ढुङ्गा बोकेर अर्थतन्त्र सुध्रिदैन « Khabarhub

ढुङ्गा बोकेर अर्थतन्त्र सुध्रिदैन

हर्क साम्पाङको राजनीतिक यात्रा र गुमेका अवसर


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नेपालको समकालीन राजनीतिक इतिहासमा विसं २०७९ को स्थानीय निर्वाचन एउटा सामान्य प्रशासनिक प्रक्रिया मात्र थिएन, यो परम्परागत राजनीतिक शक्ति संरचना र स्थापित दलीय प्रणालीको एकाधिकारविरुद्ध नागरिकस्तरबाट प्रकट भएको संरचनागत असन्तोषको बलियो संकेत थियो। लामो समयदेखि मुलुकको शासनसत्ता सञ्चालन गरिरहेका प्रमुख दलभित्रको आन्तरिक लोकतन्त्रको क्षयीकरण, नीतिगत भ्रष्टाचार, बिचौलियातन्त्र र जनअपेक्षा उपेक्षा गर्ने प्रवृत्तिको कारण आमनागरिकमा एक प्रकारको राजनीतिक विकल्पहीनता र उदासीनता व्याप्त थियो। यही सन्दर्भमा धरानको स्थानीय तहबाट हर्क साम्पाङको उदय भयो।

कुनै परम्परागत राजनीतिक विरासत वा सुदृढ वित्तीय स्रोतबिना नै केवल भौतिक श्रमलाई उत्पादनको मुख्य आधार मान्ने श्रम संस्कृति र रैथाने स्रोतको वकालत गर्दै स्थापित भएको उनको यो उदय नेपाली राजनीतिक भूगोलमा एउटा मौलिक परिपरिघटना थियो, जसले राज्य र नागरिकबीचको प्रत्यक्ष संवाद र सहभागितामूलक राजनीतिको नयाँ बहस प्रारम्भ गरेको थियो।

विसं २०७९ को त्यो स्थानीय जनमतको जगबाट सुरु भएको साम्पाङको राजनीतिक यात्रा विसं २०८२ को नवपुस्ता अर्थात् ‘जेन-जी’ आन्दोलन हुँदै विसं २०८३ को संसदीय अभ्याससम्म आइपुग्दा एउटा गम्भीर नीतिगत र संरचनागत मोडमा आइपुगेको छ। खासमा, व्यक्तिगत निष्ठा, साहस र आन्दोलनकारी जुझारुपन विद्रोहको नेतृत्व गर्न वा स्थापित शक्तिलाई चुनौती दिन जति प्रभावकारी हुन्छ, संसद् र राज्य सञ्चालनजस्तो स्थायी पद्धतिमा पुगेपछि त्यसलाई अनिवार्य रूपमा संस्थागत क्षमता र कानुनी परिपक्वतामा रूपान्तरण गर्नुपर्ने हुन्छ।

साम्पाङको मूल समस्या नै आफ्नो त्यही सुरुवाती विद्रोही ऊर्जा र आन्दोलनकारी स्वरूपलाई देश चलाउने संस्थागत पद्धति र व्यापक नीतिगत दृष्टिकोणमा ढाल्न नसक्नु हो। जसका कारण उनको संरचनागत अवसर, कार्यकारी क्षमता, प्राज्ञिक स्वीकार्यता र समग्र राष्ट्रिय साख क्रमशः रूपान्तरण र संकुचनको दिशातिर उन्मुख भएको देखिन्छ। यस अवस्थामा उनको लोकप्रियता संसदीय अंकगणितमा बदलियो तर ऐतिहासिक सामाजिक–सांस्कृतिक रूपान्तरणको बृहत्तर मार्गचित्रबाट उनी विमुख हुँदै गएको विषयमा गम्भीर विश्लेषण आवश्यक बन्दै गएको छ।

