शेरबहादुर देउवा अब हाम्रो संरक्षक भएर रहनुहुन्छ : पुष्पा भुसाल « Khabarhub

शेरबहादुर देउवा अब हाम्रो संरक्षक भएर रहनुहुन्छ : पुष्पा भुसाल



काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले बुधबार नयाँ नेतृत्व चयन गरेको छ । यसअनुसार गगन थापा सभापति, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन् ।

कांग्रेसको संस्थापन पक्ष शेरबहादुर देउवा लगायतको कार्यसमितिले पाँचवर्षका लागि कारवाही गरेका महामन्त्रीद्वय थापा र शर्माले नयाँ कार्यसमिति बनाएपछि कांग्रेस विधिवत फुटेको अवस्था छ ।

तर, उपसभापति भुसाल भने कांग्रेस नफुटेको बताउँदै विशेष महाधिवेशन पक्षधर नेताहरूले बनाएको नयाँ कार्यसमिति नै अहिलेको आधिकारिक कांग्रेस भएको दाबी गर्छिन् । उनी सबै प्रक्रियाहरू पूरा गरेर कांग्रेसलाई निर्वाचन आयोगमा अध्यावधिक गराउने बताउँछिन् ।

कांग्रेसको पछिल्लो अवस्था र अबको विकल्पबारे भुसालसँग खबरहबले गरेको कुराकानीको सम्पादित अंश-

अब कांग्रेस फुट्यो भनेर बुझ्दा हुन्छ हैन ?

कांग्रेस फुटेको छैन । बिल्कुल फुटेको छैन। विधानको पालना गरेको काङ्ग्रेसलाई फुटेको भन्न मिल्दैन। कांग्रेस फुटो भन्ने हो भने त विधानको व्याख्या नै गलत हुन्छ।

नेपाली कांग्रेसका आधिकारिक सभापति को हो ?

नेपाली कांग्रेसको आधिकारिक सभापति गगन थापा हो । उहाँलाई ५६ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले सभापति बनाउनुभएको छ । जसले विधानतः विशेष महाधिवेशन सम्पन्न गरेको हो, उही हो कांग्रेस सभापति । जो अहिले गगन थापा हुनुहुन्छ । कांग्रेसले कानुन, संविधान सबै टेकेर विधान महाधिवेशन सम्पन्न गरेको छ । यो कुराले गर्दा मूल पार्टी र अर्को पार्टी भन्ने सवाल नै छैन ।

यो महाधिवेशन समग्रमा सबै नेपाली कांग्रेसले विधानलाई अबलम्बन गरेर भएको हो । महाधिवेशन भनेको सबैभन्दा बलियो ठाउँ हो । यसैले केन्द्रीय कार्यसमितिलाई जन्म दिन्छ । अनि कार्यसमिति पनि त्यसैले विघटन गर्न सक्छ ।

नयाँ कार्यसमिति बनाउन पनि सक्छ । हामीसँग प्रशस्त आधारहरू भएरै नयाँ कार्यसमितिको चयन गरेको हो। यसलाई कुनै विवादको विषय बनाउने, फुट भयो, टुट भयो भन्ने विषय प्रवेश नै गर्दैन अब । किनकी हामीले विधान र कानुन मिच्ने कुनै प्रयत्न गरेकै छैन ।

उसोभए यसअघिका सभापति शेरबहादुर देउवा र अन्य नेताहरूको कांग्रेसमा हैसियत के छ ?

उहाँहरूलाई हामी सम्मानित हैसियत दिन्छौँ । यसअगाडि पनि हामीले उहाँहरुलाई भनेका थियौँ ।

यहाँले पार्टी सभापति गगन थापालाई त बनाउनुभयो । तर, अरुले स्वीकार नगर्दा विवाद छताछुल्ल भयो नि ?

पार्टी फुटाएको पनि छैन र कांग्रेसमा कुनै विवाद पनि छैन । ५६ प्रतिशत प्रतिनिधिले बोलाएको महाधिवेशन हो । यसमा विवाद होइन, अब मिलाएर अगाडि बढ्ने हो । केन्द्रीय समितिले बोलाउने होइन, विशेष महाधिवेशन अधिवेशन प्रतिनिधिले बोलाउने हो ।

पार्टी विधानलाई कार्यान्वयन गर्ने पहिलो अभ्यास पनि हो । यसमा सबै विधि पनि पुगेको छ ४० प्रतिशतले बोलाउने । ५० प्रतिशतभन्दा बढीले निर्णय गर्न पाउने भन्ने विधान छ ।

त्यो अनुसार दर्ता पनि गरेको तीन महिनाभित्रमा बोलाउनुपर्नेछ भनेर बाध्यात्मक व्यवस्था भएकाले विधानभन्दा माथि केन्द्रीय समिति हुँदैन । केन्द्रीय समितिको कुनै पनि निर्णयलाई महाधिवेशनले मान्दैनौं पनि भन्न सक्छ ।

केन्द्रीय समितिभन्दा माथि महाधिवेशन नै हुन्छ त्यहाँको ५० प्रतिशत भन्दा बढी ले गरेको केन्द्रीय कार्यसमिति भङ्गको निर्णय केन्द्रीय समितिको गठन गर्ने निर्णय अन्य विभिन्न नीतिहरू तयार गर्ने कुरा सबै महाधिवेशनले गरेको हुनाले त्यसलाई पालना गर्नुपर्छ । यो पार्टीको कानुनी रूपमा, संवैधानिक रुपमा र विधानअनुसार भएको कुरा हो । यस कुरालाई सबैले मानेर जानुपर्छ।

यहाँहरू त कारबाहीमा पर्नुभएको छ । पार्टी अफिस छिर्ने हैसियत गुमेको छ नि, हैन ?

