गगनलाई इतरको सन्देश, ‘विशेष महाधिवेशन अवैधानिक, देउवाको नेतृत्वमा १५औँ महाधिवेशनमा जाँदैछौँ’ « Khabarhub

गगनलाई इतरको सन्देश, ‘विशेष महाधिवेशन अवैधानिक, देउवाको नेतृत्वमा १५औँ महाधिवेशनमा जाँदैछौँ’

संस्थापन भन्छ : विधिबाट आएको नेतृत्व स्वीकारे पार्टी जोगिन्छ



काठमाडौं- करिब साढे पाँच महिने विदेश बसाइपछि नेपाल फर्किएको भोलिपल्टै शेरबहादुर देउवा नेतृत्वमा रहेको नेपाली कांग्रेसको एउटा समूहले राष्ट्रिय भेला गरेको छ। भेलामा उपस्थित भएका अधिकांश नेताले गगनकुमार थापालाई पार्टी सभापति स्वीकार गरेनन्।

बैठकमा बोलेकामध्ये विजयकुमार गच्छदार मध्यमार्गमा रहेर प्रस्तुत भए। त्यसमा डा. शेखर कोइरालाले पनि मध्यमार्गी बाटो समाते । गच्छदार गगनप्रति थोरै नरम र देउवाप्रति अति लचिलो देखिए। उता अर्का नेता कृष्णप्रसाद सिटौलाले ते कुन्ठा पोख्दै भने, ‘गगन त मेरो भाइ जस्तो मान्छे, मैले उसलाई कसरी सभापति मानौँ ?’

शुक्रबार ७ घण्टा लगाएर २० भन्दा बढी वक्ताहरू बोलेको कार्यक्रममा अदालतको निर्णयलाई सम्मान गर्ने कुरा उठाइयो । नेताहरूले कांग्रेस बचाउन देउवाले केही र गगनले पनि केही त्याग गर्नुपर्ने सन्देश दिए।

अन्य नेताहरूले १४औँ महाधिवेशनमा आफ्नो सभापति शेरबहादुर देउवा भएकाले १५औँमा पनि उनकै नेतृत्वमा सहभागी हुने सन्देश दिए। अर्थात्, उनीहरू संस्थापनले गर्ने महाधिवेशनमा सहभागी नभई अलग्गै जाने दिशामा देखिए ।

सर्वोच्च अदालत र निर्वाचन आयोगले पुस अन्तिममा विशेषा महाधिवेशन गरेका थापालाई आधिकारिक सभापति माने पनि पाका सहित देउवा पक्षले त्यसलाई स्वीकार्न नसकेको देखिन्छ।

भेलामा बोल्ने अधिकांश वक्ता सर्वोच्च अदालतप्रति नरम देखिए । देउवाले नै पञ्चायत कालदेखि आफूलाई अदालतले नै न्याय दिएकाले अहिले पनि त्यही हुने बताए । देउवासहितका नेताले १४औँ महाधिवेशनको नेतृत्वलाई नै आधिकारिक मान्ने आशा देखाए ।

सुरुमा राष्ट्रिय भेलाका रूपमा आयोजित कार्यक्रम आइतबार अन्तिममा आइपुग्दा राष्ट्रिय सम्मेलन भनियो । अदालतले आफूलाई बचाएको कारण नेपाल आएको बताएका देउवाले पुनः शक्तिमा फर्किने संकेतका रूपमा आइतबार सम्बोधन गरे । उनले शक्तिमा फर्किन हिन्दुत्वको कार्ड पनि फ्याँके।

देउवाले ‘म अभिभावक भएर कांग्रेस मिलाउन चाहन्छु’ भनेका छैनन् । उनले ‘मेरो अझै शक्ति सकिएको छैन, मलाई कमजोर नठान’ भन्ने सन्देश दिएको राजनीतिक विश्लेषक इन्द्र अधिकारी बताउँछिन्।

