गृहमन्त्री गुरुङको कार्यशैलीमाथि प्रश्नै प्रश्न- पुलिस युनिटमा टिसर्ट लाएर जान मिल्दैन « Khabarhub

गृहमन्त्री गुरुङको कार्यशैलीमाथि प्रश्नै प्रश्न- पुलिस युनिटमा टिसर्ट लाएर जान मिल्दैन



काठमाडौं– गृहमन्त्री सुदन गुरुङको कार्यशैलीमाथि चौतर्फी प्रश्न उठ्न थालेको छ । गृहमन्त्रीको कार्यशैलीमाथि तीनवटै सुरक्षा निकाय, कर्मचारी, आफ्नै पार्टीका सांसद, सरकारका मन्त्रीहरू, नागरिक समाज र विश्लेषकहरूले पनि प्रश्न उठाउन थालेका छन् । 

आफ्नो काम कर्तव्य अधिकारभन्दा बाहिर गएको र अनावश्यक स्टन्ट गरेको भन्दै गुरुङको कार्यशैली परिपक्व नभएको र कार्यक्षेत्र बाहिर गएको सबैको विश्लेषण छ।

यस अगाडि प्रधानमन्त्री सामु काभ्रेपलाञ्चोक १ का सांसद मधु चम्लागाई र धादिङ १ की सांसद आशिका तामाङले गृहमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाएकी थिइन् । राष्ट्रिय स्वतन्त्र पार्टीका केही शीर्ष नेता र सांसदहरूले यस विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । तीनवटै सुरक्षा निकायका प्रमुखहरूले पनि प्रधानमन्त्री सामु गृहमन्त्रीको कार्यशैलीलाई लिएर गुनासो गरेको दाबी स्रोतको छ। 

भौतिक पूर्वाधार अन्तर्गतका क्षेत्रमा पनि गृहमन्त्रीले हात हालेको, अनावश्यक रूपमा सरकारी सुरक्षा निकायका प्रमुखहरूलाई गस्तीको नाममा सास्ती दिएको र आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर जोसुकैलाई अनावश्यक निर्देशन दिएकोप्रति गृहमन्त्रीको आलोचना भइरहेको छ । 

जिम्मेवारी भन्दा पर गएर लोकप्रियता र काम गर्ने नाममा अनावश्यक अरु मन्त्रालयको क्षेत्राधिकार मिचिएको भन्दै केही मन्त्रीले  प्रधानमन्त्रीसामु गुनासो पोखिरहेको पार्टी स्रोत बताउँछ । 

केही मन्त्री र सांसदहरूले अनावश्यक रुपमा लोकप्रियताका लागि जनप्रतिनिधिसँग समन्वय नै नगरी काम गरेको भन्दै गृहमन्त्री गुरुङको कार्यशैलीमाथि सुरुवातदेखि नै प्रश्न उठाइरहेको प्रधानमन्त्रीका एक सचिवालय सदस्य दाबी गर्छन् । 

प्रधानमन्त्री सामु धेरैजनाले गृहमन्त्रीको आलोचना गरेपछि प्रधानमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एकपटक बसेर छलफल गर्ने तयारी भइरहेको छ । ‘गृहमन्त्रीको विषयमा तिखो आलोचना र प्रश्नहरू उठिरहेको छ । एकपटक सभापतिज्यू र प्रधानमन्त्री बसेर यसबारे छलफल गर्नुहुन्छ । छलफलपछि उहाँलाई केही निर्देशन दिइन्छ । नटेरेको अवस्थामा सरकारले आफ्नो ढंगले काम गर्छ ।’ 

प्रधानमन्त्री स्रोतका अनुसार बालेनले अहिले नै गृहमन्त्री गुरुङलाई फिर्ता पठाउने तयारी भने गरेका छैनन्। उनले एकपटक सजग गराउने र पुनः यस्तै अधिकार क्षेत्र बाहिर काम गरे एक्सनमा जाने स्रोत बताउँछ ।