यो अहिले पार्टीको विवाद मात्रै होइन, राज्यको निकायमा गइसकेको विषय हो । पार्टीको आन्तरिक विवाद हुँदै होइन । केन्द्रीय कार्यसमिति भङ्ग गरिसकेको अवस्थामा त पार्टीको बैठक पार्टीले निर्णय गर्‍यो भन्ने कुराको कुनै औचित्य नै छैन।

राजनीतिक विवादलाई थप छलफल गर्न सकिएला । तर कानुनी रूपमा हेर्ने हो भने त एकदमै राम्रो काम भएको छ। कानुनलाई मानेर अगाडि बढ्ने हाम्रो संस्कार हो ।

कानुनी रुपमा हेर्दा यो कुनै पनि हिसाबले गलत छैन । संविधानले दिएको पार्टीको विधानले दिएको विषयलाई अवलम्बन गर्दा उहाँहरुले आफ्नो तरिकाले चल्नुहुन्छ भने त त्यो समस्या उहाँहरुमा हो ।

यहाँहरू निर्वाचन आयोग कहिले जानुहुन्छ ?

हामी निर्वाचन आयोगमा दर्ता गरेर अभिलेख पेश गर्ने काम चाँडै नै गर्दैछौँ । हामी नियमित प्रक्रिया अन्तर्गत त्यसलाई अबलम्बन गर्ने प्रयासमा छौँ ।

आयोगलाई त सूचना दिनुपर्यो नि हामीले प्रक्रिया अन्तर्गतै काम गर्छौँ । अभिलेखहरू निर्वाचन आयोगमा दिन्छौँ, जुन प्रक्रिया छ त्यसैमा अगाडि बढ्छौँ ।

महाधिवेशन अवैधानिक छ, आधिकारिक कांग्रेस हामी नै हो भन्ने पक्षलाई यहाँहरु के भन्नुहुन्छ ?

यो विधानतः भएको महाधिवेशन हो । विधानले गरेको महाधिवेशनलाई कुनै जटिलतामा ल्याउनु भएन । यसलाई जटिलतामा ल्याउने जटिल तरिकाले व्याख्या गर्ने र पार्टी फुटेको भन्ने ठाउँ नै होइन ।

विधान अनुसारै नयाँ कार्यसमिति चयन भएको छ। त्यसैकारण यसलाई कुनै कानुनी जटिलता या फुट भन्न पाइँदैन । अब सबैलाई मिलाएर लैजानुपर्छ ।

यहाँहरू अहिले के को तयारीमा हुनुहुन्छ ?

हामी निर्वाचन र अधिवेशनपछिको वृहत बैठकको तयारी गर्दैछौँ । निर्वाचन आयोगमा सुरुदेखिको हाम्रा त्यहाँ दर्ता गर्नुपर्ने प्रक्रिया अनुसार सबै अगाडि बढेको छ । त्यही भएर यसलाई विवादको विषय बनाउने नै होइन। विधानले संविधानले दिएको जुन कार्यविधि छ, त्यसैअनुसार अगाडि बढ्छौँ ।

तपाईंहरुको दृष्टिमा अब शेरबहादुर देउवालगायतका शीर्ष नेताहरु को हो ?

उहाँहरूप्रति हाम्रो सद्भाव र सम्मान छ । उहाँहरू हाम्रो पार्टीको संरक्षककै रुपमा रहनुहुन्छ । उहाँ पार्टीमा यत्रो धेरै खटेको, योगदान गरेको मान्छे हो । हाम्रोले सभापति शेरबहादुर देउवा लगायत अन्य शीर्ष नेतालाई अपमान गर्ने किसिमका गतिविधि गर्दैनौँ ।

सभापतिज्यू लगायत अन्य नेताहरूको लोकतन्त्र ल्याउनलाई परिवर्तन ल्याउनका लागि निकै ठूलो योगदान छ । उहाँहरुलाई हामी सम्मानजनक रुपमा पार्टी संरक्षकको रुपमा बसाउने परम्पराको थालनी हुन्छ ।

विशेष महाधिवेशनलाई स्वीकार नगर्ने नेताहरूले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?

उहाँहरुले हामीलाई अगाडि बढाएर दरिलो संरक्षकको रुपमा र मार्ग निर्देशकको रुपमा बस्नुपर्छ । सबै लोकतन्त्रवादीहरूलाई नेपाली कांग्रेसमा आबद्ध गराउने भन्ने हाम्रो उद्देश्य पनि रहेको छ ।

संगठन दरिलो बनाउने र वैचारिक रूपमा कांग्रेसले जनताको विश्वास र भरोसासहित कार्यकर्तालाई सक्रिय गराउने हाम्रो लक्ष्य रहेको छ । उहाँहरुले यसमा साथ दिनुहुन्छ भन्ने लागेको छ । हिजोको नेतृत्व सम्हाल्नुभएका पदाधिकारीहरूले उत्साही भएरै हामीलाई सहयोग गर्नुपर्छ त्यो अपेक्षा हामीले गरेका छौँ ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  २ : ०१ बजे

पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना मजबुत बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टुँडिखेलमा मगर समुदायले आयोजना गरेको

नेत्रविक्रम चन्द र मिराज ढुंगानाले गरे आन्दोलनका लागि ४ बुँदे सहमति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष नेत्रविक्रम चन्द र जेन-जी

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

तानसेन– पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को