आइतबार बन्द सत्रको भेलालाई सम्बोधन गर्दै देउवाले भनेका छन्, ‘अदालतले मलाई बचाएको छ, जसको कारण नेपाल आइपुगेको छु। जबर्जस्ती विशेष महाधिवेशन भयो, धेरै साथीहरू बाहिर छन्। अदालतको निर्णय मान्छु। अदालतले न्याय दिने कुरामा म पूर्ण विश्वस्त छु।’

५ हजारभन्दा बढी नेता-कार्यकर्ताको उपस्थितिमा आफूहरूले राष्ट्रिय भेला गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्मा बताउँछन्। भेलामा ५ वटा प्रतिवेदनसमेत प्रस्तुत भए।

कुनै पनि प्रतिवेदनमा विशेष महाधिवेशनलाई स्वीकार गरेका छैनन्। बरु विशेष महाधिवेशनले पार्टीलाई विखण्डनतर्फ लगेको र अराजक रुपमा गगन थापा पक्षले पार्टी कब्जा गरेको प्रतिवेदनहरूमा उल्लेख छ।

यसले देउवा पक्षको राष्ट्रिय भेलापछि पार्टी विभाजन हुने आँकलन धेरैले गरेका छन्। नेताहरूको अवस्था हेर्दा गगनलाई सभापति स्वीकारेर अगाडि नबढेकाले कांग्रेस विभाजनको डिलमा पुगेको देखिएको छ।

सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजित कार्यक्रममा देउवा पक्षका सबै नेताहरूले उनको नेतृत्वमा १५औँ महाधिवेशनमा जाने वकालत गरिरहेका छन्। देउवालाई नायक बनाउँदै नेताहरूले १५औँ महाधिवेशनमा देउवाको नेतृत्वमा मात्रै आफूहरू सामेल हुने गगनलाई सन्देश दिएका छन्।

संस्थापन पक्ष भने त्यसको सम्भावना नरहेको बताउँछ। कांग्रेस नीति, विधि र सिद्धान्तअनुसार अगाडि चल्ने स्मरण गराउँदै संस्थापन पक्षका उपसभापति विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनका गतिविधिमा पार्टी अगाडि बढिसकेकाले सबैले सहयोग गर्न आग्रह गरे।

उनी ७० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले थापालाई स्वीकारेर १५औँ महाधिवेशनमा जान तयार भइसकेकाले नेताहरूले अस्वीकार गर्नु राजनीतिक चरित्र बाहिरको कुरा भएको बताउँछन्।

भेलाको संयोजन गरिरहेका नेता डा. शशांक कोइरालाले पनि आफूहरूको नेता शेरबहादुर देउवा नै भएको उल्लेख गरेका छन्। कोइरालाले आफ्ना पिता बीपी कोइरालाले देउवाको प्रशंसा गर्दै बोलेका शब्दसमेत राख्दै गगनलाई देउवालाई स्वीकारेर अगाडि बढ्न दबाब दिए।

कांग्रेसका युवा नेता जीतजंग बस्नेतले नेतामा होइन, विचारमा पार्टी एक हुनुपर्ने उल्लेख गरेका छन्। उनले बीपीको सिद्धान्तलाई चिरञ्जीवी बनाएर विचारबिनाको पार्टी एकता स्वीकार्य नहुने उल्लेख गरे।

कांग्रेस एक नभई देशमा निकास ननिस्किने उल्लेख गर्दै देउवाकै नेतृत्वमा १५औँ महाधिवेशनमा जानुपर्ने दाबी नेतृ गोमा भट्टराई गर्छिन् । किसान र मजदुरहरूको पक्षमा देउवाले विगतदेखि नै आवाज उठाउँदै आएकाले उनको विकल्प नरहेको उनी बताउँछिन्।

कांग्रेस विभाजन हुँदा देशलाई नै असर पुग्ने भन्दै अर्की नेतृ डिला संग्रौलाले पनि एकताका लागि आह्वान गरेकी थिइन्।

प्रस्ताव

देउवाको सहभागिता र सम्बोधनपछि इतर समूहले पाँचवटा महत्वपूर्ण राजनीतिक प्रस्ताव अघि सारेको छ। सबैभन्दा महत्वपूर्ण प्रस्तावमा देउवाकै सभापतित्वमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न गर्ने उल्लेख छ।

इतर समूहले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गर्ने जनाएको छ। देउवाकै नेतृत्वमा पार्टी एकताबद्ध भएर १५औँ महाधिवेशन सम्पन्न हुने विश्वाससमेत सम्मेलनले व्यक्त गरेको छ।

प्रस्तावमा भनिएको छ, ‘पार्टी सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा १५औँ महाधिवेशन सम्पन्न हुनेछ। उहाँकै नेतृत्वमा पार्टी एकताबद्ध भई १५औँ महाधिवेशन सम्भव हुने दृढ विश्वास यो सम्मेलनले व्यक्त गर्दछ।’

१५औँ महाधिवेशनसम्म पार्टीका नियमित गतिविधि सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकले सञ्चालन गर्ने व्यवस्था पनि इतर समूहले प्रस्ताव गरेको छ।

यसैबीच गगन थापा नेतृत्वको नेपाली कांग्रेसले १५औँ महाधिवेशन आगामी असोजसम्म गर्ने घोषणा गरिसकेको अवस्थामा इतर समूहले देउवालाई सभापतिको रूपमा अघि सारेको हो। दुई पक्षले छुट्टाछुट्टै नेतृत्व र महाधिवेशनको दाबी गरेपछि कांग्रेसभित्रको विवाद थप गहिरिएको छ। यसले पार्टी विभाजनको सम्भावनासमेत बढाएको कांग्रेस वृत्तमा चर्चा हुन थालेको छ।

‘देउवा हिरो’

डा. शेखरसहित संस्थापन इतर समूहका सबै नेताले देउवालाई नायककै रुपमा प्रस्तुत गरे। युवा नेता दुजाङ शेर्पाले पनि देउवालाई पार्टीको ‘कोहिनुर’ भन्दै प्रशंसा गरे। दुजाङले देशभरका सबै विद्यार्थीलाई गगन र विश्वप्रकाश शर्माले देउवालाई स्वागत गर्न विमानस्थल नपुगेर गलत संस्कार सिकाएको उल्लेख गरे।

संस्थापन इतर समूहको भेलामा बोल्ने क्रममा पूर्वराज्यमन्त्री तथा नेता कान्छाराम तामाङले पनि देउवाको प्रशंसा गरे। उनले चुनदेवी पार्टी कार्यालय खोल्न नेताहरूले आफूलाई कार्यभार सुम्पेको र इमानदार भएर जिम्मेवारी पूरा गरेको उल्लेख गरेका छन्। कार्यभार पूरा गर्दा नेमप्लेटमा सभापति देउवाको नाम र पद पनि आफूले नै राखेको उनले स्वीकारेका छन्।

‘चुनदेवीमा पार्टी कार्यालय खोलेर नेमप्लेटमा नाम र पद मैले नै राखेको हुँ। नेताहरूले दिएको कार्यभार पूरा गरेँ। यो कुरा मैले नेताहरूलाई नै नसोधी गरेँ,’ कान्छारामले सम्बोधनमा भने, ‘हाम्रो १४औँ महाधिवेशनको सभापति शेरबहादुर देउवा दाइ नै हो। १५औँ महाधिवेशन भएको छैन। उहाँकै नेतृत्वमा १५ महाधिवेशनमा जान्छौँ।’

राष्ट्रिय भेलामा बोल्ने अधिकांश वक्ताले कांग्रेसको सिंगो टिम नै राष्ट्रिय भेलामा सहभागी भएर पार्टी कार्यालय सानेपालाई चुनौती दिए। नेताहरूले १४औँ महाधिवेशनमा भिडेकाढ डा. कोइराला र सभापति देउवा यहीँ भएकाले कांग्रेसको आधिकारिकता खोज्न अन्त दौडिनु नपर्ने उल्लेख गरे।

देउवाको पक्षमा नेता रमेश लेखकदेखि डा. प्रकाशशरण महत, एनपी साउद र कृष्ण सिटौला खरो देखिए। कृष्णले त गगनलाई ‘भाइ’ भनेर सम्बोधन गर्दा प्रकाशशरणले आत्मा नभएको कांग्रेस मात्रै रहेको टिप्पणी गरे।

नेता विजय गच्छदारले कांग्रेस एकताको पक्षमा आवाज उठाए। उनले पार्टी एकताका लागि देउवा पनि नेताभन्दा माथि उठ्नुपर्ने बताए । गगनले पनि सानेपाको कुर्सीमा रहेर मात्रै कांग्रेस चलाउनुको सट्टा चारैतिर छरिएकालाई एकीकृत बनाउनुपर्ने आवाज उठाए।

उनीहरू सबैले गगनलाई आरोप लगाउँदै १४औँ महाधिवेशनबाट निर्वाचित देउवालाई नै सभापति मानेर १५औँ महाधिवेशनमा जानुपर्ने वकालत गरे।

नेता विमलेन्द्र निधिले त १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई मात्रै १५औँ महाधिवेशन गर्न अधिकार रहेको दाबी गरे। उनले अराजनीतिक र अस्वाभाविक ढंगले विशेष महाधिवेशन गरेर सभापति थापालाई १५औँ महाधिवेशन गर्न छुट नरहेको उल्लेख गरे।

देउवालाई मान्न जान तयार छैनन् गगन

पुस अन्तिम साता ५४ प्रतिशत महाधिवेशन प्रतिनिधि उपस्थित भएर कांग्रेसको विशेष महाधिवेशन सम्पन्न गरेको स्मरण सभापति थापाले गराएका छन् । विधि, नीति, सिनियर र जुनियर सबै नेताका लागि उत्तिकै हुने उल्लेख गर्दै विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई अवहेलना गरी नेताहरू चल्न नहुने पक्षमा कांग्रेस नेतृत्व धारणा छ ।

सर्वोच्च अदालत र निर्वाचन आयोगले नै थापालाई आधिकारिकता दिएकाले देउवा पक्षको भनाइ केटाकेटी किसिमको रहेको संस्थापनको बुझाइ छ। थापा पक्षका नेताहरू कुनै हालतमा देउवालाई नेतृत्व मानेर १५औँ महाधिवेशनमा जान नसकिने बताउँछन् ।

संस्थापन इतर समूहले यस्तो सन्देश दिइरहेका बेला कांग्रेस उपसभापति पुष्पा भुसालले पार्टीको विधि र नीति मानेमा सबै मिल्ने उल्लेख गरेकी छन्। उनले गत पुसको अन्तिम साता विशेष महाधिवेशनबाट बनेको नेतृत्वलाई स्वीकारे सबै मिल्ने उल्लेख गरिन्।

‘सर्वोच्च अदालत र निर्वाचन आयोगले नै आधिकारिकता दिएको पार्टी सभापतिलाई स्वीकार गरौँ। विधि र नीति पालना गरौँ, कांग्रेसको विवाद समाधान हुन्छ,’ भुसालले खबरहबसँग भनिन्, ‘कांग्रेस विधि, नीति र सिद्धान्तमा चल्छ। हामीले यसलाई मानेमा पार्टी एकजुट हुन्छ। गत पुस अन्तिम साता विशेष महाधिवेशन गरेर नयाँ कार्यसमिति आएको छ। अब देउवा दाइको संयोजकत्वमा कसरी १५औँ महाधिवेशनमा जाने र?’

कांग्रेस महामन्त्री गुरु घिमिरे पनि १५औँ महाधिवेशनमा विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई मानेर अगाडि बढ्नुपर्ने उल्लेख गर्छन्। सर्वोच्च अदालत र निर्वाचन आयोगले समेत आधिकारिकता दिइसकेपछि नेताहरूले आफ्नो पार्टीको नेतृत्व स्वीकार नगर्नु कांग्रेसको संस्कारभन्दा बाहिरको कुरा रहेको महामन्त्री घिमिरेको भनाइ छ।

