प्रकृतिको आराधनासँगै उँभौली पर्व समापन « Khabarhub

प्रकृतिको आराधनासँगै उँभौली पर्व समापन


२ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

धरान– किराँत राई समुदायको महान् सांस्कृतिक पर्व उँभौली शुक्रबार धरानमा हर्षोल्लासका साथ समापन गरिएको छ । वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको साकेला उभौली पर्व धरान उपमहानगरपालिका–१७ स्थित साकेला पार्कमा विशेष पूजा, सिली प्रदर्शन र सामूहिक नृत्यसहित सम्पन्न भएको हो ।

बिहानैदेखि साकेला थानमा ढोल, झ्याम्टा र चम्मरको तालसँगै पारम्परिक गीत गुञ्जिएका थिए । मौलिक भेषभुषामा सजिएका युवायुवतीहरूले साकेला सिली नाच प्रस्तुत गर्दै प्रकृतिप्रतिको सम्मान, सामूहिकता र पुर्खाको संस्कृतिलाई जीवन्त बनाएका थिए ।

धरान–१३ की करुणा किरातीले साकेला पर्वले नयाँ पुस्तालाई मौलिक संस्कृतिसँग जोड्ने काम गरेको बताए।

“साकेला हाम्रो पहिचान र संस्कृतिसँग जोडिएको चाड हो । यसले युवापुस्तालाई प्रकृतिप्रतिको सम्मान र सामूहिक जीवनशैलीबारे सचेत बनाउँछ,” उनले भने।

उहाँका अनुसार उभौली र उधौली पर्व पुर्खादेखि चलिआएको परम्परा भएकाले यसलाई जगेर्ना गर्नु सबैको दायित्व हो । त्यसैले प्रत्येक वर्ष साथीसँग पारम्परिक पोशाक र गहनामा सजिएर साकेला नाच्न जाने गरेको उनले सुनाए।

साकेला प्रशिक्षक विवेक राईले सानो उमेरदेखि नै बाजेबाजेबाट साकेला नाच र पूजाविधिबारे सिक्दै आएको बताए। ‘एक दशकभन्दा बढी समयदेखि साकेला नाच्दै आएको छु । साकेला केवल नाच मात्र होइन, हाम्रो संस्कृति र प्रकृतिसँगको सम्बन्ध पनि हो,’ उनले भने।

धरान–१४ विजयपुरस्थित किराँत सभ्यताको प्रतीक मानिने हाङ बुद्धिकर्ण राईको दरबार क्षेत्रमा वैशाख १८ गते पूजा आराधनासहित सुरु गरिएको साकेला उँभौली अन्तर्गत धरानका विभिन्न वडामा २६ भन्दा बढी कार्यक्रम सम्पन्न भएका थिए । अन्तिम दिन किराँत राई यायोक्खा सुनसरीको आयोजनामा वडास्तरीय साकेला सिली प्रदर्शन गर्दै उँभौली समापन गरिएको हो ।

किराँत राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईका अनुसार साकेला पर्व प्रकृतिपूजा, कृषि संस्कार र सामूहिक जीवनसँग जोडिएको महत्वपूर्ण चाड हो । ‘भूमेस्थानमा पूजा गरेर राम्रो बाली, सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा साकेलासँग जोडिएको छ,’ उनले बताए।

साकेला सिलीमा मानव जीवनका विभिन्न चरणसँगै चराचुरुङ्गी र वन्यजन्तुको गतिविधिलाई समेत नृत्यमार्फत प्रस्तुत गर्ने गरिन्छ । यस पर्वलाई किराँत समुदायले प्रकृति र पितृहरूको सम्मान गर्ने अवसरका रूपमा लिने गरेका छन् ।

किराँत समुदायमा उँभौलीलाई ठाउँ र भाषाअनुसार फरक–फरक नामले चिन्ने गरिन्छ । लिम्बू समुदायले ‘चासोक’ वा ‘यक्वा तङनाम’, राई समुदायले ‘साकेला’, सुनुवारले ‘फोलष्यादर’ तथा बान्तावाले ‘साकेन्वा’ नामले पर्व मनाउने परम्परा छ ।

वैशाख पूर्णिमादेखि सुरु हुने उँभौली पर्व गर्मीयाम सुरु भएसँगै मानिस, चराचुरुङ्गी र पशुचौपाया उँभो लाग्ने जीवनशैलीसँग जोडिएको विश्वास छ । त्यस्तै मङ्सिर पूर्णिमामा बाली भित्र्याएर उँधौली पर्व मनाउने चलन रहेको छ ।

उँभौली पर्व पूर्वी नेपालका धरान, इटहरी, दमक, उर्लाबारी, विराटचोक, विर्तामोडलगायत क्षेत्रमा विशेष उत्सवका रूपमा मनाइन्छ । साथै खोटाङ, भोजपुर, सङ्खुवासभा, उदयपुर, सोलुखुम्बु, धनकुटा, इलामलगायत जिल्लामा पनि साकेला नाच्ने परम्परा व्यापक रहेको छ । काठमाडौंका टुँडिखेल र हात्तीवनलगायत क्षेत्रमा समेत पूर्वेली किराँत समुदायले भव्य रूपमा उँभौली मनाउने गरेका छन् ।

प्रकाशित मिति : २ जेठ २०८३, शनिबार  १२ : २९ बजे

सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध

काठमाडौं– सुदूरपश्चिम प्रदेशका नौ जिल्लाको २६ पालिकालाई विनियोजन गरिएको रासायनिक

पसलबाट सुनचाँदी चोरी भएको नाटक गर्दा पुगे प्रहरीको हिरासतमा

रुपन्देही- बुटवलस्थित एक सुनचाँदी पसलबाट करिब डेढ करोड रुपैयाँ बराबरका

कश्मीरमा हेलिकप्टर दुर्घटना

इस्लामाबाद– कश्मीरको मुजफ्फराबाद सहर नजिकै प्राविधिक समस्याका कारण पाकिस्तानी सेनाको

संसद्‍मा ‘चिसै पानी’ले नुहाउन बाध्य भए प्रतिपक्षी !

काठमाडौं- प्रतिनिधिसभा सुरू भएदेखि निरन्तर आन्दोलित आएका प्रतिपक्षी दलले पछिल्लो

महानगरद्वारा आगामी आर्थिक वर्षका लागि सुझाव सङ्कलन

विराटनगर– आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट, नीति तथा