नेतान्याहुले युएई भ्रमण गरेको दाबी सार्वजनिक भएसँगै खाडी क्षेत्रमा नयाँ बहस सुरु « Khabarhub

नेतान्याहुले युएई भ्रमण गरेको दाबी सार्वजनिक भएसँगै खाडी क्षेत्रमा नयाँ बहस सुरु


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानसँगको युद्धका क्रममा गोप्य रूपमा संयुक्त अरब इमिरेट्स (युएई) भ्रमण गरेको दाबी सार्वजनिक भएपछि मध्यपूर्वको कूटनीतिक तथा सुरक्षा समीकरण फेरि चर्चामा आएको छ । इजरायलले उक्त भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको दाबी गरेको छ भने युएईले भने त्यस्तो कुनै गोप्य भेटवार्ता नभएको स्पष्ट पारेको छ । इजरायली प्रधानमन्त्री कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा नेतान्याहुले युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग भेटवार्ता गरेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा उक्त भेटले ‘इजरायल र संयुक्त अरब इमिरेट्सबीचको सम्बन्धमा ऐतिहासिक उपलब्धि’ हासिल गरेको दाबी गरिएको छ । तर युएईले इजरायली दाबीलाई तत्काल अस्वीकार गरेको छ । युएईको सरकारी समाचार संस्था डब्लुएएमले प्रकाशित गरेको विवरणमा कुनै पनि गोप्य भ्रमण वा गैरऔपचारिक वार्ता भएको दाबी गलत रहेको उल्लेख गरिएको छ । डब्लुएएमले आफ्नो प्रतिवेदनमा भनेको छ, “इजरायलसँगको युएईको सम्बन्ध सार्वजनिक, औपचारिक र अब्राहम सम्झौताअनुसार सञ्चालन भइरहेको छ । यो कुनै अपारदर्शी वा गोप्य व्यवस्थामा आधारित छैन ।”

युएईले आफ्नो भूमिमा इजरायली सैन्य प्रतिनिधिमण्डल उपस्थित भएको विषयलाई समेत अस्वीकार गरेको छ । यो विवादास्पद दाबी अमेरिकी राजदूत माइक हुकाबीले इजरायलले युएईमा आइरन डोम हवाई सुरक्षा प्रणाली र त्यसका कर्मचारी पठाएको खुलासा गरेको एक दिनपछि सार्वजनिक भएको हो । हुकाबीले इजरायलले युएईलाई इरानी क्षेप्यास्त्र तथा ड्रोन आक्रमणबाट जोगाउन प्रतिरक्षा सहयोग उपलब्ध गराएको बताएका थिए । गत महिना युद्धविराम घोषणा भए पनि युएईले अझै इरानी ड्रोन र क्षेप्यास्त्र हमलाको जोखिम सामना गरिरहेको छ ।

खाडी क्षेत्रमा बढ्दो अस्थिरताबीच युएईले आफू व्यापार र लगानीका लागि सुरक्षित रहेको सन्देश दिन खोजिरहेको विश्लेषण गरिएको छ । गत सातामात्र डब्लुएएमले नेतान्याहुले इरानी आक्रमणको निन्दा गर्दै खाडी राष्ट्रहरूप्रति ऐक्यबद्धता व्यक्त गर्न युएईका राष्ट्रपतिलाई फोन गरेको समाचार सार्वजनिक गरेको थियो । सन् २०२० मा भएको अब्राहम सम्झौतामार्फत युएईले इजरायलसँग सम्बन्ध सामान्य बनाएको थियो ।

त्यसयता दुवै देशबीच सुरक्षा, व्यापार र प्रविधि क्षेत्रमा सहकार्य बढ्दै गएको छ । इजरायलले युद्धका कठिन समयमा पनि युएईसँगको सम्बन्ध थप बलियो बनेको सङ्केत दिन खोजेको देखिन्छ । तर इरानले अब्राहम सम्झौताप्रति सुरुदेखि नै आपत्ति जनाउँदै आएको छ । तेहरानले इजरायलले युएईमा सैन्य तथा गुप्तचर उपस्थिति विस्तार गरेको आरोप बारम्बार लगाउँदै आएको छ । सम्बन्ध सामान्यीकरणपछि पछिल्ला वर्षहरूमा इजरायली नेताहरूले पटक–पटक युएई भ्रमण गरेका छन् । यद्यपि युद्धको संवेदनशील अवस्थाबीच नेतान्याहुको कथित गोप्य भ्रमण सार्वजनिक हुनु क्षेत्रीय राजनीतिमा नयाँ बहसको विषय बनेको छ ।

यसैबीच, इरानले कुवेतसँग अर्को विवाद चर्काएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले कुवेतले चार इरानी नागरिकलाई पक्राउ गरेर ‘क्षेत्रमा कलह फैलाउने प्रयास’ गरेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत ती इरानी नागरिकको तत्काल रिहाइ माग गर्दै इरानले आवश्यक परे जवाफ दिने अधिकार सुरक्षित राखेको चेतावनी दिए । अराघचीले लेखेका छन्, “यो गैरकानूनी कदम अमेरिकाद्वारा इरानमाथि आक्रमणका लागि प्रयोग गरिएको टापु नजिक भएको हो ।” कुवेतले भने मे १ मा पर्सियन खाडीको उत्तरपश्चिम क्षेत्रमा रहेको बुबियान टापुमा अवैध रूपमा प्रवेश गर्ने प्रयास गर्दा चार जनालाई पक्राउ गरिएको र दुई जना भाग्न सफल भएको जनाएको छ ।