‘निर्वाचन आयोग र सर्वोच्च अदालतले नै फैसला गरिदिएपछि अरू नेताहरूले नमान्नुको कुनै अर्थ छैन। नेता र नेतृत्व स्वीकार गरेको खण्डमा कांग्रेस एकजुट भएर अगाडि बढ्छ। हामी कहिले पनि विभाजनको पक्षमा छैनौँ, तर उहाँहरूले स्वीकार गर्नुपर्‍यो,’ घिमिरेले भने, ‘पार्टी कार्यालय खोल्नुभएको छ। के–के गर्नुभएको छ, त्यसतिर हाम्रो ध्यान छैन। तर १५औँ महाधिवेशनका गतिविधिमा अगाडि बढौँ, विधि र प्रक्रिया मानौँ।’

नेतृ सुजाता कोइरालाले पनि गगन थापालाई नेतृत्व मानेर १५औँ महाधिवेशनमा अगाडि बढ्नुपर्ने वकालत गरेकी छन्। गगन थापाले कांग्रेस अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै कोइरालाले थापालाई साथ दिएकी हुन् । महामन्त्री प्रदीप पौडेल त देउवालाई मानेर १५औँ महाधिवेशन गर्ने कुरा केटाकेटीपन भएको दाबी गर्छन्।

फैसला कुर्ने पक्षमा शेखर

उद्घाटन सत्रमा नेता डा. शेखर कोइरालाले बीचमा बसेर भाषण गरे। शेखरलाई सुन्दा उनले देउवालाई सभापति नभनी ‘श्रद्धेय नेता’ मानेका छन् । उद्घाटनबाहेक शेखर शनिबार र आइतबारका कार्यक्रममा उपस्थित भएनन्।

शेखरले कांग्रेसको मुद्दा पुनरावलोकनका लागि अदालत पुगेकाले त्यहाँको फैसलापछि मात्रै थप कुरा स्पष्ट हुने उल्लेख गरे। न गगन पक्ष, न शेरबहादुर देउवा पक्षका नेता कोइरालाले कांग्रेस एक ढिक्का भएर अगाडि बढ्नुपर्ने धारणा राखे।

कांग्रेस एक ढिक्का नहुँदा लोकतन्त्र र गणतन्त्रमाथि पनि प्रहार भइरहेकाले सबै नेपाली जनताको माग नै कांग्रेस एक हुनु रहेको उनको भनाइ थियो। कोइरालाले सर्वोच्च अदालतमा पुगेको पुनरावलोकन मुद्दाले कांग्रेसलाई न्याय दिने विश्वाससमेत व्यक्त गरेका छन्।

‘हामीले सर्वोच्च अदालत र निर्वाचन आयोगको कुरा यसअघि स्वीकार गरेका हौँ। पुनः मुद्दा पुनरावलोकनका लागि पुगेको छ। त्यहाँबाट न्याय पाइन्छ भन्ने अपेक्षा राखेका छौँ। त्यसपछि कांग्रेस एकजुट भएर अगाडि बढ्छ,’ कोइरालाले भने, ‘अदालतको फैसलापछि हामी सबै एक ठाउँमा उभिन्छौँ। हाम्रो आवश्यकता नै कांग्रेस एक हुनु हो।’

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  ४ : १९ बजे

अनलाइन जुवा, क्रिप्टो र अश्लिल सामग्रीका वेबसाइट र एप बन्द गर्न प्राधिकरणको निर्देशन

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा कानूनले निषेध गरेका अनलाइन जुवा,

हमास प्रमुख इजिप्टमा कूटनीतिक भेटघाटमा व्यस्त

काएरो- प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलले अस्वीकार गरिसकेको अमेरिकाद्वारा प्रस्तावित

शंकर पोखरेलको निष्कर्ष : कम्युनिस्ट एकता होइन, जनतासँगको सम्बन्ध सुधार अहिलेको आवश्यकता

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कम्युनिस्ट नेतृत्वकै समयमा

लामो यात्रामा निस्केका भौतिक मन्त्रीलाई बैतडी पुगेपछि भाइरल ज्वरो, हेलिकोप्टर झिकाइँदै

धनगढी- सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल

निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउनेगरी विद्युत् विधेयक ल्याउन इप्पानको माग

काठमाडौं– निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पूर्ण साझेदार बनाउनेगरी नयाँ विद्युत्