युरोपेली समर्थन जुटाउन जेलेन्स्की पेरिसमा, हवाई सुरक्षा र युद्ध रणनीतिमा केन्द्रित छलफल « Khabarhub

युरोपेली समर्थन जुटाउन जेलेन्स्की पेरिसमा, हवाई सुरक्षा र युद्ध रणनीतिमा केन्द्रित छलफल


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की युक्रेनलाई थप सैन्य तथा सुरक्षा सहयोग जुटाउने उद्देश्यले सोमबार फ्रान्सको राजधानी पेरिस  पुगेका छन्। उनले त्यहाँ युक्रेनलाई समर्थन गरिरहेका युरोपेली नेताहरूसँग हवाई सुरक्षा, युद्धको रणनीति र रूसमाथि कूटनीतिक दबाब बढाउने विषयमा छलफल गर्नेछन् ।

पेरिसमा आयोजना हुने ‘इच्छुक देशहरूको गठबन्धन’ बैठकमा युक्रेनको पक्षमा रहेका ३० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुनेछन्। तीमध्ये करिब २५ देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखको उपस्थिति रहने बताइएको छ। यसलाई युक्रेनप्रति युरोपको दीर्घकालीन समर्थन र रूसका लागि स्पष्ट सन्देशका रूपमा हेरिएको छ।

यसैबीच बेल्जियमको ब्रसेल्समा युरोपेली देशका विदेश मन्त्रीहरूको बैठक पनि जारी छ। बैठकमा युक्रेनको तत्कालीन आवश्यकता, युरोपको सुरक्षामा रूसबाट उत्पन्न चुनौती तथा आगामी सहयोगबारे छलफल हुने अपेक्षा गरिएको छ।

युक्रेन र उसका युरोपेली साझेदारहरूले युद्ध अन्त्यका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि वार्तामा आउन दबाब बढाउने रणनीति अपनाइरहेका छन्। उनीहरूको भनाइमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले करिब एक वर्षदेखि शान्ति प्रयास जारी राखे पनि मस्कोले कुनै ठोस सहमतिमा चासो देखाएको छैन।

पश्चिमी अधिकारीहरू र विश्लेषकहरूका अनुसार पछिल्ला महिनाहरूमा ड्रोन प्रविधिमा भएको प्रगतिले युक्रेनलाई रणनीतिक लाभ दिएको छ। युक्रेनी सेनाले मोर्चाभन्दा पछाडिका रूसी आपूर्ति मार्गमा लगातार आक्रमण गर्दै आएको छ, जसका कारण रूसी सेनाको अग्रसरता सुस्त बनेको र उसले ठूलो क्षति व्यहोर्नुपरेको दाबी गरिएको छ।

युक्रेनी सेनाले विशेषगरी क्रिमियातर्फ जाने आपूर्ति मार्गलाई निशाना बनाएको छ। यसले ब्ल्याक सी क्षेत्रमा इन्धन आपूर्तिमा समेत असर परेको बताइएको छ। रूसले सन् २०१४ मा क्रिमियालाई आफ्नो नियन्त्रणमा लिएपछि उक्त क्षेत्र युद्धको प्रमुख केन्द्र बनेको छ।

राष्ट्रपति जेलेन्स्कीले युरोपेली साझेदारहरूसँग मिलेर ब्यालिस्टिक मिसाइल प्रतिरक्षा प्रणाली विकास गर्ने योजना अघि बढाइरहेका छन्। यस्तो प्रणालीले रूसले युक्रेनको ऊर्जा तथा विद्युत् पूर्वाधारमाथि गर्दै आएको क्षेप्यास्त्र आक्रमण रोक्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

रातभर भएका रूसी आक्रमणपछि सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै जेलेन्स्कीले युक्रेनलाई थप हवाई सुरक्षा प्रणाली आवश्यक रहेको उल्लेख गरेका छन्। उनले नागरिकको सुरक्षाका लागि अन्तर्राष्ट्रिय समुदायबाट अझ बलियो सहयोगको आवश्यकता औँल्याएका छन् ।

गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई प्याट्रियट हवाई सुरक्षा प्रणाली उपलब्ध गराउने योजनालाई स्वीकृति दिएको घोषणा गरेका थिए। यद्यपि विज्ञहरूका अनुसार उक्त प्रणाली पूर्ण रूपमा सञ्चालनमा आउन अझ केही वर्ष लाग्न सक्छ।

जेलेन्स्कीको यो भ्रमण युक्रेनको आन्तरिक राजनीतिक परिवर्तनको समयमा भएको हो। युक्रेनी प्रधानमन्त्री युलिया स्विरिडेन्कोले आइतबार पदबाट राजीनामा दिएको छ भने सरकार पुनर्गठनको प्रक्रिया अझै जारी रहेको जनाइएको छ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ८ : ०७ बजे

मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध हुने फिल्मलाई प्रदर्शन अनुमति नदिइने

काठमाडौँ । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा

अभिनेत्री केकी अधिकारी भन्छिन् – स्टन्टले देश बन्दैन

काठमाडौं । अभिनेत्री केकी अधिकारीले स्टन्टले देश नबन्ने बताएकी छन्

शंकास्पद पार्किङ गरिएका १४ वटा सवारी साधन कारबाहीमा

काठमाडौँ । सार्वजनिक सडकमा जथाभावी तथा शंकास्पद रूपमा पार्किङ गरिएका

बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रुङ खोलामा आएको

११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण