तलब नपाएपछि कङ्गोमा इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीको हडताल « Khabarhub

तलब नपाएपछि कङ्गोमा इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीको हडताल


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कङ्गोमा तीव्र रूपमा फैलिरहेको इबोला प्रकोप नियन्त्रणको प्रयासबीच उत्तरपूर्वी इटुरी प्रान्तस्थित रुवाम्पारा सामान्य अस्पतालको इबोला उपचार केन्द्रमा कार्यरत दर्जनौँ स्वास्थ्यकर्मीले दुई महिनादेखिको तलब र भत्ता नपाएको भन्दै हडताल गरेका छन् । यस घटनाले देशको इबोला नियन्त्रण अभियानमा थप चुनौती थपिएको छ ।

कङ्गोले गत मे महिनादेखि स्वीकृत उपचार वा खोप उपलब्ध नभएको इबोलाको दुर्लभ ‘बुन्डिबुग्यो’ प्रजातिविरुद्ध सङ्घर्ष गरिरहेको छ । गत साता स्वास्थ्यमन्त्री रोजर कम्बाले सङ्क्रमण थप दुई प्रान्तमा फैलिएको जानकारी दिएका थिए ।

प्रकोपको केन्द्र मानिएको रुवाम्पारा अस्पतालमा हडतालमा उत्रिनेहरूमा महामारीविद्, सङ्क्रमितको खोज तथा अनुगमनमा खटिएका कर्मचारी, चालक र शव व्यवस्थापनमा संलग्न कामदारसमेत छन् । उनीहरूले सरकारले तलब र भत्ता उपलब्ध नगराएको आरोप लगाएका छन् । प्रदर्शनका क्रममा उनीहरूले अस्पतालको सेवा अवरुद्ध पार्नुका साथै अस्पताल पुग्ने सडक बन्द गरी टायरसमेत जलाएका थिए ।

अस्पतालका स्वास्थ्यकर्मी बहती क्लाउडले दुई महिनासम्म तलब नपाउनु अस्वीकार्य भएको बताउँदै आफूहरूले काम रोक्न नचाहेको तर पारिश्रमिकबिना सेवा दिन नसकिने अवस्था आएको प्रतिक्रिया दिए । उक्त उपचार केन्द्र यसै महिनाको सुरुमा नयाँ उपचार विधिको अध्ययन सुरु गरिएको अर्को इबोला केन्द्र भन्दा फरक रहेको जनाइएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार कङ्गोले मे १५ मा इबोला प्रकोपको औपचारिक घोषणा गरे पनि सङ्क्रमण त्यसअघि नै केही सातादेखि फैलिरहेको थियो । प्रारम्भिक परीक्षण अधिक सामान्य इबोला प्रकारका लागि गरिएकाले दुर्लभ ‘बुन्डिबुग्यो’ भाइरस पहिचान गर्न ढिलाइ भएको थियो ।

स्वास्थ्यमन्त्री कम्बाले सरकारले प्रकोप नियन्त्रणमा खटिएका कर्मचारीको नामावली पुनः प्रमाणीकरण गरिरहेको बताए । उनका अनुसार वास्तविक कर्मचारीबाहेक अन्य व्यक्तिका नाम पनि तलब सूचीमा समावेश भएकाले भुक्तानी प्रक्रियामा समस्या उत्पन्न भएको हो । वास्तविक कामदारसम्म रकम पुग्ने सुनिश्चित गरेर समस्या समाधान गरिने उनले बताए।

कङ्गोका अधिकारीहरूका अनुसार हालसम्म देशभर एक हजार ९२६ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ७०२ जनाको मृत्यु भइसकेको छ ।

यसैबीच डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले इबोलाबाट सङ्क्रमित दोस्रो अमेरिकी नागरिकलाई उपचारका लागि जर्मनी लगिएको जानकारी दिए।

सङ्क्रमित व्यक्ति पूर्वी कङ्गोमा कार्यरत एक मानवीय सहायता कर्मी हुन् । यसअघि प्रकोपको प्रारम्भिक चरणमा सङ्क्रमित भएका पहिलो अमेरिकी नागरिक पनि कङ्गोमै कार्यरत चिकित्सक थिए ।
 

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ६ : २३ बजे

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२

सप्तकोशीमा डुबेर बेपत्ता युवक मृत भेटिए

सुनसरी– सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनसरीको बराहक्षेत्रका

एआईबाट अनुहार र आवाज दुरुपयोगको डर, न्याय माग्दै अदालत पुगिन् कृति सेनन

काठमाडौं – बलिउड अभिनेत्री कृति सेननले आफ्नो नाम, अनुहार, आवाज

भारतीय फिल्म ‘उड्ता तीर’को नेपालमा प्रदर्शनमा रोक

काठमाडौं – सूचना तथा सञ्चार मन्त्रालयले भारतीय चलचित्र ‘उड्ता तीर’लाई 

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

जनकपुरधाम– धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा