सरकार दुईतिहाइको छ। संसद इतिहासकै युवामय छ। तर सांसदको बोली, शैली र संसदभित्रको प्रस्तुतिमाथि निकै आलोचना भइरहेको छ। मतदाता र अन्य समर्थकसमेत बेखुसी देखिन थालेका छन्। भर्खरै उदाएको नयाँ दल र नयाँ नेताका निम्ति यो सुखद सङ्केत पक्कै पनि होइन।
अहिले हरेक पदको प्रतिष्ठा हुन्छ। पद भनेको नाम मात्रै होइन। पदसँगै जिम्मेवारी र प्रतिष्ठा पनि जोडिएर आउँछ। पदीय मर्यादा र प्रतिष्ठा जोगाउनु उक्त पद प्राप्त गर्नेको पहिलो कर्तव्य हो। अरूले त सुझाव दिने र मूल्याङ्कन मात्रै गर्ने हुन्। अहिले निकै आशा गरिएका र जनताले भारी मतका साथ पत्याएका खासगरी युवा सांसदमाथि नै गुनासा र निराशा व्यक्त हुन थालेका छन्।
पाका पुराना नेताका ठाउँमा नयाँ र युवा नेता, कामचोरका ठाउँमा कामयाबी कर्मचारीतन्त्र, पुरानो ढाँचा र शैलीका ठाउँमा आधुनिक ज्ञान र प्रविधिबारे जानकार नेतृत्व, ढिलो र कमजोरको ठाउँमा छिटो र सशक्त नेतृत्व, अपारदर्शिता र साँठगाँठका ठाउँमा पारदर्शिता तथा योग्यतामा आधारित खुला प्रतिस्पर्धा, अनि कुशासनका ठाउँमा सुशासन हुनुपर्छ भन्ने नै ‘जेनजी’ विद्रोहको मूल मर्म हो।
नवयुवाले खासमा अनुहार परिवर्तन मात्रै चाहेका थिएनन्। उनीहरू शासकको सोच, शैली र संस्कारमै परिवर्तन चाहिरहेका थिए। पुरानो पुस्तालाई विस्थापित गरेर मात्र होइन, पुरानो प्रवृत्ति र कार्यशैलीलाई विस्थापित गरेर नयाँ पुस्ताको ऊर्जा, ज्ञान, प्रविधि, योग्यता र सिर्जनशीलतालाई राज्य सञ्चालनमा स्थापित गर्नुपर्छ भन्ने उनीहरूको मूल आकाङ्क्षा थियो।
पुरानो पुस्तालाई विस्थापित गरेर मात्र होइन, पुरानो प्रवृत्ति र कार्यशैलीलाई विस्थापित गरेर नयाँ पुस्ताको ऊर्जा, ज्ञान, प्रविधि, योग्यता र सिर्जनशीलतालाई राज्य सञ्चालनमा स्थापित गर्नुपर्छ भन्ने उनीहरूको मूल आकाङ्क्षा थियो।
त्यसैले जेनजी विद्रोहलाई युवाको आक्रोशका रूपमा मात्रै बुझ्नु हुँदैन। यो त सुशासन, पारदर्शिता, जवाफदेहिता, योग्यता र परिवर्तनप्रतिको नयाँ पुस्ताको सामूहिक आकाङ्क्षाको अभिव्यक्ति हो।
सरकारको अहिलेसम्मको पहल, प्रयत्न र कदम हेर्दा केही नयाँ र राम्रो काम गर्न खोजेको देखिन्छ। नियतमै शङ्का गरिहाल्नुपर्ने अवस्था त छैन। तर प्रस्तुति हेर्दा र कार्यान्वयनमा जाँदा हिजोको भनाइ र आजको गराइबीच तालमेल नमिलेको देखिन्छ। न्यायपूर्ण र विवेकशील सरकारको अपेक्षा राख्नेहरूलाई पहिलो गाँसमै ढुङ्गा लागेको अवस्था छ। सुकुम्बासीको हकमा देखिएको अमानवीय, अव्यावहारिक र निर्मम आतुरताले जनताको मन दुखाएको छ।
युवा जोस, अपरिपक्व दाउपेच, बदलाभाव, समन्वयकारिताको कमी, आफू नै सर्वज्ञ छु भन्ने अहम् भाव, सल्लाह लिने र दिने पङ्क्तिको सीमित घेरा एवं साँघुरो सोच नै यो सरकार र नेतृत्वको सबैभन्दा दुर्बल पक्ष हो जस्तो लाग्छ।
सांसदको अत्यन्तै कमजोर प्रस्तुति
एआईको सहयोगमा तयार पारिएको एकपाने लिखित भाषण पढ्दा पनि सांसदहरू थरथर काँपेको दृश्यले युवाहरूले भरिएको वर्तमान संसद निकै कमजोर र फितलो देखिएको छ।
अध्ययन र विषयवस्तुको ज्ञानभन्दा पहिरन र प्रदर्शनतिर ध्यान, कालो चस्मा, मोडलिङ ठाँट, च्याटजिपिटीद्वारा तयार पारिएको एकपाने लिखित भाषण पढ्न पनि लगलग काँपेका दृश्य, असाध्यै फितलो एवं कमजोर प्रस्तुतिले संसदीय पद, प्रतिष्ठा र मर्यादाको अवमूल्यन एवं जनमतको हुर्मत लिने काम भइरहेको छ।
युवा जोस, अपरिपक्व दाउपेच, बदलाभाव, समन्वयकारिताको कमी, आफू नै सर्वज्ञ छु भन्ने अहम् भाव, सल्लाह लिने र दिने पङ्क्तिको सीमित घेरा एवं साँघुरो सोच नै यो सरकार र नेतृत्वको सबैभन्दा दुर्बल पक्ष हो जस्तो लाग्छ।
यस्तै चाल र चरित्रका कारण सभामुख अर्यालले केही दिनअघि संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नै कडा रूपमा प्रस्तुत हुनुपरेको थियो- “अब माननीयको आँखामा नै समस्या हो भने चिकित्सकले दिनुभएको कागजात पेस गर्नुपर्छ, नत्र कालो चस्मा लगाउन मिल्दैन। मैले पनि रुल्स फलो गर्नैपर्छ। सभालाई मर्यादित र अनुशासित बनाऔँ, बैठकमा आउँदा सबैले कोट र लोगो लगाएर आऔँ। कालो चस्मा फुकालेर, कोट लगाएर आउनुपर्छ। नत्र मैले निकाल्नुपर्ने हुन्छ। प्रधानमन्त्री र मन्त्रीलाई ड्रेसमा कोट लगाएर, चस्मा फुकालेर ल्याउने जिम्मा सत्तारुढ दलका साथीहरूको हो।”
यसरी सभामुखले गम्भीरतापूर्वक मार्गदर्शन गर्नुपर्ने अवस्थासमेत आएको छ।
हरेक बादलमा चाँदीको घेरा हुन्छ
अङ्ग्रेजी साहित्यमा एउटा भनाइ छ-“Every cloud has a silver lining.” अर्थात्, हरेक बादलमा चाँदीको घेरा हुन्छ। हरेक व्यक्तिको आ-आफ्नै खुबी र सामर्थ्य हुन्छ। यो दुनियाँमा काम नलाग्ने चिज र अयोग्य मान्छे कोही पनि हुँदैनन्। तर उसको योग्यता, विज्ञता र क्षमताभन्दा बाहिरको जिम्मेवारी दिइयो भने त्योभन्दा झुर केही हुँदैन।
उसको ज्ञान, सीप र क्षमताले धान्न सक्ने जिम्मेवारी दिइएको भए यस्ता प्रश्न उठ्ने नै थिएनन्। रहर गर्नेले पनि आफ्नो औकातअनुसारको पद र पेसा मात्र ग्रहण गरेको भए अहिले अक्षमताको आरोप खेप्नुपर्ने अवस्था आउने थिएन।
अहिले सांसद बनेका धेरै युवायुवतीले आफ्नो हैसियतभन्दा माथिको भारी बोक्न खोज्दा कमजोरी छताछुल्ल भएको छ। सामर्थ्य र ज्ञानभन्दा बाहिर भूमिका विस्तार गर्न खोज्दा यस्तो नमीठो आलोचना र प्रश्न सामना गर्नुपरेको छ। सम्बन्धित दललाई नै अहिले आफ्ना सांसदहरू भारी भएको अवस्था छ। कति पटक र कहाँ-कहाँ मात्रै ढाकछोप गर्नु? पटक-पटक चिप्लिएका बोलीले निकै अप्ठ्यारो परेको अवस्था छ।
आफ्नै क्षेत्रमा अब्बल, राजनीतिमा किन कमजोर ?
निर्वाचनपूर्व, बरु यो संसदीय जिम्मेवारीमा आउनुअघिसम्म आज आलोचित हुनुभएका कतिपय माननीयहरू प्रशंसनीय हुनुहुन्थ्यो। कोही सामाजिक अभियन्ता हुनुहुन्थ्यो। कोही व्यापारी हुनुहुन्थ्यो। कोही पत्रकार हुनुहुन्थ्यो। कोही डाक्टर, कोही कलाकार, कोही मोडल र कोही समाजसेवी हुनुहुन्थ्यो। ती सबै आ-आफ्नो क्षेत्रमा अब्बल र प्रशंसनीय नै हुनुहुन्थ्यो।
अहिले सांसद बनेका धेरै युवायुवतीले आफ्नो हैसियतभन्दा माथिको भारी बोक्न खोज्दा कमजोरी छताछुल्ल भएको छ। सामर्थ्य र ज्ञानभन्दा बाहिर भूमिका विस्तार गर्न खोज्दा यस्तो नमीठो आलोचना र प्रश्न सामना गर्नुपरेको छ।
जब आफ्नो ज्ञान, सीप, योगदान र अनुभव नै नभएको राजनीतिमा आए, तब कमजोर र आलोचित भए। एउटा क्षेत्रको मान्छे अर्को क्षेत्रमा फिट नहुने नै त होइन, तर सबैले त्यो अनुकूलन क्षमता राख्न सक्छन् भन्ने हुँदैन। त्यसैले कतिपय व्यक्ति असफल हुन पुग्छन्। नयाँ ठाउँ र नयाँ जिम्मेवारीमा कमजोर देखिन्छन्। अहिले भएको त्यही हो।
संसदमा बोल्न पनि अध्ययन चाहिन्छ
संसदमा के बोल्ने ? कसरी प्रभावकारी बोल्ने ? आफ्नो सम्बोधनलाई कसरी तार्किक बनाउने भन्ने कुराको हेक्का राख्न कि त अध्ययन हुनुपर्छ कि त अनुभव। अनुभव त नयाँलाई भएन। तर राजनीतिसम्बन्धी सामान्य ज्ञान पनि छैन भने जरुर पढ्नुपर्यो। अध्ययन, चिन्तन गरेर आफूलाई जानकार बनाउनुपर्यो।
सांसद हुनु भनेको संसदमा उपस्थित भएर आफ्नो पालो आएपछि कागज हेरेर भाषण पढ्नु मात्र होइन। सांसद हुनु भनेको जनताको प्रतिनिधि भएर राज्य सञ्चालनका विषयमा विचार राख्नु, सरकारलाई प्रश्न गर्नु, नीतिमाथि बहस गर्नु र जनताको आवाजलाई तथ्य तथा तर्कसहित प्रस्तुत गर्नु पनि हो।
यिनै कमजोरी देखेर होला, सामाजिक सञ्जालमार्फत तिखो घोचपेच पनि भएको छ- “चार लाइन लेख्न समेत आफ्नै ज्ञान, बुद्धि र सीप नहुनेले सांसदको टिकट किन लिनु? नजान्नेले बरु चुप लाग्नु, सिक्नु, बुझ्नु र एक-दुई सालपछि अलि जान्ने भएपछि मात्र बोल्नु नि! अन्यथा यो बिजोग देखाएर सकी-नसकी किन बोल्नु?” यसरी कसै-कसैले व्यङ्ग्य हानेको पनि देखिन्छ।
खोइ त ती जोसिला र तार्किक सांसद ?
यतिबेला २०७९ को संसदमा निर्वाचित जोसिला र तर्कशील सांसदहरूको खोजी र चर्चा सुरु भएको छ।
सुमना श्रेष्ठ, सन्तोष परियार, मनिष झा, सोभिता गौतम, तोशिमा कार्कीजस्ता युवा सांसद त्यो बेला पूरा अध्ययन, चिन्तन गरेर दमदार तर्कका साथ बोल्थे। रास्वपाका ४-५ जना सांसदले सिङ्गो संसद थर्काउँथे। विपक्षी दल काङ्ग्रेस, एमालेका नेताहरू पनि उहाँहरूको तयारी र तार्किक प्रस्तुतिप्रति दङ्ग थिए।
यो पालि खोइ किन हो, मनिष झा तुलनात्मक रूपमा मौन छन्। सोभिता मन्त्री भएकाले बोली बन्धनमा परिन्। अमरेश सिंहले केही बोल्ने गर्छन्। अध्ययन र तर्ककला भएका सुशील खड्काजस्ता रास्वपाकै केही सांसद पनि ओझेलमा छन्।
पाकाहरूमा प्रदीप गिरि अनि युवामा सुमना श्रेष्ठजस्ता अध्ययन र तर्कसहित प्रस्तुत हुने जोसिला सांसद यो सदनले खोजिरहेको छ।
यो पालि खोइ किन हो, मनिष झा तुलनात्मक रूपमा मौन छन्। सोभिता मन्त्री भएकाले बोली बन्धनमा परिन्। अमरेश सिंहले केही बोल्ने गर्छन्। अध्ययन र तर्ककला भएका सुशील खड्काजस्ता रास्वपाकै केही सांसद पनि ओझेलमा छन्।
जेनजीले खोजेको परिवर्तन बुढाका ठाउँमा युवा ल्याउनु मात्र होइन। युवा भएर पनि अध्ययन, ज्ञान, क्षमता र तर्कमा कमजोर हुनु जेनजीको सपना होइन।
उमेरले युवा भएर मात्र पुग्दैन, सोच पनि युवा हुनुपर्छ। ज्ञानमा युवा, प्रविधिमा युवा, कार्यशैलीमा युवा, विचारमा युवा र परिणाम दिने क्षमतामा युवा हुनुपर्छ।
जेनजीको सपना युवामय संसद मात्र होइन, सक्षम, अध्ययनशील, तार्किक, अनुशासित, पारदर्शी र परिणाममुखी संसद हो। अहिले इतिहासकै युवामय संसद बनेको छ। अब इतिहासकै सक्षम र प्रभावशाली संसद बनाउने जिम्मेवारी पनि यही नयाँ पुस्ताकै हो।












प्रतिक्रिया