हुन त राष्ट्रिय स्वतन्त्र पार्टीका दोस्रो तहका नेताले सुरुवातदेखि नै गृहमन्त्री सुदनलाई बनाउन नहुने आवाज उठाएका थिए । बालेन रवि मिलाउन सक्रिय भूमिका खेलेका गुरुङलाई प्रधानमन्त्री बालेन्द्रले नै गृहमन्त्रीका लागि प्रस्ताव गरेका हुन् । 

गृहमन्त्रीको कार्यशैलीका कारण अहिले बालेन पनि दबाबमा छन् । 

पार्टी भन्छ कार्यक्षेत्रबारे सजग गराउँछौँ 

पार्टीका शीर्ष नेताहरू आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर काम गर्न कुनै पनि मन्त्री र सांसदहरूलाई छुट नभएको बताउँछ । पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले  प्रत्येक सांसद र मन्त्रीहरूले आफ्नो कार्यक्षेत्रको विषयमा अध्ययन गरेर त्यस अनुसार काम गर्नुपर्ने उल्लेख गरेका छन् । 

उनले खबरहबलाई भनेका छन्- ‘सांसदको काम कर्तव्य अधिकार के हो र मन्त्रीको काम कर्तव्य अधिकार के हो त्यो विषयमा हाम्रा साथीहरूले अध्ययन गरिदिनुहुन्छ भनेर हामीले भनिसकेका छौँ । अहिलेसम्म त्यस्तो कुनै कम्प्लेन आएको छैन । कम्प्लेन आएको खण्डमा हामी सजग भने अवश्य गराउँछौँ ।’ 

पार्टी स्रोतका अनुसार सभापति रवि लामिछानेसहितका नेताहरू गृहमन्त्रीको विषयलाई लिएर गम्भीर छलफल गर्ने मनस्थितिमा छन् । एकपटक गृहमन्त्रीलाई सजग गराएर कार्यशैली सुधार्न अवसर दिने तयारी रहेको पार्टी स्रोत बताउँछ । 

पार्टी कोषाध्यक्ष लिमा अधिकारीले पनि काम गर्न नसक्ने र क्षेत्र अधिकारभन्दा बाहिर जाने मन्त्रीहरूलाई रिकल गर्ने विषयमा पार्टीले यस अगाडि नै सोचिसकेकाले त्यस्तो कम्प्लेन आएमा पार्टीले विचार गर्ने बताउँछिन् ।

उनी यस अगाडि प्रश्न उठेका कारण मन्त्रीलाई फिर्ता बोलाइएको उदाहरण दिँदै भन्छिन्, ‘प्रश्न उठाइएका कारण अनुशासन आयोगले एकजना मन्त्रीलाई फिर्ता बोलाउन पत्र काटेका आधारमा प्रधानमन्त्रीले फिर्ता बोलाइसक्नुभएको छ । अरु विषयमा पनि गम्भीर प्रश्न उठेको खण्डमा पार्टीले एक्सन लिएर काम गर्छ । तर अहिलेसम्म कसैमाथि गम्भीर प्रश्न उठेको छैन ।’

यता पार्टी स्रोत भने गृहमन्त्रीको विषयमा पार्टीमा पनि पटकपटक कम्प्लेन आएको बताउँछ । यो कम्प्लेन प्रधानमन्त्री शाहसामु पनि पुगेकाले प्रधानमन्त्री र सभापतिले गृहमन्त्रीलाई सजग गराउने दाबी गर्छ । 

गृहमन्त्रीको कार्यशैलीले सरकार र सुरक्षा निकायप्रति जनताको अविश्वास बढ्छ : पूर्व डिआइजी हेमन्त मल्ल

पूर्व डिआइजी हेमन्त मल्ल सबै मन्त्रालय र विभागका आआफ्ना जिम्मेवारी रहेको स्पष्ट पार्छन् । गृहमन्त्री गुरुङको कार्यशैली परिपक्व र क्षेत्राधिकारभन्दा बाहिर गएकाले सुधार गर्नुपर्ने उनको सुझाव छ । 

