कालीकोट– कालीकोटका तीन वटा स्थानीय तहमा दुर्लभ वन्यजन्तु रेडपान्डा (हाब्रे) भेटिएको छ । जिल्लाको तिलागुफा नगरपालिका, महावै गाउँपालिका र शुभकालिका गाउँपालिका रेडपान्डा भेटिएको संरक्षण क्षेत्रमा लागेका सरकारी तथा गैरसरकारी संस्थाहरुले जनाएका छन् ।
तिलागुफा नगरपालिका–१० को रुरुबन्चु पाटन, शुभकालिका गाउँपालिका–६ को हाउडी लेकमा र महावै गाउँपालिका–२ को महावै पाटन क्षेत्रमा रेडपाण्डा भेटिएको उनीहरुको भनाइ छ ।
तिलागुफा नगरपालिका–१० स्थित रेडपान्डा संरक्षण वन क्षेत्र रुडुबञ्चुमा जैविक विविधता अनुगमनका क्रममा दुर्लभ रेडपान्डा भेटिएको हुरन्डेक नेपालका कालीकोट जिल्ला संयोजक दिलीपकुमार शाहीले बताए । ‘संस्थाले समुदायलाई संरक्षणमा लाग्न सचेतना जगाउने र बासस्थानका रुपमा रहेका निगालो एवं बाँसको जङ्गल नमास्न स्थानीयलाई आग्रह गर्दै आएको छ’, उनले भने, ‘पालिकामा संरक्षणका क्षेत्रमा प्रभावकारी रुपमा भइरहेको छ ।’
तिलागुफा नगरपालिकाका प्रमुख महेन्द्रबहादुर शाहीले रुरुबञ्चु पाटनमा रेडपान्डा भेटिएको जानकारी दिँदा यसको संरक्षणका लागि स्थानीय तहले पहल गर्दै आएको बताए ।
‘विगतमा नगरपालिकाको पर्यटकीय क्षेत्रसमेत रहेको रुरुबन्चु पाटनमा रेडपान्डा भएको स्थानीयले बताउँदै आएका थिए । अहिले अनुसन्धान गर्दै जाँदा दुर्लभ बन्यजन्तु रेडपान्डा भेटिएको छ’, उनले भने, ‘संरक्षणका लागि नगरपालिकाले सङ्घसंस्था मिलेर काम गरिरहेको छ । अहिले स्थानीयलाई जनचेतना जगाउने काम भइरहेको छ ।’
त्यस्तै, शुभकालिका गाउँपालिका–६ को हाउडी लेकमा पनि रेडपान्डाको बासस्थान भेटिएका गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद आचार्यले बताए । ‘हामीले विगतमा नै हाउडी लेकलगायत क्षेत्रमा रेडपान्डा भेटिएको पत्ता लगाएका थियौँ’, उनले भने ।
महावै गाउँपालिकाको महावु पाटन क्षेत्रमा रेडपान्डाको उचित बासस्थान रहेको र त्यस क्षेत्रमा पनि रेडपान्डा भेटिएको गाउँपालिकाले जनाएको छ । रेडपान्डा विशेषगरी बाँस र निगालो पाइने चिसो वन क्षेत्रमा बसोबास गर्छ । जङ्गलमा घाँसदाउरा गर्दा हुने मानवीय चाप, डढेलो र कुकुरको आक्रमणका कारण रेडपान्डाको बासस्थान सङ्कटमा पर्दै गएको संरक्षणकर्मीहरुले बताउने गरेका छन् ।












प्रतिक्रिया