रास्वपा नेताहरू बिरामी हुँदा सरकार गठन प्रक्रिया धकेलियो, चैत दोस्रो साता बालेन्द्र प्रधानमन्त्री « Khabarhub

रास्वपा नेताहरू बिरामी हुँदा सरकार गठन प्रक्रिया धकेलियो, चैत दोस्रो साता बालेन्द्र प्रधानमन्त्री



काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, महामन्त्री कविन्द्र बुर्लाकोटी र प्रवक्ता मनिष झा लगायत नेताहरू बिरामी परेपछि पार्टीको कार्यतालिका प्रभावित भएको छ ।

कार्यतालिका प्रभावित भएपछि सरकार गठनको प्रक्रिया एक साता धकेलिने भएको हो । पार्टीका नेता मनिष झाले चैतको पहिलो साता नै सरकार गठन प्रकृया सुरु हुने जानकारी यसअगाडि दिएका थिए । तर नेताहरू बिरामी भएका कारण चैत पहिलो साता नै सरकार गठनको प्रक्रिया सुरु हुने अवस्था छैन ।

पार्टी सभापति रवि लामिछानेसहित शीर्ष नेताहरू बिरामी परेपछि संवाद हुन सकेको छैन । रवि सोमबार मात्रै निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यहीकारण जरूरी विधान संशोधन हुन नसकेकाले चैत १० अगाडि सरकार गठन हुने अवस्था छैन ।

महामन्त्री कविन्द्र बुर्लाकोटी पनि अस्वस्थताका कारण घरमै आराम गरिरहेका छन् । सभापति रविलाई अस्पतालबाट केही दिन आराम गर्नु भनेका कारण तत्कालै केन्द्रीय कमिटी बैठक बस्ने अवस्था नरहेको पार्टी प्रवक्ता झा बताउँछन् ।

सभापतिलाई सिजनल ज्वरो इन्फेक्सन तथा खुट्टामा लागेको चोटको गहिरो इन्फेक्सन देखिएको बताइन्छ । पार्टी स्रोतका अनुसार रविलाई एन्टिबायोटिकले काम नगरेका कारण इन्जेक्सनमार्फत उपचार गरिएको छ।

‘सभापतिज्यूले मंगलबार र बुधबार हुने सांसदहरूको प्रशिक्षणको समापन समारोहलाई सम्बोधन गर्ने तालिका छ । उहाँ शिक्षण अस्पतालमा गराइसकेर घरमै केही दिन रेस्ट गर्नुहुन्छ’, पार्टीका एक नेताले, ‘यो साताभित्र सरकार गठन प्रक्रिया अगाडि बढ्ने अवस्था छैन । वरिष्ठ नेता पनि बिरामी भएर भर्खरै निको हुनुभएको छ । अरु छलफल र संवाद हुन पाएको छैन ।’

बालेन्द्र पनि केही दिन अस्वस्थ भएपछि अहिले ठिक हुँदैछन् । उनको सचिवालयका धेरै सदस्य पनि बिरामी परेका कारण घरमै आराम गरिरहेका छन् । बालेन्द्र भने सरकार गठन तयारीको काम गरिरहेका छन् ।

दोस्रो सातामा मात्रै सरकार गठन

निर्वाचन आयोगले आइतबारसम्म समानुपातिकको नाम बुझाउन दलहरूलाई आग्रह गरेको थियो । त्यसअनुसार सबै दलहरूले समानुपातिकको नाम बुझाइसकेका छन् । आयोगले सोमबार ११० जना विजेताको नाम ल्याइसकेको छ।

आयोगले समानुपातिकमा परेका सांसदहरूको नाम सार्वजनिक गरेपछि प्रमाणपत्र वितरण गर्ने कार्यसूची ल्याएको छ । त्यसपछि आयोगले राष्ट्रपति कार्यालयलाई प्रतिवेदन बुझाउँछ र नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने अवस्था छ ।

