ढाका — बङ्गलादेशमा दादुराको प्रकोप तीव्र रूपमा फैलँदै गएको छ जसका कारण गत मार्च १५ यता एक हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार हालसम्म १ हजार ९ जनाको दादुराका कारण मृत्यु भएको पुष्टि भएको छ, जसमध्ये १ सय जना प्रयोगशालाबाट प्रमाणित दादुराका बिरामी थिए भने ९ सय ९ जना शङ्कास्पद दादुराका मृत्यु हुन् ।
कोभिड-१९ महामारीका कारण नियमित खोप अभियानमा आएको अवरोध, खोपप्रतिको भ्रम र हिचकिचाहट तथा राजनीतिक अस्थिरताका कारण बालबालिकामा दादुराको संक्रमण फैलने क्रम बढेको छ । सन् २०२४ को जुलाईको राजनीतिक उथलपुथलपछि खोप खरिद र वितरणमा भएको ढिलाइले समस्यालाई झनै गम्भीर बनाएको छ। गत जनवरीदेखि दादुराका बिरामीहरू तीव्र रूपमा बढ्न थालेपछि सरकारले गत अप्रिल ४ मा विश्व स्वास्थ्य संगठनलाई यसको जानकारी गराएको थियो।
सरकारले आपत्कालीन खोप अभियान अन्तर्गत करिब २ करोड बालबालिकालाई खोप लगाइसकेको दाबी गरे पनि राष्ट्रिय तथ्याङ्कले स्थानीय स्तरमा खोपको पहुँच नपुगेका क्षेत्र र जोखिममा रहेका बालबालिकालाई पूर्ण रूपमा समेट्न नसकेको देखाएको छ। अस्पतालमा भर्ना हुने अधिकांश बालबालिकाले खोप नपाएको पाइएको छ भने मृत्यु हुनेहरूमा १५ महिनाभन्दा कम उमेरका बालबालिका अत्यधिक छन्।
विशेषज्ञहरूले दादुराको महामारी नियन्त्रणका लागि राष्ट्रिय औसत तथ्याङ्कमा मात्र भर नपरी प्रत्येक समुदाय र जोखिममा रहेका क्षेत्रहरूमा सूक्ष्म योजना बनाएर खोप अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। स्वास्थ्य मन्त्रालयले आगामी दुई साताभित्र थप खोप अभियान सुरु गर्ने तयारी गरिरहेको जनाएको छ।














प्रतिक्रिया