देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा, बढ्यो कांग्रेस विभाजनको जोखिम « Khabarhub

देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा, बढ्यो कांग्रेस विभाजनको जोखिम


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा शुक्रबारदेखि आयोजित राष्ट्रिय भेला आइतबार सकिँदैछ।

करिब साढे पाँच महिनापछि हङकङबाट नेपाल फर्किएका कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख अतिथि बनाएर इतर समूहले राष्ट्रिय भेला आयोजना गरेको हो।

शुक्रबार उद्घाटन गरिएको भेलालाई राष्ट्रिय सम्मेलनमा परिणत गरिएको थियो। शुक्रबार उद्घाटन कार्यक्रममा सहभागी भएका देउवा शनिबार आयोजित बन्दसत्रमा सहभागी भएनन्। तर आइतबार काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा पुगेर उनले बन्दसत्रलाई सम्बोधन गरेका छन्।

आइतबार देउवाले करिब तीन मिनेट सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा उनले नेपाल अहिले अत्यन्तै अप्ठ्यारो अवस्थामा रहेको बताएका थिए। आफूलाई विमानस्थलदेखि नै गरिएको स्वागतप्रति धन्यवाद दिँदै उनले न्यायालयले आफूलाई विगतदेखि नै न्याय दिँदै आएको उल्लेख गरे।

देउवाले आफ्नो सम्बोधनको केही समय धार्मिक विषयमा समेत केन्द्रित गरे। नेपालमा हिन्दु राष्ट्रको बहस चर्किँदै गर्दा धर्मबारे देउवाले पहिलोपटक मुख खोलेका हुन्। आफू व्यक्तिगत रूपमा हिन्दु भएको स्पष्ट पार्दै उनले नेपालमा सबै धर्मप्रति सम्मान र धार्मिक स्वतन्त्रता हुनुपर्ने धारणा राखे।

‘धेरै साथीहरूले मलाई हिन्दु धर्मबारे बोल्न भनिरहनुभएको छ। म व्यक्तिगत रूपमा हिन्दु हुँ। मेरो ब्रतबन्ध पनि हिन्दु विधिअनुसार भएको हो,’ उनले भने।

उनले आफूले दिदीको विवाहसमेत ब्रतबन्धपछि हिन्दु परम्परा र रीतिरिवाजअनुसार गरेको बताए। आफू अहिले पनि पशुपतिनाथमा पूजा गर्ने गरेको उल्लेख गर्दै उनले आफ्नो हिन्दु पहिचानप्रति स्पष्ट धारणा राखे।

‘म अहिले पनि पशुपतिनाथमा पूजा गर्छु। म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ,’ देउवाले भने। उनले धर्मबारे नेपाली जनताले गर्ने निर्णयलाई आफूले जहिल्यै स्वीकार्ने पनि बताए ।

देउवाको सहभागिता र सम्बोधनपछि इतर समूहले पाँचवटा महत्वपूर्ण राजनीतिक प्रस्ताव अघि सारेको छ। सबैभन्दा महत्वपूर्ण प्रस्तावमा देउवाकै सभापतित्वमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न गर्ने उल्लेख छ।

इतर समूहले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गर्ने जनाएको छ। देउवाकै नेतृत्वमा पार्टी एकताबद्ध भएर १५औँ महाधिवेशन सम्पन्न हुने विश्वाससमेत सम्मेलनले व्यक्त गरेको छ।

प्रस्तावमा भनिएको छ, ‘पार्टी सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा १५औँ महाधिवेशन सम्पन्न हुनेछ। उहाँकै नेतृत्वमा पार्टी एकताबद्ध भई १५औँ महाधिवेशन सम्भव हुने दृढ विश्वास यो सम्मेलनले व्यक्त गर्दछ।’

१५औँ महाधिवेशनसम्म पार्टीका नियमित गतिविधि सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकले सञ्चालन गर्ने व्यवस्था पनि इतर समूहले प्रस्ताव गरेको छ।

यसैबीच गगन थापा नेतृत्वको नेपाली कांग्रेसले १५औँ महाधिवेशन आगामी असोजसम्म गर्ने घोषणा गरिसकेको अवस्थामा इतर समूहले देउवालाई सभापतिको रूपमा अघि सारेको हो। दुई पक्षले छुट्टाछुट्टै नेतृत्व र महाधिवेशनको दाबी गरेपछि कांग्रेसभित्रको विवाद थप गहिरिएको छ। यसले पार्टी विभाजनको सम्भावनासमेत बढाएको कांग्रेस वृत्तमा चर्चा हुन थालेको छ।

इतर समूहका पाँच प्रस्ताव

१. देउवाको सभापतित्वमा १५औँ महाधिवेशन

इतर समूहले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव गरेको छ। देउवाकै सभापतित्वमा महाधिवेशन सम्पन्न गर्ने र उनको नेतृत्वमा पार्टी एकताबद्ध हुने विश्वास प्रस्तावमा व्यक्त गरिएको छ।

२. राष्ट्रिय एकता र लोकतन्त्रका लागि संवाद

राष्ट्रिय संकटका बेला तत्कालीन कांग्रेस नेता बीपी कोइराला २०३३ सालमा राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको स्मरण गर्दै अहिले पनि देश अप्ठ्यारो अवस्थामा रहेको निष्कर्ष इतर समूहले निकालेको छ।

राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि राष्ट्रिय तथा लोकतन्त्रवादी शक्तिसँग संवाद गर्दै अघि बढ्ने प्रस्तावमा उल्लेख छ।

३. सनातन धर्म र धार्मिक स्वतन्त्रताको संरक्षण

इतर समूहले नेपालको सनातनदेखि चलिआएको धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रस्ताव गरेको छ।

नेपालमा रहिआएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा प्रत्येक व्यक्ति र धार्मिक समुदायलाई आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रताको सुनिश्चितता गर्दै हिन्दु, बौद्ध, किरात तथा प्रकृति पूजक धर्मको संरक्षण गर्ने प्रतिबद्धता प्रस्तावमा उल्लेख छ।

४. संविधान संशोधन

वर्तमान संविधानमा जनअपेक्षाअनुसार आवश्यक संशोधन गर्न संविधानमा व्यवस्था भएबमोजिम सम्बन्धित सबै पक्षसँग संवाद गर्ने प्रस्ताव गरिएको छ। संवादमार्फत संविधान संशोधनको विषयलाई निष्कर्षमा पुर्‍याउने इतर समूहको भनाइ छ।

५. प्रस्ताव तथा सुझाव समेटेर दस्तावेज तयार गर्ने

राष्ट्रिय सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव तथा सुझावलाई समेटेर परिमार्जनसहित पारित प्रस्तावलाई लिखित दस्तावेजका रूपमा तयार गर्ने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा गठित समितिलाई दिइएको छ।

समितिमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, सीता राना तथा सहयोगीका रूपमा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेल रहने प्रस्ताव गरिएको छ।

देउवालाई पुनः पार्टी नेतृत्वमा अघि सार्ने इतर समूहको निर्णयसँगै नेपाली कांग्रेसभित्रको विवाद निर्णायक चरणमा पुगेको देखिएको छ। एकातर्फ गगन थापा नेतृत्वको पक्षले असोजसम्म १५औँ महाधिवेशन गर्ने तयारी अघि बढाएको छ भने अर्कोतर्फ इतर समूहले देउवाको सभापतित्वमा महाधिवेशन गर्ने प्रस्ताव पारित गरेको छ। यसले कांग्रेसको आगामी राजनीतिक दिशा र संगठनात्मक एकताबारे थप प्रश्न जन्माएको छ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  २ : ०० बजे

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली– कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई

देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का