काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण « Khabarhub

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– महाभारत गाउँपालिका– ६ का ७१ परिवारलाई ६ हजार ८०० कफीको बिरुवा वितरण गरिएको छ । ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ २० रुपैयाँको नोट’ नारालाई नियमितता दिँदै गाउँपालिकाको कार्यक्रमअन्तर्गत कफीको बिरुवा वितरण गरिएको हो ।

गाउँपालिकाको कृषि तथा पशुपन्छी शाखाको ‘फिल्ड अनुगमन’ अनुसार ६ हजार ८०० मात्र खाडल खनेको पाइएपछि सोहीअनुसार वितरण गरिएको जनाइएको छ । वडाभित्र करिब १३ हजार कफीको बिरुवा माग भएको थियो । किसानको आकर्षण भए पनि मागअनुसार बिरुवा वितरण गर्न नसकिएको वडाअध्यक्ष रमेश लुङ्गेलीको भनाइ छ ।

काभ्रेपलाञ्चोकको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित दुर्गम गाउँपालिका महाभारतमा गर्दै आएको व्यावसायिक कफी उत्पादनलाई आधुनिकमैत्री बनाउन थालिएको हो । यसका लागि गाउँपालिकाले कफी–किसानलाई बर्सेनि बिरुवासँगै आधुनिक कृषि सामग्रीसमेत वितरण गरेको छ । किसानलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै थप सहज र उत्पादन वृद्धि गरी कफीबाटै आत्मनिर्भर बनाउने उद्देश्यले व्यावसायिक किसानलाई सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

‘प्रत्येक वर्ष कफी किसानलाई आधुनिक कृषि सामग्री प्रयोग गरी कफी उत्पादन गर्नसहज हुने र उत्पादन वृद्धिमा उत्प्रेरण जाग्ने अपेक्षा गरेका छौँ’, गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भने ।

उनका अनुसार केही वर्षदेखि स्थानीय किसानका आयआर्जनको माध्यम कफीखेती बन्न थालेपछि गाउँपालिकाले किसानलाई बर्सेनि अनुदानमा कफीको बिरुवा वितरण गर्दै आएको छ । गाउँपालिकाका अनुसार हाल एक हजार ४३३ रोपनी जमिनमा कफीखेती भइरहेको छ । गाउँपालिकामा व्यावसायिक कफी उत्पादन गर्ने किसान एक हजार २०० को हाराहारीमा रहेको बताइएको छ ।

कफी उत्पादनलाई पकेट क्षेत्रका रूपमा विकसित गर्दै हरेक वर्षको नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएको अध्यक्ष जिम्बाको भनाइ छ । यहाँका किसान कफीखेतीमा आकर्षित हुँदै परम्परागत रूपमा मकै, कोदोलगायत खाद्यान्न बाली छाड्दै मुख्य आम्दानीको स्रोत कफीलाई बनाउन थालेकाले बिरुवा वितरणलाई पनि अभियानकै रूपमा अगाडि बढाएको उनको भनाइ छ ।

यहाँका किसानले कफीखेतीबाट बर्सेनि पाँचदेखि १२ लाखसम्मको बिक्री गर्दै आएका वडा नम्बर ५ का सुवास जिम्बाले बताए । उनका अनुसार यहाँ कफीखेती राम्रो हुने र बजारीकरणको समस्या हट्दै गएकाले पछिल्ला केही वर्षदेखि किसान कफीखेतीतर्फ आकर्षित भएका हुन् ।

गाउँपालिकाले किसानलाई उत्पादित भएकोमध्ये एक किलो बराबर २० अनुदान दिँदै आएको छ । विगत १२ वर्षदेखि कफीखेती गर्दै आएका वडा नम्बर ६ का किसान बाबुलाल घलानले गाउँपालिकाबाट अनुदान पाएपछि आफूहरू निकै खुसी हुँदै कफीखेतीलाई निरन्तरता दिँदै क्षेत्र बढाइएको बताए ।

डाँडापारिमा पल्पिङ सेन्टर स्थापनापछि किसानले त्यहाँ हाल बोक्रा फालेर प्रशोधनअघि बिक्री गर्दा प्रतिकिलो पाँच सयदेखि ६ सयसम्म पाउने गरेका छन् । एकपटक रोपेको बिरुवाबाट ५० वर्षसम्म आम्दानी दिने गरेको बताइन्छ ।

एक रोपनीमा वार्षिक २५ हजारदेखि ३० हजारसम्म कमाई हुने गरेको जिम्बाले बताए । उनका अनुसार महाभारतको आर्थिक समृद्धिको आधार नै कफी हुने सम्भावना छ । (रासस)

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  ८ : २१ बजे

रसुवा बाढीमा घाइते दुई जनाको उपचारका क्रममा मृत्यु

काठमाडौं- रसुवाको भोटेकोशीमा गत भदौ १० गते बुधबारआएको बाढीमा परी

रसुवा बाढीका घाइतेलाई सञ्चारमन्त्री तिमिल्सिनाले भेटे (तस्बिरहरू)

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवा बाढीमा परी

दार्चुलामा पहिरोले चौलानी नदी थुनियो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह (भिडियोसहित)

दार्चुला । जिल्लाको अपिहिमाल गाउँपालिका–९ भट्टारमा ठूलो पहिरो खसेपछि चौलानी

भोटेकोशी बाढीको नवौँ दिन यसरी चलिरहेको छ खोज, उद्धार र राहत अभियान

काठमाडौं- रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि खोज, राहत तथा उद्धारको