पाकिस्तानमा बाल दुर्व्यवहारका घटना उच्च « Khabarhub

पाकिस्तानमा बाल दुर्व्यवहारका घटना उच्च


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा बालबालिकामाथि हुने दुर्व्यवहारका घटना बढेको पाइएको छ । बाल अधिकार तथा संरक्षणका क्षेत्रमा सक्रिय गैरसरकारी संस्था साहिलद्वारा हालै सार्वजनिक गरिएको नयाँ प्रतिवेदनअनुसार यस वर्षको पहिलो छ महिनामा देशैभरि १ हजार ९ सय १४ वटा बाल दुर्व्यवहारका घटना दर्ता भएका छन्।

विभिन्न राष्ट्रिय तथा क्षेत्रीय अखबारहरूबाट संकलित तथ्यांकका आधारमा तयार पारिएको उक्त प्रतिवेदनमा पाकिस्तानका चारै वटा प्रान्तका साथै इस्लामाबाद क्यापिटल टेरिटोरी, आजाद जम्मू र कश्मीर तथा गिलगिट-बाल्टिस्तान समेटिएका छन् । दर्ता भएका कुल घटनामध्ये ५८ प्रतिशत पीडितहरू बालिका रहेका छन्।

प्रतिवेदनले ११ देखि १५ वर्ष उमेर समूहका बालबालिका दुर्व्यवहारको उच्च जोखिममा रहेको देखाएको छ। उमेर समूहका हिसाबले ५ सय ९८ बालबालिका ११ देखि १५ वर्षका, ३ सय ५६ बालबालिका १६ देखि १८ वर्षका, ३ सय २९ बालबालिका ६ देखि १० वर्षका र ९ सय ५ बालबालिका शून्यदेखि ५ वर्ष उमेर समूहका रहेका छन्। ४ सय ८७ जनाको भने उमेर खुलाइएको छैन।

तथ्यांकअनुसार यस अवधिमा १ हजार १५ वटा बाल यौन दुर्व्यवहार, ५ सय ५८ वटा अपहरण, १ सय १ वटा बालबालिका हराएका र ३५ वटा बालविवाहका घटना रेकर्ड भएका छन्। यस्तै, यौन दुर्व्यवहारपश्चात अश्लील सामग्री (पोर्नोग्राफी) उत्पादन गरिएका ९८ वटा घटना पनि रेकर्डमा आएका छन् भने सडक किनारामा बेवारिसे अवस्थामा फेला परेका ४९ वटा शिशुका घटना पनि यसै अवधिमा घटेका छन्।

प्रतिवेदनले बालबालिका चिनजानका मानिसहरूबाटै सबैभन्दा बढी असुरक्षित रहेको देखाएको छ। कुल घटनामध्ये ४३ प्रतिशतमा पीडितका परिचित नै दुर्व्यवहारमा संलग्न रहेको पाइएको छ भने ३४ प्रतिशत घटनामा अपरिचित व्यक्तिहरूबाट अपराध भएको खुलेको छ। स्थानगत हिसाबले लगभग आधा अर्थात् ४५ प्रतिशत घटना पीडितकै घरमा र १८ प्रतिशत घटना अपराधीको घरमा घटेका छन्। ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी (५७ प्रतिशत) घटनाहरू भएको प्रतिवेदनमा उल्लेख छ। प्रान्तगत रूपमा सबैभन्दा बढी जनसङ्ख्या भएको पञ्जाबमा मात्रै ८० प्रतिशत घटना घटेका छन् भने सिन्धमा १५ प्रतिशत र बाँकी क्षेत्रमा ५ प्रतिशत घटना रेकर्ड भएका छन्।

कानूनी कारबाहीका सन्दर्भमा ८९ प्रतिशत घटनाहरू प्रहरीमा दर्ता भएका छन् भने केही घटनामा प्रहरीमा दर्ता भएको स्थिति उल्लेख गरिएको छैन। प्रतिवेदनले ७ वटा घटना प्रहरीमा दर्ता नगराइएको र १ वटा घटनामा प्रहरीले नै दर्ता गर्न अस्वीकार गरेको कुरा समेत उजागर गरेको छ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ४ : २८ बजे

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको