नयाँ उम्मेदवारको खोजीमा काठमाडौं, कांग्रेस रक्षात्मक, कम्युनिस्टको छैन लहर « Khabarhub

नयाँ उम्मेदवारको खोजीमा काठमाडौं, कांग्रेस रक्षात्मक, कम्युनिस्टको छैन लहर

रास्वपा, कांग्रेस, राप्रपा र उज्यालोको आस



काठमाडौं– देशको सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको जिल्ला काठमाडौंमा विगतका निर्वाचनमा नयाँको प्रयोग हुँदै आएको छ । शिक्षित र नयाँपनको खोजी गर्ने सहरी इलाकामा विगतका निर्वाचन जस्तै यसपटक पनि अप्रत्याशित नतिजा आउन सक्ने विश्लेषकहरूको दाबी छ । 

१० वटा निर्वाचन क्षेत्र रहेको देशको राजधानी काठमाडौंमा माहोल व्यापक तातेको देखिन्छ। हरेक गल्ली, चोकचोक र घरघरसम्म उम्मेदवारहरू मत माग्न निस्किरहेका छन् । जनघनत्व बढी भएका कारण उम्मेदवारहरूलाई टोलटोलमा पुग्न भ्याइ नभ्याई छ। उम्मेदवारहरू आफ्नो प्रचारमा लागिरहँदा होटल चिया पसल र खाजा घरहरू पनि खचाखच देखिन्छन् ।

२०७४ मा विवेकशील साझा पार्टीको यहाँका मतदाताहरूले केही रूपमा उसलाई पनि टेस्ट गरेका थिए । २०७९ मा विवेकशील साझा र पुराना दलप्रतिको असन्तुष्टि मत राष्ट्रिय स्वतन्त्र पार्टीमा खनिएको थियो ।

०७९ को निर्वाचनलाई हेर्ने हो भने नेपाली कांग्रेसले १० वटा निर्वाचन क्षेत्रमध्ये पाँचवटामा विजय हासिल गरेको थियो । ६ महिना अगाडि खुलेको पार्टी राष्ट्रिय स्वतन्त्रले चारवटा र पुरानो दल नेकपा एमालेले १ वटा निर्वाचन क्षेत्रमा जित्यो । राष्ट्रिय स्वतन्त्र पार्टीले जितेका केही  निर्वाचन क्षेत्र एमालेले २०७४ सालमा जितेका निर्वाचन क्षेत्र हुन् ।

७९ मा तीन सीट गुमाएको एमाले

२०७४ मा नेपाल कम्युनिस्ट पार्टी एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि निर्वाचनमा होमिदा नेकपा एमालेले काठमाडौँ उपत्यकाबाट चार सीट हात पारेको थियो। नेपाली कांग्रेसले ६ सीट ल्याउँदा २०७९ को निर्वाचनमा एक सीट गुमायो । काङ्ग्रेसले गुमाएको एक सीट राष्ट्रिय स्वतन्त्र पार्टीले खोस्यो। 

२०७९ को निर्वाचनमा नेकपा एमालेका माधव नेपाल र प्रचण्डको विभाजनले असर देखिएको थियो। ०७४ मा एमाले तत्कालीन उपाध्यक्ष ईश्वर पोखरेलले जितेको काठमाडौँ निर्वाचन क्षेत्र ५ मा कांग्रेसका प्रदीप पौडेलले जिते। २०७४ को निर्वाचनमा माधव नेपाल काठमाडौँ क्षेत्र नम्बर २ बाट विजयी भएका थिए। त्यस निर्वाचन क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार सोबिता गौतमले हात पारिन । 

०७४  र ०७९ को निर्वाचनलाई हेर्ने हो भने नेकपा एमालेको आकार निरन्तर खुम्चिएको छ। यसपटक पनि काठमाडौँबाट नेकपा एमालेका उम्मेदवारले बिरलै मात्र निर्वाचन जित्ने अवस्था छ। उपत्यकामा रक्षात्मक देखिएको एमालेको शक्तिलाई राष्ट्रिय स्वतन्त्र पार्टीले क्याप्चर गरिरहेको छ। यता नेतृत्व परिवर्तन गरेर नयाँ शक्ति आर्जन गर्ने दाउमा कांग्रेस छ। 

माधव नेपाल र पुष्पकमल प्रचण्ड मिलेर बनेको नेकपालाई भने काठमाडौँ उपत्यकाबाट यसपटक पनि खासै माया प्राप्त हुने अवस्था देखिँदैन। माओवादी केन्द्रले २०७४ र २०७९ को कुनै पनि निर्वाचनमा आफ्नै चुनाव चिन्ह लिएर काठमाडौँबाट जितेको इतिहास छैन। 

यसपटक नेकपाका उम्मेदवार सुमन सायमी काठमाडौँ क्षेत्र नम्बर ८ बाट विजय निकाल्ने दाउमा छन् । तर उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले चुनौती दिइरहेको देखिन्छ । २०७४ को निर्वाचनमा यहाँ नेकपा एमालेबाट जीवराम श्रेष्ठ निर्वाचित भएका थिए। ०७९ को निर्वाचनमा भने श्रेष्ठ निर्वाचित हुँदा सायमी उपविजेता भए ।

के छ उपत्यकाको हिसाबकिताब ?

