‘रवि-बालेनजस्तै आफ्नै निर्णय अन्तिम सत्य ठान्ने प्रवृत्ति गगनहरूमा देखियो’ « Khabarhub

अन्तर्वार्ता

‘रवि-बालेनजस्तै आफ्नै निर्णय अन्तिम सत्य ठान्ने प्रवृत्ति गगनहरूमा देखियो’

पन्ध्रौँ महाधिवेशन निष्पक्ष नभएसम्म मिल्न सकिँदैन



काठमाडौँ- गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनपछि सिर्जित नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अझै समाधान हुन सकेको छैन । संस्थापन र संस्थापन इतरबीच बढ्दो अविश्वासले पार्टीभित्र ध्रुवीकरण गहिरिँदै गएको छ । सार्वजनिक रूपमा शीर्ष नेताहरू एकताको पक्षमा देखिए पनि भित्रभित्रै अलग अलग बाटोको चर्चा बढिरहेको छ । सभापति गगन थापा पक्षले गम्भीरतापूर्वक छलफल अघि नबढाएको अवस्थामा पूर्णबहादुर खड्का नेतृत्वका इतर पक्ष पनि अलग्गै रणनीति तय गर्न व्यस्त छ । कतिसम्म भने यो समूहले बीपी कोइरालाको स्मृति दिवस पनि अलग्गै मनाउने तयारी गरिरहेको छ । विशेष महाधिवेशनबाट रोपिएको कलहले कांग्रेस फेरि विभाजनको डिलमा पुगेको चर्चा बाक्लिएको छ । देशमा राष्ट्रिय स्वतन्त्र पार्टीको एकछत्र शासन हुँदा प्रतिपक्षीमा आन्तरिक एकता हुनुपर्ने हो । तर त्यसको ठिक विपरीत कांग्रेस भने दुईवटा डुंगा खियाउने तयारीमा लागेको छ । यही पृष्ठभूमिमा कांग्रेसको वर्तमान अवस्था, आन्तरिक विवाद, सरकारबारे प्रतिपक्षको मत र समसामयिक राजनीतिक विषयमा पार्टीका पूर्वप्रवक्ता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतसँग गरिएको कुराकानीको सम्पादित अंशः

गत पुसयता कांग्रेसका सबै नेता–कार्यकर्ता एकै छानामुनि छैनन् । यहाँहरूले २२ असारदेखि चुनदेवीमा सम्पर्क कार्यालय खोल्नुभएको छ ? के अब त्यसैलाई नयाँ नाम दिने तयारी भएको हो ?

कांग्रेस फुटोस् भनेर हामी कसैले चाहेका छैनौँ । अहिले देश चुनौतीपूर्ण राष्ट्रिय परिवेशमा छ । कांग्रेसले नै चुनौतीपूर्ण घडीमा आशा जगाउनुपर्छ । त्यसैले हामीले पार्टीको बृहत्तर एकता नै चाहेका छौँ । तर सभापति गगनजीले त्यसको आधार बनाउन चाहिरहेको देखिँदैन । विशेष महाधिवेशन स्वीकार नगरेका पार्टीको ठूलो तप्का अझै पनि पार्टी बाहिरै छन् । उनीहरूलाई बाहिर राखेर नियमित महाधिवेशन गर्नु निष्पक्ष हुनै सक्दैन ।

त्यसैले सहमतिका लागि पहिलो नम्बरमा विधानअनुरुप सदस्यता सबैले नवीकरण गरिसकेका छौँ, त्यसलाई पार्टीले नै डिजिटलाइज्ड गरे हुन्छ । यो पार्टी कार्यालयको काम हो । दोश्रोमा, अहिले हामीलाई कुनै पद दिनुपर्दैन । तर १५औँ नियमित महाधिवेशनको निर्वाचन निष्पक्ष र पारदर्शी हुन्छ भन्ने सुनुश्चित भएमात्रै हुन्छ । तेस्रो, १५औँ नियमित महाधिवेशनमा सबैको सम्मानजनक सहभागिताको सुनिश्चित हुनुपर्छ ।

यसका लागि साझा सहमतिको संयन्त्र बनाउनुपर्छ । विधान संशोधन, क्रियाशील सदस्यता टुङ्ग्याउने, अनुशासन र निर्वाचन प्रक्रियालाई अघि बढाउन उक्त संयन्त्रलाई अधिकार दिएर सहमति गर्नुपर्‍यो । यसो भएमात्रै सबैले खुला प्रतिस्पर्धामा विश्वास गर्न सक्छन् । अन्यथा, अरू सहागी हुन विश्वासको वातावरण बन्दैन । यो विषयमा गगनजी लगायतले बाहिर हुन्छ, हुन्छ भन्ने तर लिखित टुङ्गोमा नलैजाँदा सम्पर्क कार्यालय खोलेका हौँ । उहाँहरूले यसैगरी भाका लम्ब्याइराखे संस्थापनले सबैलाई मिलाउँदै निष्पक्ष महाधिवेशन गराउन नचाहेको भन्ने बुझ्नुपर्छ ।

संस्थापन र यहाँहरूको खासै नतिजामुखी वार्ता भएको देखिँदैन । त्यसो भए अब कांग्रेसबाट नयाँ पार्टी जन्मिन्छ भनेर बुझ्दा हुन्छ ?

देशैभरका ठूलो संख्यामा रहेका, लामो समय पार्टीमा संघर्ष गरेका कति साथीहरू निष्क्रिय बस्नुहोला । कतिले अन्तै जान्छु भन्नुहोला, कति हामीले अर्कै विकल्प तयार गर्नुहोला । अहिले नै त मैले कसले के गर्छ भन्न सक्दिनँ, तर यसले कांग्रेस भने पक्कै कमजोर हुन्छ, यसमा दुईमत छैन ।

पार्टीको वर्तमान कलहबारे यहाँको व्यक्तिगत धारणा के हो ?

हामीले न्यूनतम् कुरा उठाएका छौँ । गगनजीले चाहे सबै मिल्छ । गगनजीको पद खोस्ने, उहाँलाई अन्तरिम रुपमा नमान्ने कुरा गरेका छैनौँ । तर प्रन्धौँ महाधिवेशन त विशेष जस्तो एकलौटी हुनु हुँदैन, निष्पक्ष हुनुपर्छ । त्यो नभए उहाँले जे गर्नुहुन्छ, स्वीकारर्छौँ भनेर मलाई त्यहाँ जोडिन मुश्किल हुन्छ । के हुन्छ भन्ने अझै छलफलको विषय हो ।

कांग्रेसले बीपी कोइरालाको पालादेखि नै सघन बहस, विवाद र छलफल गर्दै पार्टीलाई अगाडी बढाएको हो । बीपीले पनि पार्टी एक्लै चलाउनुभएको त होइन, गणेशमानजी, सुवर्ण शमशेर लगायत नेतासँग संवाद गर्नुहुन्थ्यो ।

फाइल तस्वीर

तर, अहिले त तपाईँहरू प्रत्यक्ष संवादमा बसेको देख्न र सुन्न पाइएको छैन नि ?

जायज नाजायज जे भए पनि आधिकारिकता गगनजीहरूले पाउनु भएको छ । पार्टीको बागडोर उहाँहरूकै हातमा छ । पहल त उहाँहरूले गर्नुपर्ने हो । हामी मात्रै दौडेर त के हुन्छ ? यदि उहाँहरूले चहाना राख्ने हो भने एक दिनको कुरा छ । शेखरजी र हामी छौँ एक ठाउँमा, एकता गर्ने मनसायले बसेपछि विषय सरल छ । ल, ल म भोलि खबर गरौँला है भनेर बसेर अर्थ छैन ।

अर्को, अहिले सबैलाई बालेन र रवि जस्तो मैले जे भन्छु, त्यसरी चलाउनुपर्छ भन्ने रोग लागेको छ । रवि र बालेनजीको पनि आपसी छलफलबाट कति निष्कर्ष निस्किएको छ ? छैन नि ! उहाँहरूले आफूले जे सोच्यो, त्यही नै देशका लागि सही हो भनेर लाग्नुभएको छ । विशेष महाधिवेशनबाट आएको नेतृत्वले अहिलेसम्म गरेको तौरतरिका हेर्दा उहाँहरूलाई पनि त्यो रोग लागेको जस्तो देखिन्छ । कांग्रेसको संस्कार नै त्यो होइन । यसले पार्टी र प्रजातान्त्रिक आन्दोलनलाई धेरै ठूलो घाटा गर्छ ।

