सुनकोशीको बेलिब्रिज झिकिएपछि स्थानीयलाई समस्या « Khabarhub

सुनकोशीको बेलिब्रिज झिकिएपछि स्थानीयलाई समस्या


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

खोटाङ– सुनकोशीस्थित फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ पूर्वी तराईसँगको सीधा यातायात सम्पर्कबाट विच्छेद भएको छ । निरन्तरको वर्षापछि सुनकोशी नदीमा पानीको बहाव बढेसँगै फरक–फरक सडकखण्डमा पर्ने फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज निकालिएको हो ।

पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने दुईवटा नाकामा जडान गरिएको अस्थायी बेलिब्रिज निकालेपछि स्थानीयवासी समस्यामा परेका छन् । फोक्सिङटार र बङ्शिलाघाटमा मोटरेबल पक्की पुल नहुँदा हिउँदको समयमा जडान गर्ने र वर्षात् लागेपछि पुनः खोलेर राख्नेगरी अस्थायी बेलिब्रिजको विकल्प अगाडि सारिएको हो ।

मौसम परिवर्तनसँगै निरन्तरको वर्षाले सुनकोशीमा पानीको सहत बढेसँगै गत वैशाख २७ गतेबाट बङ्शिलाघाटको बेलिब्रिज निकाल्न थालिएको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख बिनम दाहालले जानकारी दिए । खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ जोड्ने बङ्शिलाघाटस्थित सुनकोशीमा पहिलोपटक अस्थायी बेलिब्रिज जडान गरिएको हो ।

बङ्शिलाघाटको अस्थायी बेलिब्रिजले खोटाङका जन्तेढुङ्गा, बराहपोखरी र खोटेहाङ गाउँपालिका तथा भोजपुरका केही गाउँका नागरिकलाई तराई आवतजावतमा सुविधा दिएको थियो । बङ्शिलाघाटको अस्थायी बेलिब्रिज हटाएपछि करिब छ महिना झोलुङ्गे पुलमार्फत पूर्वी तराईका जिल्ला आवतजावत गर्नुपर्ने बाध्यता पुनः दोहोरिएको स्थानीय युवराज मगरले जानकारी दिए ।

बङ्शिलाघाटको अस्थायी बेलिब्रिजका लागि आवश्यक सामग्री कोशी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयले एक करोड ८७ लाख बजेटमा खरिद गरी पूर्वाधार विकास कार्यालय खोटाङलाई हस्तान्तरण गरेको थियो । बङ्शिलाघाटको अस्थायी बेलिब्रिज गुरुकुल विल्डर्स एन्ड सप्लायर्स प्रालि रौतहटले मूल्य अभिवृद्धि करसहित ५७ लाख बजेटमा ठेक्का लिएको हो  ।

बङ्शिलाघाटमा मोटरेबल पक्की पुल निर्माणका लागि १९ करोड १८ लाख ४१ हजार ४०० लागतमा ३३ महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने गरी कालिका–वेदांसी जेभीले सम्झौता गरेको छ । २०७९ साल मङ्सिर १ गते सम्झौता गरेर निर्माण सुरु गरिएको मोटरेबल पुल निर्माणमा निर्माण कम्पनीको ढिलासुस्ती भएको स्थानीयले आरोप लगाएका छन् ।

फोक्सिङटारको अस्थायी बेलिब्रिज जेठ ३ गतेबाट पूर्णरूपमा यातायात बन्द गरेर निकाल्न सुरु गरिएको गाईघाट दिक्तेल सडक योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर सुमन गोलेले जानकारी दिए । सगरमाथा लोकमार्गमा पर्ने दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारको अस्थायी बेलिब्रिज गत पुस २७ गतेबाट सञ्चालनमा ल्याइएको थियो ।

फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गर्ने ठेक्का एमए/एस आर्यन कन्स्ट्रक्सन मल्टी पर्पोज प्रालि कटारी–३ उदयपुरले लिएको थियो । ठेकेदार कम्पनी एमए/एस आर्यन कन्स्ट्रक्सन मल्टी पर्पोज प्रालि कटारीले मूल्य अभिवृद्धि कर (भ्याट)सहित ९६ लाख ७७ हजार ९३७ मा जठान र निकाल्नेगरी ठेक्का सम्झौता गरेको हो ।

खोटाङको खोटेहाङ गाउँपालिका–९, लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५, आँपटार जोड्ने फोक्सिङटारस्थित सुनकोशीमा निर्माण गरिएको मोटरेबल पुल गत वर्ष असोज १२ गतेको बाढीले बगाएको थियो । निर्माण सम्पन्न भएर सञचालनमा आएको वर्ष दिन नपुग्दै बाढीले बगाएपछि अस्थायी बेलिब्रिजको भर पर्नुपर्ने अवस्था आएको हो ।

सुनकोशीको फोक्सिङटारमा मोटरेबल पक्की पुल पुनर्निर्माण नभएसम्म खोटाङवासीको समस्या यथावत रहने उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताए । ‘फोक्सिङटारको अस्थायी बेलिब्रिज हटाएपछि पूर्वी तराईका जिल्लाबाट खोटाङ भित्रिने यातायातका साधन घुर्मी–कटारी हुँदै जयरामघाट तारेर ल्याउनुपर्नेहुन्छ । खोटाङ्गे जनताका लागि यो घुमाउरो बाटो हो’, उनले भने, ‘मध्यपहाडी लोकमार्गमा पर्ने घुर्मी–कटारी हुँदै जयरामघाट तारेर ल्याइने दैनिक उपभोग्यवस्तुको मूल्यसमेत वृद्धि हुन्छ । यसप्रति सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी छ ।’

फोक्सिङटारमा बाढीले बगाएको मोटरेबल पक्की पुल पुनर्निर्माणका लागि आवश्यक बजेट सुनिश्चित भएको बताइए पनि अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढेको छैन । दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने फोक्सिङटारमा मोटरेबल पक्की पुल पुनर्निर्माणका लागि अर्थमन्त्रालयले गत वर्षको चैतमा ३५ करोड बजेट सुनिश्चित गरेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य विशाल भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  ७ : ३४ बजे

एमसिए-नेपालले गर्‍यो दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य सुरु

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले बुधबार मिलेनियम च्यालेञ्ज

खुश्बुलाई गृहमन्त्रीको आश्वासन : प्रक्रियामा जानुहोस्, कारबाही अघि बढ्छ 

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा सांसद खुश्बु ओलीले आफूलाई ज्यान मार्ने धम्की

रविलाई आङ्देम्बेको प्रश्न- दिल्लीमा पुग्दा किन सीमा र कालापानीको उच्चारण नगरेको ? 

काठमाडौं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रवि लामिछाने

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति

काठमाडौं- परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ

‘प्रधानमन्त्री गैर जिम्मेवार बन्नुभयो भन्दैमा प्रतिपक्ष गैर जिम्मेवार बन्दैन’ 

काठमाडौंं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री गैर