२०७४ सालको निर्वाचनमा एमालेले नौ सीट जितेको थियो। । तर यो सीट एमाले एक्लैले हात पारेको होइन त्यतिबेला तत्कालीन नेकपा बनाइएको माओवादी केन्द्र र एमालेबीचको तालमेलमा यो उपलब्धि हात लागेको हो। उपत्यकाका १५ सीटमध्ये नौ सीटमा विजय भएपछि एमालेलाई ०७९ को निर्वाचनमा पनि राम्रै सीट ल्याउँछु भन्ने आस थियो ।  तर त्यो साख बचाउन सकेन । ऊ जम्मा दुई सिटमा झ¥यो । 

स्थानीय तहमा भएको निर्वाचनमा काठमाडौंबाट स्वतन्त्र उम्मेदवार बालेन शाहले उल्लेखनीय मत ल्याएर निर्वाचन जितेपछि रास्वपा सभापति रवि लामिछानेले टेलिभिजन पत्रकारिता छोडेर पार्टी खोल्ने हौसला मिलेको थियो।  

०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा बालेनले काठमाडौँ महानगरपालिकाबाट ६१ हजार ७६७ मत ल्याएर निर्वाचित भए । ०७९ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई समानुपातिकमा पनि उपत्यकावासीले लोकप्रिय मत दिएका थिए। प्रत्यक्षमा जितेका राष्ट्रिय स्वतन्त्र पार्टीका ७ नेताहरूमध्ये काठमाडौँ ४, ललितपुर १ र चितवनबाट २ जना थिए।

कसको रणनीति कस्तो छ ?

काठमाडौँका आठ वटा निर्वाचन क्षेत्र जित्ने दाउमा राष्ट्रिय स्वतन्त्र पार्टी छ। २०७४ को निर्वाचनमा चार सीट जितेको कांग्रेसले २०७९ को निर्वाचनमा एक सीट बढाएर पाँच सिट बनाउन पुगेको थियो । 

यो पटक कांग्रेस पनि ७ या ८ सिट जित्ने दाउमा छ । एमालेले पनि आफ्नो टार्गेट चार या पाँच सीट कटाउने बनाएको देखिन्छ । तर एमालेलाई जति निर्वाचन जित्न गाह्रो छ, उति नै कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने सजिलो रहेको अनामनगरका मतदाता सन्तोष फागो बताउँछन् ।

यो पटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी मात्र नभएर कुलमान घिसिङको उज्यालो नेपाल पार्टीलाई पनि काठमाडौँबासीले राम्रै माया गर्ने देखिन्छ । यस्तै पुरानो दल राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति पनि काठमाडौँ १ का जनता आशावादी देखिन्छन्। पार्टीका अध्यक्ष कुलमान घिसिङ स्वयं काठमाडौँ तीनबाट उम्मेदवार छन् । उनलाई जित्ने उम्मेदवारमा गणना गरिँदै छ । 

सबै दलहरूलाई राप्रपाका चर्चित अनुहारहरूले पनि टक्कर दिन सक्ने देखिन्छ । कांग्रेस सभापति गगन थापाले काठमाडौँ निर्वाचन क्षेत्र छाडेर मधेश केन्द्रित भएकाले कांग्रेसको सीट घट्ने पनि धेरैको आंकलन छ। राप्रपाले भने काठमाडौँ १ सुरक्षित गर्ने दाबी गरिरहेको छ।

गतिशील छन् मतदाता

उपत्यकाका मतदाता साइलेन्ट मतदाता होइनन् चलायमान र गतिशील मतदाता भएकाले योपटक पनि नतिजा नयाँहरूकै पक्षमा आउने धेरैको आंकलन छ । नयाँ भनिएको पार्टी राष्ट्रिय स्वतन्त्र र कुलमान घिसिङको उज्यालो नेपालले योपटक काठमाडौँबाट राम्रो मत ल्याउने आंकलन डिल्ली बजारमा व्यवसाय गर्दै आएका चीनकाजी श्रेष्ठको छ । 

श्रेष्ठका अनुसार विगतमा एमाले कांग्रेस माओवादी र नेमकिपालाई मतदान गर्नेहरू योपटक राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीलाई मतदान गर्ने पक्षमा खुल्न थालेका छन्। 

उनको विश्लेषणमा पछिल्लो समय राजावादी दल राप्रपामा पनि धेरैले भोट हाल्ने आशंका छ।  ‘काठमाडौँका मतदाताहरू जहिले पनि स्थिर छैनन्। पुरानालाई साइड लगाएर नयाँ आउनुपर्छ भन्ने यहाँका मतदाताको भावना छ ।’ चिनकाजी थप्छन्– ‘समानुपातिकमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि मत जाने बुझिराखेको छु। नयाँ भएको कारण राष्ट्रिय स्वतन्त्र पार्टीलाई त स्वाभाविक रुपमा माया नै गरेका छन्। पुराना दलमा पनि एमालेभन्दा कांग्रेसमा गगन आएपछि रुचाइएको देखिन्छ। खोइ हामी त कसलाई मत हाल्ने हाल्ने कन्फ्युज पो भइराखेको छ।’

चिनीकाजी जस्तै काठमाडौँको ठमेलमा व्यवसाय गर्दै आएकी नम्रता बिक पनि योपटक पुराना पार्टीमध्ये  कांग्रेसप्रति काठमाडौँका जनता आशावादी रहेको दाबी गर्छिन् । ‘चिन्नेले गगनले नेतृत्व गरेका कारण कांग्रेसलाई पनि राम्रै मान्छन् । तर पुराना प्रति वितृष्णा रहेकाले यसपटक नयाँ कुलमान रविहरू नै छान्छन् कि भन्ने देखिन्छ ।’ बिक भन्छिन्– ‘मेरो पसलमा आउने अधिकांशले त पार्टीभन्दा पनि व्यक्ति हेरेर मतदान गर्नुपर्छ है भन्ने कुरा गर्नुहुन्छ।’