‘सबै संवैधानिक निकाय, सुरक्षा अङ्ग र मन्त्रीहरूका आफ्ना जिम्मेवारी हुन्छन् । सडक पूरा भएन भने त्यसले गर्दा ट्राफिकलाई समस्या आउँछ । सडकका कारण जनता असन्तुष्ट भए भने प्रहरी कहाँ ठोकिन आउँछ, त्यो स्वाभाविक हो। त्यो भन्दैमा ठेकेदारसँग गएर १५ दिनमा बाटो बना भन्ने काम गृहमन्त्रीको होइन। किनकि ठेकेदारीका आफ्नै समस्या छन् । आफ्नै काम गर्ने प्रथा छ । किन बनिरहेको छैन त्यो सम्बन्धित मन्त्रालयसँग गएर छलफल गर्ने कुरा हो। सडक विभागको डिजी लगायतसँग गएर कुरा गर्नुपर्ने हुन्छ। अस्ति उहाँले अख्तियारमा फाइल खुलाउन जानुभयो ।,’ उनले थपे, ‘अख्तियार भनेको संवैधानिक निकाय हो। फाइल खुलाउने भनेको हो के  ? उहाँको क्षेत्र अधिकार त्यो हो ? किनकि अख्तियारले कुनै इसुहरू उठाइरहेको छैन भने त्यसको पनि प्रक्रिया हुन्छ। केटाकेटी जस्तो गरेर फलानो फाइल खोल फलानो गर भन्ने काम गृहमन्त्रीको होइन। अनावश्यक रूपमा पब्लिक गरेर स्टन्टबाजी गर्ने काम पनि गृहमन्त्रीको होइन। सबै मन्त्रालयका आआफ्नो जिम्मेवारी छन्।’ 

मल्ल भन्छन् ‘कुनै मन्त्रालयले काम गरिराखेको छैन भने सम्बन्धित मन्त्रालयसँग कुरा गर्ने हो। त्यसले असहयोग गरेको खण्डमा प्रधानमन्त्रीसँग सल्लाह गर्ने विषय हो । यस्ता कुराहरूमा गृहमन्त्री दौडिएको विषयले संवेदनशीलता देखिँदैन । आफ्नो जिम्मेवारी आफैं हेर्ने हो। उहाँका कारण प्रधानमन्त्री बालेन्द्र शाह र सरकारमाथि पनि प्रश्न उठ्न सक्छ। अरु मन्त्रीहरूको कार्यक्षेत्र मिचेका कारण पनि उहाँमाथि प्रश्न उठ्नु स्वाभाविक हो । मध्यरातमा प्रहरीलाई बिना सूचना दिएर गस्ती गर्नु पनि कतिको शोभनीय हुन्छ?  त्यो आफैले विश्लेषण गर्ने कुरा हो। प्रहरीलाई गस्ती गर्नु ठिकै हो तर त्यसको पनि सीमा र लिमिटहरू हुन्छन्।’

पूर्व डिआइजी मल्ल गृहमन्त्री गुरुङ प्रहरी प्रमुख हो कि गृहमन्त्री हो ? भन्ने कुरामा नै पहिला स्पष्ट हुन आग्रह गर्छन् । उनी घरी गृहमन्त्री जस्तो र घरी प्रहरी प्रमुख जस्तो भएर निस्केकामा जनता कन्फ्यूज भएको टिप्पणी गर्छन्। मल्ल गृहमन्त्रीलाई मर्यादित र व्यवस्थित भएर हिँड्न समेत सुझाव दिन्छन् । 

