काठमाडौं- पाकिस्तानको उत्तर-पश्चिम सहर पेसावरस्थित एउटा निजी विद्यालयमा बिहानको कक्षा सञ्चालन भइरहेका बेला छत भत्किँदा कम्तीमा ३४ जना बालबालिका र एक जना शिक्षिकाको मृत्यु भएको छ। घटनामा अन्य ४५ जना बालबालिका घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ भने धेरैजसो प्राथमिक उपचारपछि घर फर्किएका छन् ।
अल-खैर एजुकेसन सेन्टर नामक निजी विद्यालयमा बिहान ८:४८ बजे माथिल्लो तलाको छत खसेर दुई वटा तला भत्किएको रोयटर्सले जनाएको छ । घटनाका बेला तीन वटा कक्षाकोठामा गरी कुल ११० जना विद्यार्थी अध्ययनरत थिए । कमजोर संरचनामाथि थप निर्माण गरिएकाले भार थाम्न नसकी भवन भत्किएको पेसावरका प्रहरी प्रमुख मियाँ सइदले जानकारी दिएका छन्। घटनालगत्तै प्रहरीले विद्यालयका सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
घटनापछि उद्धारकर्मी र स्थानीय बासिन्दाले घण्टौँसम्म भग्नावशेष पन्छाएर बालबालिकाको उद्धार गरेका थिए। उद्धार गरिएका घाइतेहरूलाई उपचारका लागि लेडी रिडिङ अस्पताल लगिएको थियो। मृतक बालबालिकाहरू धेरैजसो १३ वर्षमुनीका र विपन्न परिवारका रहेका छन्, जसमा १२ जना छात्रा समेत परेका छन्।
घटनालाई लिएर पीडित परिवार तथा आफन्तहरूले आक्रोश व्यक्त गर्दै भवनको दुरावस्थाप्रति विद्यालयले बेवास्ता गरेको आरोप लगाएका छन्। उनीहरूले नाफाका लागि मात्र सञ्चालन गरिएका यस्ता असुरक्षित विद्यालयमाथि कडा कारबाहीको माग गरेका छन्। पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफले यस दुखद् घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।














प्रतिक्रिया