काठमाडौं- भारतले बंगलादेश रेलवेका लागि अर्डर गरिएका कुल २०० वटा ब्रोडगेज यात्रुवाहक रेल डिब्बाहरुमध्ये पहिलो चरणमा १८ वटा डिब्बा पठाएको छ। करिब ९१५ करोड रुपैयाँको यस सम्झौता अन्तर्गतका सम्पूर्ण रेल डिब्बाहरु डिसेम्बर २०२७ सम्ममा हस्तान्तरण गरिसक्ने लक्ष्य राखिएको छ।
भारतीय रेलवेको निर्यात शाखा ‘राइट्स लिमिटेड’ का अनुसार यी डिब्बाहरु भारतको कपुरथलास्थित रेल कोच फ्याक्ट्रीबाट पठाइएको हो। पहिलो खेपमा सम्झौता अनुसारका चार प्रकारका डिब्बाहरु समावेश छन् । जसमा ११ वटा साधारण (गैर एसी) शोभन चियर कार, तीन वटा एसी चियर कार, दुई वटा एसी स्लिपर र गार्ड तथा सामान राख्ने छुट्टै कोठासहितका दुई वटा पावर कार रहेका छन् । राइट्सले सामाजिक सञ्जाल एक्समार्फत यो डेलिभरी आफ्नो निर्यात यात्राको अर्को महत्त्वपूर्ण कोसेढुङ्गा भएको जनाएको छ ।
यात्रुहरुको सुविधालाई ध्यानमा राख्दै यी डिब्बाहरुमा स्टेनलस स्टिलका आर्मरेस्ट र फुटरेस्टसहितका लचिला (रेक्लाइनिङ) सिटहरु जडान गरिएका छन्। यसबाहेक, एसी डिब्बामा पङ्खा, सीसीटीभी क्यामेरा, यात्रु आपतकालीन एलार्म प्रणाली, आंशिक रुपमा खोल्न मिल्ने झ्याल, शिशु स्याहार कक्ष र प्रार्थना कक्षजस्ता आधुनिक सुविधाहरु उपलब्ध छन्। बंगलादेशमा चाडपर्व वा मुख्य समयमा यात्रुहरु रेलको छतमा समेत चढ्ने विशेष परिस्थितिलाई दृष्टिगत गरी निर्माता कम्पनीले डिब्बाको छतको संरचनालाई अझ मजबुत बनाएको छ।
त्यस्तै, बंगलादेशी रेलवेको प्राविधिक आवश्यकता अनुसार यसको विद्युतीय प्रणालीमा पनि परिवर्तन गरिएको छ। भारतीय रेलवेमा सामान्यतया ७५० भोल्टको पावर सिस्टम प्रयोग हुने भए पनि बंगलादेश पठाइएका यी डिब्बाहरु ४१५ भोल्टमा चल्ने गरी तयार पारिएका हुन्। युरोपेली लगानी बैंकको वित्तीय सहयोगमा सञ्चालित यस परियोजना अन्तर्गत अक्टोबर २०२६ देखि डिसेम्बर २०२७ सम्ममा बाँकी डिब्बाहरु बंगलादेश पुग्नेछन्। यसले बंगलादेशको पुरानो रेल सेवालाई आधुनिक बनाउन ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।














प्रतिक्रिया