कङ्गोली विद्रोही नियन्त्रित क्षेत्रमा प्रकोप पुगेपछि इबोलाको जोखिम झन् बढ्यो « Khabarhub

कङ्गोली विद्रोही नियन्त्रित क्षेत्रमा प्रकोप पुगेपछि इबोलाको जोखिम झन् बढ्यो


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको महामारीको स्मरण ताजै रहेका बेला अफ्रिकामा इबोला भाइरसको नयाँ प्रकोप देखा परेको छ । अफ्रिकी मुलुकहरु डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) र युगान्डा पछिल्लो पटक फैलिएको इबोला प्रकोपका कारण झण्डै ९० जनाको ज्यान गएको छ । यस क्षेत्रमा छोटो समयमै ३०० भन्दा बढी शंकास्पद बिरामीहरू फेला परेको र कम्तीमा ८८ जनाको मृत्यु भएको जनाइएको छ ।

यो प्रकोप डीआरसीको पूर्वी क्षेत्रमा एम२३ नामक कुख्यात विद्रोही समूहको नियन्त्रणमा रहेका क्षेत्रमा समेत पुगेपछि थप चिन्ता उत्पन्न भएको छ । अफ्रिकामा इबोलाको प्रकोप विस्तार हुँदै जाँदा विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले यसलाई सार्वजनिक सरोकारको अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

यद्यपि डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जालमार्फत यो प्रकोप अहिले नै विश्वव्यापी महामारीको तहमा नपुगेको स्पष्ट पारेका छन् । तर, उनले कङ्गो र युगान्डाका सीमावर्ती क्षेत्रहरू तथा वरपरका छिमेकी मुलुकहरूमा यो घातक भाइरस थप फैलने उच्च जोखिम रहेको भन्दै गम्भीर चेतावनी दिएका छन् ।

अन्तर्राष्ट्रिय स्वास्थ्य विज्ञहरूका अनुसार वर्तमान प्रकोप इबोलाको एक अत्यन्तै दुर्लभ र खतरनाक प्रजाति ‘बुन्दिबुग्यो भाइरस डिजिज’ (बीवीडी) का कारण फैलिएको हो । यो प्रजातिको इबोला झनै चिन्ताजनक हुनुको कारण यसको उपचारका लागि हालसम्म कुनै पनि प्रमाणित औषधि (थेराप्युटिक्स) वा खोप उपलब्ध छैन ।

कङ्गो र युगान्डाको इतिहासमा यसअघि २० पटकभन्दा बढी इबोलाका प्रकोपहरू देखिएका भए तापनि यो दुर्लभ किसिमको ‘बुन्दिबुग्यो’ भाइरस फेला परेको यो केवल तेस्रो पटक मात्र हो ।

प्रारम्भिक नमूनाहरूको परीक्षण गर्दा देखिएको उच्च पोजेटिभ दर र दैनिक रूपमा बढिरहेको शंकास्पद बिरामीहरूको संख्याका आधारमा यो प्रकोप हाल सार्वजनिक गरिएको तथ्याङ्कभन्दा धेरै ठूलो र भयावह हुनसक्ने आशंका व्यक्त गरिएको छ ।

अहिलेसम्म संकलन गरिएको विवरण अनुसार, युगान्डामा पुष्टि भएका दुईवटा घटनाबाहेक अन्य सबै संक्रमितहरू कङ्गोमा फेला परेका छन् । स्वास्थ्य अधिकारीहरूले सबैभन्दा पहिले कङ्गोको पूर्वी इटुरी प्रान्तमा यस भाइरसको संक्रमण फेला पारेका थिए ।

यो क्षेत्र युगान्डा र दक्षिण सुडानको सिमाना नजिक पर्दछ । अफ्रिका सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (एसीडीसीपी) ले ३३६ शंकास्पद बिरामी र ८७ जनाको मृत्यु भएको प्रतिवेदन सार्वजनिक गरेको भोलिपल्टै पूर्वी कङ्गोको प्रमुख व्यापारिक सहर गोमामा पनि प्रयोगशाला परीक्षणबाट एक जनामा संक्रमण पुष्टि भएको छ । यो शहर विद्रोही समूह एम२३ को नियन्त्रणमा छ ।

कङ्गोको राष्ट्रिय जैविक चिकित्सा अनुसन्धान संस्थानका निर्देशक प्राध्यापक जीन-ज्याक मुयेम्बेका अनुसार गोमामा संक्रमित पाइएकी महिला कङ्गोकै बुनिया सहरमा इबोलाबाट ज्यान गुमाएका एक व्यक्तिकी श्रीमती हुन् । उनी श्रीमानको मृत्युपछि संक्रमित अवस्थामै गोमा सहर पुगेकी थिइन् ।

अर्कोतर्फ, युगान्डाले पनि आफ्नो देशमा कङ्गोबाट भित्रिएको एक संक्रमणको घटना पुष्टि गरेको छ । संक्रमित व्यक्तिको राजधानी काम्पालाको एक अस्पतालमा उपचारका क्रममा मृत्यु भइसकेको जनाइएको छ । त्यसको लगत्तै डब्लुएचओले काम्पालामा दोस्रो संक्रमणको पनि पुष्टि गरेको छ । प्रारम्भिक अनुसन्धान अनुसार यी दुई बिरामीहरू आपसमा असम्बन्धित छन् ।