कुवेती अधिकारीहरूले पक्राउ परेकाहरू इरानी रिभोलुसनरी गार्डसँग सम्बन्धित रहेको आशङ्का गरेका छन् । बुबियान टापु रणनीतिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ । त्यहाँ मुबारक अल कबीर बन्दरगाह निर्माणाधीन अवस्थामा छ । यो चीनको विश्वव्यापी पूर्वाधार परियोजनासँग जोडिएको छ । युद्धका क्रममा उक्त क्षेत्र इरानी आक्रमणको निशानामा समेत परेको थियो । इरानभित्र मानवअधिकारको विषय पनि फेरि चर्चामा आएको छ । चर्चित मानवअधिकार वकिल नसरीन सोतौदेहलाई पक्राउ गरेको एक महिनापछि जेलमुक्त गरिएको जानकारी अधिकारकर्मी र उनकी छोरीले दिएका छन् ।

सोतौदेहलाई अप्रिलमा तेहरानस्थित घरबाट इरानी गुप्तचर अधिकारीहरूले पक्राउ गरेका थिए । उनी विशेषगरी महिला अधिकार, कार्यकर्ता र विपक्षी राजनीतिकर्मीको पक्षमा कानूनी लडाइँ लड्दै आएको कारण चर्चित छिन् । अमेरिकास्थित मानवअधिकार कार्यकर्ता समाचार एजेन्सीले उनलाई तेहरानको एभिन जेलबाट जमानतमा रिहा गरिएको जनाएको छ । उनकी छोरी मेहरावेह खान्डानले पनि सामाजिक सञ्जालमार्फत रिहाइको पुष्टि गरेकी छिन् । इरानको अर्धसरकारी आइएसएनए समाचार एजेन्सीले समेत सोतौदेह रिहा भएको समाचार दिएको छ ।

सोतौदेह यसअघि पनि पटक–पटक जेल परिसकेकी छिन् । उनका पति तथा मानवअधिकार कार्यकर्ता रेजा खान्डानले पनि विभिन्न अभियोगमा जेल सजाय भोगिरहेका छन् । त्यसैगरी, नोबेल शान्ति पुरस्कार विजेता तथा मानवअधिकार अभियन्ता नर्गिस मोहम्मदीको स्वास्थ्य अवस्थालाई लिएर पनि चिन्ता बढेको छ । उनी जेलमा बेहोस भएपछि अस्पताल भर्ना गरिएको थियो । त्रिपन्न वर्षीया मोहम्मदी मे १ मा इरानको जेलभित्रै बेहोस भएपछि उत्तरपश्चिमी इरानको अस्पतालमा लगिएको थियो ।

पछि जमानतमा रिहा गरिएपछि उनलाई तेहरानको अस्पतालमा सारिएको थियो । उनको फाउन्डेसनका अनुसार विशेषज्ञ चिकित्सकहरूले मोहम्मदीको रक्तनलीसम्बन्धी रोग गम्भीर बन्दै गएको निष्कर्ष निकालेका छन् । चिकित्सकहरूले कम्तीमा आठ महिनासम्म नियमित उपचार आवश्यक पर्ने बताएका छन् । मोहम्मदीलाई सन् २०२३ मा जेलमै रहेका बेला नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

उनले वर्षौंदेखि महिला अधिकार, अभिव्यक्ति स्वतन्त्रता र मृत्युदण्डविरुद्ध अभियान चलाउँदै आएकी छिन् । उनको पछिल्लो गिरफ्तारी गत डिसेम्बरमा उत्तरपूर्वी इरानको मशहाद सहरबाट गरिएको थियो । त्यसयता उनले फेरि जेल जीवन बिताइरहेकी थिइन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  २ : २१ बजे

कालो धुवाँ बोकेरै ठडिएको छ पुरानो संसद् भवन, पुनर्निर्माणको छैन टुंगो, भाडासमेत तिर्न बाँकी

काठमाडौं- जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी)

२०० करोड मनी लन्ड्रिङ केसमा ट्विस्ट : ज्याकलिन फर्नान्डेजले सरकारी साक्षी बन्ने कदम फिर्ता लिइन्

काठमाडौं – बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज फेरि २०० करोड भारतीय रुपैयाँ

सीआईबीद्वारा एनसेल मुख्यालयबाट महत्वपूर्ण दस्तावेज नियन्त्रणमा

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले एनसेलको मुख्यालयबाट महत्वपूर्ण

कोशी मन्त्रिपरिषद् बैठक : जेठ ६ गतेदेखि बजेट अधिवेशन सुरु गर्ने निर्णय

विराटनगर– कोशी प्रदेशसभाको नवौँ तथा बजेट अधिवेशन आगामी जेठ ६

सरकारको जवाफ प्रधानमन्त्रीबाटै माग्ने प्रतिपक्षीको तयारी

काठमाडौं- प्रतिनिधि सभामा अहिले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति