काठमाडौं- झापा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापाका करिब १५ हजार सदस्य छन् । झापा क्षेत्र नम्बर ५ मा मात्रै रास्वपाका ३१ सय सदस्य छन् । नेपालका ७७ जिल्लामध्ये रास्वपा संगठन निर्माणको हिसाबले झापा दोस्रो ठूलो जिल्ला हो । रास्वपाका सबैभन्दा धेरै सदस्य चितवनमा छन् । त्यसपछि दोस्रो प्रतिनिधित्व झापाले गर्छ । झापाका १३१ वटा वडामध्ये ११० वटा वडामा पार्टीले अधिवेशन गरिसकेको छ । १५ वटा स्थानीय तहमध्ये ११ वटामा अधिवेशन भइसकेको छ ।
राजनीतिक आन्दोलनको उर्वर भूमि झापामा यो पटक धेरै मतदाताले नयाँ आश र ऊर्जा भएको पार्टीलाई मतदान गर्ने आंकलन नेताहरुले गरेका छन् । रवि लामिछाने विरुद्ध सरकारले प्रतिशोध साँधेको भन्दै पार्टीले गराएको हस्ताक्षरमा झापा जिल्लाबाट १ लाख जनाले हस्ताक्षर गरेको रास्वपा झापा जिल्ला सचिव शम्भु ढकाल ‘‘सुस्केरा’ बताउँछन् ।
तीन लाख जनालाई हस्ताक्षर गराउने तयारी गरिए पनि चोकमा आएर १ लाख जनाले हस्ताक्षर गरिसक्दा जेन-जी आन्दोलन भएको सुस्केराको दाबी छ । २०७९ को निर्वाचनमा झापा जिल्लाबाट रास्वपाले ७७ हजार मत प्राप्त गरेको थियो । यहाँका पाँच वटा निर्वाचन क्षेत्रमा पार्टी तेस्रो भएको छ ।
नयाँको सम्भावना र पुरानोप्रतिको वितृष्णाले गर्दा यस पटक झापाले नयाँ काँचुली फेर्ने आंकलन यहाँका स्थानीयको छ । पाँच वटा निर्वाचन क्षेत्रमध्ये झापा जिल्लाका सबै निर्वाचन क्षेत्र रास्वपा जित्ने दाबी शम्भुको छ । रास्वपाका शीर्ष नेताहरुले हामीलाई दिएको जानकारी अनुसार कम्तिमा तीन वटा निर्वाचन क्षेत्रमा जित सुरक्षित हुने अङ्कगणित छ ।
हामीले झापा जिल्ला सचिव सुस्केरासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह साँच्चै झापा क्षेत्र नम्बर ५ बाट निर्वाचन लड्दै छन ? उनले झापा क्षेत्र नम्बर ५ नै किन रोजे ? पटकपटक प्रधानमन्त्री भइसकेका एमाले अध्यक्ष ओलीको गृह जिल्लामा ओलीलाई हराउन बालेनले सक्छन् ? बालेनले झापा ५ रोजेर ओलीप्रति राजनीतिक प्रतिशोध साँधेका हुन् ? केही समय अगाडि बालेनसंग भेटघाट गरेका सुस्केरासँग यिनै प्रश्नहरूको सेरोफेरोमा रहेर खबरहबले कुराकानी गरेको छ ।
झापा ५ बाट काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह निर्वाचन लड्दै हुनुहुन्छ रे हो ?
हो, बालेन शाहले झापा सभापति प्रकाश पाठक सचिव, शम्भु सुस्केरा र अन्य नेताहरुलाई भेटेर झापा ५ बाट निर्वाचन लड्ने कुरा फाइनल गर्नुभएको छ । दमकमा उहाँको सचिवालय स्थापना गर्ने कुराकानी भइरहेको छ । झापामा चुनाव लड्ने गरी आउँदै हुनुहुन्छ । ५ गते जनकपुरतिरको कार्यक्रमलाई सम्बोधन गरेर झापा आउने कार्यक्रम छ । ६ गते झापा ५ बाट शाहले उम्मेदवारी दर्ता गर्नुहुन्छ ।
झापा रोज्नु पछाडिको रहस्य के हो ? उहाँ त काठमाडौँ अथवा मधेसबाट लड्ने कुरा थियो नि ?
