शेरबहादुरका ‘लाचार छाया’ पूर्णबहादुर : रुपान्तरणको अवसर गुमाएर कांग्रेस विभाजन « Khabarhub

शेरबहादुरका ‘लाचार छाया’ पूर्णबहादुर : रुपान्तरणको अवसर गुमाएर कांग्रेस विभाजन


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


813
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनको स्पष्ट सन्देश थियो, परम्परागत दलका शीर्ष नेताहरूको बिदाइ । पटक पटक अवसर पाएर पनि देशलाई विकासको गति दिन नसकेका उनीहरू बिदा भएर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने सन्देश उक्त आन्दोलनले दिएको थियो ।

तर उक्त आन्दोलनको भावनाविपरीत शेरबहादुर देउवाले नेपाली कांग्रेस पार्टीको सत्तामा टाँसिइरहनुपर्ने लोभ बोक्दा फेरि अर्को विभाजन भएको छ।

बुधबारदेखि सातौँ पटक नेपाली कांग्रेस फुटेको छ । यी फुटमध्ये दुईवटाको कलंकको टीको देउवाको निधारमा टाँसिएको छ ।

यो भन्दा विडम्बना कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हकमा भएको छ। भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा नराम्रोसँग कुटिएपछि देउवाले राजनीतिमा बिदा लिने योजनासहित असोज २८ गते खड्कालाई कांग्रेसको कार्यवाहक सभापति बनाए ।

खड्कालाई कार्यवाहक सभापति बनाएका देउवा नेपाल र विदेश गर्दै उपचारमा लागिरहे । यता खड्काले कार्यवाहकका रुपमा पार्टीको केन्द्रीय कार्यसमिति बैठक राखे । अर्को दल नेकपा एमाले जेन-जी आन्दोलनपछि जुरुक्क उठिसक्दा कांग्रेस भने लगातार अनिर्णयको बन्दी बन्यो ।

कतिसम्म भने कांग्रेस केन्द्रीय कार्यसमिति बैठक लगातार ४९ दिनसम्म अनिर्णयको बन्दी बन्यो । कार्यवाहक पाएपछि उक्त बैठकको अध्यक्षता उनै खड्काले गर्थे ।

उनले कार्यवाहक पाएपछि कांग्रेसलाई महाधिवेशनमा लैजाने कि चुनावमा भन्ने द्विविधाबाट उनी कहिले मुक्त हुन सकेनन् । मुलुकको सबैभन्दा पुरानो र ठूलो दल कांग्रेस पार्टीको १५औँ महाधिवेशन निर्वाचनअघि गर्ने कि पछि भन्ने विवादमा दुई महिना अल्झिरह्यो । यसबीचमा एमालेले एघारौँ महाधिवेशन सकेर नयाँ नेतृत्व छानिसकेको थियो ।

पार्टी महाधिवेशनको मुद्दामा अल्झिरहँदा खड्काले कहिल्यै गाँठो फुकाउन सकेनन् । बरू सिंगापुरबाट उपचार गरेर कात्तिक २८ गते फर्किएका सभापति शेरबहादुर देउवाले हस्तक्षेप गरेर एकै पटक मंसिर १५ गते महाधिवेशनको निर्णय गराए ।

लगातारको किचलोका कारण कांग्रेस राष्ट्रिय राजनीतिसँगै प्रमुख मुद्दाबाटै हराइसकेको थियो । आन्तरिक किचलोले भदौ २७ मा विघटित संसद्को सबैभन्दा ठूलो दल कांग्रेसको भूमिका नै सकिए जस्तो भएको थियड्ढो । प्रमुख मुद्दामा ऊ ओझेल परिरह्यो । जेन-जी आन्दोलनपछिको संक्रमणकालीन अवस्थामा देशकै ठूलो दल हराए बराबर थियो । कांग्रेस त २०४६ साल र २०६२/६३ को कमान्ड रहेकाले पनि उसको भूमिका खोजिनु स्वभाविक थियो ।

सभापति देउवाले कार्यवाहक दिए पनि पूर्णबहादुरले कहिल्यै आफ्नो शक्ति बुझेनन् । उनी देउवाकै बुख्याचा जस्ता मात्रै भइरहे । सभापति देउवाले सक्रिय राजनीतिबाट अलग हुने संकेत दिँदै असोज २८ गतेको केन्द्रीय कार्यसमितिको बैठकबाट उपसभापति खड्कालाई कार्यवाहक सभापति सुम्पिएका थिए । देउवाबाट नेतृत्व हातमा लिए पनि खड्काले आफैँ कहिले निर्णय गर्न सकेनन् । उनी देउवासँगै सुलह गर्न कुदिरहन्थे ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशनको दबाब बढाउँदा खड्काले देउवाकै कुरा सुनिरहे । थापा र शर्माले महाधिवेशनको दबाब बढाउँदा खड्का भने आफ्नो कार्यकाल लम्ब्याउने मात्रै ध्याउन्नमा हुन्थे । खड्काले समयमा निर्णय नदिएकै कारण नियमित महाधिवेशनको समय मात्रै टरेन अहिलेको विभाजनको कारक पनि बन्यो । महामन्त्रीद्वयले मंसिर मसान्तको साटो पुस १६ मा महाधिवेशन उद्घाटन गर्नुपर्ने माग गरे ।

तर खड्काले चासो दिएनन् । नियमित महाधिवेशन टारिएपछि असोज २९ गते बुझाइएको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर अनुसार तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने दबाब थियो । पुस २६ गते हुने गरी मंसिर १५ गते तोकिएको नियमित महाधिवेशन नहुने भएपछि महामन्त्रीद्वले पुस १६ गतेको मितिमा पुस २७ देखि विशेष महाधिवेशन गर्ने घोषणा गरे ।

उता मध्यमार्गी धार समातेका नेता डा.शेखर कोइराला पनि विशेष महाधिवेशन नभएर नियमित महाधिवेशनका पक्षमा थिए । तर उनी पनि खड्का जस्तै अक्षम सावित हुन पुगे । संस्थापन पक्ष आगामी वैशाखअघि महाधिवेशन गर्ने अडानमा हुँदा महामन्त्रीद्वयले विशेष महाधिवेशन गरेपछि कांग्रेसलाई देउवाले उनको जीवनकालमा दोस्रो पटक फुटाए । उता कार्यवाहक पाएका पूर्णबहादुर खड्का अपूर्णसँगै अक्षम पनि सावित भए ।

नियमित महाधिवेशन गराउन देउवा र खड्का तयार नहुँदा विशेष महाधिवेशन बोलाउन महामन्त्रीद्वय थापा र शर्माको समर्थनमा ५४ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षरसहित सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा निवेदन दर्ता गरिएको थियो ।

तर पार्टीको विधानले ४० प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षर भएमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्थालाई खड्काले वास्तै गरेनन् बरू आफूखुसी चलिरहे ।

गत असोज २९ गते विशेष महाधिवेशनको निवेदन दर्ता हुँदा पुस २८ भित्र महाधिवेशन बोलाउनुपर्ने वैधानिक बाध्यता थियो । तर, संस्थापन पक्षका नेताहरू महामन्त्रीहरूलाई नेतृत्व लिन हतारो भयो भन्दैमा निर्वाचनअघि महाधिवेशन गर्न नसकिने तर्क गरेर टारिरहे । यसरी टार्नेमा देउवासँगै खड्का पनि थिए । विधानको बाध्यकारी व्यवस्थालाई देउवासँगको सल्लाहमा खड्काले बेवास्ता गरिदिँदा कांग्रेस फुटेको छ।

कार्यतालिका प्रस्तुत गर्ने विषयमा महामन्त्री थापा र कार्यवाहक सभापति खड्काबीचको मतभेद छताछुल्ल भएको थियो । यी दुईबीचको विवाद केन्द्रीय कार्यसमितिमै पोखियो । कतिसम्म भने थापाले केन्द्रीय कार्यसमिति बैठक नै बहिष्कार गर्ने स्थिति बन्यो ।

देउवाले कार्यवाहक बनाए पनि बुख्याचा मात्रै बनेका खड्काले विशेष महाधिवेशनको मागलाई बेवास्ता गरे । विशेष महाधिवेशनको मागसहित भइरहेका प्रदर्शनलाई पनि उनले मतलब गरेनन् ।

यसबीचमा महामन्त्रीद्वय थापा र शर्माले महाधिवेशनको कार्यतालिकाबारे विवादपछि टुंग्याउने र तत्काल निर्वाचनमा जाने निर्णय गर्ने कार्यवाहक सभापति खड्काको प्रस्ताव अस्वीकार गरिदिए ।

विशेष महाधिवेशनको दबाबबीच बरू खड्काले ‘पहिला निर्वाचनमा जाने विषयमा सबैको सहमति भएकाले केन्द्रीय समितिबाट निर्णय गरौँ’ भन्ने प्रस्ताव नै राखे । जबकि त्यसबेला ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग्दै निवेदन दिइसकेका थिए ।

देउवा अनुपस्थित रहँदा कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका खड्काको कार्यकाल छोटो भए पनि राजनीतिक रूपमा अर्थपूर्ण थियो । तर उनले आफ्नो कार्यकाललाई पार्टी बलियो बनाउने भन्दा फुटाउने काममा लगेर टुंग्याए । पार्टीभित्र आन्तरिक विवाद, विशेष महाधिवेशनको माग र नेतृत्व परिवर्तनको बहस उत्कर्षमा हुँदा बेला खड्काले जिम्मेवारी सम्हालेका थिए।

कार्यवाहक सभापति बनेपछि उनले संस्थापन र असन्तुष्ट दुवैसँग संवादको प्रयास गरे पनि प्रभाव देखाउन सकेनन् ।विशेष महाधिवेशन माग गर्नेलाई उनले इन्कार गरिरहे । त्यसकै कारण पनि कांग्रेस फुटसम्म पुग्यो ।

कार्यवाहक सभापति हुँदा उनले बैठकबाट निर्णय गराउने क्षमता अभाव र स्पष्ट राजनीतिक सन्देश दिन सकेनन् । विशेषगरी केन्द्रीय कार्यसमिति बैठक समयमै नबस्नु र निर्णय दिन नसक्नु आदि कारणले कांग्रेसमा विवाद चुलियो । खड्काको चरित्र कस्तो भयो भने ‘स्थिति व्यवस्थापक’ भए पनि जटिल परिस्थितिमा कांग्रेसलाई ‘दिशा दिने नेता’ का रुपमा सावित हुन सकेनन्।

कार्यवाहक भएर पनि खड्का देउवाका लाचार छाया मात्रै बने । देउवाले अह्राएको भन्दा उनले दायाँबायाँ गरेन् । एमालेमा अध्यक्ष केपी शर्मा ओलीले अह्राएको मात्रै गर्ने छबि बनाएकाभ शंकर पोखरेल जस्तै देखिए खड्का पनि । कार्यवाहक सभापति भएर पनि उनले स्वतन्त्र निर्णय गर्न सकेनन्। केबल संस्थापनको ताबेदारीमै सीमित भए ।

खड्काले कार्यवाहक सभापतिका रुपमा कांग्रेसलाई रुपान्तरण र पुस्तान्तर गराउन सक्थे । तर देउवाका लाचार छाया बनेका उनकै सभापतित्वमा बसेको बैठकले कांग्रेसलाई अर्को विभाजनतिर लग्ने निर्णय गर्‍यो । कांग्रेसलाई रूपान्तरणको अवसरलाई उनले विभाजनमा लगेर टुंग्याए ।

यससँगै देशको ठूलो दलको सभापति बन्ने अवसर पनि उनले गुमाउन पुगे । अहिलेको संकटको व्यवस्थापनसँगै स्पष्ट नेतृत्व र राजनीतिक दिशा खोजिरहेको कांग्रेसका दुई प्रमुख अनुहारलाई कारबाहीको निर्णयमा सही गरेर खड्काले कार्यवाहकका रुपमा कलंकको टीको लगाएका छन् ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ७ : २६ बजे

मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

काठमाडौँ- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको

बालअधिकार उल्लंघन अन्त्य गर्न प्रभावकारी खबरदारीमा जोड

काठमाडौँ। बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ- नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले

सुधन गुरुङले भने : राज्यको ढुकुटीमा आँखा गाड्नेमाथि कारबाही रोकिँदैन, डगमगाइँदैन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यको ढुकुटीमा आँखा गाड्नेहरूमाथि कारबाही

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

म्याग्दी- बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न