तलब नपाएपछि कङ्गोमा इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीको हडताल « Khabarhub

तलब नपाएपछि कङ्गोमा इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीको हडताल


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कङ्गोमा तीव्र रूपमा फैलिरहेको इबोला प्रकोप नियन्त्रणको प्रयासबीच उत्तरपूर्वी इटुरी प्रान्तस्थित रुवाम्पारा सामान्य अस्पतालको इबोला उपचार केन्द्रमा कार्यरत दर्जनौँ स्वास्थ्यकर्मीले दुई महिनादेखिको तलब र भत्ता नपाएको भन्दै हडताल गरेका छन् । यस घटनाले देशको इबोला नियन्त्रण अभियानमा थप चुनौती थपिएको छ ।

कङ्गोले गत मे महिनादेखि स्वीकृत उपचार वा खोप उपलब्ध नभएको इबोलाको दुर्लभ ‘बुन्डिबुग्यो’ प्रजातिविरुद्ध सङ्घर्ष गरिरहेको छ । गत साता स्वास्थ्यमन्त्री रोजर कम्बाले सङ्क्रमण थप दुई प्रान्तमा फैलिएको जानकारी दिएका थिए ।

प्रकोपको केन्द्र मानिएको रुवाम्पारा अस्पतालमा हडतालमा उत्रिनेहरूमा महामारीविद्, सङ्क्रमितको खोज तथा अनुगमनमा खटिएका कर्मचारी, चालक र शव व्यवस्थापनमा संलग्न कामदारसमेत छन् । उनीहरूले सरकारले तलब र भत्ता उपलब्ध नगराएको आरोप लगाएका छन् । प्रदर्शनका क्रममा उनीहरूले अस्पतालको सेवा अवरुद्ध पार्नुका साथै अस्पताल पुग्ने सडक बन्द गरी टायरसमेत जलाएका थिए ।

अस्पतालका स्वास्थ्यकर्मी बहती क्लाउडले दुई महिनासम्म तलब नपाउनु अस्वीकार्य भएको बताउँदै आफूहरूले काम रोक्न नचाहेको तर पारिश्रमिकबिना सेवा दिन नसकिने अवस्था आएको प्रतिक्रिया दिए । उक्त उपचार केन्द्र यसै महिनाको सुरुमा नयाँ उपचार विधिको अध्ययन सुरु गरिएको अर्को इबोला केन्द्र भन्दा फरक रहेको जनाइएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार कङ्गोले मे १५ मा इबोला प्रकोपको औपचारिक घोषणा गरे पनि सङ्क्रमण त्यसअघि नै केही सातादेखि फैलिरहेको थियो । प्रारम्भिक परीक्षण अधिक सामान्य इबोला प्रकारका लागि गरिएकाले दुर्लभ ‘बुन्डिबुग्यो’ भाइरस पहिचान गर्न ढिलाइ भएको थियो ।

स्वास्थ्यमन्त्री कम्बाले सरकारले प्रकोप नियन्त्रणमा खटिएका कर्मचारीको नामावली पुनः प्रमाणीकरण गरिरहेको बताए । उनका अनुसार वास्तविक कर्मचारीबाहेक अन्य व्यक्तिका नाम पनि तलब सूचीमा समावेश भएकाले भुक्तानी प्रक्रियामा समस्या उत्पन्न भएको हो । वास्तविक कामदारसम्म रकम पुग्ने सुनिश्चित गरेर समस्या समाधान गरिने उनले बताए।

कङ्गोका अधिकारीहरूका अनुसार हालसम्म देशभर एक हजार ९२६ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ७०२ जनाको मृत्यु भइसकेको छ ।

यसैबीच डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले इबोलाबाट सङ्क्रमित दोस्रो अमेरिकी नागरिकलाई उपचारका लागि जर्मनी लगिएको जानकारी दिए।

सङ्क्रमित व्यक्ति पूर्वी कङ्गोमा कार्यरत एक मानवीय सहायता कर्मी हुन् । यसअघि प्रकोपको प्रारम्भिक चरणमा सङ्क्रमित भएका पहिलो अमेरिकी नागरिक पनि कङ्गोमै कार्यरत चिकित्सक थिए ।
 

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ६ : २३ बजे

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,

बाढीपीडितलाई पाँच लाख ५१ हजार सहयोग

मुस्ताङ- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि मुस्ताङको