प्रेस चौतारीमा विवाद: अध्यक्ष पाण्डे असफल भएको ठहर गर्दै विशेष महाधिवेशन गर्ने निर्णय « Khabarhub

प्रेस चौतारीमा विवाद: अध्यक्ष पाण्डे असफल भएको ठहर गर्दै विशेष महाधिवेशन गर्ने निर्णय


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एमाले निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। चौतारीका वरिष्ठ उपाध्यक्ष चेतन अधिकारीको अध्यक्षतामा काठमाडौँमा बसेको सचिवालय बैठकले वर्तमान अध्यक्ष गणेश पाण्डे संगठनको नेतृत्व गर्न असफल भएको ठहर गर्दै विशेष महाधिवेशनमा जाने निर्णय गरेको हो।

जेठ १ गते काठमाडौँको अर्याल होटलमा दिनभरको विवादपछि साँझ सुरु भई राति १२ बजेसम्म चलेको बैठकले अध्यक्ष पाण्डेमाथि विभिन्न आरोप लगाउँदै विशेष महाधिवेशनको बाटो तय गरेको हो। बैठकले अध्यक्ष पाण्डेले संगठनलाई सन्तुलित र व्यवस्थित गर्न नसकेको, आर्थिक रूपमा धराशायी बनाएको, र नेतृत्वको आडमा सदस्यहरूमाथि अनावश्यक दबाब सिर्जना गरेको ठहर गरेको छ। यसका साथै उनले महिला र आमाप्रति अपमानजनक व्यवहार गरेको भन्दै बैठकले उनको असक्षमता समेटिएका ७ बुँदे आरोप पत्र नै लिपिबद्ध गरेको छ।

अध्यक्ष पाण्डेले संगठनलाई विधिसम्मत ढंगले चलाउन नसकेको र लामो समयसम्म केन्द्रीय समितिको बैठक समेत नडाकेको निर्णयमा उल्लेख छ। चौतारीका एक सचिवालय सदस्यका अनुसार अब बस्ने सचिवालय र केन्द्रीय समितिको बैठकले विशेष महाधिवेशनको स्वरूप र मिति तय गर्नेछ।

बैठकमा पदाधिकारी हिरामान लामा, हरिवल्लभ नेपाल, प्रदीप आचार्य र विक्रम लुइटेल तथा हाल विदेशमा रहेकी उपाध्यक्ष कृपा भण्डारीले अध्यक्ष पाण्डेको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए। बैठकको अध्यक्षता उपाध्यक्ष अधिकारीले गरेका थिए भने सचिव नरेश भण्डारी पाण्डेको पक्षमा उभिएका थिए। अर्का सचिव विष्णु तारुके भने तटस्थ देखिएका थिए। बैठकमा सहभागी एक नेताका अनुसार संगठनका ९ मध्ये ८ जना प्रदेश इन्चार्ज र अन्य सचिवालय सदस्यहरू अध्यक्ष पाण्डेको विपक्षमा खुलेर लागेका छन्।

चौतारीमा पहिले बैठकको उपस्थिति गराएर पछि अध्यक्षले निर्णय प्रमाणित गर्ने चलन भए पनि यसपटक विवादका कारण उपस्थित १६ जना सचिवालय सदस्य आफैँले निर्णय प्रमाणित गर्ने ठाउँमा हस्ताक्षर गरेका छन्।

ओलीको सुझाव अस्वीकार
यसैबीच, विवाद सुल्झाउन र आफू अनुकूल निर्णय गराउन अध्यक्ष पाण्डे एमाले अध्यक्ष केपी शर्मा ओलीसम्म पुगेका थिए। तर, उनी त्यहाँ पनि असफल भएका छन्। शनिबार राति एमाले अध्यक्ष ओलीसँग भएको छलफलमा सचिवालय सदस्य प्रतिमा सिलवालले पाण्डेलाई अब अध्यक्ष स्वीकार गर्न नसकिने र दबाब दिए देशभरका महिला पत्रकारहरूले राजीनामा दिने चेतावनी दिएकी थिइन्।

विवाद सुनेपछि एमाले अध्यक्ष ओलीले बैठक बसेर सर्वसम्मत भइसकेको कुरालाई नै निर्णय मानेर अघि बढ्न सुझाव दिएका थिए। अध्यक्षलाई बाहिर राखेर समस्या समाधान नहुने भन्दै ओलीले विवाद मिलाएर कार्यतालिका बनाई महाधिवेशनमा जान अनुरोध गरे पनि असन्तुष्ट पक्षले पाण्डेलाई आयोजक समितिको संयोजक मानेर महाधिवेशनमा जान नसकिने अडान लिएका छन्। पार्टीसँगको समन्वय र छलफलका लागि एमाले नेताहरू भानुभक्त ढकाल र मीनबहादुर शाहीलाई जिम्मेवारी दिइएको छ।

प्रेस चौतारीका सचिव विक्रम लुइँटेलले संगठनलाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताए। “अब चौतारीमा सबै साथीहरूले निर्धक्कसँग आफ्ना कुरा राख्न सक्ने वातावरण बनेको छ, कोही पनि थिचोमिचोमा पर्नु पर्दैन,” सचिव लुइँटेलले भने, “संस्थागत ढंगले चौतारीलाई अगाडि बढाउने सुखद सुरुवात भएको छ।”

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  ९ : १३ बजे

पर्सामा विश्व सडक सुरक्षा सप्ताहमा ट्राफिक सचेतना

वीरगञ्ज– जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको अगुवाइमा विश्व सडक सुरक्षा

भिनाजुबाट सालोको हत्या

काठमाडौँ– चन्द्रागिरि नगरपालिका–३ थानकोटमा महोत्तरीका समी अहमद र जाकिर मन्सुरीबीचको

३३औँ मदन–आश्रित स्मृति दिवस (तस्बिर)

काठमाडौँ– नेकपा एमालेले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन

मदन भण्डारीको ‘जबज’को विचार यथार्थको जगमा उभिएको छ : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३३ वर्षअघि चितवनको

तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा

दाङ– दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती