प्रधानमन्त्रीसँगै फेरियो सिंहदरबार र बालुवाटारको दैनिकी « Khabarhub

प्रधानमन्त्रीसँगै फेरियो सिंहदरबार र बालुवाटारको दैनिकी

मन्त्रीले पनि सजिलै भेट्न पाउँदैनन्



काठमाडौं- गत १४ चैतमा प्रधानमन्त्री नियुक्ति भएका वालेन्द्र शाहसँगै बालुवाटार र सिंहदरबारको दैनिकी फेरिएको छ । प्रधानमन्त्रीकहाँ चाकडी गर्न, भनसुन र विभिन्न सेटिङ मिलाउन आउने व्यक्तिहरूको सङ्ख्या पातलिएको सिंहदरबार र बालुवाटार स्रोत बताउँछ ।

बालेन्द्र प्रधानमन्त्रीमा नियुक्त भएपछि उनले अहिलेसम्म कसैको खादा, माला सिंहदरबार र बालुवाटारबाट औपचारिक रुपमा ग्रहण गरेका छैनन् । अनौपचारिक रूपमा पनि भेट्न आउने साथीभाइलाई उनले माला-खादा नल्याउन र भनसुनका लागि नआउन सार्वजनिक रूपमै अनुरोध गरेको उनको सचिवालय बताउँछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कर्मचारी पनि प्रधानमन्त्री कहाँ भनसुन गर्न र सेटिङ मिलाउन आउने बिचौलियाहरुले अहिले प्रवेश नपाएको दाबी गर्छन् ।

‘प्रधानमन्त्री सुशीला कार्की हुँदाबाट नै बालुवाटार र सिंहदरबारमा भनसुन गर्न आउने र बिचौलियाहरूले प्रवेश नपाएको हो । सामान्य भेटघाट गर्न आउने व्यक्तिलाई पनि आवश्यकता र प्राथमिकता हेरेर मात्रै पठाउन उतिबेला पनि भनिन्थ्यो । अहिले पनि त्यही भनिन्छ’, ती कर्मचारीले भने, ‘अन्य दलबाट चुनेर आएका प्रधानमन्त्रीलाई भेट्न आउने आफ्ना पार्टीका नेतादेखि अरू थुप्रै व्यक्तिहरुसम्म हुनुहुन्थ्यो। सुशीला कार्की र वर्तमान प्रधानमन्त्री बालेन्द्र आएपछि त्यो चलन हट्दै गएको छ। आफ्नै दलका नेताहरू र शुभचिन्तक पनि भेट्न आउने क्रम पातलिएको छ।’

ती कर्मचारीका अनुसार सुशीला कार्की प्रधानमन्त्री भएपछि पनि सिंहदरबार र बालुवाटारमा भेट्न आउने व्यक्तिहरूको संख्या पातलिएको थियो । बालेन्द्र प्रधानमन्त्रीमा नियुक्त भएपछि त्यसको आकार झनै घटेको ती कर्मचारीको भनाइ छ ।

‘अन्तरिम सरकारकी प्रधानमन्त्री कार्की हुँदा जेन-जीहरूका नाममा विभिन्न व्यक्तिहरू सिंहदरबार प्रवेश गरिरहनुहुन्थ्यो । बालेन्द्र प्रधानमन्त्री भएपछि त्यो क्रम पातलिएको छ’, उनले भने ।

ती कर्मचारी भन्छन, ‘उहाँले सचिवालयमार्फत् डिजिटल माध्यममै गुनासो सुन्ने र काम गर्ने भएकाले पनि चाकडी प्रथालाई हटाउँदै जानुभएको महसुस गरेका छौँ ।’

प्रधानमन्त्रीको सचिवालय सदस्यहरू पनि स्वार्थप्ररित ढङ्गले प्रधानमन्त्रीलाई भेट्न आउनेहरुको बाटो बन्द गरिदिएको बताउँछन् । उनीहरू सरकारले तीन महिनामा परिणाम दिने किसिमको काम गर्न लागिरहेकाले कुनै पनि स्वार्थ लिएर आउने व्यक्तिलाई प्रवेशै निषेध गरिएको दाबी गर्छन्।

