल्नै नसक्ने महँगा नेताहरू त फालियो, फेरि स्वकीय सचिव र सल्लाहकारको जत्था तयार भएको सुनिँदै छ ।
अर्थतन्त्र स्थिर छ, चलायमान नहुँदा बजार सुस्त छ र सहरमा धेरै सटर खाली छन् । देशले धान्नै नसक्ने सङ्घीयता र अधिक खर्चिलो गणतन्त्र लादिएको छ ।
मन्त्रालय घटाइयो तर मन्त्रीको सचिवालयको पहाड तयार हुँदै छ । यसले खर्च घट्दैन बरु बढ्छ । स्थायी निकाय प्रशासन संयन्त्रसँग समन्वय हुन्न । तलकाले पहिले जस्तै अह्राएको काम गर्ने, सिर्जनशील काम नगर्ने हुन्छ र प्रशासन थप पङ्गु बन्छ । मन्त्रीको सचिवालयको अनौपचारिक दबाबमा कर्मचारी फस्ने, अख्तियारको मारमा पर्ने डर बढी हुन्छ । त्रासमा काम गर्न असहज हुन्छ ।
केन्द्रीय बैङ्कको सर्वेक्षणले बताएको छ– वैदेशिक रोजगारीकै कारण देशमा ३५.५१ प्रतिशत जनताले खेती गर्नै छोडे, मनोरञ्जन खर्चमा दोब्बरले वृद्धि भएको छ । विप्रेषणले पुँजी निर्माण गर्न सकेन । अर्थतन्त्र स्थिर छ, चलायमान नहुँदा बजार सुस्त छ र सहरमा धेरै सटर खाली छन् । देशले धान्नै नसक्ने सङ्घीयता र अधिक खर्चिलो गणतन्त्र लादिएको छ ।
जनतामा बेरोजगारीको वृद्धि, स्वदेशमा उत्पादनको कमी, चालु खर्च धान्नै नसकेको अवस्था छ; जनता कर र महँगीको पीडामा परेका छन्, साहुको ऋण तिर्न नसकेर कतिले आत्मदाह गरे । देश ठूलो व्यापार घाटामा छ । पूर्वाधारको कमी छ । भएका पूर्वाधार द्वन्द्वमा सखाप भए । औद्योगिक असुरक्षा, उद्यमी एवं कामदारबीचको असहज सम्बन्ध, के भएन हामीकहाँ पहिले ?
उत्पादन वृद्धि गरी निकासीबाट देश आत्मनिर्भर हुनुपर्ने हो, तर सबै सामान आयात हुने गरेको छ । विदेशीहरू भित्रिने, स्वदेशी बाहिरिने क्रमले भोलिका दिनमा देशको रूप अर्कै हुने लक्षणहरू देखा परेका छन् । भाषा, धर्म, संस्कृति, संस्कार, सभ्यता स्वदेशको आफ्नैपनको नहुँदा राष्ट्रियतामा भोलि गम्भीर असर पर्ने डर छ । जुझारु जनशक्ति अर्थात् मानव पुँजीबिनाको राष्ट्रियता अपूर्ण हुन्छ ।
पूर्वाधार र राष्ट्रिय गौरवका आयोजनाको आयु बढिरहने, मेलम्ची फेरि बन्द भइरहने अचम्मको अवस्था छ । ती परियोजनामा हाम्रा युवाहरूको उपस्थिति रहेन, मेलम्ची उठ्नै मानेन । अस्तितिर फेरि सुत्यो । एयरपोर्टहरूमा मुसा कुद्न लागे । वातावरण विनाश भइरहेको छ । अनाज उत्पादन फेरि घटेको छ । रोपाइँ नै कम हुँदै छ ।
जति राजस्व उठाए पनि देश खोक्रो छ, अब त जनता नै सुकेनास भइसके । उठ्ने राजस्वले चालु खर्च धान्न सकेको छैन । सडक जरिबाना बढाएर सङ्घीयता पाल्नुपरेको छ । प्रदेश संरचना उस्तै बोझिला छन् ।
प्राकृतिक हावापानी, मधुर जीवनशैली, उपयुक्त तापक्रम छ यहाँ । त्यसैले ५० डिग्रीको तापक्रममा भेडा चराउनुभन्दा वा खाडीमा कुखुरा भुत्ल्याउनुभन्दा हाम्रै हिमाली, पहाडी र तराई क्षेत्रमा कृषि, उद्योग र सहरी क्षेत्रमा व्यवसाय गर्न सकिन्छ । जडीबुटीको अब्बल देशमा चाडबाडपिच्छेका सामान उत्पादन गर्दा पनि वस्तुको आयात प्रतिस्थापन गर्न सकिन्छ ।
जति राजस्व उठाए पनि देश खोक्रो छ, अब त जनता नै सुकेनास भइसके । उठ्ने राजस्वले चालु खर्च धान्न सकेको छैन । सडक जरिबाना बढाएर सङ्घीयता पाल्नुपरेको छ । प्रदेश संरचना उस्तै बोझिला छन् । आयस्रोत केन्द्रकै छ; सिंहदरबारको सिंह ठूलाठूला नङ्ग्रा लिएर गाउँका जनतालाई चिथोर्दा पनि राजस्व वृद्धि भएन, बरु जनताको उठिबास भयो । दरबार आफैँ जल्यो, ढल्यो । नेताहरूले घरघरमा सिंहदरबार भनिदिए तर दरबार यतै गठबन्धनतिर अल्मलियो, सिंह मात्रै गाउँ गएर जनता पछार्न थाल्यो, जसको पीडा असह्य भएर युवाहरूले देशै छोडेका हुन् ।
गाउँमा मान्छे मर्दा कात्रो बेर्ने मान्छे छैन, दाम्लो-किलो रोइरहेको छ । पहिले भूकम्पले खुसी खोस्यो, नाकाबन्दीमा चुलो जलेन, आँखा सबैको खुलेन, निस्पट्ट अँध्यारोमा जीवन चल्यो । संविधान भनाउँदो आउँदा त के-के न होला भनियो, लगत्तै कोरोना उम्लियो । अब त खुसी सबै खोसिएको छ । दिन ढल्दै जाँदा सुखी हुने र शान्त अनि समृद्ध हुने सपना चकनाचुर छ ।
दलको झोला नभिर्ने बेवारिसे भए, अहिले विदेशमा सङ्कट, तेलको अभाव, महँगीको पीडामा नेपालीले खुलेर रुन पनि पाएनन् । भारतबाट तेल आउँछ, त्यहाँको मूल्यभन्दा दोब्बर लिएर घाँटी निमोठिन्छ ।
दलको झोला नभिर्नेहरू बेवारिसे भए, अहिले विदेशमा सङ्कट, तेलको अभाव, महँगीको पीडामा नेपालीहरूले खुलेर रुन पनि पाएनन् । भारतबाट तेल आउँछ, त्यहाँको मूल्यभन्दा दोब्बर लिएर घाँटी निमोठिन्छ । केही घटाएजस्तो मात्रै गरियो, अझै अचाक्ली छ । नक्कली र फोस्रा राजनीतिक नाराले कसैको पेट भरिँदैन । इतिहासमा कहिल्यै नभोगेको दुःख भोग्दै छन् जनता । लोकतन्त्रले युवा टिकाउन सकेन । सङ्घीयताले रोजगारी दिन सकेन । युवा साधन भए, साध्य बनेनन्, जुन नेपाली राजनीतिको विडम्बना हो ।












प्रतिक्रिया