‘गृहमन्त्रीज्यू प्रहरी प्रमुख हो कि गृहमन्त्री हो त्यो कुरा नै उहाँलाई क्लियर थाहा छैन। पहिला आफूले आफ्नो काम कर्तव्य र अधिकार पढ्नुहोस् । विभिन्न निकायसँग समन्वय गर्दा यसका पनि प्रक्रिया र मेकानिजमहरू छन्। पुलिस युनिटको निरीक्षणमा जाँदा पोशाकका मर्यादाहरू हुन्छन् । कुनै निकायमा निरीक्षण गर्न जाँदा मन्त्रीज्यूले पनि मर्यादित पोशाक प्रयोग गर्नुपर्छ। यो ट्रेकिङ गएको जस्तो होइन। पुलिस सेना र सुरक्षा निकाय पोष पेशाको मर्यादामा बस्ने व्यक्ति हुन् ।’ 

पूर्व सुरक्षा अधिकारी मल्ल अगाडि भन्छन्– ‘कुनै पनि काममा जिम्मेवार निकायले हतार गर्नु हुँदैन। विभागीय जिम्मेवारी ऐन नियमले विभागका मान्छेलाई हरेक तह तहलाई तोकेको छ। उनीहरूलाई सक्रिय बनाउने हो । कहिले ठेकेदार जस्तो  घुम्ने , कहिले मन्त्री जस्तो, कहिले घुमन्ते जस्तो हर्कत चाहिँ गर्नु ठिक हुँदैन। यस्तो कामले प्रहरी प्रशासन सुरक्षा निकाय र विभिन्न निकायहरू पनि कन्फ्युजन हुन्छन् । यस्ता कार्यशैलीका कारण जनतामा पनि अविश्वास बढ्छ र काम गर्ने निकायमा पनि अन्योल सिर्जना हुन्छ। गृहमन्त्रीका हर्कतहरू एकदमै धेरै गैर जिम्मेवारपूर्ण र प्रश्न नै प्रश्न गर्ने ठाउँमा छन्।’

मल्ल राष्ट्रिय स्वतन्त्र पार्टी र सरकारले गृहमन्त्री उनैलाई निरन्तरता दिने हो कि अरु व्यक्तिलाई ल्याउने हो भन्ने विषयमा डिसिजन गर्न सुझाव दिन्छन् । पार्टीले सोच्नुपर्ने कुरा भएकाले यसबारे आफूले थप टिप्पणी गर्न उचित नभएको उनको भनाइ छ ।

‘गृहमन्त्रीको कार्यशैलीले गर्दा सरकारप्रति अविश्वास र अपरिपक्वता देखिएको छ। हामीले भनेको कुरा नेगेटिभ होइन । जुनसुकै पदमा बसेका व्यक्तिहरू जिम्मेवारपूर्ण र जबाफदेही हुनुपर्छ । हामी कसैले पनि नकारात्मक टीकाटिप्पणी गरेको होइन । तर यस्ता कुराहरू सुधार गर यो कर्तव्य र अधिकार भन्दा बाहिरको कुरा हो भनेर सजग गराएको हो ।’ मल्ल भन्छन्, ‘हामीले राम्रो काम गर्ने व्यक्ति खोजिरहेका छौँ । कार्यशैली सुधारका नाममा सास्ती र आफ्नो क्षेत्र बिर्सनु हुँदैन। सबै काम कर्तव्य अगाडि बढाउने प्रक्रियाहरू हुन्छन् निश्चित प्रक्रिया पूरा गरेपछि मात्रै जुनसुकै काम पनि अगाडि बढाउन सकिन्छ । जिम्मेवारीमा रहेको व्यक्ति संवेदनशील हुनुपर्छ। गृहमन्त्री भनेको महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवार व्यक्ति हो। गृहमन्त्रीको काँधमा आन्तरिक सुरक्षाको जिम्मेवारी छ। ७७ जिल्लाको स्थानीय प्रशासनको जिम्मेवारी पनि गृहमन्त्रीसँग छ। त्यसकारण यो मजाकको जिम्मेवारी होइन। यति महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी लिइसकेको व्यक्ति संवेदनशील हुनु जरुरी छ। यी कुराहरू ध्यान दिनुपर्छ ।’ 

