नयाँ दिल्ली – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारत आर्थिक तथा रणनीतिक साझेदारीलाई समयअनुकूल बनाउँदै नयाँ उचाइमा पुर्याउनुपर्नेमा जोड दिएका छन्।
भारतको औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले शुक्रबार नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टर (आईआईसी) मा आयोजित उच्चस्तरीय कूटनीतिक गोलमेच संवादलाई सम्बोधन गर्दै भौतिक, डिजिटल तथा ऊर्जा सञ्जालको विस्तारमार्फत दुई देशबीचको साझेदारी थप सुदृढ बनाउनुपर्ने बताएका हुन्।
उनले नेपाल–भारत आर्थिक सहकार्यलाई प्रभावकारी बनाउन कनेक्टिभिटी र ऊर्जा साझेदारीलाई प्राथमिकता दिनुपर्ने बताए।
नेपालले हालै बेहोरेको प्राकृतिक विपद्बाट भएको जनधनको क्षतिको चर्चा गर्दै वाग्लेले संकटका बेला भारत सरकार तथा भारतीय जनताले देखाएको तदारुकता र सहयोगप्रति आभार व्यक्त गरे। विपद्पछिको पुनर्निर्माणलाई दिगो र सुरक्षित बनाउन नेपालले ‘बिल्ड ब्याक बेटर’को अवधारणा दृढतापूर्वक कार्यान्वयन गरिरहेको उनले बताए।
जलवायु परिवर्तनमा नेपालको योगदान नगन्य भए पनि त्यसको असर हिमाली तथा तटीय पारिस्थितिकीय प्रणालीले बढी भोग्नुपरेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको मुद्दा नेपाल र भारतले संयुक्त रूपमा अघि बढाउनुपर्ने बताए।
वाग्लेले परम्परागत सहायता ढाँचाभन्दा माथि उठेर विकास वित्तका बदलिँदा आयाम, हरित वित्त तथा सहुलियतपूर्ण वित्तीय उपकरणको अधिकतम उपयोग गर्नुपर्नेमा पनि जोड दिए।
अर्थमन्त्री वाग्लेले नेपाल–भारत व्यापार सन्धिमा समयानुकूल सुधार गर्दै व्यापार घाटा न्यूनीकरण र गैरभन्सार अवरोध हटाउनुपर्ने आवश्यकता औँल्याए।
नेपालमा लगानीको वातावरण सुधार गर्न नीतिगत तथा कानुनी सुधार गरिएको उल्लेख गर्दै उनले ऊर्जा, उत्पादनमूलक उद्योग र प्रविधिको क्षेत्रमा भारतीय प्रत्यक्ष वैदेशिक लगानी बढाउन भारतीय पक्षलाई आग्रह गरे।
वर्तमान सरकार नेपाली जनताको ठूलो जनादेशबाट गठन भएको उल्लेख गर्दै वाग्लेले तीव्र विकास र आर्थिक रूपान्तरणको जनआकांक्षा पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए।
‘हाम्रो विकास आकांक्षा नीतिगत स्थायित्व र संस्थागत सुधारमा आधारित छ,’ उनले भने, ‘वर्तमान सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सुशासन कायम गर्न दृढ छ। पारदर्शी र जवाफदेही शासन व्यवस्था नै आर्थिक समृद्धिको आधार हो।’
कार्यक्रममा भारतका वरिष्ठ राजनीतिज्ञ, कूटनीतिज्ञ, रणनीतिकार तथा अर्थशास्त्रीहरूको सहभागिता थियो।
आईआईसीका अध्यक्ष तथा नेपालका लागि पूर्वभारतीय राजदूत एवं पूर्वविदेश सचिव श्याम शरणले कार्यक्रमको संयोजनमा भूमिका निर्वाह गरेका थिए। उनले नेपाल–भारत सम्बन्धलाई समयअनुकूल बनाउन नीतिगत तहमा हुने गहन र खुला विमर्श फलदायी हुने बताए।
कार्यक्रममा पूर्वभारतीय विदेश सचिव तथा नेपालका लागि पूर्वराजदूत श्याम शरण, भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता एवं राज्यसभा सदस्य जयराम रमेश, पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार तथा पूर्वविदेश सचिव शिवशंकर मेनन, पूर्वउपराष्ट्रिय सुरक्षा सल्लाहकार पंकज शरण, अर्थशास्त्री प्रा. डा. दीपक नायर, इन्डिया ट्रेड प्रमोसन अर्गनाइजेसनका अध्यक्ष जावेद अशरफ, नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित राय, भारतीय जनता पार्टीको विदेश मामिला विभागका प्रमुख डा. विजय चौथाइवाले तथा दक्षिण एसियाली भूराजनीति र कनेक्टिभिटी अध्येता डा. कन्स्ट्यान्टिनो जेभियरलगायत सहभागी थिए।
छलफलमा भारतीय पक्षका विज्ञ तथा कूटनीतिज्ञहरूले नेपालको लोकतान्त्रिक स्थायित्व, सुशासनप्रतिको प्रतिबद्धता र आर्थिक एजेन्डाबारे धारणा राखेका थिए।
नेपाल–भारतको साझा समृद्धिका लागि सीमापार कनेक्टिभिटी, ऊर्जा साझेदारी र पारस्परिक विश्वासलाई महत्त्व दिनुपर्ने तथा द्विपक्षीय संयन्त्रलाई थप परिणाममुखी बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।













प्रतिक्रिया