काठमाडौं– भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनको स्पष्ट सन्देश थियो, परम्परागत दलका शीर्ष नेताहरूको बिदाइ । पटक पटक अवसर पाएर पनि देशलाई विकासको गति दिन नसकेका उनीहरू बिदा भएर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने सन्देश उक्त आन्दोलनले दिएको थियो ।
तर उक्त आन्दोलनको भावनाविपरीत शेरबहादुर देउवाले नेपाली कांग्रेस पार्टीको सत्तामा टाँसिइरहनुपर्ने लोभ बोक्दा फेरि अर्को विभाजन भएको छ।
बुधबारदेखि सातौँ पटक नेपाली कांग्रेस फुटेको छ । यी फुटमध्ये दुईवटाको कलंकको टीको देउवाको निधारमा टाँसिएको छ ।
यो भन्दा विडम्बना कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हकमा भएको छ। भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा नराम्रोसँग कुटिएपछि देउवाले राजनीतिमा बिदा लिने योजनासहित असोज २८ गते खड्कालाई कांग्रेसको कार्यवाहक सभापति बनाए ।
खड्कालाई कार्यवाहक सभापति बनाएका देउवा नेपाल र विदेश गर्दै उपचारमा लागिरहे । यता खड्काले कार्यवाहकका रुपमा पार्टीको केन्द्रीय कार्यसमिति बैठक राखे । अर्को दल नेकपा एमाले जेन-जी आन्दोलनपछि जुरुक्क उठिसक्दा कांग्रेस भने लगातार अनिर्णयको बन्दी बन्यो ।
कतिसम्म भने कांग्रेस केन्द्रीय कार्यसमिति बैठक लगातार ४९ दिनसम्म अनिर्णयको बन्दी बन्यो । कार्यवाहक पाएपछि उक्त बैठकको अध्यक्षता उनै खड्काले गर्थे ।
उनले कार्यवाहक पाएपछि कांग्रेसलाई महाधिवेशनमा लैजाने कि चुनावमा भन्ने द्विविधाबाट उनी कहिले मुक्त हुन सकेनन् । मुलुकको सबैभन्दा पुरानो र ठूलो दल कांग्रेस पार्टीको १५औँ महाधिवेशन निर्वाचनअघि गर्ने कि पछि भन्ने विवादमा दुई महिना अल्झिरह्यो । यसबीचमा एमालेले एघारौँ महाधिवेशन सकेर नयाँ नेतृत्व छानिसकेको थियो ।
पार्टी महाधिवेशनको मुद्दामा अल्झिरहँदा खड्काले कहिल्यै गाँठो फुकाउन सकेनन् । बरू सिंगापुरबाट उपचार गरेर कात्तिक २८ गते फर्किएका सभापति शेरबहादुर देउवाले हस्तक्षेप गरेर एकै पटक मंसिर १५ गते महाधिवेशनको निर्णय गराए ।

लगातारको किचलोका कारण कांग्रेस राष्ट्रिय राजनीतिसँगै प्रमुख मुद्दाबाटै हराइसकेको थियो । आन्तरिक किचलोले भदौ २७ मा विघटित संसद्को सबैभन्दा ठूलो दल कांग्रेसको भूमिका नै सकिए जस्तो भएको थियड्ढो । प्रमुख मुद्दामा ऊ ओझेल परिरह्यो । जेन-जी आन्दोलनपछिको संक्रमणकालीन अवस्थामा देशकै ठूलो दल हराए बराबर थियो । कांग्रेस त २०४६ साल र २०६२/६३ को कमान्ड रहेकाले पनि उसको भूमिका खोजिनु स्वभाविक थियो ।