साम्पाङको यो यात्रामा केही महत्त्वपूर्ण सांगठनिक र संस्थागत विकास भइरहेका छन्। स्थानीय तहमा सिर्जित स्वतन्त्र लहरलाई देशव्यापी रूपमा संस्थागत गर्ने उद्देश्यका साथ श्रम संस्कृति पार्टीको गठन हुनु आफैँमा एउटा संगठनात्मक फड्को हो।

साम्पाङको यो यात्रामा केही महत्त्वपूर्ण सांगठनिक र संस्थागत विकास भइरहेका छन्। स्थानीय तहमा सिर्जित स्वतन्त्र लहरलाई देशव्यापी रूपमा संस्थागत गर्ने उद्देश्यका साथ श्रम संस्कृति पार्टीको गठन हुनु आफैँमा एउटा संगठनात्मक फड्को हो। परम्परागत दलको बलियो गढ मानिएको सुनसरी क्षेत्र नम्बर १ मा विजय हासिल गर्नुले तल्लो तहमा उनको राजनीतिक प्रभाव कायमै रहेको संकेत गर्छ र यसले स्थापित दलीय किल्लालाई कडा चुनौती दिइरहेको छ। प्रतिनिधि सभाको निर्वाचनमा सामेल भएर सात सिटसहित राष्ट्रिय दलको मान्यता प्राप्त गर्नु र संसद्‍को पाँचौँ ठूलो शक्तिका रूपमा स्थापित हुनुले उनको दलको सांगठनिक विस्तारलाई प्राविधिक रूपमा पुष्टि गर्छ । यो सफलताले उनीसामु नयाँ संरचनागत सीमा र दलीय अनुशासनका जटिलता पनि थपिदिएको छ। यही यात्राका क्रममा मधेसी समुदायबाट रुबीकुमारी ठाकुरलाई संसद्‍मा पुर्‍याउने उनको निर्णय समावेशी कूटनीतिको एक सकारात्मक संकेत हो, जसले उनको आन्दोलनलाई क्षेत्रीय घेराबन्दी तोडेर राष्ट्रिय स्वरूप दिने एउटा सचेत प्रयत्न गरेको देखिन्छ।

संसदीय र प्राविधिक सफलताका पर्दा पछाडि उनले गुमाउँदै गरेका नीतिगत र रणनीतिक अवसरको शृङ्खला अत्यन्त गम्भीर देखिन्छ। सुरुवातमा दलविहीनताको सौन्दर्य बोकेर देशैभरिका असन्तुष्ट र स्वतन्त्र चेत भएका नागरिकको नैतिक नेतृत्व गर्ने जुन अभूतपूर्व अवसर साम्पाङलाई प्राप्त थियो । त्यो आफ्नै दल दर्ता गरेर चुनावी प्रतिस्पर्धाको चक्रव्यूहमा होमिएसँगै कमजोर बन्दै गएको छ। धरानको स्थानीय तहमा अभ्यास गरिएको ‘ढुङ्गा बोक्ने श्रम संस्कृति’ स्थानीय नागरिक परिचालन र श्रमको चेतना जगाउनका लागि जति प्रभावकारी र जनप्रिय ठहरिएको थियो, संसद्जस्तो समष्टिगत र जटिल नीति निर्माण गर्ने थलोमा आइपुग्दा त्यसले देश चलाउने व्यापक वैचारिक तथा नीतिगत विकल्प दिन सकिरहेको छैन।

धरानको स्थानीय तहमा अभ्यास गरिएको ‘ढुङ्गा बोक्ने श्रम संस्कृति’ स्थानीय नागरिक परिचालन र श्रमको चेतना जगाउनका लागि जति प्रभावकारी र जनप्रिय ठहरिएको थियो, संसद्जस्तो समष्टिगत र जटिल नीति निर्माण गर्ने थलोमा आइपुग्दा त्यसले देश चलाउने व्यापक वैचारिक तथा नीतिगत विकल्प दिन सकिरहेको छैन।