कुनै एकबाट उहाँले निर्वाचन लड्नुपर्थ्यो । उहाँले स्थानीय तह पनि त काठमाडौं रोज्नुभयो । उहाँको दृढ सङ्कल्प र लक्ष्य भनेकै झापा-५ हो । राष्ट्रिय स्वतन्त्र पार्टीले उहाँलाई प्रधानमन्त्रीको उम्मेदवार भनेर कन्फर्म गरेको छ । एउटा प्रधानमन्त्रीको उम्मेदवारले पूर्व प्रधानमन्त्रीसँग उम्मेदवार लड्नु सामान्य कुरा हो । झापा-५ बाट चुनाव लड्नु रिस्क नभएर अवसर हो ।
बालेनसँग चुनाव लड्ने केपी ओली त यो देशले आन्दोलन गरेर नवपुस्ताले प्रधानमन्त्रीबाट सत्ताच्युत गराएर हेलिकप्टरबाट भागेको मान्छे हो । हेलिकप्टरबाट भाग्नुपर्ने अवस्था सिर्जना भएको पात्रसँग चुनाव लड्न पाउनु भनेको बालेनले मात्र होइन, तपाईं हामी जो कोहीले उठ्दा पनि जितिने कुरा हो । मतदाताले त्यो मूल्याङ्कन गरेका छन् । बालेनसँग चुनाव लड्नका लागि तुलना गर्ने व्यक्ति केपी ओली हुँदै होइन ।
तर बालेन शाहले ओलीमाथि राजनीति प्रतिशोध राखे भन्नेहरू पनि छन् नि ?
निर्वाचन आयोगले निर्वाचन गराउने तयारी गरेपछि विभिन्न दल र व्यक्तिसँग प्रतिस्पर्धा हुन्छ । त्यस क्रममा झापा ५ मा बालेन चुनाव लड्न आउनु भयो । यहाँ राजनीति प्रतिशोध कसरी देख्नुभयो ? उहाँले कहीँ न कहीँबाट चुनाव लड्नुपर्छ लडिसकेपछि म त्यहीँबाट लड्छु भन्नु आवश्यकता हो । जसले भोलि एउटा तन्नेरीहरूको समूह निर्माण गरेर यो देशको समृद्धिसँग काम गर्छु भनेर आएको पात्रले चुनाव लड्ने कुरा आवश्यकता पनि हो । यसमा दुविधा हुनुपर्ने कारण नै छैन । काठमाडौं-२ बाट वा महोत्तरीबाट बालेन लड्दा लड्दा प्रतिशोध नहुने, अनि झापाबाट लड्दा प्रतिशत हुन्छ ? यो त प्रतिस्पर्धा हो, प्रतिशोध होइन ।
यो पनि पढ्नुहोस् :
उसो भए झापा-५ नै किन त, अरु क्षेत्र झन् सुरक्षित होला नि ?
झापा-५ मा जसको सनकका कारण हाम्रा छोराछोरी आन्दोलनमा टाउको फुटाइयो, मारियो । तिनीहरूका हत्यारालाई हामीले सजाय दिन खोजेको हो । जेन-जी युवाहरूको हत्या गर्ने नाइके फेरि देशको प्रधानमन्त्री हुन्छु भन्दै त्यहाँबाट चुनाव लड्न खोज्दैछन् । त्यसलाई चिर्न निर्वाचनपछि युवापुस्ता र अग्रगामी प्रधानमन्त्री हुँदैछ । उहाँले सनकलाई हराउनका लागि त्यहाँबाट लड्नैपर्छ । हिजो एउटा आन्दोलनबाट ओलीलाई सत्ताच्तु गरियो । यो निर्वाचन अब अर्को आन्दोलन हो । यो अर्को आन्दोलन भनेको राजनीतिच्यूत गरेर ओलीलाई हराउँदै छन् ।
तपाईंहरूको त काठमाडौँ मेयर बालेन्द्रसँग कुरा भयो। उहाँको मनसाय कस्तो पाउनुभएको छ ?
हाम्रो पहिलो भेट थियो । तर, उहाँ एकदमै आत्मविश्वासी र दृढ सङ्कल्प बोकेको व्यक्ति हुनुहुँदो रहेछ । हामीले यहाँको जस्ताको तस्तै वस्तुस्थितिको बारेमा रिपोर्टिङ गर्यौँ । उहाँले झापा-५ बाट चुनाव लड्ने चाहनुभएको थियो । त्यही अनुरुप हामीलाई बोलाउनुभो र हामी गयौँ, उहाँसँग संवाद गर्यौँ । उहाँले झापाको वस्तुस्थितिको एकएक रूपमा विवरण माग्नुभयो । संगठनको अवस्थाका विषयमा चासो राख्नुभयो । हामीले जस्ताको त्यस्तै फेहरिस्त सुनायौँ । उहाँले अगाडिबाट नै तयारी र अध्ययन गरिरहनुभएको थियो । त्यसमा हामीले थप उहाँलाई दिनुपर्ने सुझाव दियौँ । त्यसपछि उहाँले म झापा आउँछु तयारी गर्नुस् भन्नुभयो ।
झापा ५ मा चारवटा स्थानीय तह छन् । त्यहाँ एमाले बलियो देखिन्छ तपाईहरुलाई गाह्रो होला नि संगठन पनि छैन, अझ केपी ओलीले विकासका तमाम परियोजना लगेर मत सुरक्षित गरेको भन्ने छ नि ?
एमाले कहाँ बलियो छ ? अहिले एमाले बलियो छैन । जेन-जी आन्दोलन हुनु अगाडि देश एउटा परिस्थितिमा थियो । अब पहिलाको परिस्थितिले देश चल्दैन । यो भदौ २३ र २४ पछिको नयाँ नेपाल हो । बदलिएको अवस्थामा नयाँ चुनाव हुँदैछ । ०७९ को निर्वाचनपछि कन्काई नदी र रतुवामाईमा धेरै पानी बगिसकेको छ । हिजोको बलियो होइन, आजको बलियो र भोलिको सम्भावनालाई आधार मानेर झापा-५ अगाडि बढ्छ ।
एमाले र ओलीप्रति हिजो जनताले देखेका आशा भरोसा सबै टुटिसकेको छ। आज नयाँ पुस्ता आयो । नयाँ पुस्ताले नेतृत्व गर्दैछ । हिजोको बलियो भनेर कहाँ हुन्छ ? पुराना सबै कमजोर भइसके । किनभने ३०/३५ वर्ष जनताले उहाँहरुबाट धेरै अपेक्षा राखेका थिए तर त्यो अपेक्षाको ठीक उल्टो भयो । हिजो पुलिस प्रशासन कर्मचारी संयन्त्र सिंहदरबार सबै आफ्नो अन्डरमा भएको प्रधानमन्त्री हेलिकप्टरमा चढेर भागेको होइन ? अब त्यही व्यक्ति झापा ५ मा कसरी बलियो हुन्छ ? सबैभन्दा कमजोर अहिले देशमा कोही छ भने एमाले र अध्यक्ष ओली नै छन् ।
रास्वपा सभापति रवि लामिछानेले तपाइँहरुलाई हाम्रो उम्मेदवार हो, सहयोग गर्नुस् भन्नुभएको छ ?
हाम्रो सभापतिसँग यो विषयमा संवाद भएको छैन । तर, अरु नेताले हामीलाई सहयोग गर्नुस् भन्नुभएको छ । पहिला हामीले बालेन शाहलाई भेट्यौँ, त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूलाई भेट्यौँ । उहाँहरुले सहयोग गर्नुस् भनेरै हामी लागेका हौँ । तर, एउटा उम्मेदवारलाई उहाँहरुले सहयोग गर भन्नै पर्दैन, हामी गरिहाल्छौँ नि ।
तैपनि रास्वपाको नेता भनेपनि बालेन शाह औपचारिक रुपमा पार्टीका कार्यक्रममा देखिनुहुन्न नि ?
यहाँहरुलाई शङ्का लाग्नु स्वाभाविक हो तर उहाँ चाँडै नै देखिनुहुन्छ । बेला आउँदैछ । सायद उहाँले मेयरबाट ५ गतेभित्र राजिनामा दिने भन्ने हामीलाई जानकारी छ । रवि लामिछाने, बालेन्द्रबीच संवाद र छलफल भएर नै उहाँ दमकमा चुनाव लड्न आउनुभएको हो । उहाँहरूको सल्लाह बिना यो सम्भव थिएन ।
यहाँहरुले कति मत ल्याउने आंकलन गर्नुभएको छ ? सर्वेक्षण पनि गर्नुभयो भन्ने चर्चा छ ।
यहाँले रेकर्ड राखे हुन्छ देशको सबैभन्दा धेरै मत झापा क्षेत्र नम्बर ५ बाट बालेन शाहले ल्याउनुहुन्छ । नेपालको १६५ वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मत झापा क्षेत्र नम्बर ५ र चितवन क्षेत्र नं २ बाट आउँछ । यो मत ५० हजारको लाइन होइन, ६० हजारको लाइनमा हुन्छ । हाम्रो सर्वेक्षणले पनि ५० देखि ६० हजारको लाइनमा मत झर्छ भन्ने आँकलन गरेको छ ।
यो पनि पढ्नुहोस :
जितमा विश्वस्त हुनुहुन्छ ?
चितवन २ बाटै मतदाताले हामीलाई विश्वास दिलाएका छन् । अब झापा-५ बाट अझ धेरै विश्वास आउँछ । सामाजिक सञ्जालमा हेर्नुस् कसैले घर दिने, कसैले आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । कसैले भौतिक सहयोग गर्ने लगायतका काम भइरहेका छन् । विभिन्न दलका साथीभाइहरू त हामीसँग जोडिएर अगाडि बढ्नुभएको छ ।
भावी प्रधानमन्त्री भनी घोषणा गरिएको उम्मेदवार हारेको अवस्थामा पूरै राजनीति जोखिममा पर्ने भय पनि त छ, हैन र ?
त्यता अहिलेसम्म सोचिएको छैन । हामीसँगको भेट र कुराकानीका आधारमा यति भन्न सक्छु कि उहाँले हार भन्ने शब्द काहीँबाट कतै पनि सोच्नुभएको छैन । हार्दाखेरि उहाँको राजनीति सकिने त हुँदैन । तर हार भन्ने शब्द उहाँले अहिले उच्चारण समेत गर्न सक्नुहुन्न । माहोल उहाँकै पक्षमा छ । देश नै उहाँलाई जिताउनुपर्छ भन्ने पक्षमा अगाडि बढेको छ । योजना त अब्राहम लिङ्कनको पनि पटक पटक फेल भएको थियो ।
बालेनलाई जिताउन अहिले के कस्तो तयारी गरिरहनु भएको छ ?
हामीले सम्पर्क कार्यालय र आवास गृहहरू खोजिरहेका छौँ । लगभग फाइनल भएको अवस्था छ। काठमाडौंबाट मेयर साहबका साथीहरू समेत आउनुभएको छ । उताबाट पनि खटिरहनु भएको छ । हामी झापाका नेताहरु पनि लागिरहेका छौँ । क्षेत्र नम्बर ५ मात्रै होइन १, २, ३, ४ मा पनि हामीले उस्तै गरेर तयारी गरिरहेका छौँ ।
के उहाँ सम्पूर्ण टीमसहित थर्पु कसेर बस्ने योजनामा हुनुहुन्छ हो ?
जे होस् उहाँलाई सहयोग गर्न चाहने विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरू आउनुहुन्छ । उहाँहरु यहीँ बसोबास गरेर सघाउनुहुन्छ । बाहिर होटलमा खाने लगायत भन्दा पनि यहीँनेर सबै कुराहरु गरेर अगाडि बढ्ने तयारी छ। लजिस्टिक रूपमै उहाँहरुले काम गर्नुहुन्छ।
झापा त राजनीतिको उर्वर भूमि र क्रान्तिको भूमि पनि हो । अर्को कुरा एमालेको किल्ला मानिने ठाउँको विरासत तोड्न त्यति सजिलो होला र ?
एमालेको किल्ला थियो, तर यो पटकबाट तोडिन्छ । भदौ २३ र २४ ले सबै एमाले सक्यो भन्ने म्यासेज दिइसकेको छ । कोर्स नै सकिसकेको छ एमालेको । प्रधानमन्त्री हेलिकप्टर चढेर भागेपछि यो सबै कोर्सहरू अन्त्य भएका छन् । अब झापा बालेन किल्ला हो । राष्ट्रिय स्वतन्त्र पार्टीको किल्ला हो । अब घण्टी किल्ला हुँदैछ ।
बालेन स्थानीयवासी पनि होइन, बाहिरबाट आएर झापामा राज गर्न त्यति सजिलो छ ?