सभापति देउवाले कार्यवाहक दिए पनि पूर्णबहादुरले कहिल्यै आफ्नो शक्ति बुझेनन् । उनी देउवाकै बुख्याचा जस्ता मात्रै भइरहे । सभापति देउवाले सक्रिय राजनीतिबाट अलग हुने संकेत दिँदै असोज २८ गतेको केन्द्रीय कार्यसमितिको बैठकबाट उपसभापति खड्कालाई कार्यवाहक सभापति सुम्पिएका थिए । देउवाबाट नेतृत्व हातमा लिए पनि खड्काले आफैँ कहिले निर्णय गर्न सकेनन् । उनी देउवासँगै सुलह गर्न कुदिरहन्थे ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशनको दबाब बढाउँदा खड्काले देउवाकै कुरा सुनिरहे । थापा र शर्माले महाधिवेशनको दबाब बढाउँदा खड्का भने आफ्नो कार्यकाल लम्ब्याउने मात्रै ध्याउन्नमा हुन्थे । खड्काले समयमा निर्णय नदिएकै कारण नियमित महाधिवेशनको समय मात्रै टरेन अहिलेको विभाजनको कारक पनि बन्यो । महामन्त्रीद्वयले मंसिर मसान्तको साटो पुस १६ मा महाधिवेशन उद्घाटन गर्नुपर्ने माग गरे ।
तर खड्काले चासो दिएनन् । नियमित महाधिवेशन टारिएपछि असोज २९ गते बुझाइएको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर अनुसार तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने दबाब थियो । पुस २६ गते हुने गरी मंसिर १५ गते तोकिएको नियमित महाधिवेशन नहुने भएपछि महामन्त्रीद्वले पुस १६ गतेको मितिमा पुस २७ देखि विशेष महाधिवेशन गर्ने घोषणा गरे ।
उता मध्यमार्गी धार समातेका नेता डा.शेखर कोइराला पनि विशेष महाधिवेशन नभएर नियमित महाधिवेशनका पक्षमा थिए । तर उनी पनि खड्का जस्तै अक्षम सावित हुन पुगे । संस्थापन पक्ष आगामी वैशाखअघि महाधिवेशन गर्ने अडानमा हुँदा महामन्त्रीद्वयले विशेष महाधिवेशन गरेपछि कांग्रेसलाई देउवाले उनको जीवनकालमा दोस्रो पटक फुटाए । उता कार्यवाहक पाएका पूर्णबहादुर खड्का अपूर्णसँगै अक्षम पनि सावित भए ।
नियमित महाधिवेशन गराउन देउवा र खड्का तयार नहुँदा विशेष महाधिवेशन बोलाउन महामन्त्रीद्वय थापा र शर्माको समर्थनमा ५४ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षरसहित सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा निवेदन दर्ता गरिएको थियो ।
तर पार्टीको विधानले ४० प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षर भएमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्थालाई खड्काले वास्तै गरेनन् बरू आफूखुसी चलिरहे ।
गत असोज २९ गते विशेष महाधिवेशनको निवेदन दर्ता हुँदा पुस २८ भित्र महाधिवेशन बोलाउनुपर्ने वैधानिक बाध्यता थियो । तर, संस्थापन पक्षका नेताहरू महामन्त्रीहरूलाई नेतृत्व लिन हतारो भयो भन्दैमा निर्वाचनअघि महाधिवेशन गर्न नसकिने तर्क गरेर टारिरहे । यसरी टार्नेमा देउवासँगै खड्का पनि थिए । विधानको बाध्यकारी व्यवस्थालाई देउवासँगको सल्लाहमा खड्काले बेवास्ता गरिदिँदा कांग्रेस फुटेको छ।
कार्यतालिका प्रस्तुत गर्ने विषयमा महामन्त्री थापा र कार्यवाहक सभापति खड्काबीचको मतभेद छताछुल्ल भएको थियो । यी दुईबीचको विवाद केन्द्रीय कार्यसमितिमै पोखियो । कतिसम्म भने थापाले केन्द्रीय कार्यसमिति बैठक नै बहिष्कार गर्ने स्थिति बन्यो ।