दुईतिहाइ बहुमतको सरकार छ । सरकारबाट कुनै कमजोरी भए खबरदारी गर्ने मुख्य जिम्मेवारी प्रमुख प्रतिपक्षीको हो । तर, आन्तरिक विवादका कारण कांग्रेस कमजोर प्रतिपक्ष बनेको त होइन ? सरकारलाई प्रभावकारी रूपमा दबाब दिन एक भएर गए हुँदैन ?

त्यसैले त हामीले मिल्नै नसक्ने कुरा अगाडि सारेका छैनौँ । नमिल्ने बाटोमा जान खोजेका छैनौँ । सम्मानजनक सहभागितासमेत गराउन नसक्ने भए त्यहाँ कुनै भूमिका, अस्तित्व, आत्मस्वाभिमान पनि हुन्न भन्ने बुझ्नुपर्छ । उहाँले जे भन्नु भयो, मैले माने भन्ने मिलाइले ऊर्जा प्राप्त हुँदैन । हिजो कोइराला, भट्टराई, देउवा जोसुकै पार्टीमा हुँदा पनि सबैलाई सन्तुलनमा राखेर, मिलाएर महाधिवेशनमा जाने वातावरण बनाइन्थ्यो । एउटै पार्टी सबैले निर्वाचित बनाएको पार्टी हुँदा त त्यो हुन्थ्यो, अहिले त सबैले निर्वाचित गरेको नेतृत्व नै होइन नि ! पार्टीका केही समूहले मात्रै त उहाँलाई चुनेका हुन्, अरू त बाहिरै छन् । महाधिवेशनमा पदको दुरुपयोग हुँदैन, यहाँ सबैका लागि समान वातावरण हुन्छ भनेर बाहिरकालाई मिलाउनु परेन? साझा संयन्त्र बनाउनु परेन?

पार्टी एकता नहुनुमा कतिपयले तपाईँहरूले पनि आफूअनुकुल माहोल बनाउन अडान लिनुभएकाले सहमतिमा ढिलाइ भएको भन्ने टिप्पणी गर्छन् नि ?

हामीले दस्तुर तिरेर पार्टीको विधानअनुसार सदस्यता नवीकरण गरिसकेका छौँ । यहाँ मेरै अगाडि गर्नुपर्छ भन्नुपर्ने आवश्यकता छ ? छैन नि ! हामीलाई पद चाहिँदैन, तर महाधिवेशन पारदर्शी गराउँछु भन्नु पर्छ कि पर्दैन ? त्यति माग्नु भनेको त कुनै अप्ठ्यारो पार्न खोजेको होइन नि, त्यो नमान्नु भनेको त हामी एकलौटी गर्न चहान्छौँ, निष्पक्ष गराएर सबैलाई किन ठाउँ दिन्छु म ! ठाउँ दिन्न भन्ने सन्न्देश हो नि त्यो । १५ औँ महाधिवेशन निष्पक्ष हुन आवश्यक छ भन्ने कुरा नाजायज होइन नि । त्यो पूरा गर्न गगनजीले आपत्ति गरिरहुनुपर्ने कारण छैन ।

संस्थापनले तपाईंहरूका नेता तानेको तान्यै छ, अन्तिममा दुईचार मात्रै बाँकी रहने अवस्था आउला भन्ने लागेको छैन ?