आयोगका एक उच्च अधिकारी चैत दोस्रो सातासम्ममा नयाँ सरकार गठन हुन सक्ने बताउँछन् । ‘आयोगले सम्पूर्ण काम सक्दा दोस्रो साता जान सक्छ । सबै कुरा मिलाउँदा चैत दोस्रो सातापछि देशले नयाँ प्रधानमन्त्री पाउँछ’, आयोगका ती अधिकारीले भने, ‘हामी आफ्नो काम गरिरहेको छौँ । हामीलाई काम सक्न ७ गतेसम्म लाग्ने अवस्था छ ।’

शुक्रबारअघि केन्द्रीय कमिटी बैठक नबस्ने

पार्टी प्रवक्ताका झाका अनुसार यो शुक्रबार अगाडि पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने अवस्था छैन । बिरामी नेताहरूलाई डाक्टरले केही दिन आराम गर्नु भनेकाले शुक्रबारअगाडि केन्द्रीय कमिटी बैठक बस्ने अवस्था नरहेको नेताहरूको भनाइ छ ।

सभापति लगायत नेताहरूको स्वास्थ्यमा सुधार आएमा शनिबार पार्टीले केन्द्रीय कमिटी बैठक डाक्न सक्ने देखिन्छ ।

‘अहिले यसै भन्न सकिएन । शनिबार पार्टी केन्द्रीय कमिटी बैठक बसाल्नुपर्ने जोड गरिरहेका छौँ । तर नेताहरूको अस्वस्थताले समस्या बनाएको छ,’ पार्टी एक नेता भन्छन्, ‘पार्टीले आन्तरिक तयारी धेरै गर्न पाएको छैन । कसलाई कुन जिम्मेवारीमा पठाउने ? भन्ने पार्टीमा छलफल हुनुपर्छ । तर त्यो गर्ने अवस्थामा अहिले नेताहरू हुनुहुन्न । सबैलाई डाक्टरको सल्लाहअनुसार आराम जरुरी छ ।’

रास्वपाको अवस्था हेर्दा चैतको केन्द्रीय कमिटी बैठक बसेर संसदीय दलको नेता चयनका लागि विधान संशोधन गर्नेछ । पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउन विधान संशोधन गरेर सरकार गठन प्रक्रिया अगाडि बढ्नेछ ।

‘समानुपातिकका विजेताको नाम आइसकेको छ । आयोगले समानुपातिक उम्मेदवारहरूलाई प्रमाणपत्र दिइसकेपछि आवश्यक प्रक्रिया अगाडि बढ्छ’, झा भन्छन्, ‘आयोगले उहाँहरूको समयअनुसार काम गरिरहनु भएको छ । हामीले गरिरहेका छौं । नेताहरू बिरामी भएपछि थप छलफल गर्न पाइएको छैन ।’

रास्वपाले केन्द्रीय कमिटीको बैठक राखेर विधान संशोधन तयारी गर्नुपर्ने हुन्छ । विधान पारित भएपछि बालेन्द्रलाई प्रधानमन्त्रीका रूपमा अगाडि बढाउने उपसभापति डोलप्रसाद अर्यालले बताएका छन् ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ८ : ०० बजे

बाल सुधार गृहका बालबालिकाको मानवअधिकार अवस्थाबारे समितिमा छलफल

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा देशभरका बाल

विश्वकप फाइनलमा स्पेनविरुद्ध अर्जेन्टिनाको पक्षमा किन उभिए नेतान्याहू ?

तेलअभिभ- फुटबल कहिलेकाहीँ ९० मिनेटको खेलभन्दा धेरै ठूलो विषय बन्छ।

नेकपा संयोजक दाहाल स्वदेश फिर्ता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलङ्कामा

प्रधानमन्त्री वालेन्द्र केही मन्त्री हटाउने जोडघटाउमा लागेका हुन् ?

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले पर्फर्मेन्स नपुगेका केही मन्त्रीहरू हेरफेरको सन्दर्भमा

विश्वकपमा नपुगेको चीन आर्थिक रूपमा सबैभन्दा ठूलो विजेता बन्दै !

हङकङ- स्पेन र अर्जेन्टिना फिफा विश्वकप २०२६ को उपाधिका लागि