देउवाले कार्यवाहक बनाए पनि बुख्याचा मात्रै बनेका खड्काले विशेष महाधिवेशनको मागलाई बेवास्ता गरे । विशेष महाधिवेशनको मागसहित भइरहेका प्रदर्शनलाई पनि उनले मतलब गरेनन् ।
यसबीचमा महामन्त्रीद्वय थापा र शर्माले महाधिवेशनको कार्यतालिकाबारे विवादपछि टुंग्याउने र तत्काल निर्वाचनमा जाने निर्णय गर्ने कार्यवाहक सभापति खड्काको प्रस्ताव अस्वीकार गरिदिए ।

विशेष महाधिवेशनको दबाबबीच बरू खड्काले ‘पहिला निर्वाचनमा जाने विषयमा सबैको सहमति भएकाले केन्द्रीय समितिबाट निर्णय गरौँ’ भन्ने प्रस्ताव नै राखे । जबकि त्यसबेला ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग्दै निवेदन दिइसकेका थिए ।
देउवा अनुपस्थित रहँदा कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका खड्काको कार्यकाल छोटो भए पनि राजनीतिक रूपमा अर्थपूर्ण थियो । तर उनले आफ्नो कार्यकाललाई पार्टी बलियो बनाउने भन्दा फुटाउने काममा लगेर टुंग्याए । पार्टीभित्र आन्तरिक विवाद, विशेष महाधिवेशनको माग र नेतृत्व परिवर्तनको बहस उत्कर्षमा हुँदा बेला खड्काले जिम्मेवारी सम्हालेका थिए।
कार्यवाहक सभापति बनेपछि उनले संस्थापन र असन्तुष्ट दुवैसँग संवादको प्रयास गरे पनि प्रभाव देखाउन सकेनन् ।विशेष महाधिवेशन माग गर्नेलाई उनले इन्कार गरिरहे । त्यसकै कारण पनि कांग्रेस फुटसम्म पुग्यो ।
कार्यवाहक सभापति हुँदा उनले बैठकबाट निर्णय गराउने क्षमता अभाव र स्पष्ट राजनीतिक सन्देश दिन सकेनन् । विशेषगरी केन्द्रीय कार्यसमिति बैठक समयमै नबस्नु र निर्णय दिन नसक्नु आदि कारणले कांग्रेसमा विवाद चुलियो । खड्काको चरित्र कस्तो भयो भने ‘स्थिति व्यवस्थापक’ भए पनि जटिल परिस्थितिमा कांग्रेसलाई ‘दिशा दिने नेता’ का रुपमा सावित हुन सकेनन्।
कार्यवाहक भएर पनि खड्का देउवाका लाचार छाया मात्रै बने । देउवाले अह्राएको भन्दा उनले दायाँबायाँ गरेन् । एमालेमा अध्यक्ष केपी शर्मा ओलीले अह्राएको मात्रै गर्ने छबि बनाएकाभ शंकर पोखरेल जस्तै देखिए खड्का पनि । कार्यवाहक सभापति भएर पनि उनले स्वतन्त्र निर्णय गर्न सकेनन्। केबल संस्थापनको ताबेदारीमै सीमित भए ।
खड्काले कार्यवाहक सभापतिका रुपमा कांग्रेसलाई रुपान्तरण र पुस्तान्तर गराउन सक्थे । तर देउवाका लाचार छाया बनेका उनकै सभापतित्वमा बसेको बैठकले कांग्रेसलाई अर्को विभाजनतिर लग्ने निर्णय गर्यो । कांग्रेसलाई रूपान्तरणको अवसरलाई उनले विभाजनमा लगेर टुंग्याए ।
यससँगै देशको ठूलो दलको सभापति बन्ने अवसर पनि उनले गुमाउन पुगे । अहिलेको संकटको व्यवस्थापनसँगै स्पष्ट नेतृत्व र राजनीतिक दिशा खोजिरहेको कांग्रेसका दुई प्रमुख अनुहारलाई कारबाहीको निर्णयमा सही गरेर खड्काले कार्यवाहकका रुपमा कलंकको टीको लगाएका छन् ।












प्रतिक्रिया