काठमाडौं- माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै आफ्नो व्यवसाय र नाफामा उल्लेख्य सुधार भएको जनाएको छ । बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा १२.२३ प्रतिशतले बढेर २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ८८ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको निक्षेप संकलन र कर्जा प्रवाहमा पनि अघिल्लो वर्षको तुलनामा उत्साहजनक वृद्धि देखिएको छ । बैंकले असार मसान्तसम्ममा २ खर्ब २० अर्ब ४९ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ, जुन अघिल्लो वर्षको १ खर्ब ८४ अर्ब १७ करोड ६० लाख रुपैयाँको तुलनामा १९.७२ प्रतिशतको वृद्धि हो ।
त्यसैगरी, बैंकको कर्जा प्रवाह १५.९५ प्रतिशतले बढेर १ खर्ब ६३ अर्ब ९९ करोड १२ लाख रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्ष यस्तो कर्जा १ खर्ब ४१ अर्ब ४३ करोड ६० लाख रुपैयाँ मात्र थियो । बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी अघिल्लो वर्षको ५ अर्ब ७५ करोड ६७ लाख रुपैयाँबाट बढेर ६ अर्ब ७ करोड ४९ लाख रुपैयाँ कायम भएको छ । बैंकको सञ्चालन नाफा पनि ३ अर्ब १४ करोड ७६ लाख रुपैयाँबाट वृद्धि भई ३ अर्ब १६ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।
बैंकको वितरणयोग्य नाफा यस अवधिमा ९८ करोड १९ लाख रुपैयाँ रहेको छ । कर्जाको गुणस्तरका सन्दर्भमा बैंकको खराब कर्जा अनुपात अघिल्लो वर्षको ३.९६ प्रतिशतबाट सामान्य बढेर ३.९८ प्रतिशत पुगेको छ । बैंकले सम्भावित कर्जा जोखिम व्यवस्थापनका लागि कर्जा नोक्सानी व्यवस्थालाई बलियो बनाउँदै कुल निष्कृय कर्जाको १०३.८४ प्रतिशत पुर्याएको छ, जुन अघिल्लो वर्ष १०२.४६ प्रतिशत थियो ।
बैंकको वित्तीय सबलताका अन्य सूचकहरू पनि सकारात्मक देखिएका छन् । बैंकको पुँजीकोष पर्याप्तता अनुपात अघिल्लो वर्षको १३.०८ प्रतिशतबाट सुधार भई १३.२१ प्रतिशत कायम भएको छ । बैंकको आधार दर भने ६.३० प्रतिशतबाट घटेर ५.०४ प्रतिशतमा झरेको छ, जसले ग्राहकहरूका लागि कर्जाको ब्याजदर सस्तो हुन सक्ने संकेत गर्दछ । बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ४९ पैसा रहेको छ ।












प्रतिक्रिया