संसद्को पाँचौँ शक्तिका रूपमा स्थापित भइसक्दा समेत उनको दलसँग मुलुकको दीर्घकालीन आर्थिक सुधार, आयात प्रतिस्थापन, राष्ट्रिय पञ्चवर्षीय योजना, परराष्ट्र सम्बन्ध र संघीयताको सुदृढीकरणका सवालमा ठूलो नीतिगत शून्यता देखिन्छ। देशको अर्थतन्त्रलाई गति दिन र भुक्तानी सन्तुलन सुधार्नका लागि आवश्यक पर्ने जटिल मौद्रिक नीति, वित्तीय व्यवस्थापन वा अन्तर्राष्ट्रिय व्यापार सम्झौताका सवालमा श्रम संस्कृति पार्टीले संसद्‍मा प्रस्तुत गरेका बजेट संशोधन र आर्थिक विधेयक अत्यन्त सतही र नारामा मात्र सीमित देखिन्छन्, जसले ‘ढुङ्गा बोक्ने’ आन्दोलनको मोडेलले राष्ट्रिय अर्थतन्त्रका बृहत्तर चुनौती समाधान गर्न सक्दैन भन्ने व्यावहारिक यथार्थलाई पुष्टि गरिरहेका छन्।

यससँगै, स्वतन्त्र आन्दोलनबाट दलमा रूपान्तरण भएपछि साम्पाङको व्यक्तिगत निर्णय गर्ने शैली र पार्टीभित्र हुनुपर्ने आन्तरिक लोकतन्त्रको मूल्यबीच गम्भीर द्वन्द्व देखिन थाल्यो, जसले गर्दा संसद्‍ भित्र रहेका बौद्धिक वर्ग, प्राज्ञिक समुदाय र नीति अनुसन्धान संस्थासँग उनको दलको दूरी बढ्न गई विचारले प्राज्ञिक स्वीकार्यता पाउन सकेन। यो सांगठनिक र नैतिक विचलनको सबैभन्दा ठूलो प्रभाव साम्पाङको स्थानीय जनमतको परित्यागमाथि उठ्ने प्रश्नमा देखिन्छ। धरानका नागरिकले उनलाई ५ वर्षका लागि स्थानीय सरकार चलाउने र धरानलाई सुशासित नमुना सहर बनाउने स्पष्ट म्यान्डेट दिएका थिए। त्यो कार्यकारी जिम्मेवारी र म्यान्डेट पूरा नगरी, आफ्नो कार्यकालको ठोस नतिजा नदेखाउँदै राष्ट्रिय राजनीति र संसद् प्रवेश गर्ने उनको हतारोलाई भुइँतहको जनमतप्रतिको एक प्रकारको अवसरवादी विचलनका रूपमा हेर्न थालियो। स्थानीय शासकीय अनुभवलाई तार्किक निष्कर्षमा नपुर्‍याई विधायिकी भूमिकामा फड्को मार्ने यो निर्णयले उनको जुन नैतिक र राजनीतिक धरातल थियो, त्यसमा ठूलो ह्रास ल्याउने काम गर्‍यो । जसले गर्दा उनी केवल चुनावी र अंकगणितीय राजनीतिमा मात्र केन्द्रित रहेको सन्देश दिएको छ।

यो वैचारिक रिक्तताको अर्को प्रस्ट रूप विसं २०८२ को नवपुस्ता अर्थात् ‘जेन-जी’ आन्दोलनका क्रममा उजागर भयो। देशमा विद्यमान बेथिति र व्यवस्थागत कमजोरीविरुद्ध सडकमा ओर्लिएका युवाको ऊर्जा र असन्तोषलाई समेटेर एउटा दूरदर्शी र परिपक्व रणनीतिक मार्गचित्र दिनुपर्नेमा साम्पाङले “मलाई देशको प्रधानमन्त्री बनाऊ” भन्ने संकथन अघि सारे। संस्थागत एजेन्डा र सुदृढ वैचारिक धरातल नभएका पपुलिस्ट अर्थात् लोकप्रियतावादी नेता संकटको घडीमा कसरी संस्थागत समाधान दिनुको सट्टा झन् बढी व्यक्ति-केन्द्रित र आत्मकेन्द्रित बन्न पुग्छन् भन्ने कुरा उनको अभिव्यक्तिले पुष्टि गर्छ। संकट व्यवस्थापनमा युवा पुस्ताले एउटा अविचलित र नीतिगत रूपमा स्पष्ट सामूहिक नेतृत्व खोजिरहेका बेला उनको यो महत्त्वाकांक्षाले नेतृत्व क्षमतामाथि नै प्रश्नचिह्न खडा गरिदियो, जसको परिणामस्वरूप त्यो युवा विद्रोहको वास्तविक राजनीतिक लाभ र साख अन्य उदीयमान शक्तिको पोल्टामा सर्न पुग्यो।

देशको कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री बालेन शाह र श्रम संस्कृति पार्टीको संसदीय दलको नेताका रूपमा रहेका हर्क साम्पाङबीचको सम्बन्ध र द्वन्द्वलाई गहिरो गरी केलाउनु आवश्यक हुन्छ। विसं २०७९ को स्थानीय निर्वाचनमा सँगसँगै स्वतन्त्र रूपमा उदाउँदा यी दुई नायकबीच एक प्रकारको सौहार्दपूर्ण वातावरण देखिए पनि समयक्रममा यो सम्बन्ध उनीहरूले प्रतिनिधित्व गर्ने दुई भिन्न सामाजिक-आर्थिक वर्ग र राजनीतिक शैलीको संरचनागत टकरावमा परिणत भएको देखिन्छ।

बालेन शाहले मुख्यतः सूचना प्रविधि, आधुनिक व्यवस्थापन र सहरी मध्यमवर्गको आकांक्षालाई केन्द्रमा राखेर एक प्रकारको प्रविधि र व्यवस्थापन केन्द्रित राजनीतिक धारको प्रतिनिधित्व गर्छन् । यसको विपरीत साम्पाङले सीमान्तकृत श्रमजीवी वर्ग, भौतिक श्रम र गाउँ केन्द्रित रैथाने राष्ट्रवादको वकालत गरिरहेका छन्।

बालेन शाहले मुख्यतः सूचना प्रविधि, आधुनिक व्यवस्थापन र सहरी मध्यमवर्गको आकांक्षालाई केन्द्रमा राखेर एक प्रकारको प्रविधि र व्यवस्थापन केन्द्रित राजनीतिक धारको प्रतिनिधित्व गर्छन् । यसको विपरीत साम्पाङले सीमान्तकृत श्रमजीवी वर्ग, भौतिक श्रम र गाउँ केन्द्रित रैथाने राष्ट्रवादको वकालत गरिरहेका छन्। तर, यहाँ विचारणीय पक्ष के छ भने बालेन शाहले प्रतिनिधित्व गर्ने टेक्नोक्रेटिक र मध्यमवर्गीय राजनीतिले पनि नेपालको बहुसंख्यक ग्रामीण वा अर्धसहरी सीमान्तकृत जनसंख्याको पीडा र भावनालाई पूर्ण सम्बोधन गर्न सक्दैन। हर्क साम्पाङले उठाएको “श्रम र रैथाने स्रोतको मुद्दा” आफैँमा गलत र असान्दर्भिक होइन।

