काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनताका दैनिकी समस्या समाधान गर्दै उनीहरूमा आशा जगाउनुपर्ने बताएका छन् ।
कांग्रेसको संस्थापन इतर पक्षले आयोजना गरेको तीनदिने राष्ट्रिय भेलाको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै देउवाले जनतामा देखिएको निराशालाई आशामा बदल्न कांग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको बताए ।
मुलुकको अवस्था संवेदनशील रहेको भन्दै देउवाले सबै पक्ष सजग भएर राष्ट्रिय एकता कायम गर्न भूमिका खेल्नुपर्नेमा जोड दिए । नेपालको लोकतान्त्रिक आन्दोलन कांग्रेसको नेतृत्वमा सफल भएको उल्लेख गर्दै उनले त्यस क्रममा अग्रजहरूले गरेको संघर्ष र योगदानलाई बिर्सन नहुने बताए ।
लोकतान्त्रिक आन्दोलनबाट प्राप्त मौलिक हकप्रति कांग्रेसले गर्व गर्नुपर्ने उनको भनाइ थियो। मुलुकका विभिन्न परिवर्तनमा प्रायः सबै राजनीतिक दलबीच एकता हुने गरेको भन्दै देउवाले यसलाई नेपालको मौलिक विशेषता भएको बताए ।
कांग्रेसको लामो गौरवमय इतिहास रहेको उल्लेख गर्दै देउवाले विशेष महाधिवेशनले पार्टीलाई कमजोर बनाएको बताए । कांग्रेससम्बन्धी विवादमा सर्वोच्च अदालतबाट न्याय हुने अपेक्षा रहेको उनले बताए ।
कांग्रेसभित्र चार पुस्ता सक्रिय रहेको भन्दै देउवाले असहमतिलाई कम गर्दै सबैलाई न्याय हुनेगरी अघि बढ्नुपर्ने बताए । संविधानप्रदत्त अधिकारको संरक्षण, राष्ट्रिय सहमति र जनताको हितका लागि आफू सदैव तयार रहेको उनको भनाइ थियो ।
राष्ट्रियता, समाजवाद र लोकतन्त्र आफ्नो जीवनको मूल आदर्श रहेको बताउँदै देउवाले यी विषयमा आफूले कहिल्यै सम्झौता नगरेको बताए। गणतन्त्रलाई संस्थागत गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा पनि उनले जोड दिए ।
स्वास्थ्योपचारका लागि पाँच महिनापछि नेपाल फर्किएको जानकारी दिँदै देउवाले विमानस्थलमा स्वागतका लागि उपस्थित नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन रोक्दै पार्टी एकता कायम गर्न आफूले गरेको प्रयासबारे जानकारी दिए । त्यसका लागि करिब एक महिनासम्म केन्द्रीय समितिको बैठक लम्ब्याउनुपरेको र त्यसक्रममा आफूले आलोचना खेप्नुपरेको उनले बताए ।
विशेष महाधिवेशनले पार्टीमा विभाजन ल्याउने देउवाको धारणा स्मरण गर्दै आफूले पार्टी एकताका लागि भूमिका खेलेको खड्काले बताए । पार्टी एकताका लागि गाउँगाउँ पुगेर नेता तथा कार्यकर्तामा उत्साह थप्न उनले आग्रह गरे । भेलाले वर्तमान कार्यसमितिका पदाधिकारीलाई सच्याउन र पार्टीलाई एकतामा फर्काउन दबाब दिने उनले बताए ।
वरिष्ठ नेता डा. शेखर कोइरालाले मुलुकमा देखिएका समस्या समाधानका लागि कांग्रेसले अन्य दलसँग सहकार्य गर्नुपर्ने बताए । राष्ट्रियता बलियो बनाउन सबै पक्ष लाग्नुपर्नेमा जोड दिँदै उनले संवैधानिक निकाय र न्यायपालिका स्वतन्त्र तथा निष्पक्ष हुनुपर्ने बताए ।
राष्ट्रिय भेलापछि मुलुकभर कांग्रेसमा एकताको सन्देश जाने भन्दै कोइरालाले त्यसका लागि सबैलाई सक्रिय हुन आग्रह गरे।
पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले लोकतान्त्रिक प्रक्रियाबाट अघि बढ्नुपर्ने बताए। गत पुसमा भएको विशेष महाधिवेशन विधानसम्मत नभएको दाबी गर्दै सिंहले सत्य कुरा स्वीकार गरेर अघि बढ्नुपर्ने बताए।
सामाजिक सञ्जालमार्फत पुराना दलले काम गर्न नसकेको भ्रम सिर्जना गरिएको भन्दै सिंहले उक्त भ्रम विस्तारै हट्दै गएको दाबी गरे।
पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले विशेष महाधिवेशन कब्जा गरेर गरिएको आरोप लगाए। वर्तमान कार्यसमितिका पदाधिकारीलाई १५औँ महाधिवेशनमा प्रतिस्पर्धा गर्ने अधिकार नहुने दाबी गर्दै उनले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले नै १५औँ महाधिवेशनको तयारी गर्नुपर्ने बताए।
कांग्रेस नेता विजयकुमार गच्छदारले देउवाको नेतृत्वमा कांग्रेससहित सम्पूर्ण लोकतान्त्रिक शक्ति एक हुनुपर्ने अवस्था आएको बताए। राष्ट्रिय भेला पार्टी एकताको प्रतीक बनेको उनको भनाइ थियो।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशनका सम्बन्धमा निर्वाचन आयोगले गरेको निर्णयप्रति असहमति जनाए। निर्णय गर्नुअघि पर्याप्त अध्ययन नभएको भन्दै उनले निर्वाचन आयुक्तहरूसँग प्रश्न गरे।
कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएपछि आशा पलाएको सिटौलाले बताए।
कांग्रेसको संस्थापन इतर पक्षको तीनदिने राष्ट्रिय भेला शुक्रबारदेखि काठमाडौंमा सुरु भएको हो। भेलामा पार्टीभित्रको पछिल्लो विवाद, एकता र आगामी महाधिवेशनलगायत विषयमा छलफल हुने जनाइएको छ।












प्रतिक्रिया