काठमाडौं- पाकिस्तान प्रशासित कश्मीरमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपका क्रममा ५० वर्षीय बेलायती नागरिक मोहम्मद अख्तरको मृत्यु भएको छ । पीटरबरोका बासिन्दा अख्तरको गत जुन ९ का दिन पाकिस्तानी सुरक्षा फौजले चलाएको गोली छातीमा लागेर ज्यान गएको हो ।
क्षेत्रमा चुनावी सुधारको माग गर्दै प्रदर्शनकारीहरू जम्मा भएका थिए। भारत र पाकिस्तान दुवैले दाबी गर्ने यस विवादित क्षेत्रमा अख्तर भने प्रदर्शनमा सहभागी नभएको उनका परिवारले बताएका छन् । अख्तरका आफन्त मोहम्मद सादले गार्जियनलाई बताएअनुसार प्रदर्शन घरनजिकै भइरहेका बेला सुरक्षाकर्मीले चलाएको गोली लागेर उनको छातीमा चोट लागेको थियो । घटनाबारे प्रहरीमा उजुरी दर्ता गर्न नसकेको र थप निशानामा पर्ने त्रासमा परिवार रहेको सादले बताएका छन् ।
यसैबीच, बेलायती विदेश मन्त्रालयमार्फत रिहाइको प्रयास गरिए पनि अर्का एक बेलायती नागरिक विगत दुई महिनाभन्दा बढी समयदेखि यस क्षेत्रको कारागारमा बन्द छन् । बेलायती विदेश मन्त्रालयका प्रवक्ताले पाकिस्तान प्रशासित कश्मीरको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै बेलायती सरकार र इस्लामावादस्थित उच्चायोगले समकक्षीहरूसँग निरन्तर संवाद गरिरहेको बताएका छन् । प्रभावित क्षेत्रहरूमा अत्यावश्यक बाहेकको यात्रा नगर्न बेलायतले आफ्ना नागरिकहरूलाई चेतावनी समेत दिएको छ।
पाकिस्तान सरकार र जोइन्ट अवामी एक्शन कमिटी (जेएएसी) बीच चुनावी सुधारका मागमा भएको वार्ता विफल भएपछि कश्मीरमा विरोध प्रदर्शनहरू सुरु भएका थिए। जेएएसी कश्मीरको राजनीतिक र आर्थिक अधिकारका लागि वकालत गर्ने सङ्गठन हो। निर्वाचन क्षेत्रमा निष्पक्षता नभएको र पाकिस्तानी सहरहरूमा बस्ने शरणार्थीहरूका लागि छुट्याइएका सिटहरूको दुरुपयोग गरिएको जेएएसीको आरोप छ।
गत जुन ५ मा अधिकारीहरूले जेएएसीलाई आतङ्ककारी सङ्गठन घोषणा गर्दै क्षेत्रमा सञ्चारमाध्यम तथा इन्टरनेट सेवा बन्द गरेका थिए। सुरक्षा फौजले गरेको दमनका क्रममा करिब ३० जनाको मृत्यु भएको आरोप लागेको छ। सरकारले भने सार्वजनिक शान्ति कायम गर्न यस्ता कदमहरू आवश्यक रहेको जनाएको छ। एमनेस्टी इन्टरनेशनलले शान्तिपूर्ण असहमतिलाई आतङ्कवादसँग जोड्नु र क्षेत्रलाई बाह्य संसारबाट अलग गर्नु मानव अधिकारको उल्लङ्घन भएको भन्दै आपत्ति जनाएको छ।












प्रतिक्रिया