साम्पाङको राजनीतिक संकुचन उनको मुद्दाको पराजय नभएर, बरु त्यो न्यायपूर्ण र क्रान्तिकारी मुद्दालाई संस्थागत गर्ने रणनीतिक र बौद्धिक चेतको पराजय हो। शाहले केन्द्रको बृहत्तर मिडिया र सत्ताको उपयोग गर्दै आफ्नो उचाइ बढाउँदा साम्पाङ संसदीय अंकगणितमा पाँचौँ शक्तिमा खुम्चिन पुगेका छन्, जसले गर्दा केन्द्रको निर्णय प्रक्रियामा आफ्नो उपस्थितिको बोध र दुई फरक राजनीतिक कार्यशैलीको अन्तरद्वन्द्वका कारण साम्पाङले प्रधानमन्त्री शाहका नीति र योजनामाथि बढी आक्रामक र रक्षात्मक रणनीति अख्तियार गरिरहेका छन्।

संसद् प्रवेश गरेपछि र विशेष गरी पछिल्लो समय सीमा विवाद तथा राष्ट्रिय सार्वभौमिकताका संवेदनशील मुद्दा बहसमा आउँदा साम्पाङको भूमिका जुन रूपमा रचनात्मक, तथ्यपरक र नीतिगत प्रतिपक्ष हुनुपर्ने हो, त्यसो हुन सकिरहेको छैन। संसद्को गरिमा र कानुनी प्रक्रियालाई बुझेर राष्ट्रिय नीति निर्माणमा बौद्धिक हस्तक्षेप गर्नुको सट्टा उनी छिमेकी मुलुकसँगको सीमा विवाद र प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर संसद्को नियमित प्रक्रियालाई नै अवरुद्ध गर्ने र सडक शैलीको आन्दोलनलाई विधायिकाभित्रै निरन्तरता दिने नीतिमा अल्झिएका देखिन्छन्। सीमा क्षेत्रका गम्भीर विषयमा सरकारलाई तथ्य, प्रमाण र कानुनी आधारमा नीतिगत रूपमा घेर्नुको सट्टा व्यक्तिगत आक्षेप, खुला पत्र र संस्थागत प्रक्रियाप्रतिको अविश्वासले गर्दा उनको संसदीय भूमिका परिपक्व बन्न सकिरहेको छैन, जसको परिणामस्वरूप उनले प्रारम्भिक चरणमा आर्जन गरेको राष्ट्रिय राजनीतिक साख झन्-झन् कमजोर बन्दै गइरहेको छ।

अन्त्यमा, हर्क साम्पाङले संसदीय निर्वाचन जितेर सांगठनिक उपलब्धि त हासिल गरे, तर इतिहासले सुम्पेको दूरगामी वैकल्पिक नेतृत्व बन्ने अवसर भने गुमाउँदै गएका छन्। सडक आन्दोलन, स्थानीय तहको श्रम र संसद्को जटिल नीति निर्माण नितान्त फरक विधा हुन्। यो यथार्थ आत्मसात् गर्न नसक्दा उनको राजनीतिक प्रभाव खुम्चिँदै गएको छ।

अबका दिनमा उनको मूल्याङ्कन पुरानो सङ्घर्ष वा भावनात्मक नाराका आधारमा मात्र हुने छैन। साम्पाङको राजनीतिक भविष्य अब संसद्‍भित्रको बौद्धिक उपस्थिति र जटिल मुद्दामा उनको दलले अघि सार्ने नीतिगत विकल्पमा निर्भर रहनेछ। साथै, पार्टीभित्रको आन्तरिक लोकतन्त्र र मुलुकका सङ्कटमा दिने संस्थागत समाधानले नै उनको आगामी दिशा तय गर्नेछ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  १२ : १५ बजे

विनियोजन विधेयकमाथि छलफल जारी : खर्च कटौतीका प्रस्ताव प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको छलफल जारी

सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल

काठमाडौं– सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा सडक सुरक्षा, यातायात

सिंहदरबार ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत

काठमाडौं– सिंहदरबारस्थीत ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत पुगेको छ

साइप्रसमा बन्धक उज्ज्वल कुँवरको उद्धार गर्न आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले साइप्रसमा बन्धक बनाइएका धादिङका

रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म चार प्रदेश र ६४