काठमाडौं- पाकिस्तानमा इसाई धर्मावलम्बीहरूमाथि दमन र उत्पीडनका घटनाहरू बढ्दै गएका छन्। यसै क्रममा रावलपिन्डीमा एक २१ वर्षीया इसाई युवतीको उनकै मुस्लिम छिमेकीद्वारा घरभित्रै गोली हानेर हत्या गरिएको छ। क्रिस्चियन डेली इन्टरनेसनलमा प्रकाशित रिपोर्ट अनुसार सबा महबुब नामक ती युवती विगत एक वर्षदेखि आफ्नो पतिलाई ड्रग्सको गम्भीर कुलतका कारण छोडेर आमा र सौतेनी परिवारसँगै बस्दै आएकी थिइन् ।
उनका छिमेकी अदनान बटले उनलाई लगातार दुर्व्यवहार गर्दै आएका थिए । बजार जाने क्रममा बाटो छेक्ने जस्ता क्रियाकलाप गरेपछि आत्मरक्षाका लागि सबाले दुई पटक उनलाई थप्पड समेत हानेकी थिइन् । जसले अदनानको आक्रोशलाई झनै बढाएको पीडित परिवारको भनााइ छ । घटनाको दिन सेप्टेम्बर ३ को राति करिब नौ बजे अदनान हतियारसहित सबाको घरमा प्रवेश गरेका थिए ।
उनले सबाका सौतेनी काकाहरूलाई बन्दुक देखाएर बाहिर निकाल्दै सबालाई बारम्बार थप्पड हानेका थिए । आफूले अपमानित हुनुपरेको भन्दै आक्रोशित बनेका अदनानले सबाको निधारमा गोली हानेर उनको घटनास्थलमै हत्या गरेका थिए । हत्यापछि आरोपीले सबाका १६ वर्षीय सौतेनी भाइ अनूशलाई बन्दुकको बलमा अपहरण गरी आफ्नो साढूको घरमा लगे । त्यहाँ अनूशलाई हत्याको झूटा बयान दिन र घटनाबारे चुइँक्क नबोल्न धम्की दिइयो । भोलिपल्ट साँझ पाँच बजेसम्म उनलाई बन्धक बनाइयो, र जब पीडितका बुबाले प्रहरीमा उजुरी नदिने सहमति गरे, तब मात्र उनलाई छोडिएको थियो ।
घटनापछि अस्पताल पुगेको परिवारले प्रहरीको सहयोगमा अनूशको बयान दर्ता गराएको छ र प्रहरीले एफआईआर दर्ता गरी घटनालाई औपचारिक रूपमा अपराधको रूपमा अगाडि बढाएको छ । अभियुक्त अदनानविरुद्ध यसअघि पनि ड्रग्स, अवैध हतियार, लुटपाट र दङ्गालगायतका धेरै आपराधिक रेकर्डहरू रहे पनि उनले अदालतबाट पूर्व-गिरफ्तारी जमानत प्राप्त गरेका छन्। यस अमानवीय घटनाको विरोधमा स्थानीय समुदायका इसाई र मुस्लिम दुवै समुदायले प्रदर्शन गर्दै अदनानलाई पक्राउ गरी सबाको परिवारलाई न्याय दिन माग गरेका छन् ।














प्रतिक्रिया