हामीले पद्धति बिगारेका छौं, जुन नेता प्रधानमन्त्री छ, प्रभावशाली छ । त्यसको निर्वाचन क्षेत्रमा मात्रै बजेट लैजाने, अरुलाई सौताका छोराछोरी जस्तो गर्ने । एक अर्ब ६५ करोड त आफ्नो निर्वाचन क्षेत्रमा केपी ओलीले पूर्वाधार लगेका छन् । त्यहीँ नजिकै ४ नम्बर क्षेत्रमा हेर्नुस् केही छैन । प्रसाद बाँडेजस्तो अवस्था छ । यसलाई हामी तोड्छौँ । जुन नेता मात्रै प्रभावशाली छ, त्यसको क्षेत्रमा मात्र विकास गर्ने होइन । अहिले बालेन्द्र, रवि लामिछानेहरू आएको भनेकै समतामूलक विकास गर्नका लागि हो । कमजोर क्षेत्रमा लगानी गर्नुपर्नेछ । बालेन शाहले ५ नम्बर क्षेत्रमा भोलि जति बजेट हाल्नुहुन्छ, दार्चुलालाई त्यत्तिकै प्राथमिकतामा राख्नुहुन्छ ।
बालेन शाहले चुनाव जित्ने आधारहरू के के हुन् ?
मार्क्सवाद लेनिनवाद यी सबै वादहरुले केही कामै गरेन । हाम्रो वाद भनेको जनताको चुलो बल्नुपर्यो । हाम्रा छोराहरू अर्काको देशमा नोकर बस्न जानुभएन । गरी खान पाउनुपर्यो । रोजगारी सिर्जना हुनुपर्यो । समानतासहितको समतामूलक समाज चाहियो ।
त्यसो भए तपाईंहरुको चुनावी एजेन्डा के के हुन्छ त ?
अहिले बालेन राष्ट्रिय स्वतन्त्र पार्टीको नेता हो । राष्ट्रिय स्वतन्त्र पार्टीले बनाएको विधि विधान र घोषणापत्र लिएर उहाँ निर्वाचनमा जानुहुन्छ । स्वर्णिम वाग्लेको नेतृत्वमा बाचापत्र बन्दैछ । बालेन, रविले र हामी जो कोहीले लिएर जाने विचार पनि त्यही हो । राष्ट्रिय स्वतन्त्र पार्टीले अगाडि सारेका नीति कार्यक्रम र प्रतिबद्धताहरू लिएर जानुहुन्छ ।
झापा ५ का मतदाता अझै पनि बालेन चुनाव लड्नुहुन्छ भन्नेमा कन्फ्युज छन्, के भन्नुहुन्छ उहाँहरुलाई ?
हामी आइसक्यौँ, बालेनलाई भोट दिनुहोस् र निर्वाचित गराउनुहोस् । उहाँ कन्फर्म त्यहाँबाट उठ्नुहुन्छ । मलाईभन्दा पहिला मतदातालाई के थाहा छ भने अब युवाहरुले देश चलाउँछन् । बालेन शाहलाई सत्ता, शक्ति र सेवा गर्ने अवसर दिनुस् । अब बन्ने सरकार बालेन नेतृत्वको नेपाल सरकार हो । ज-जसलाई यो थाहा छैन भने एकचोटि मत परिवर्तन गर्नुपर्छ ।
तपाईंको पार्टीले ३५ वर्षदेखि देश र जनताका लागि काम गर्छु भन्यो । यो देशलाई त्यही अवस्थामा राखिरहन भोट खेर नफाल्नुहोस् । बरु भोट सच्याउनुस् । पाँच वर्षपछि उनी सच्चिएर आएको अवस्थामा पुनर्विचार गर्नुहोला । यो पटक भने मन र मत दुवै परिवर्तन गर्नुस भन्ने आग्रह छ ।













प्रतिक्रिया