पूर्णबहादुर र शेखरले गगनसँग खोजेको के हो ? « Khabarhub

कांग्रेसमा किचलो

पूर्णबहादुर र शेखरले गगनसँग खोजेको के हो ?

वैशाख १९ यता दुई पक्षबीच हुन सकेन संवाद



काठमाडौँ– दुई समूहको विवाद भुसको आगो झैँ सल्किरहेका बेला केही दिनदेखि नेपाली कांग्रेसमा ७ बुँदे प्रस्तावले चर्चा पाइरहेको छ ।

संस्थापन पक्षले उक्त प्रस्ताव पठाएको इतर समूहका नेताद्वय पूर्णबहादुर खड्का र डा. शेखर कोइरालाले अस्वीकार गरिरहेका छन् । तर उक्त प्रस्ताव पठाएको पुष्टिसहित आइतबार बिहान कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिए ।

जहाँ उपसभापति शर्माले इतरका शीर्ष नेताहरूलाई १६ दिनअघि नै उक्त प्रस्ताव पठाएको उल्लेख गरेका छन् । तर, इतर समूहका शीर्ष नेताहरूले उक्त प्रस्तावलाई बेवास्ता गरेको उनको दाबी छ ।

७ बुँदे प्रस्तावको सार

आइतबार इतर समूहले कोशी प्रदेशमा भेला राखेको थियो । उक्त भेलालाई सम्बोधन गर्दै शीर्ष नेता कृष्णप्रसाद सिटौलाले ७ बुँदे प्रस्ताव पठाउनुको सट्टा १० मिनेट प्रत्यक्ष वार्ता गरे समाधान हुने बताए ।

‘लेख्ने चक र मेट्ने डस्टर पनि तपाईंहरूसँग छ, कांग्रेसको खण्डित अवस्थालाई मेटाउनुपर्छ । १० औँ, ११औँ, १२औँ महाधिवेशन जस्तै १५औँ महाधिवेशन गरे सबै कुरा मिल्छ । अहिले अनेक नाटक गरेर जानुको जरुरी छैन,’ उनले भने ।

उपसभापति शर्माले आफू, विजयकुमार गच्छदार र डा. शशांक कोइराला लगायत नेतालाई पत्र पठाउनुभन्दा प्रत्यक्ष संवाद गरे छोटो समयमा समाधान निकाल्न सकिने अवस्था रहेको पनि उनले सुझाए ।

यस्तै, अर्का नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको तिक्तता हटाउन बृहत् एकता आवश्यक रहेकाले आफू एकता अभियानमा लागेको बताए ।

‘अहिले संघीय संसद्मा कांग्रेस संख्यात्मक रूपमा कमजोर रहेकाले पार्टीलाई एकढिक्का बनाएर लैजानुको विकल्प छैन,’ उनले भने ।

उपसभापति शर्माले २६ जेठमा उक्त प्रस्ताव पठाए पनि त्यसकै भोलिपल्ट २७ जेठमा नेता डा. कोइरालाले आफ्नो सचिवालयमार्फत् आफू जानकार नभएको सार्वजनिक गरेका थिए ।

‘मनगढन्ते, कपोलकल्पित र भ्रामक सूचनाको भ्रममा नपर्न पार्टी पंक्ति र आम नागरिकलाई आग्रह छ,’ शेखरका सहयोगी दिनेशचन्द्र थपलियाले सार्वजनिक गरेकोउक्त प्रेस नोटमा उल्लेख छ ।

निवर्तमान सभापति शेरबहादुर देउवा निकटस्थ तत्कालीन प्रवक्ता डा. प्रकाशशरण महतले भने २८ जेठमा पत्रकार सम्मेलन गर्दै उक्त प्रस्ताव पूर्ण नभएको बताएका थिए ।

‘फाट्टफुट्ट भेटघाटले मात्रै समाधान हुँदैन, दुवै पक्ष एकै ठाउँमा बसेर संवाद गर्नुपर्छ । अद्यावधिकको विरोध भन्दा लामो समयदेखि सक्रिय सदस्यलाई केवल प्रक्रियागत कारणले बाहिर राखिनु हुँदैन,’ पार्टी विधान पनि दुवै पक्षको सहमतिमा संशोधन गर्नुपर्छ ।’

के–के छन् असहमति ?

निवर्तमान कार्यवाहक सभापति खड्काले ५ वैशाखमा सर्वोच्च अदालतले गगनकुमार थापा नेतृत्वको विशेष महाधिवेशन कार्यसमितिलाई मान्यता दिएपछि वार्ता र एकताको पहल उतैबाट गर्नुपर्ने बताएका थिए । तर ६ वैशाखमा खड्काको गल्फुटारस्थित निवासमै गएर विवादबारे आइसब्रेक गरेका सभापति थापा र १९ वैशाखयता फर्किएर गएका छैनन् ।

त्यसदिन उपसभापति शर्मासहित उनीहरूको भेट भएको थियो । उक्त दिन पनि सभापति थापाले भोलिपल्टै भेट्ने बताएको खड्कानिकट नेता मीनबहादुर विश्वकर्मा बताउँछन् । तर गगनले भनेको भोलिपल्ट असार लाग्न लाग्दा पनि आएको छैन।

‘हाम्रो पनि प्रदेशस्तरीय भेला छ, समय मिले भोलि आउँछु पूर्ण दाइ भनेर गएका सभापति थापा अहिलेसम्म आउनुभएको छैन,’ उनले बताए । त्यसबारे खड्का स्वयम्ले पनि सामाजिक सञ्चालमार्फत् प्रष्ट पारिसकेका छन् ।

पुस मसान्तमा भएको विशेष महाधिवेशनपछि असन्तुष्ट पक्षले अर्को पार्टी खोल्नेतर्फ कुनै संकेत गरेको छैन । एकता दुवै पक्षल चाहेको छ । जसका लागि संस्थापनले मात्रै होइन, नेताद्वय खड्का र कोइरालाले पनि फरक फरक समयमा आफ्नो प्रस्ताव विभिन्न माध्यममार्फत् सार्वजनिक गरेका छन् ।

त्यसबारे डा. कोइरालाले जेठ ११ गते ५ बुँदे प्रस्ताव सार्वजनिक गरेका थिए । ‘१५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्ने, १४औँ महाधिवेशनपछाडि नवीकरण र वितरण गरिएका क्रियाशील सदस्यताकै आधारमा १५औँ महाधिवेशन गर्ने,’ लगायत बुँदा प्रस्तावमा समेटिएको छ ।

यस्तै, देउवा समूहले पनि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य गर्ने संस्थापनको निर्णयमा असहमति जनाएको छ । निवर्तमान कार्यवाहक सभापति खड्काले २४ जेठमा फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै नवीकरण र नयाँ क्रियाशील सदस्यता लिएकालाई अद्यावधिक नगरेको निहुँमा कसैलाई १५औँ महाधिवेशनबाट बञ्चित गर्न-गराउन नसक्ने बताएका छन् ।

‘१५औँ महाधिवेशनका लागि नवीकृत र नयाँ क्रियाशील सदस्यहरूलाई अद्यावधिकको नाममा दिइएका दबाबबारे देशैभरबाट मलाई जुन तरिकाले जानकारी गराइराख्नु भएको छ, यो प्रवृत्ति पार्टी जीवनका लागि अत्यन्त घातक छ, म सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु,’ खड्काले लेखेका थिए, ‘हामीले १५औँ महाधिवेशनका लागि नवीकरण गराएका र नयाँ क्रियाशील सदस्यता लिएका साथीहरूलाई अद्यावधिक नगरेको निहुँमा १५औँ महाधिवेशनबाट कसैले वञ्चित गर्न-गराउन सक्दैन ।’

यसैबीच, संस्थापन इतर समूहका युवा नेताहरूले कांग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा छलफल गर्न आयोजित ‘बृहत् युवा भेला’ एकताका लागि पाँच बुँदा सार्वजनिक गरेको छ ।

