रवि-बालेनलाई मुछेको ‘ग्रे जोन’ रिपोर्टबारे सरकारका प्रवक्ताको जवाफ : त्यसका फलोअर त ७० हजारमात्रै रहेछन् « Khabarhub

रवि-बालेनलाई मुछेको ‘ग्रे जोन’ रिपोर्टबारे सरकारका प्रवक्ताको जवाफ : त्यसका फलोअर त ७० हजारमात्रै रहेछन्


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ गते सार्वजनिक भएको अमेरिकी अनलाइन ग्रे जोनको नेपालसम्बन्धी समाचारलाई सरकारका प्रवक्ता सस्मित पोखरेलले सामाजिक सञ्जालको फलोअरसँग तुलना गरेका छन्।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकपछि पत्रकाहरूको सवाल-जवाफका क्रममा ग्रे जोनको रिपोर्टलाई सही र गलत भन्नुको साटो शिक्षामन्त्रीसमेत रहेका पोखरेलले सामाजिक सञ्जालको फलोअरसँग तुलना गरेका हुन् ।

‘मन्त्रीज्यू, तपाईंकै सरकारका प्रधानमन्त्रीलाई समेत जोडेर आएको ग्रे जोनको रिपोर्टको वास्तविकता के हो ?’, उनलाई पत्रकारले यसरी सोधे । तर पोखरेलले यसलाई सही र गलत नभनी फेसबुककका फलोअरमा तुलना गरे ।

‘तपाईंको आफ्नो मिडिया छ हगी, त्यसको फलोअर कति छ ? तपाईंको मिडियाको फलोअर १० लाख छ। तर त्यो ग्रे जोनको फेसबुक फलोअर केबल ७० हजार छ’, उनले भने, ‘फलोअर नै नभएको त्यो ग्रे जोनको रिपोर्टको कुनै अर्थ छैन । यहाँ हल्लाखल्ला गरिएको छ। तर अमेरिकामा जानुस्, त्यसलाई कसैले सुन्दैन। त्यसको समाचारको कसैले मतलब गर्दैन, चिन्दैन।’

पोखरेलले तत्कालै आफ्नो भनाइको बचाउ गर्दै फलोअरलेमात्रै आधिकारिता नजाँच्ने भए पनि अमेरिकी समाजमै ग्रे जोनको कुनै अर्थ नरहेको जिकिर गरे। ‘ग्रे जोनलाई नेपालको जनताले र मिडियाले त सुनेँ तर अमेरिकामा त्यसको कुनै चर्चा छैन’, उनले भने, ‘कुनै अर्थ नभएको त्यस्तो चिजको आधिकारिकता खोजिरहनु बेकार छ।’

पछिल्लो समय नेपालका राजनीतिक दल र नेताहरूको उदय तथा आन्दोलनमा अमेरिकी संघसंस्थाहरूको भूमिका रहेको दाबी गरिएको अमेरिकी अनलाइन पत्रिका ‘द ग्रे जोन’को भदौ २३ मा सार्वजनिक भएको थियो ।

विशेषगरी यसको समाचारमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, सागर ढकाल, सुधन गुरुङ लगायतका नेताहरूको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित नेशनल इन्डोमेन्ट फर डेमोक्रेसी(एनईडी) र इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्युट (आईरआई) जस्ता संस्थाहरूको भूमिका रहेको दाबी गरिएको छ ।

रिपोर्टमा युवा नेतृत्व विकास र ‘नीति सम्वाद’ जस्ता कार्यक्रमका लागि अमेरिकी संस्थाबाट बजेट परिचालन भएको दाबी गरिएको छ ।

यो प्रतिवेदन सार्वजनिक भएपछि नेपालका राजनीतिक वृत्त र संसद्‌मा नेकपा (एमाले) का सांसद लक्ष्मीप्रसाद पोखरेल तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायतले सरकार र सम्बन्धित नेताहरूले यसबारे स्पष्ट जवाफ दिनुपर्ने माग राखेका छन् । रास्वपा सभापति लामिछानेले भने यो रिपोर्टको विश्वसनीयतामाथि प्रश्न उठाउँदै यसलाई आधारहीन दाबीका रूपमा टिप्पणी गरेका छन् ।

लामिछानेले बुधबार सिंहदरमार यसको कुनै अर्थ नरहेको बताए।

सवाल-जवाफ

लामिछाने :‘तपाईंले कसरी हेर्नुभयो ? ल यो सोध्नु… के रहेछ ग्रे जोन, मलाई सुनाइदिनुपर्यो, के रहेछ भन्नु त मलाई ? कुन पत्रिका रहेछ यो, कहाँ निस्किँदो रहेछ ?