हामीले यहाँ काठमाडौँका १० वटा निर्वाचन क्षेत्रको विश्लेषण गरेका छौँ ।

काठमाडौं १ ः प्रकाशमानका कारण रवीन्द्रलाई फाइदा

काठमाडौँ क्षेत्र नम्बर १ नेपाली काङ्ग्रेसको गढ हो ।  २०७४ सालको निर्वाचनमा १० हजार ९२६ मत ल्याएर विजय भएका कांग्रेस नेता प्रकाशमान सिंह २०७९ को निर्वाचनमा भने राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रवीन्द्र मिश्रसँग झिनो मतले निर्वाचित भए । ०७९ को निर्वाचनमा प्रकाशमानको मत ७ हजार १४३ थियो भने रविन्द्रको मत ७०१८ थियो। 

हुन त २०७४ को निर्वाचनमा पनि मिश्र विवेकशील साझाबाट काठमाडौँ १ का उम्मेदवार थिए त् ? यसबेला पनि १० हजार १८ मत ल्याएर दोस्रो भए । प्रकाशमानले छोडेकै कारण योपटक रवीन्द्र तेस्रो दाउमा विजयी हुने प्रयासमा छन् । कांग्रेस सभापति  थापाले प्रकाशमानलाई टिकट नदिएका कारण प्रकाशमान देखिने गरी कांग्रेसका उम्मेदवार जिताउन निस्केका छैनन्। 

कांग्रेसले उद्यमी प्रबल थापालाई उम्मेदवार बनाउँदा थापाको काठमाडौँ १ मा खासै चर्चा देखिँदैन। यता राष्ट्रिय स्वतन्त्र पार्टीले पनि रन्जु दर्शनालाई उम्मेदवार बनाएको छ। दर्शना २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाकी उपविजेता हुन् । 

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा भने ललितपुरबाट उनको जमाना जफत भएको थियो। यो पटक दर्शनाको पनि काठमाडौँ १ मा राम्रै चर्चा सुनिन्छ । आठ महिनाको बच्चा पेटमा बोकेर निर्वाचन प्रचारप्रसारमा होमिएकी दर्शनालाई सेन्टिमेन्टको भोटसँगै रास्वपा लहरको मत आउने देखिन्छ। छविको हिसाबले पनि रन्जु जनताको नजरमा विवादित छैनन् ।

२०७४ सालको निर्वाचनलाई हेर्ने भने नेपाली कांग्रेस नै समानुपातिकमा पहिलो पार्टी बनेको थियो। २०७४ मा विवेकशील साझाको लहर चलेका बेला ६ हजार ९११ मत ल्याएर विवेकशील साझा दोस्रो भयो। २०७९ को निर्वाचनमा आइपुग्दा ५ हजार ६१८ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकमा दोस्रो बनेको थियो। यहाँ एमाले र नेकपाले पनि उम्मेदवार उठाएको छ। तर उनीहरूको चर्चा खासै देखिँदैन। 

काठमाडौं १ मा धोबीखोला किनारमा सुकुम्बासी बस्ती देखिन्छ। विगतका निर्वाचनबाट नै मिश्र सुकुम्बासी बस्तीका मतदातासँग निकै उठबस गरिरहेका छन् । रुचाइएका उम्मेदवार र त्यहाँका स्थानीयको समस्या बुझेका कारण योपटक मिश्रले जिति छाड्ने अनामनगरका मतदाता रामनाथ अधिकारी बताउँछन् । 

‘तेस्रो प्रयासमा रवीन्द्रलाई जिताउने अवस्था देखिन्छ। हुन त यहाँ रञ्जु दर्शनाको पनि राम्रै हल्लाखल्ला छ। उनले भने, ‘तीनपटकको निर्वाचनका कारण यहाँ रवीन्द्र मिश्र मतदातासँग निकै परिचित छन् ।’ अधिकारीका अनुसार कांग्रेसको कतिपय असन्तुष्ट पक्षले पनि रवीन्द्रलाई मत दिने अवस्था छ । राप्रपाले पनि काठमाडौँ १ बाट आफ्नो सिट सुरक्षित रहेको यसपटक दाबी गरिरहेको छ। मिश्र राप्रपाका वरिष्ठ उपाध्यक्ष हुन् ।

एमालेबाट खोसिएको २ मा  त्रिपक्षीय प्रतिस्पर्धा

काठमाडौँ क्षेत्र नम्बर २ का मतदाता सोबिता गौतमले यो निर्वाचन क्षेत्र छोडेकोमा गुनासो गर्छन् । यही गुनासोका कारण राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुनिल केसीलाई अप्ठ्यारो देखिन्छ । हुन त केसी राप्रपाबाट प्रदेश सभामा निर्वाचित सांसद थिए। उनले सांसद पदबाटै राजीनामा दिएर यो पार्टीमा प्रवेश गरेर टिकट लिए। 

यहाँबाट एमालेका मणिराम फुयालको चर्चा छ । कांग्रेसका कवीर शर्माले पनि उत्तिकै प्रचारप्रसार गरिरहेका छन् । धेरैले यहाँ त्रिपक्षीय प्रतिस्पर्धा हुने बताइरहेका छन्। एमालेका मणिराम र कांग्रेसका कवीर स्थानीयको नजरमा भिजेका पात्र हुन् ।  हुन त रास्वपा उम्मेदवार सुनिलको पनि त्यति नराम्रो छवि भने यहाँ छैन। 

सोबिताले छोडेको ठाउँमा एमाले पुन जितेर आफ्नो गढ फड्काउने सोचाइमा छ भने कांग्रेस उसलाई धक्का दिइरहेको छ । २०७४ मा नेकपा एमालेबाट माधवकुमार नेपालले यहाँ २७ हजार ३६६ मत ल्याएर विजयी भएका थिए। २०७९ को निर्वाचनमा सोबिता गौतम १५ हजार २३८ मत ल्याएर विजय भइन्। नयाँ पार्टीप्रति काठमाडौँ २ का जनता आशावादी छन्। उनीहरूले यसको प्रयोग २०७९ को निर्वाचनमै गरिसके। 

समानुपातिकको मत हेर्दा पनि ११ हजार ८७९ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टी नै पहिलो दल बनेको थियो। २०७४ मा भने एमालेले २० हजार ९९६ मत ल्याएर समानुपातिकमा पहिलो दल बन्यो। जे भएपनि यहाँ त्रिपक्ष प्रतिस्पर्धा हुने निश्चित छ । 

काठमाडौं-३ : कुलमान ढुक्क, राजुनाथलाई बालेनको साख जोगाउन मुस्किल

काठमाडौँ ३ का जनता नेपाली कांग्रेससँग त्यति धेरै आशावादी छैनन्। २०७९ को निर्वाचनमा १५ हजार १५८ मत ल्याएर सन्तोष चालिसे विजय भएपनि प्रतिनिधि सभामा र विकास निर्माणका काममा खासै मतलब नगरेको स्थानीयको गुनासो छ। 

२०७४ सालमा नेकपा एमाले ११ हजार १५९ मत ल्याएर यहाँबाट विजयी भएको थियो। काठमाडौँ ३ योपटक नयाँलाई हेर्ने दाउमा देखिन्छ। आदिवासी जनजाति समुदायसँग नजिक रहेका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ यहाँबाट उम्मेदवार छन्। घिसिङ योपटक काठमाडौँ ३ बाट विजय हुने कुरामा ढुक्क छन्। 

‘काठमाडौँ ३ पनि धेरै पुरानालाई हेरियो योपटक नयाँ हेरौँ न’ भन्ने पक्षमा रहेको कागेश्वरी मनहरा नगरपालिका १ का स्थानीय पार्वती कुइँकेल बताउँछिन् । कुइँकेलका अनुसार कुलमानले आक्रामक रुपमा प्रचार गरिरहेका छन् । 

उनीसँगै काठमाडौँ महानगरपालिका प्रहरी प्रमुखबाट बिदा भएका राजुनाथ पाण्डेको पनि चर्चा छ। ‘यो पटक कुलमानले जित्नुहुन्छ भन्ने यहाँका स्थानीयको आंकलन छ। हुन त राजुनाथ पाण्डेको पनि उत्तिकै चर्चा सुनिन्छ।’  कुइँकेलले भनिन,– ‘मलाई त राजुनाथ र कुलमान दुवै मनपर्छ । कसलाई मत दिऊँ ? कन्फ्युजन भइरहेको छु पुरानालाई चाहिँ दिने मुड छैन।’

काठमाडौं महानगरपालिकाका पूर्व प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई महानगरपालिकाका पूर्व मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको साख जोगाउनुपर्ने अवस्था छ । पाण्डे पराजित भएको खण्डमा बालेनको सचिवालयका मुख्य नेता नै पराजित भएको आरोप उनीमाथि लाग्ने कारण पनि राष्ट्रिय स्वतन्त्र पार्टीका लागि यो क्षेत्र प्रतिष्ठाको सवाल बनेको छ  । 

नेकपा एमालेले रामेश्वर फुयाललाई उम्मेदवार बनाएको छ। त्यसपछि कांग्रेसका रमेश अर्यालको पनि राम्रै चर्चा सुनिन्छ। चर्चित उम्मेदवार भएकाले एमाले र कांग्रेसका उम्मेदवारहरू यहाँ लगभग साइड लाग्ने अवस्थामा रहेको गोकर्णेश्वर नगरपालिकाका सन्तवीर तामाङ बताउँछन् । 

२०७४ सालको निर्वाचनमा काठमाडौँ ३ बाट एमालेले १४ हजार ५०१ मत ल्याएर समानुपातिकमा पहिलो दल बनेको थियो। दोस्रो दल कांग्रेस थियो भने तेस्रो दल विवेकशील साझा थियो। २०७९ मा आइपुग्दा नेपाली कांग्रेसको मत घटेको थियो। त्यसबेला १० हजार ६१९ मत ल्याएर कांग्रेस समानुपातिकमा पहिलो दल बन्यो । एमाले ९ हजार ४३९ ल्याएर दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी ९ हजार २१८ ल्याएर तेस्रो दल बनेको थियो ।

काठमाडौं ४ : सचिनलाई गगनको विरासत जोगाउने चुनौती, पुकार र राजनको टक्कर 

काठमाडौं क्षेत्र नम्बर ४ मा दुईपटकसम्म गगनसँग पराजित भएका राजन भट्टराई एमालेबाट उम्मेदवार छन्। २०७४ सालमा गगनले २१ हजार ५५८ मत ल्याउँदा एमालेका राजन भट्टराईले १८ हजार २४० मत ल्याएर दोस्रो भए । 

२०७९ को निर्वाचनमा गगनले २१ हजार ३०२ मत ल्याएर निर्वाचित हुँदा राजनले १३ हजार ८५५ मत ल्याए । गगन योपटक युवा नेता सचिन तिमल्सिनालाई आफ्नो निर्वाचन क्षेत्र दिएर उनी सर्लाही चार पुगेका छन् । यहाँका जनताले सचिनलाई भन्दा राजनलाई मसिनो गरी चिन्छन् । 

यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम पनि चर्चित उम्मेदवार हुन् । यसपटकको निर्वाचनमा राजन, पुकार र सचिनबीच प्रतिस्पर्धा हुन्छ भन्ने आंकलन गर्न गाह्रो छैन किनकि यी तिनै जना नेताहरू युवा नै छन्। राजन तेस्रो पटकको प्रयासमा जसरी पनि जित्ने दाउमा देखिन्छन्  । एमालेले पनि राजनलाई यहाँबाट जित्ने प्रवल उम्मेदवार मानेको छ । 

२०७४ सालको समानुपातिक मत हेर्ने भने नेकपा एमाले १५ हजार ६२२ मत ल्याएर पहिलो दल बनेको थियो। तर २०७९ को निर्वाचनमा ११ हजार ८०८ मत ल्याएर कांग्रेस पहिलो बन्यो । ०७४ मा विवेकशील साझा ६ हजार ८३० मत ल्याएर तेस्रो दलभन्दा २०७९ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९ हजार ४१२ मत ल्याएर दोस्रो दल बन्यो । हुन त राष्ट्रिय स्वतन्त्र पार्टीले पनि पुकारलाई जित्ने नेताका रुपमा हेरेको छ। 

स्थानीय मतदाताहरू तीन नेताहरूबीच टक्कर  चल्ने दाबी गर्छन्। बाहिरबाट आंकलन गर्दा पनि तीनैजना नेताहरूबीच झिनो मतान्तरले एक विजय हुने अवस्था छ। यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुरेन्द्र भण्डारी र नेकपाले इन्द्रकुमार राईलाई उम्मेदवार बनाएको छ ।

काठमाडौं ५ : प्रदीप र ईश्वरबीच टक्कर, मत काट्दै कमल, सस्मित र निशा

काठमाडौं क्षेत्र नम्बर ५ मा विगतका निर्वाचनहरू जस्तै यसपटक पनि रोचक देखिन्छ। नेकपा एमालेका नेता ईश्वर पोखरेललाई पराजित गर्दै २०७९ को निर्वाचनमा १५हजार २५९ मत ल्याएर कांग्रेसका युवा नेता प्रदीप पौडेल विजय भएका थिए। प्रदीप अहिले नेपाली कांग्रेसको महामन्त्री छन् । 

२०७४ को निर्वाचनलाई हेर्ने हो भने एमाले उपाध्यक्ष ईश्वर पोखरेलले २३ हजार २९ मत ल्याएर निर्वाचन जितेका थिए । रोचक के छ भने यसपटक पनि ईश्वर, प्रदीप, राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सस्मित पोखरेल र गतिशील लोकतान्त्रिक पार्टीबाट अभिनेत्री निशा अधिकारी छन्।   कमल थापा मकवानपुरबाट काठमाडौँ फर्किएका हुन् उनलाई त्यहाँका मतदाताले खासै रुचाएनन् । 

२०७४ र २०७९ को निर्वाचनलाई हेर्ने हो भने यहाँ राप्रपा चौथो दल हो। उनले केही राजावादी र पुरानो राप्रपाको भोट काटे पनि विजय हुने अवस्था देखिँदैन । सस्मित काठमाडौंका स्थानीय हुन् । उनी २०७९ को निर्वाचनसम्म विवेकशील साझामा थिए। अभिनेत्री निशा यहाँ जित्ने दाउमा छन् । उनी नयाँ भएको र एजेन्डाहरू महत्वपूर्ण भएकाले आफूलाई यहाँका जनताले जिताउने बताउँछिन्।

२०७४ मा यहाँ नेकपा एमाले नै समानुपातिकमा पहिलो दल बनेको थियो। त्यसबेला एमालेले १५ हजार ६२२ मत ल्यायो। २०७९ मा भने ११ हजार ८०८ मत ल्याएर कांग्रेस समानुपातिकमा पहिलो दल बन्यो । विवेकशील साझा ०७४ मा समानुपातिकमा तेस्रो दल बनेको थियो भने प्रत्यक्षमा पनि त्यसै भयो। 

२०७९ मा विवेकशील साझाको मत रास्वपामा पोखिएर प्रत्यक्ष र समानुपातिकमा तेस्रो दल बन्यो । उम्मेदवारहरूले यसपटक ईश्वरलाई पनि राम्रै सेन्टिमेन्टको मत दिने देखिन्छ तर प्रदीपलाई हराउन ईश्वरले सक्छन् , सक्दैनन् त्यो भने हेर्न निर्वाचनै कुर्नुपर्छ। 

कांग्रेसले प्रदीपलाई जित्ने उम्मेदवारको रुपमा गनेको छ, त्यसकारण प्रदीप साइलेन्ट रूपमा आफ्नो निर्वाचन क्षेत्रमा खटिरहेका छन्। हुन त तत्कालीन स्वास्थ्यमन्त्री रहेका कारण जेन-जी आन्दोलनको बेला मन्त्रीबाट राजीनामा नदिएको विषयले प्रदीपलाई विवादित समेत बनाइएको छ। 

