फेरियो देशको परिस्थिति, फेरिएनन् केपी ओली « Khabarhub

फेरियो देशको परिस्थिति, फेरिएनन् केपी ओली

विश्लेषक भन्छन् : निर्वाचनपछि ओली ‘साइज’मा आउँछन्



काठमाडौं- नेकपा एमालेले १६५ निर्वाचन क्षेत्रमध्ये केहीलाई होल्डमा राख्दै अन्य अधिकांशमा उम्मेदवार टुंग्याएको छ।

अध्यक्ष केपी शर्मा ओलीले शनिबार बसेको पार्टी सचिवालय बैठकमा आफ्नो पक्षधरको एकछत्र नाम उम्मेदवारका रुपमा टुंग्याएका हुन्। उनले अध्यक्षमा पराजित ईश्वर पोखरेल प्यानलका गोकर्ण विष्टलाई मात्रै टिकट दिएका छन् ।

उनको यो कार्यशैलीले मानौँ कि भदौ २३ र २४ गते देश र एमालेमा केही नै नभएको प्रतीत गरेको छ। उनले आफूलाई प्रश्न गर्ने र विरोधको स्वर उठाउने कसैलाई पनि बाँकी राखेनन् । विगतमा फरक समूहमा रहेर अहिले आफूनजिक भएकालाई समेत ओलीले शत्रुकै शैलीमा ठेगान लगाइदिए ।

सचिवालय बैठकमा अध्यक्ष ओलीले महासचिव शंकर पोखरेललाई उम्मेदवारहरूको सूची पढ्न लगाएका थिए।

सूची पढ्ने क्रममा पार्टीको ११औँ महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट विजयी र अन्य नेताहरूले पनि आपत्ति जनाए। तर ओलीले उनीहरूको कुनै कुरा नसुनी पुरानै शैली दोहोर्‍याए। आफूले गुन्डुमै तयार पारिसकेको सूची उनले निर्णयका रुपमा पढ्न लगाए ।

त्यसपछि टिकट होल्ड भनिएका उपमहासचिव योगेश भट्टराईसँग ओलीको भनाभनको अवस्था आयो । योगेशले आफूसहित इतर पक्षका नेताहरूबारे कुरा उठाउँदा ओलीले तपाईंको चुनाव जित्ने अवस्था छैन भनेर बैठकमै अपमान गरिदिए ।

ओलीको एकलौटी र मनोमानीलाई लिएर टिकट नपाएका ठाकुर गैरे र होल्डमा राखिएका गोकुल बास्कोटासहितका नेताहरूले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाइरहेका छन्।

११औँ महाधिवेशनमा सचिव पदमा पराजित गोकुल बास्कोटाले आफूलाई टिकट नदिइएको विषयमा असन्तुष्टि जनाउँदै भनेका छन्, ‘टिकट कुन स्वार्थले कसलाई दिइयो, मलाई जानकारी भएन। म टिकट दिने मान्छे होइन।’

माधव र ईश्वर समूहका नेताको सफाया

विगतमा माधवकुमार नेपाल र ईश्वर पोखरेल समूहमा रहेका नेताहरूको ओलीले यस पटक सफाया गरेका छन् । पार्टी नेतृत्व शैलीबारे असन्तुष्टि जनाउँदै आएका नेताहरूलाई प्रतिनिधिसभा निर्वाचनमा टिकट नदिएर ओलीले पार्टीलाई आफ्नो मात्रै प्राधिकार रहेको कम्पनीमा परिणत गरेको नेताहरू बताउँछन् ।

समानुपातिक बन्दसूचीमा पनि एकपक्षीय निर्णय गर्दै ओलीले आफूनजिकलाई प्राथमिकता दिँदा पार्टीमा लामो समय योगदान र संघर्ष गरेर आएकाहरूलाई जनाजान छुटाएका छन् ।

११औँ महाधिवेशनमा ओलीविरुद्ध उम्मेदवारी दिएका ईश्वर पोखरेललाई न समानुपातिक सूचीमा राखिएको छ, न प्रत्यक्षतर्फ टिकट दिइएको छ।

२०७९ को निर्वाचनमा काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेलसँग पराजित पोखरेललाई अझै टिकट मिल्ने आशा छ । केही क्षेत्र होल्ड भएकाले ओलीले टिकट दिने अनुमान गरिए पनि उनको व्यवहार र कार्यशैलीले पोखरेलसँग बदला नै लिन सक्ने बलियो सम्भावना छ।

ओलीले उपाध्यक्ष रघुजी पन्त, सचिव छविलाल विश्वकर्मा, उपमहासचिव योगेश भट्टराई, नेता गोकुल बास्कोटा, विनोद ढकाल, ठाकुर गैरे, आनन्द पोखरेल, कृष्णगोपाल श्रेष्ठ, सुरेन्द्र पाण्डे, बिन्दा पाण्डे, कृष्णबहादुर राई र कर्णबहादुर थापालाई टिकट दिएनन् । उनीहरू सबै इतर समूहका हुन् । उनीहरूसँग ओलीले महाधिवेशनमा दिएको चुनौतीको राजनीतिक प्रतिशोध साँधेको आरोप लागेको छ।

उपमहासचिव भट्टराईलाई ताप्लेजुङबाट टिकट नदिई होल्ड गर्नुको कारण आफ्नो पक्षमा उभिइरहेन क्षितिज थेवेलाई अघि सार्नु रहेको सचिवालय स्रोत बताउँछ।

इलाममा २०७९ को चुनावमा झलनाथ खनाललाई हराएका महेश बस्नेतलाई टिकट नदिई काजीमान कागतेलाई अघि सारिएको छ। झापामा पनि एलपी सावाले टिकट पाएनन् । झापा–५ बाट ओली आफैं उठ्दैछन् । झापा–२ मा सभामुख देवराज घिमिरेलाई अघि सारिएको छ।

भोजपुरमा शेरधन राईलाई अघि बढाइँदा भानुभक्त ढकाललाई तेह्रथुम पठाइएको छ। सुनसरी ३ मा २०७९ सालमा हारेका एमाले सचिव ढकाल सुरक्षित हुन तेह्रथुम उक्लिएका हुन् । उनका लागि तेह्रथुम पनि सजिलो छैन ।

सुनसरी–२ मा टिकट होल्ड गरिएको छ। काभ्रेमा २ मा गोकुल बास्कोटाको टिकट रोकिएको छ । जबकि गोकुलले काभ्रेमा कांग्रेस र माओवादीको घेराबन्दी हुँदा पनि चुनाव जितिरहेका थिए । यता क्षेत्र नम्बर १ मा आफूनिकट भएकै कारण अमित लामालाई हातहातै टिकट दिइएको छ ।

उता महासचिव शंकर पोखरेलका लागि सुरक्षित क्षेत्र खोज्न क्षेत्र नम्बर १ र २ होल्ड गरिएको छ । पोखरेल २०७९ को चुनावमा पराजित भएकाले यस पटक उनलाई सजिलै जित्ने क्षेत्रको खोजीमा ओली छन् ।

एमाले सचिवालयका एक नेताले भने, ‘महासचिवजस्तो व्यक्ति २०७९ मा पनि हार्नुभयो। यसपटक जित सुनिश्चित गर्न क्षेत्र होल्ड गरिएको हो।’

‘आफ्नै खुट्टामा बन्चरो हान्दैछन्’

अध्ययनशील नेताका रुपमा परिचित सुरेन्द्र पाण्डेलाई ओलीले चितवन १ को टिकट नै दिएनन् । त्यहाँ कृष्णराज पाठकलाई अघि सारेका छन् । बाट टिकट नदिनु पनि गल्ती भएको सचिवालयका नेताहरू बताउँछन्। यसैबीच, ओलीका विश्वासपात्र विष्णु पौडेललाई ठाकुर गैरेको ठाउँमा पठाइएको छ।

‘आफूनिकटलाई दोहोर्‍याई तेहेर्‍याई अवसर दिँदा प्रश्न उठाउनेहरूलाई छानीछानी प्रतिशोध साँध्ने ओलीको व्यवहारकै कारण एमाले संकटतर्फ जाँदैछ। फागुन २१ को निर्वाचनपछि ओली पक्कै सुध्रिनेछन्’, एमाले सचिवालयका ती नेता भन्छन् ।