पत्रकार: आएको छ त रिपोर्ट…

लामिछाने: कुन पत्रिका रहेछ, कहाँबाट, अमरिकाको कुन ठाउँबाट निस्किन्छ ?

पत्रकार: छताछुल्ल छ त सामाजिक सञ्जालभरि

लामिछाने : हो र ? मैले त पढ्या छैन । जुन चिजको क्रेडिबिलिटी छैन, त्यो त म पढ्दिनँ । अब अण्टसण्ट लेख्नुभएन भने त पढ्छु । अण्टसण्ट भन्ने कुनै चिज आयो भने त्यसलाई पढेर त्यसमा समय… यत्रो देशको यत्रो क्यामेरा, यत्रो माइक, यत्रो पत्रकारको समय पनि त्यस्तो केही न केहीको समाचारमा खेर फाल्ने ?

अर्थमन्त्री मौन

उता प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित केही प्रमुख नेताहरूको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भूमिका रहेको भनेर आएको समाचारबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मौनता साँधे ।

रास्वपाको उदयमा अमेरिकी लगानी रहेको भनेर त्यहीँको सञ्चारमाध्यम ‘द ग्रे जोन’ले सार्वजनिक गरेको खोजमूलक समाचारबारे बुधबार सिंहदरबारमा पत्रकारहरूले प्रश्न गर्दा वाग्ले पन्छिएर हिँडे ।

अर्थमन्त्रालय परिसरबाट बाहिरिने क्रममा उनलाई पत्रकारले घेरेका थिए । तर तीनदेखि चार पत्रकारले पटक पटक प्रश्न दोहोर्‍याउँदा पनि वाग्लेले एक वाक्य निकालेनन्।

‘ग्रे जोनको रिपोर्टबारे बोलिदिनु न, प्रधानमन्त्री र सांसदहरूकै नाम जोडिएर आएको छ। प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेको छ’, एकजना पत्रकारले यसरी सोधे । तर उनको यो प्रश्न पूरै सुनेर पनि वाग्लेले एक शब्द उत्तर दिएनन्।

त्यसपछि अर्का पत्रकारले उनलाई सोधे, ‘यो रिपोर्टबारे तपाईं के पाउनु हुन्छ ? वास्ताविकता हो कि शतप्रतिशत झूटो हो ?’, अर्का पत्रकारले यति प्रश्न सोध्दा पनि उनले न त हो भने न त होइन नै भने, चुपचाप अघि बढिरहे ।

त्यसपछि तेस्रो पत्रकारले उनलाई सोधे, ‘थोरै बोलिदिनु न यसबारे’, तर वाग्ले अघि बढेर सरकारी गाडी चढ्न पुग्छन् । उनले गाडी चढिसक्दा पनि पत्रकारले प्रश्न गर्न छोड्दैनन् । तर उनी ग्रे जोनको रिपोर्टबाट निरुत्तर भएर बाटो लागे।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ५ : ३४ बजे

आइभीएफ र सरोगेसीलाई स्पष्ट कानुनी दायरामा ल्याउन विधेयक ल्याइने

काठमाडौं–  स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सहायक प्रजनन प्रविधि

राष्ट्रियसभा : सहायक प्रजनन प्रविधिको प्रयोगसम्बन्धी कानुन निर्माणको सङ्कल्प प्रस्ताव पारित

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकले ‘सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा (मकवानपुर)- बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली

फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

मनिला- दक्षिणी फिलिपिन्सको एउटा विद्यालयमा शुक्रबार एक विद्यार्थीले गरेको घातक

रसुवा बाढीमा खोज, उद्धार र राहत पहिलो प्राथमिकता : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले रसुवा बाढीपछि अहिले