पूर्व डिआइजी मल्ल प्रहरीलाई अनावश्यक हैरानी नदिन र नागरिककै अगाडि प्रहरीलाई गाली गरेर उनीहरूमाथि प्रहार नगर्न समेत गृहमन्त्रीलाई सुझाव दिन्छन् । प्रहरी र सुरक्षा निकायमाथि दबाब बढाइँदा सार्वजनिकभन्दा भित्री योजना बनाएर काम गर्नुपर्ने उनको सुझाव छ । 

‘सार्वजनिक रूपमा प्रहरीलाई आतंकित बनाउनु हुँदैन । प्रहरी प्रशासनमाथि विश्वास गरिनुपर्छ । जनशक्तिलाई त्रास बनाउने र मनोबल प्रहरीको घटाउने काम गर्नु हुँदैन ।’

कानुन न्याय र विधिभन्दा माथि गएर बदलाको भाव आउनु ठिक छैन : इन्द्रा अधिकारी, राजनीति विश्लेषक

अधिकारी पनि गृहमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउने ठाउँ रहेको बताउँछिन् । उनी गृहमन्त्रीका कार्यशैलीका कारण सरकारमाथि पनि प्रश्न उठिरहेको उल्लेख गर्छिन् । बदलाको राजनीतिमा नयाँ आउनु नहुने उल्लेख गर्दै सरकारी निकायलाई राजनीतिकरणमा मुछ्नु नहुने टिप्पणी गर्छिन्। गृहमन्त्रीमाथि आलोचना नगरेको बताउँदै गृहमन्त्रीको कार्यशैली नियम कानुनभन्दा बाहिर गएको अधिकारीको ठहर छ। 

‘साँच्ची नै मूल्य, मान्यता र मन्त्रालयको भूमिका क्षेत्राधिकार ती कुराहरूलाई चाहिँ गृहमन्त्रीले ख्याल नगरेको देखिन्छ । नतिजामा पुग्ने नाममा क्षेत्राधिकारभन्दा बाहिर गएर जसरी पनि काम देखाउने र आफूलाई लोकप्रियता बढाउने तहमा पुगेको देखिन्छ । मन्त्रालयको आआफ्ना जिम्मेवारी भूमिका र क्षेत्राधिकार छन् । एउटा मन्त्रालयको काममा अर्को मन्त्रालयको कुनै भूमिका हुँदैन त भन्ने पनि प्रश्न उठ्ला तर भूमिका भएको मन्त्रालय भन्दा बाहिर गएर गृहमन्त्रीले काम गरेको देखिन्छ । सुरक्षाको क्षेत्रमा कतै दखल आइलाग्यो भने गह त्यहाँ हुनुपर्छ। त्योभन्दा बाहेक संरचना निर्माणमा ढिलासुस्तीमा, उहाँको काम गर्ने तौर तरिका पनि क्षेत्रअधिकारभन्दा बाहिर गएको मलाई लाग्छ। मन्त्रालयले दिनदिनै गर्नुपर्ने काम र समन्वयलाई छोडेर अलिकति उहाँ लोकप्रियतातिर लम्किनुभयो भनेर भन्न गाह्रो छैन किनकि त्यो देखिन्छ पनि ।’ 