यद्यपि दुवै जना कङ्गोबाटै यात्रा गरेर युगान्डा आएक‍ो जनाइएको छ । युगान्डाका स्वास्थ्य अधिकारीहरूले कङ्गोली नागरिकको मृत्यु भएको अस्पतालमा तत्काल कडा स्वास्थ्य सुरक्षा उपायहरू लागू गरिसकेका छन् । काम्पालाबाट अल जजीराकी पत्रकार क्याथरिन सोयले दिएको जानकारी अनुसार अस्पतालमा स्वास्थ्यकर्मीहरूले मानिसहरूको कडा ज्वरो जाँच गर्ने, सेनिटाइज गर्ने र मास्क अनिवार्य वितरण गर्ने काम गरिरहेका छन् ।

युगान्डा सरकारले संक्रमित व्यक्तिको सम्पर्कमा आएका (कन्ट्याक्ट ट्रेसिङ) सबै मानिसहरूको पहिचान भइसकेको र उनीहरूलाई कडा निगरानीमा राखिएको जनाएको छ । युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनीले देशको स्थिति पूर्ण नियन्त्रणमा रहेकाले सर्वसाधारणलाई नआत्तिन अपिल गर्नुभएको छ । हालसम्म कङ्गोसँगको सिमाना पूर्ण रूपमा बन्द नगरिएको भए तापनि सीमा नाकाहरूमा सुरक्षा र स्वास्थ्य जाँचलाई अत्यन्तै तीव्र बनाइएको सरकारी अधिकारीहरूले बताएका छन् ।

यस प्रकोपले समग्र अफ्रिकी क्षेत्रलाई नै सार्वजनिक स्वास्थ्यको जोखिममा पारेकाले डब्लुएचओले छिमेकी मुलुकहरूलाई आफ्नो राष्ट्रिय विपद् तथा संकट व्यवस्थापन संयन्त्रलाई तुरुन्त सक्रिय बनाउन सल्लाह दिएको छ । यसका साथै मुख्य आन्तरिक सडकहरू र सीमा नाकाहरूमा क्रस-बर्डर स्क्रिनिङ (सीमापार जाँच) कडा गर्न भनिएको छ । डब्लुएचओले संक्रमण पुष्टि भएका बिरामीहरूलाई ढिलो नगरी तुरुन्तै आइसोलेसनमा राख्न र भाइरसको सम्पर्कमा आएका व्यक्तिहरूलाई कम्तीमा २१ दिनसम्म कुनै पनि अन्तर्राष्ट्रिय यात्रा गर्न नदिन निर्देशन दिएको छ ।

यद्यपि, स्वास्थ्य संगठनले प्रभावित मुलुकहरुलाई आफ्नो अन्तर्राष्ट्रिय सिमाना पूर्ण रूपमा बन्द नगर्न वा व्यापारमा प्रतिबन्ध नलगाउन आग्रह गरेको छ । सिमाना बन्द गर्दा मानिसहरू र सामानहरू अनधिकृत एवं लुकिछिपी उनीहरूको निगरानी बिना नै सीमा पार गर्ने सम्भावना बढ्ने र भाइरसलाई झन् अनियन्त्रित र अदृश्य रूपमा फैलाउने खतरा निम्त्याउने तर्क गरिएको छ ।

अफ्रिका डिजिज कन्ट्रोल (एसीडीसीपी) का अनुसार इबोला भाइरस अत्यधिक संक्रामक र घातक मानिन्छ । यसको संक्रमण भएमा बिरामीमा कडा ज्वरो आउने, जिउ अत्यधिक दुख्ने, बान्ता हुने र झाडापखाला लाग्ने जस्ता गम्भीर लक्षणहरू देखिन्छन् । यो भाइरस संक्रमित व्यक्तिको शरीरबाट निस्कने तरल पदार्थ (जस्तै रगत, र्‍याल, पसिना), संक्रमितले प्रयोग गरेका सामग्रीहरू वा यस रोगबाट मृत्यु भएका व्यक्तिहरूको शवको प्रत्यक्ष सम्पर्कमा आउनाले तीव्र गतिमा मानिसबाट मानिसमा सर्ने गर्दछ ।

इबोला हुँदा सुरुमा अकस्मात् ज्वरो आउँछ र शरीर एकदमै दुर्बल हुन्छ । त्यसपछि मांसपेसीमा पीडा हुन्छ र घाँटी दुख्न थाल्छ । बिस्तारै बान्ता र पखाला हुनथाल्छ । आन्तरिक तथा बाह्य रक्तस्राव पनि हुन्छ । त्यसपछि शरीरमा पानी र नूनको मात्रा घटेर तथा धेरै अङ्गले एकैचोटि काम गर्न छोडेर बिरामीको मृत्यु हुन सक्छ ।

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  ५ : ४० बजे

युवा स्वरोजगार कोषको ६७ करोड कर्जा असुल भएन

काठमाडौं– युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएकामध्ये भाखा

चीनले अन्तरिक्ष यात्राका लागि नयाँ अभियान सुरु गर्दै

एजेन्सी– चीनले नयाँ मानवसहित अन्तरिक्ष अभियानका लागि अन्तरिक्षयान प्रक्षेपणको तयारी

विशेष महाधिवेशनबाट छुटेका नेताहरूलाई सँगै लिएर काम गर्न चाहन्छु : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशनबाट छुटेका

कुवेत एयरवेजले काठमाडौं–कुवेत उडान फेरि सुरु गर्ने

काठमाडौं -कुवेत एयरवेजले काठमाडौं–कुवेत उडान पुनः सुरु गर्ने भएको छ

सशस्त्र प्रहरीका दुई महिला कर्मचारी पहिलो पटक सगरमाथाको शिखरमा

काठमाडौं– सशस्त्र प्रहरी सहायक हबल्दार अनिता कार्की र सहायक निरीक्षक