यो इतिहासमा धेरै प्रयोग भएको विषय हो । जस्तै, पञ्चायतले तान्थ्यो नेताहरू, जान्थे तर कांग्रेस सकिएन । व्यक्ति त कुनै पदको लोभमा यताउता गरिराख्छ, तर हाम्रो पार्टीको सिस्टम र कल्चरका कारण एउटा व्यक्तिले जे चाह्यो त्यो हुने होइन । कांग्रेस त्यो हुँदै होइन । मैले जे चाहान्छु, त्यही हुन्छ भन्ने मानसिकताले कांग्रेस सस्टेन हुँदैन । त्यसले कांग्रेसप्रति जनभरोसा बढाउँदैन ।

फाइल फोटो

२०८४ मा प्रदेश र स्थानीय तहको निर्वाचन हुँदैछ, पुराना दल नमिली, नसुध्री आगामी चुनावमा रास्वपालाई कसरी चुनौती दिने त ?

यो नसँच्चिने भन्ने त उहाँको शब्द हो । के सँच्चिनु भयो थाहा छैन । पहिले सबैको सहमति नभई केही निर्णय अगाडि बढ्दैनथ्यो । अहिले एक जनाले जे भन्यो, त्यही मान्ने, त्यो सच्चिएको भन्ने हो भने मानिँदैन । उहाँले लास र दासको कुरा गरिराख्नुहुन्छ, साँचो मानेमा पार्टी लास र दास त अहिले भएको छ । पार्टीमा केहीबाहेक अरू कसैको भूमिका छैन । आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउन बृहत्तर एकता गर्नैपर्छ, सबैलाई समेट्नैपर्छ । अहिले चाबी हाम्रो हातमा छ भन्ने लागेको होला, एकता नभए त्यसले मात्रै नतिजा दिँदैन ।

पार्टीले दास र लास, सच्चिएका भन्छ, उता सरकारले ३५ वर्षसम्म केही भएन, अब हामी गर्छौँ भन्ने भाष्य बोलिराख्छ, सरकार र पार्टी नेतृत्वको मानसिकता एकै हो । न सबै हिजो राम्रो थियो, न सबै हिजो खराब थियो । आज पनि न सबै राम्रो छ, न सबै खराब । हाम्रो पार्टी पनि त्यही हो, उहाँहरूलाई हामी आएपछि सबै राम्रो भयो भन्ने लागेको छ । अहिले त्यहाँ संस्थाको कुरै हुन्न, व्यक्तिको कुरा हुन्छ । सामाजिक सञ्जालमा फलानो यस्तो फलानो त्यस्तो भन्छन्, पार्टी यस्तो भन्ने नै आएको छ ? छैन । जबसम्म यसरी व्यक्तिलाई प्रमुखता दिइन्छ, संस्था कहिले बलियो हुँदैन ।

एउटा व्यक्ति बोलेर सारा जनता त्यसको पछि लाग्छन् भन्ने कुराले त पार्टीले मत ल्याएन । सरकारलाई पनि जनताले एउटा मौका दिएको हो, तर त्यसलाई दीर्घकालीन बनाउन चुनौती हुन्छ । सामाजिक सञ्जालमा फलानो नेता खत्तम भन्ने जस्ता भाष्यलाई दोहोर्‍याइएको छ । यसले पनि हामीलाई कमजोर बनाएको छ । पार्टीकै नेताले पनि खराब भनिरहेका छन् । खराब र असल सबै कुरा सबै पार्टी र नेतृत्वमा हुन्छ । तर खराब कुरा हटाउँदै सुधार गर्दै जाने हो । त्यसरी मात्रै पार्टी विश्वसनीय बन्न सक्छ यो बाटोमा उहाँहरू हुनु हुँदैन ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार  ८ : २७ बजे

गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जा– स्याङ्जाको गल्याङ–६ पिडीखोलामा गोठ भत्किँदा एक पुरुषको मृत्यु भएको

किन बन्यो फुटबलको महाकुम्भ विवादको केन्द्र ?

काठमाडौँ – सन् २०२६ को फिफा विश्वकपले समर्थकलाई रोमाञ्चक खेल,

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको महिला तथा सामाजिक ममिला

‘रवि-बालेनजस्तै आफ्नै निर्णय अन्तिम सत्य ठान्ने प्रवृत्ति गगनहरूमा देखियो’

काठमाडौँ- गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनपछि सिर्जित नेपाली कांग्रेसभित्रको

पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

बागलुङ– पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्डमा गए रातिदेखि आवतजावत अवरुद्ध