विवादित पात्र भएकाले ईश्वर जित्ने दाउमा तम्सिरहँदा सस्मित, निशा र कमलले भने दुवैको मत काटेर जित्ने बताइरहेका छन् । सामाजिक सञ्जालमा आक्रामक प्रचार गरिरहेका सस्मित मतदाताहरूसँग भने तल्लो तहसँग नपुगेको बताइन्छ। निशालाई पनि उस्तै उम्मेदवार मानिन्छ। जे भएपनि यसपटकको निर्वाचनमा ईश्वर ,प्रदीप, कमल, निशा र सस्मितबीच प्रतिस्पर्धा चल्दा प्रदीपको पल्लाभारी छ।

काठमाडौं ६ : शिशिरको विकल्प खोज्ने ठाउँमा पुगेका छैनन् मतदाता

काठमाडौं ६ ले २०७९ कै निर्वाचनमा नयाँ खोजेको हो । २०७९ को निर्वाचनमा शिशिर खनाल १४ हजार २२१ मत ल्याएर निर्वाचित भए। त्यसबेला सर्वेन्द्र खनाल एमालेबाट ८ हजार ९१७ मत ल्याएर दोस्रो भए । सर्वेन्द्र अहिले एमालेमा छैनन् । समानुपातिकमा पनि ०७९ मा रास्वपा नै ११ हजार ९१६ मत ल्याएर पहिलो दल बनेको थियो। नेकपा एमाले दोस्रो थियो । 

२०७४ मा नेकपा एमालेले १४ हजार ३१ मत ल्याएर समानुपातिकमा पहिलो दल बन्यो । २०७४ सालमा १६ हजार ७०८ मत ल्याएर कांग्रेसका भीमसेमदास प्रधान यहाँबाट निर्वाचित भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल प्रतिनिधि सभामा शालीन भद्र र तथ्यपरक शैलीमा उत्रने नेता हुन्। खनालको छविमाथि आज पनि कसैले प्रश्न उठाएका छैनन् । 

खनाल रास्वपाका इमान्दार र बौद्धिक नेताको रुपमा चिनिन्छन् । त्यसकारण शिशिर पराजित गर्न यसपटक एमालेका अमनकुमार मास्के र कांग्रेसका कृष्ण बानियालाई गाह्रै पर्ने अवस्था छ ।

०७९ को निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेको असन्तुष्ट मत तानेर विजयी भएका शिशिर योपटक त्यो मतभन्दा बढी आफ्नो पक्षमा पार्ने दाउमा छन् । कांग्रेसका बानिया र एमालेका मास्केले शिशिरलाई उछिन्न नसक्ने स्थानीय बताउँछन्। राष्ट्रिय स्वतन्त्र पार्टीले पनि काठमाडौं ६ मा आफ्नो जित सुरक्षित मानेको देखिन्छ ।

काठमाडौं ७ : गणेशलाई एमाले र कांग्रेस चुनौती

काठमाडौं ७ मा आदिवासी जनजातिको बाक्लो बसोबास रहेको क्षेत्र छ । २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका गणेश पराजुलीलाई आफ्नो निर्वाचन क्षेत्र जोगाउन यसपटक मुस्किल छ किनभने त्यहाँका आदिवासी जनजाति समुदायलाई नेकपा र एमालेले उम्मेदवार बनाएको छ। 

२०७४ सालको निर्वाचनमा नेकपा एमालेको निर्वाचन क्षेत्र ०७९ मा पराजुलीले खोसेका थिए। ०७४ मा एमालेबाट रामवीर मानन्धर १८ हजार १०२ मत ल्याएर विजय भएका थिए भने ०७९ को निर्वाचनमा पराजुली ८ हजार ७४३ मत ल्याएर विजयी भए । ०७४ मा राप्रपा यहाँ दोस्रो दल बनेको थियो भने ०७९ को निर्वाचनमा एमाले ६ हजार ,८०० मत ल्याएर दोस्रो दल बन्यो। 

नेकपा माओवादीको भने यहाँ विगतबाट नै सीट खस्किएको देखिन्छ । पाँच दलीय लोकतान्त्रिक बाम गठबन्धनबाट उठ्दा पनि तत्कालीन माओवादी नेतृ रहेकी मानुषी यमी भट्टराईले ६ हजार ६३ मत मात्रै पाइन्। समानुपातिकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी नै ०७९ मा पहिलो दल बनेको थियो । उसले १० हजार ९७८ मत ल्यायो । 

२०७४ को निर्वाचनमा भने एमाले समानुपातिकमा पहिलो दल बन्यो । उसले १२ हजार ३९१ मत आफ्नो पोल्टामा झारेको थियो ।  यो क्षेत्रमा एमाले र नेकपाले प्रदेश सांसदहरूलाई उठाएको छ। यता नेपाली कांग्रेसले भने प्रमोदहरि गुरागाईँलाई उठाएको छ ।

पराजुलीलाई योपटक नेकपा र एमालेका उम्मेदवारहरूले कडा टक्कर दिँदैछन् । तर राष्ट्रिय स्वतन्त्र पार्टीले भने काठमाडौँ क्षेत्र नम्बर ७ बाट पराजुलीले जित्ने दाबी गर्दै आएको छ । 