विशेष महाधिवेशनबाट गठन गरिएको समितिलाई खारेज गर्नेदेखि पार्टीको नेतृत्व तथा जिम्मेवारी युवा पुस्ता (जेन–जी) लाई हस्तान्तरण गर्नेसम्मको विषय त्यसमा उठाइएको छ ।

‘भ्रातृसंगठनको टीके नियुक्ति खारेज गरी निर्वाचन समितिमार्फत् अधिवेशन गर्ने, क्रियाशील सदस्यता अद्यावधिकका नाममा हुने धाँधली रोक्ने तथा यसअघि नवीकृत सदस्यतालाई मान्यता दिने, आगामी भदौभित्र महाधिवेशन सम्पन्न गर्ने,’ एजेण्डामा उल्लेख छ ।

खास असन्तुष्टि के हो ?

कांग्रेसमा विशेष महाधिवेशनपछिको प्रमुख विवाद १५औँ महाधिवेशनको तयारीका लागि बनाइने आयोजक समितिको संरचनामा केन्द्रित छ । उपसभापति शर्माले सातबुँदे प्रस्तावमा केन्द्रीय समितिको अंग रहने गरी १५औँ महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने उल्लेख गरेका छन् ।

यसका साथै, केन्द्रीय समितिमा नरहेका तथा योगदान गरेका नेतालाई समेत निश्चित संख्यामा समेटेर कार्यसम्पादन समितिमा सम्मानजनक भूमिका दिने प्रस्ताव गरिएको छ ।

तर देउवा र कोइरालाको फरक मत छ । विशेष महाधिवेशनबाट बनेको समिति र १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति दुवैलाई समायोजन गरी एकै समावेशी आयोजक समिति बनाउनुपर्ने उनीहरूको माग ।

जुन नेता डा. कोइरालाले आफ्नो पाँचबुँदे प्रस्तावमार्फत् दुई संरचना मिलाएर एकीकृत समिति बनाउनुपर्ने स्पष्ट पारेका छन् । यससँगै, कार्यसम्पादन समिति सभापतिको बहुमत हुने गरी गठन गर्नेमा पनि इतर समूह तयार छ ।

‘उहाँहरूले सबैलाई स–सम्मान समेट्दै कार्यसमितिमा सभापतिकै बहुमत स्वभाविक हुन्छ, त्यसलाई स्वीकार्ने भन्नुभएको छ । तर वार्ताका लागि नआउँदा समस्या भयो,’ नेता मीन विश्वकर्माले सुनाए ।

नेता महतले भने वर्तमान संस्थापनको प्रस्ताव पर्याप्त नभएको भन्दै पुराना र नयाँ दुवै संरचनालाई समान रूपमा समेट्नुपर्नेमा जोड दिएका छन । विशेष महाधिवेशनबाट बनेको समिति मातहतमा आयोजक समिति राख्ने व्यवस्था स्वीकार्य नहुने उनको तर्क छ।

यसैबीच वरिष्ठ नेताका रूपमा सम्मान दिने प्रस्ताव पनि दुवै समूहले अस्वीकार गरेका छन् । उनीहरूले पद होइन, आगामी महाधिवेशन निष्पक्ष र प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न हुनुपर्नेमा जोड दिएका छन्।

‘अब वार्ताबाट एकता गरेर महाधिवेशन गर्दासम्मका लागि विशेष पदको नेताहरूको पनि चाहाना छैन् । ती विषय एकतापछि गर्दा पनि हुन्छ, पहिले त मुद्दामा सहमति जुट्नुपर्‍यो,’ नेता विश्वकर्माले प्रष्ट पारे ।

निर्वाचन समिति, अनुशासन समिति र क्रियाशील छानबिन समितिमा सहकार्य गर्न दुवै पक्ष सहमत देखिन्छन् । तर अझै पनि कांग्रेस एक बनाउने कुरामा दुवै पक्ष हलो अड्काएर बसिरहेका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  ८ : ०२ बजे

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको