किएभ– युक्रेनमाथि रुसले सोमबार गरेको व्यापक हवाई आक्रमणमा पूर्वी सहर खार्किभमा पाँच उद्धारकर्मीको मृत्यु भएको छ ।
यस्तै राजधानी किएभमा कम्तीमा २० जना घाइते भएका छन् । आक्रमणका कारण आवासीय भवनहरूमा आगलागी हुनुका साथै देशको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदामध्ये एकमा समेत क्षति पुगेको छ ।
युक्रेनका गृहमन्त्री इहोर क्लाइमेन्कोका अनुसार खार्किभमा पहिलो आक्रमणबाट लागेको आगो निभाउन पुगेका उद्धारकर्मीहरू दोस्रो रुसी आक्रमणको निशानामा परेका थिए । घटनामा पाँच अन्य आपतकालीन सेवाकर्मी पनि घाइते भएका छन् ।
राजधानी किएभमा रातभर शक्तिशाली विस्फोटका आवाज सुनिएका थिए । ब्यालिस्टिक क्षेप्यास्त्र र शाहेद ड्रोनमार्फत गरिएको आक्रमणका कारण धेरै बासिन्दाले भूमिगत आश्रयस्थलमा शरण लिएका थिए । अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका थिए ।
‘किएभ मुख्य निशानामा परेको छ । नागरिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ,’ गृहमन्त्री क्लाइमेन्कोले भने।
किएभ सहर सैन्य प्रशासनका प्रमुख टिमुर तकाचेन्कोका अनुसार एक बालकसहित कम्तीमा २० जनाले उपचारका लागि स्वास्थ्य सेवा लिएका छन् । उनले शेभचेन्किभ्स्की जिल्लामा ३० मिनेटभन्दा कम समयमा पाँचवटा आक्रमण भएको जानकारी दिए ।
आक्रमणबाट २५ तले आवासीय भवन, एक बजार र किराना पसल प्रभावित भएका छन् । ओबोलोन्स्की जिल्लामा नौ तले आवासीय भवनमा प्रत्यक्ष प्रहार भएको अधिकारीहरूले बताएका छन् ।
तकाचेन्कोले रुसले जानाजानी आवासीय भवनहरूलाई निशाना बनाएको आरोप लगाउँदै भने, ‘यो उनीहरूको सचेत निर्णय हो ।’
आक्रमणबाट किएभ–पेचेस्र्क लाभ्रा मठ परिसरमा पनि क्षति पुगेको छ । तकाचेन्कोका अनुसार मठ परिसरमा आगलागी भएको थियो । उहाँले रुसले ‘विश्वकै प्रमुख क्रिश्चियन तीर्थस्थलमध्ये एकको केन्द्रमा प्रहार गरेको’ आरोप लगाए ।
युक्रेनको अर्थोडक्स चर्चका प्रमुख मेट्रोपोलिटन एपिफेनियसले रातभरको आक्रमणका क्रममा डोर्मिशन क्याथेड्रलको छानामा आगलागी भएको जानकारी दिँदै यस घटनालाई ‘मानवता, इतिहास र ईसाई धर्मविरुद्धको अर्को रुसी अपराध’ भने।
‘गुफाहरूको मठ’ का रूपमा समेत परिचित किएभ–पेचेस्र्क लाभ्रा ११औँदेखि १९औँ शताब्दीसम्म निर्माण गरिएका मठ, चर्च र भूमिगत गुफाहरूको विशाल धार्मिक परिसर हो । युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत यो स्थल डनिप्रो नदीको दायाँ किनारमा अवस्थित छ र शताब्दीयौँदेखि तीर्थयात्रीहरूको प्रमुख गन्तव्यका रूपमा परिचित रहँदै आएको छ ।












प्रतिक्रिया