‘माला, खादा, भनसुन र बिचौलिया जाने बाटो छैन । हामीले सु-संस्कृत राजनीति गर्ने भनेका हौँ। यस्ता कुराहरूबाट टाढा छौँ र टाढा रहन्छौँ’, सचिवालयका स्रोतले भन्यो, ‘सरकार डर धम्की ,लोभ, लाभमा फस्ने छैन । हामी काममा फोकस छौँ । सबैले स्वास्थ आलोचना, सुझावसहित घचघच्याउने काम गर्नुहोला ।’

कर्मचारीलाई नियम पालना गर्न निर्देशन

नयाँ सरकार आएपछि देशभरका सम्पूर्ण कर्मचारीलाई अफिस समयमा कार्यालयमै बस्न प्रधानमन्त्रीले निर्देशन दिइसकेका छन् । प्रधानमन्त्री शाहले मुख्य सचिव सुमनराज अर्याललाई पटक पटक बोलाएर कर्मचारीहरूलाई कार्यालय समयमा मिहिने गर्न भनेका थिए ।

मुख्यसचिवसँगै उनले विभिन्न प्रदेशका सचिव र प्रधानमन्त्री कार्यालयमा रहेका सचिवहरूलाई समेत उक्त निर्देशन दिइसकेका छन् । उनले देशभरका प्रमुख जिल्ला अधिकारीलाई पनि डिजिटल प्लेटफर्ममार्फत यस्तो निर्देशन दिइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक सल्लाहकारले जानकारी दिए ।

नटेर्ने व्यक्तिलाई एकपटक सजग गराउने र पुन: गल्ती दोहोर्‍याए उसलाई सरकारी नियमअनुसार कारबाही गर्न पनि प्रधानमन्त्री पछि नपर्ने उनका सहयोगीहरू बताउँछन् ।

‘मुख्यसचिवसँग त उहाँले निरन्तर छलफल गरिरहनुभएको छ । देशभरका प्रमुख जिल्ला अधिकारी, प्रदेशका सचिव तथा मन्त्रालय र प्रधानमन्त्री कार्यालयका कर्मचारीलाई पनि कार्यालय समयमा बढीभन्दा बढी कार्यालयमै रहन निर्देशन दिइसक्नुभएको छ,’ ती कर्मचारी भन्छन्, ‘अहिले ९ बजे कार्यालय उपस्थित हुन्छौँ, ५ बजेपछि मात्रै निस्किन्छौँ । हाजिर गरेर यताउता हराउने समय अब छैन ।’

प्रधानमन्त्रीका एक सचिवालय सदस्यका अनुसार कुनै पनि मन्त्रालयको सचिव परिवर्तन गर्ने र कर्मचारी हटाउने पक्षमा अहिले प्रधानमन्त्री छैनन् । तर आफूलाई काम गर्न अनुकूल नभए र निर्देशन नमाने विचार गर्ने पक्षमा प्रधानमन्त्री र अरु मन्त्री रहेको बताइन्छ ।

‘कर्मचारीले आफ्नो ढंगले काम गरिरहनुभएको छ । निर्देशनको पालना गरेर उहाँहरुले सेवा प्रवाह गरिरहेकाले कुनै पनि मन्त्रालयका कर्मचारी हटाउने सचिव हटाउने पक्षमा हामी छैनौं’, प्रधानमन्त्रीका ती सचिवालय सदस्यले भने, ‘कर्मचारीहरूमा अहिलेसम्म निर्देशन नटेरेको र काम नगरेको समस्या देखिएको छैन । उहाँहरु कार्यालय तोकिएकै समयमा आउनुभएको छ । नियमअनुसार काम गरिरहनु भएको हामीलाई जानकारी छ।’

अर्थ मन्त्रालयका एक वरिष्ठ कर्मचारी पनि प्रधानमन्त्रीसहित मन्त्रीहरूबाट एकपटक नियमबारे जानकारी आएपछि अरु समस्या आएको छैन।

‘एकपटक सजग गराएपछि उहाँहरुले पटक पटक किचकिच गर्ने अथवा हामीलाई तनाव दिनुभएको छैन’, ती कर्मचारी भन्छन्, ‘विगतमा पनि कर्मचारीमा समस्या देखिएको होइन । हामीले नियमको अधिनमै रहेर काम गरिरहेका थियौँ। अहिले पनि त्यो गरिरहेका छौँ । कार्यालय समय ९ बजेदेखि ५ बजेसम्म हुँदा केही समस्या भएको छ । तर त्यसलाई परीक्षणका रूपमा हेरेका छौँ ।’