शनिबारको सचिवालय बैठकमा टिकटमा भएको विभेद र अन्यायबारे कुरा उठ्दा ओलीले ‘नजित्ने मान्छेलाई किन टिकट दिने’ भन्दै रोकेका थिए । योगेशलाई समेत ‘तपाईंको जित्ने अवस्था छैन’ भनेर अपमान गर्न भ्याए । भट्टराईको विषयमा ओली आक्रोशित देखिएका थिए । योगेशले पनि प्रतिवाद गरेर पार्टीमा चार बुँदे फरक मत नै राखेका छन् ।

बैठकमा उपाध्यक्ष गोकर्ण विष्टले पनि एकलौटी नाम सार्वजनिक गरिएकोमा असन्तुष्टि जनाएका थिए। एक नेता भन्छन्, ‘जेन-जी आन्दोलनपछि पनि ओलीमा सबैलाई न्यायोचित व्यवहार गरौँ भन्ने चेत आएको छैन । उहाँ टसमस हुनुभएको छैन। यस्तो अवस्थामा एमालेले आगामी निर्वाचनमा उहाँलेसहित धक्का खानुपर्ने जोखिम छ।’

सच्चिने मुडमा छैनन्

२०७९ को निर्वाचनमा दोस्रो ठूलो दल बनेको एमाले भदौ २३–२४ को आन्दोलनपछि चौतर्फी दबाबमा छ। एमालेलाई अहिले चौतर्फी घेराबन्दी पनि छ ।

विश्वकै छोटो मानिएको दुई दिने जेन-जी विद्रोहको बलमा ओली नेतृत्वको दुईतिहाइको सरकार ढलेको थियो। उनकै नेतृत्वको सरकार हुँदा देशभर विध्वंश मच्चियो । ओली आफैं पनि बालुवाटारबाट नेपाली सेनाको हेकिप्टर चढेर ज्यान बचाउन भागे ।

उनलाई सेनाले १२ दिनसम्म मकवानपुरको चित्लाङमा लगेर राख्यो । ओलीले देश दुर्घटनामा लगेपछि आएकी अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलमार्फत् फागुन २१ का लागि निर्वाचन तोकिन् ।

राजनीतिक विश्लेषक हरि रोक्का ओलीले कार्यशैली नसुधारे आगामी निर्वाचनमा एमाले संकटमा पर्न सक्ने बताउँछन्। ‘ओलीको शैली पुरानै र अहंकारी देखिन्छ। जेन-जी आन्दोलनपछिको राजनीतिक परिवर्तनलाई ओलीले स्वीकार गर्न सकेका छैनन्,’ उनले भने।

असन्तुष्ट नेताहरूका अनुसार ओली पदमा रहुञ्जजे एमाले निजी कम्पनीजस्तो चल्ने खतरा रहेको बताउँछन् । ‘एमाले विधि, सिद्धान्त र पद्धतिमा चल्न ओली पदबाट बाहिरिनुपर्छ,’ उनीहरू भन्छन् ।

प्रतिनिधिभाको टिकट पाएका नेताहरू तत्काल विद्रोहमा नजाने देखिए पनि निर्वाचनपछि एमालेको आकार र स्वरूपमा ठूलो परिवर्तन आउने आँकलन भइरहेको छ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ५ : ५३ बजे

टिकट नपाए पनि विचलित छैन : झपट रावल

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टीको

प्रतिनिधिसभा निर्वाचन : गोकुल बाँस्कोटालाई ओलीले दिएनन् टिकट

काठमाडौँ – नेकपा एमालेकोे आन्तरिक विवाद चर्किँदो छ । पार्टीको

रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख

ताप्लेजुङमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाउने

काठमाडौं – नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार

एमाले र परिवार दलबीच चुनावी सहकार्यको सहमति

काठमाडौं – नेकपा (एमाले) र नेपाल परिवार दलबीच चुनावी सहकार्यमा