हुन त काठमाडौं क्षेत्र नम्बर ७ ले नयाँलाई अपनाएका कारण पनि तत्काल पराजुलीको बहिर्गमन हुने अवस्था नरहेको बताइन्छ । आदिवासी जनजाति समुदाय बसोबास गर्ने यस क्षेत्रमा पराजुलीलाई मसिनो गरी खट्नुपर्ने चुनौती छ। 

काठमाडौं ८ : विराज हराउन सुमनलाई सकस

काठमाडौँ ८ को निर्वाचन पनि यसपटक रोचक हुने देखिन्छ। यहाँ २०७४ सालमा विवेकशील साझाबाट प्रदेशसभा सांसद बनेका विराजभक्त २०७९ को निर्वाचनमा विजयी भएका नेता हुन्। काठमाडौँ ८ ले विगतमा पनि समानुपातिक र प्रत्यक्षमा नयाँ दललाई पहिलो बनाएको हो । त्यसकारण विभिन्न पार्टी छाड्दै अहिले तारा चुनाव चिन्ह नेकपामा लागेका सुमन सायमीलाई विराजभक्तलाई हराउन मुस्किल देखिन्छ । 

२०७९ को निर्वाचनमा विवेकशील साझा छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा होमिएका विराजभक्त सो पार्टीका वैचारिक र इमानदार नेताका रुपमा चिनिन्छन् । काठमाडौं ८ का आदिवासी जनजाति समुदायसँग मसिनो गरी भिजेका उनलाई जित्न मुस्किल नहुने न्युरोडका व्यवसायी काजीमान महर्जन बताउँछन्। 

काठमाडौंमा गुठी आन्दोलन हुँदै उदाएका उनलाई काठमाडौँको रैथाने आन्दोलन र बालेनको डोजर आन्दोलन विरुद्ध उत्रिएका सुमन पनि चानचुने होइन । २०७४ सालको निर्वाचनमा एमालेका जीवराम श्रेष्ठले जितेको क्षेत्र ०७९ मा १० हजार ११२ मत ल्याएर विराजभक्तले जितेका थिए। २०७४ मा जीवरामले १३ हजार ३९७ मत ल्याउँदा २०७९ को निर्वाचनमा छुटेको नेकपा एकीकृत समाजवादीमा थिए । 

विराज भक्तले ०७९ मा जित्दा सुमनले ६१९ मत ल्याएर दोस्रो भएका थिए । २०७९ को निर्वाचनमा समानुपातिकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी नै पहिलो बनेको थियो । ११ हजार ९९३ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो दल बन्यो । २०७४ मा भने एमाले १४ हजार ३१ मत ल्याएर पहिलो दल बनेको थियो। यहाँ नेपाली कांग्रेसले सपनाराज भण्डारीलाई उम्मेदवार बनाएको छ । उनी पनि आदिवासी जनजाति समुदायमा चर्चित नेत्री हुन् । 

एमालेले राजेश शाक्यलाई उम्मेदवार बनाएको छ। यी सबै उम्मेदवार हुँदाहुँदै पनि यो पटकको निर्वाचनमा सुमन र विराजबीच प्रतिस्पर्धा हुने धेरैले आंकलन गरेका छन् । कसैले त काठमाडौँ ८ बाट यो पटक विराजले हार्ने र सुमनले जित्ने दाबी समेत गरेको देखिन्छ । तर प्रदेश हुँदै प्रतिनिधिसभा निर्वाचनसम्म पुग्दा पनि उच्च छवि र वैचारिक विषय उठानका कारण विराजलाई हराउन सुमनलाई मुस्किलै छ। 

प्रचण्डले सुमनले जित्छन् भनेर टिकट दिएको क्षेत्रमा सुमनलाई जितेर देखाउनुपर्ने चुनौती पनि छ। सुमन उम्मेदवारी मनोनयन हुनुभन्दा करिब एक महिना अगाडि मात्रै नेकपामा प्रवेश गरेका थिए । उनलाई विभिन्न पार्टी हुँदै नेकपामा आएका कारण त्यहाँका स्थानीयले स्थिर उम्मेदवार नमानेको दाबी गरिन्छ ।

काठमाडौं ९ : रास्वपा सिनियर डिपीलाई अजय क्रान्ति र नानुमैयाको चुनौती 

प्रत्यक्षमा हेर्ने भने विगतको निर्वाचनमा काठमाडौँ ९ ले नयाँ उम्मेदवार खोजेको देखिँदैन। तर समानुपातिकमा भने ११ हजार ५०२ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो दल बनेको हो। प्रत्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल १० हजार ९६१ मत ल्याएर पहिलो बने। 

प्रत्यक्षमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ ११ हजार ९५६ मत ल्याएर नेकपा एमालेबाट विजय भएका थिए। उनी योपटक उम्मेदवार छैनन्। २०७४ को निर्वाचनमा पनि २२ हजार ८५२ मत ल्याएर कृष्णगोपालै विजयी भएका थिए। यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका उपसभापति रवि लामिछानेका निकट नेता डोलप्रसाद अर्याल डिपीलाई उम्मेदवार बनाएको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट आशिका तामाङले उम्मेदवारी दिने चर्चा थियो तर तामाङलाई धादिङ पठाएर डिपीले धादिङेहरूको मतसमेत क्याप्चर गर्न खोजेका छन् । डिपीलाई एमाले नेता अजय क्रान्ति शाक्यले चुनौती दिइरहेका छन् शाक्य त्यहाँका स्थानीय नेता हुन् भने उनी बौद्धिक र जनतासँग भिजेको नेताको रुपमा चिनिन्छ। 

नेपाली कांग्रेसकी नेतृ नानुमैया बास्तोलालाई पनि यहाँका जनताले राम्रै मान्छन् । त्यसकारण रास्वपाका हेभीवेट नेता डिपीलाई यसपटक काठमाडौं ९ मा जित्ने नेता हुन् भन्न सकिने अवस्था छैन । जेन-जी आन्दोलनका बेला डिपीलाई नख्खु कारागारबाट रवि लामिछाने भगाउने नेतासमेत भनिँदै आएको छ। 

काठमाडौँ ९ का आदिवासी जनजाति समुदायले आफ्नो निर्वाचन क्षेत्र नभएका कारण डिपीलाई माया गर्ने अवस्था नरहेको दाबी गरिन्छ । यसको फाइदा एमालेका अजय क्रान्तिले उठाउन खोजेका छन्। उता नेपाली काङ्ग्रेसले पनि नानु मैयालाई जित्ने उम्मेदवारको रुपमा हेरेको छ । 

विगतमा एमालेले जितेको निर्वाचन क्षेत्र भएकाले एमालेले आफू जित्ने दाबी गरिरहेको बेला कान्तिलाई बलियो उम्मेदवार पठाएको हो। यहाँबाट  क्रान्तिले निर्वाचन नजितेको खण्डमा काठमाडौँका अन्य क्षेत्रबाट पनि एमालेले लज्जास्पद हार बेहोर्नु पर्ने कारण क्रान्तिलाई त्यहाँको टिकट दिइएको हो । 

काठमाडौं १० : प्रचण्डलाई हराएको केसीको साथ हिमाललाई, रास्वपाका प्रदीप र एमालेका विनोदको चुनौती

काठमाडौं १० मा विगतबाट नै काङ्ग्रेसको गढ हो। कीर्तिपुरबाट नेपाल कम्युनिस्ट माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई पराजित गरेर काङ्ग्रेसका राजेन्द्रकुमार केसी निरन्तर सांसद भएका थिए । २०७४ को निर्वाचनमा पनि केसी २४ हजार १९० मत ल्याएर निर्वाचित भए । दोस्रोमा तत्कालीन माओवादी केन्द्रका हितमान शाक्य थिए । 

२०७९ को निर्वाचनमा आइपुग्दा राजेन्द्रको मत ११ हजार ९५६ मा झरेको थियो । त्यसबेला एमालेका हिमेश केसीले १० हजार ९६१ मत ल्याए। स्थानीय तहमा भएको उपनिर्वाचनमा कीर्तिपुरबाट राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार नै उठाउन सकेको थिएन । तर यसपटक काठमाडौँ क्षेत्र नम्बर १० बाट उम्मेदवार उठाएको छ।  

२०७९ को निर्वाचनमा यो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी ११ हजार ५५६ मत ल्याएर दोस्रो बनेको थियो । पहिलो मत नेपाली कांग्रेसको ११ हजार ६१४ थियो। २०७४ को निर्वाचनमा पनि समानुपातिकमा कांग्रेस नै अगाडि देखियो । काठमाडौँ १० लाई कांग्रेसको पुरानो गढ मानिएकाले यसपटक पनि कांग्रेस उम्मेदवार हिमाल कार्कीलाई जित्ने नेताका रूपमा हेरिन्छ । 

युवा र बौद्धिक नेता भएकाले हिमाललाई गगनले जित्ने उम्मेदवारका रुपमा टिकट दिएका हुन्। अगाडिका निर्वाचित उम्मेदवार राजेन्द्र केसीले पनि हिमाललाई साथ दिएको देखिन्छ । यहाँ एमालेले विनोद श्रेष्ठलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले अघिल्लो पटक निर्वाचनमा होमिएका प्रदीप बिष्टलाई टिकट दिएको छ। 

काठमाडौं १० मा अहिले चर्चा हिमालको छ। हिमालसँगै एमालेका विनोद पनि उत्तिकै चर्चामा छन्। कीर्तिपुरका व्यवसायी उत्तम बिष्ट कीर्तिपुरमा कांग्रेसको गढ एमालेले भत्काउन नसक्ने दाबी गर्छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीको पनि चर्चा भइरहेकाले मतदाताहरू कसलाई मत दिने भन्ने विषयमा निर्णयमा नपुगिसकेको बताउँछन् । नेपाली कांग्रेसले भने काठमाडौं १० लाई आफूले जित्ने सुरक्षित क्षेत्रको रुपमा राखेको छ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ६ : ५२ बजे

रुकुम-पूर्व पुगेर प्रचण्डले भने : क्रान्तिको आधारभूमिलाई विकासको नमुना बनाउँछौँ

रुकुमपूर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको

क्युबामाथि नाकाबन्दी नगर्न अमेरिकालाई मस्कोको आग्रह

मस्को – क्युबामाथि सैन्य नाकाबन्दी नगर्न रूसले अमेरिकालाईरुसी विदेशमन्त्री सर्गेइ

विश्वकपको सुपर आठ समीकरण पूरा, भारत र दक्षिण अफ्रिका एउटै समूहमा

काठमाडौं – भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकप

शिवम दुवेको विष्फोटक ब्याटिङमा भारतले नेदरल्याण्ड्सलाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा

कांग्रेसको प्रतिज्ञापत्रमा बिहीबार खुला प्रश्नोत्तर

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा सार्वजनिक गरेको प्रतिज्ञापत्र