बालुवाटार स्रोतका अनुसार कार्यालय समय बढी भएको विषयमा मुख्यसचिवमार्फत् केही व्यवहारिक पाटाहरूबारे प्रश्न भने उठाइएको छ। स्रोतले भन्यो, ‘मुख्य सचिवले व्यवहारिक रुपमा कतिको प्रभावकारी हुन्छ भनेर कर्मचारीको समयबारे प्रधानमन्त्रीसामु कुरा राख्नुभएको छ। प्रधानमन्त्रीज्यूले यसबारे अहिले थप बोल्नुभएको छैन ।’

मन्त्रीहरूलाई जथाभावी नजान उर्दी

नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी लगायतको सरकार हुँदा मन्त्रीहरू विभिन्न ठाउँमा पुगेर रिबन काट्न भ्याइ नभ्याइ हुन्थ्यो। जन्मदिनमा समेत उपस्थित भएको भन्दै आलोचना हुने गरेको थियो। यो कुरालाई मध्यनजर गरेर प्रधानमन्त्री शाह नेतृत्वको सरकार र रास्वपा सभापति रवि लामिछानेले मन्त्रीहरूलाई जथाभावी कार्यक्रममा उपस्थित नहुन निर्देशन दिएका छन् ।

पार्टी अनुशासन आयोगले पनि मन्त्रीहरूको अनुशासन र कार्यक्रमको ओज हेरेर उपस्थित हुनुपर्ने जानकारी मन्त्रीहरूलाई दिएको छ। अहिलेसम्मको अवस्थामा गृहमन्त्री सुध गुरुङले कार्यक्षेत्र बाहिर गएर कामकाज गरेकोबाहेक अरुले अनावश्यक चासो राखेको देखिँदैन। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार मन्त्री र सांसदहरूलाई अनुशासन र विधि नियमको पालना गर्न भनिएको छ।

उनले सांसदहरूको प्रशिक्षण कार्यक्रममै यस्ता विषयलाई समेटिएको बताउँदै सभापति र प्रधानमन्त्रीले पनि मन्त्री तथा सांसदहरूलाई जानकारी गराएको बताए । यता प्रधानमन्त्री शाहनिकट स्रोतका अनुसार अनावश्यक काममा नलागेर आफ्नो कार्यक्षेत्र र कर्तव्यबारे अध्ययन अनुसन्धान गरेर काम गर्न निर्देशन दिएका छन् ।

पार्टी सभापति लामिछानेले त सार्वजनिक रुपमै आफूहरूलाई जनताले ३६ दिनसम्म पनि नपर्खिने बताउँदै परिणाममुखी काम गर्न निर्देशन दिएका छन्। उनले सरकारको लक्ष्यअनुसार १०० दिनमा उपलब्धि नदिने मन्त्रीलाई फिर्ता बोलाउनसमेत भनेका छन् ।

‘सरकार र पार्टी सञ्चालनमा सभापति र वरिष्ठ नेताबीच समस्या देखिएको छैन। कसले कसरी काम गर्दैछ र कस्तो प्रस्तुति दिँदैछ भन्ने निगरानी गरिरहनुभएको छ,’ स्रोतले भन्यो, ‘पार्टी सभापति र वरिष्ठ नेताज्यू अहिले पनि जुटिहाल्नुहुन्छ । उहाँहरूबीच सल्लाह हुने गरेको जानकारी हामीलाई छ।’

बालेन क्याबिनेटका एक मन्त्रीले खबरहबलाई दिएको जानकारी अनुसार विभिन्न व्यक्तिहरूले र संस्थाले बोलाएको कार्यक्रममा पनि आवश्यकता र प्राथमिकताका आधारमा उपस्थित हुन मन्त्रीहरूलाई निर्देशन दिइएको छ ।

मन्त्रालयको कार्यक्षेत्रभन्दा बाहिर रहेर काम नगर्न र एक मन्त्रालयबाट अर्को मन्त्रालयको काममा गाँठो परेको अवस्था भए फुकाउनका लागि छलफल गर्न निर्देशन दिइएको छ।

‘एक मन्त्रालयबाट अर्को मन्त्रालयको काममा गाँठो भएको भए छलफल गरेर काम गर्नू भनिएको छ। आवश्यक परे प्रधानमन्त्रीलाई सोध्न र पार्टी सभापतिको सल्लाह लिनसमेत भनिएको छ। हामीले निर्णय दिन नसकेमा उहाँहरूसँग निरन्तर संवाद गरिरहेका छौं’, ती मन्त्री भन्छन्, ‘हामीलाई काममा अवरोध छैन । तर विभिन्न निमन्त्रणामा चाहिँ प्राथमिकता हेरेर जाने निर्देशन छ। जथाभावी राज्यको सम्पत्तिको दुरुपयोग नगर्न, जथाभावी नबोल्न प्रधानमन्त्री र सभापति दुवैले भनिसक्नुभएको छ ।’

कस्तो छ प्रधानमन्त्रीको दैनिकी ?

प्रधानमन्त्री शाह बालुवाटारबाट ९ बजेअघि नै सिंहदरबार निस्किन्छन्। उनी ९ बजेभन्दा करिब पाँच या १० मिनेट अगाडि सिंहदरबार पुगेर मुख्य सचिवसँग ब्रिफिङ लिन्छन् । आवश्यक परे अन्य कर्मचारी र सहयोगीलाई समेत पहिलो बिहानी सत्रको बैठकमा समावेश गर्ने गरेका छन् ।

बालुवाटार स्रोतका अनुसार कार्यालय समयमा आवश्यक अध्ययन अनुसन्धान, विभिन्न क्षेत्रका व्यक्तिहरूसँग सरसल्लाह र बैठकमा सहभागी हुने वालेन्द्रको सेड्युल हुन्छ। उनले प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, हरेक प्रदेशका सांसद, प्रदेशका सचिव, मन्त्रालयका आवश्यक अधिकारी, विभिन्न कूटनीतिक निकाय, आयोग र नियोगका व्यक्तिसँग अनुभव साटासाट र समस्याबारे छलफल गरिरहेका छन् ।

सचिवालयका अनुसार उनले एक चरणमा सबैसँग छलफल तथा समस्याको पहिचान गरेर काम गर्ने तयारी गरिरहेकाले व्यस्तता बढेको हो।

सचिवालयले दिएको जानकारी अनुसार बैठक भएको समयमा उनी बिहान चाँडै कार्यालय उपस्थित हुने र बेलुका ६-७ बजेसम्म बस्ने तालिका हुन्छ । सचिवालय स्रोतका अनुसार उनी ५ बजेपछि मात्रै कार्यालयबाट बालुवाटार जान्छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका एक कर्मचारीका अनुसार उनले प्रधानमन्त्री कार्यालयकै खाजा नास्ता खाने गरेका छन्। कर्मचारी र सचिवालयका अनुसार प्रधानमन्त्रीले अरुका कुरा सुन्ने र ५ देखि ७ मिनेटसम्म आफ्ना कुरा राख्ने परिपाटी बसालिरहेका छन्। उनले अरुको कुरा सुन्ने, टिपोट र रेकर्ड गर्न लगाउँछन् ।

‘हामीलाई पनि कम बोल्नु र धेरै अरुका कुरा सुन्नु भनिएको छ। उहाँले पनि सम्बोधन गर्दा ५ देखि ७ मिनेटसम्म मात्रै गर्ने परिपाटी छ’, सचिवालय सदस्य भन्छन्, ‘हामीलाई पनि बैठक र कामको व्यस्तताका कारण अरु धेरै कुरा सोच्ने फुर्सद हुँदैन। परिणाम दिनेगरी काम गर्नका लागि १५–२० घण्टा खटिरहेका छौं । उहाँ पनि लगभग १५–२० घण्टै खट्नुहुन्छ।’

सचिवालयका अनुसार कार्यालय समयभन्दा बाहिर वालेन्द्रले बालुवाटारबाट विभिन्न क्षेत्रका समस्या केलाउने गरेका छन्। उनलाई सरकार सञ्चालन र डेलिभरी गर्न समस्या देखिएको विषयमा पत्नी सबिना काफ्लेले पनि सहयोग गर्ने गरेकी छन्।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ७ : ४५ बजे

करको दर पुनरावलोकन गरी पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको भन्दै

निजी सञ्चार माध्यममा विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति

काठमाडौँ – निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ – नेपाली कांग्रेसले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न

कैलालीमा छतबाट खसेर प्रहरी कार्यालयका सहयोगीको मृत्यु

कैलाली – भान्साको माथिल्लो तलाबाट खसेर सुदूरपश्चिम प्रदेश प्रहरी गण

पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण जनजीवनमा