इन्द्रा भन्छिन्, ‘अति संवेदनशील मुद्दामा सिभिल लिडर र संगठनको समन्वयकारी भूमिका हुनुपर्छ। सुरक्षा निकायलाई आत्मबल दिने र अभिभावकीय भूमिका निभाइदिने काम गृहमन्त्रीको हो। न्यायिक हिसाबले काम गर्न प्रेरित गर्ने काम पनि उहाँको हो। कसलाई पक्रिने कसरी पक्रिने कतिबेला पक्रिने ? ती सबै कामहरू भनेको हाम्रा सुरक्षा निकायका हुन् । यहाँ त गृहमन्त्री नै पुलिस चिफ हो। गृहमन्त्री नै प्रहरीको एआइजी, डीआइजी हो भन्ने हिसाबले व्याख्या भयो। अपराध नियन्त्रण होस् या अपराध अनुसन्धानको काम होस् या या खानतलासी र पक्राउ गर्ने कुरा ती कुराहरूमा हाम्रा आफ्नै संगठनहरूलाई सक्षम र स्वतन्त्र छाडिदिनुपर्छ। सक्षम र स्वतन्त्र नभएको खण्डमा गृहमन्त्रीले त्यसलाई सहज बनाइदिने हो। गृहमन्त्रीले यो मुद्दा खोल्नेलाई पक्रिने यसलाई ठोक्ने यसलाई गरिहाल्ने आजै गर्ने भन्ने किसिमको काम गर्ने अधिकार छैन। यो अहिले जुन तरिकाको गृहमन्त्रीको काम कर्तव्य देखिएको छ, त्यो उहाँको काम होइन।’

‘सुरक्षा निकायको काममा मन्त्रीहरू नियमभन्दा बाहिर गएर लाग्नुले नागरिकमा त्रास र सरकारमाथि आलोचनाको भय हुन्छ । सुरक्षा निकायको काम कर्तव्य र अधिकारमा विश्वास गुमाउनुपर्ने अवस्था भोलिका दिनमा आउन सक्ने भएकाले यस्ता कुरालाई सरकार र गृहमन्त्रीले ध्यान दिनुपर्छ। राजनीति व्यक्तिमा कहिलेकाहीँ बदलाका कुराहरू आउन सक्छन् । कसैलाई कमजोर पार्ने नियत पनि हुनसक्छ । त्यो नियत नहोला तर त्यस्तो देखिन सक्छ।’ 

अधिकारी भन्छिन्, ’राजनीतिज्ञहरूले आफू पावरमा आउन र त्यो पावरलाई निरन्तरता दिन धेरै भूमिका खेलेका हुन्छन् । त्यस्तो हतकण्डाहरूको प्रयोगमा सुरक्षा निकायलाई मुछियो भने त्यो निकायप्रति जनताको अविश्वास स्वाभाविक रूपले बढ्ने भएकाले गृहमन्त्रीको कार्यशैली कुनै पनि हालतमा अहिले ठिक छैन । राज्यका संरचनाहरू राजनीतिज्ञको जालोमा पर्नु हुँदैन भन्ने नै तपाईँ हामी सबैको चाहना हो। हिजो त्यसै कारण जनताले सडकबाट विद्रोह गरेका हुन् । यस्ता कुराले कसैलाई पनि न्यायको सुनिश्चितता दिँदैन। त्यसकारण सुसंस्कृत राजनीति अभ्यास गर्ने र जुनसुकै निकायलाई काम कर्तव्य र अधिकार प्रयोग गर्न स्वतन्त्र ढंगले छोड्दिने हो भने गृहमन्त्रीज्यूले गम्भीर आत्म आलोचना गर्नुपर्ने अवस्था छ । आजकोले हिजोलाई प्रतिशोध राख्दा भोलिकोले आजकोलाई प्रतिशोध साँध्न सक्छ ।’

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ६ : ३३ बजे

सम्पत्ति जाँचबुझ आयोगको संयोजक बनेका भण्डारी को हुन् ?

काठमाडौं– बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च

अमेरिका – इरान वार्ताका लागि पहल गर्न पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा

जेद्दाह – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ अमेरिका–इरान शान्ति वार्ताको सम्भावित

मर्स्याङ्दी नदीमा नुहाउने क्रममा बेपत्ता पुरुषको शव भेटियो

तनहुँ – तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी

नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई आरोग्य पर्यटनको प्रमुख

बिमा कार्यक्रम : सुदूरपश्चिममा २६ प्रतिशत नागरिक आबद्ध

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा कूल जनसङ्ख्याको २६ प्रतिशत अर्थात् सात