निएलसनको इनोभेसन इन्जिन बन्यो भारत « Khabarhub

निएलसनको इनोभेसन इन्जिन बन्यो भारत


२ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दर्शक मापन तथा डेटा एनालिटिक्स क्षेत्रको प्रतिष्ठित अन्तर्राष्ट्रिय कम्पनी ‘निएलसन’ ले भारतलाई आफ्नो प्रमुख इनोभेसन इन्जिनका रूपमा अगाडि बढाएको छ। कुल विश्वव्यापी जनशक्तिको करिब आधा अर्थात् ५ हजारभन्दा बढी कर्मचारी भारतमा रहेको र कर्नाटकस्थित बेङ्ग्लुरु कार्यालय विश्वकै सबैभन्दा ठूलो हबका रूपमा विकसित भएको कम्पनीका मुख्य प्रविधि अधिकृत (सीटीओ) अनिल गोयलले मनीकन्ट्रोललाई जानकारी दिएका छन्।

कम्पनीको विश्वव्यापी इनोभेसनमध्ये करिब ७५ प्रतिशत काम भारतबाटै हुने गरेको छ। यसमा विज्ञापन इन्टेलिजेन्सलाई स्वचालित बनाउन, खेलकुदमा ब्रान्डको उपस्थिति पछ्याउन र छरिएका सञ्चार माध्यमहरूमा दर्शकको पहुँच मापन गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग समावेश छ। गोयलका अनुसार भारतको संरचनालाई परम्परागत ‘ग्लोबल क्यापाबिलिटी सेन्टर’ (जीसीसी) का रूपमा नभई सुरुदेखि नै ‘ग्लोबल इनोभेसन सेन्टर’ का रूपमा डिजाइन गरिएको हो। यहाँका स्थानीय टोलीहरूले नै उत्पादनको नेतृत्व गर्ने, निर्णय लिने र विश्वव्यापी ग्राहकहरूसँग सीधा काम गर्ने गर्छन्। आयका हिसाबले भारत अझै पनि सानो बजार रहे तापनि यो द्रुत गतिमा विस्तार भइरहेको र कम्पनीका उत्कृष्ट १० सम्भावित बजारहरूमा पर्ने गोयलले बताए।

कम्पनीले हालै ‘डबलभेरिफाई’ थपेपछि भारतमा आफ्नो उपस्थिति अझ विस्तार हुने अपेक्षा गरेको छ। एआईको प्रयोगले कम्पनीको विज्ञापन इन्टेलिजेन्स व्यवसायमा ठूलो प्रभाव पारेको छ, जसले भारत र अमेरिकाारसहित ३० देखि ४० प्रमुख बजारहरूमा टेलिभिजन, रेडियो, पत्रपत्रिका र आउटडोर मिडियाको विज्ञापन खर्च ट्रयाक गर्छ। पहिले ८० देखि ९० प्रतिशत काम मेसिनबाट र बाँकी कामका लागि १ हजारभन्दा बढी कर्मचारी जनशक्ति आवश्यक पर्ने गरेकोमा एआई र लार्ज ल्याङ्ग्वेज मोडलको प्रयोगपछि मेसिनले गर्ने काम ९७ देखि ९८ प्रतिशत पुगेको छ। यसले गर्दा अहिले मानिसद्वारा गरिने हस्तक्षपका लागि केही सय मानिस मात्र आवश्यक पर्नेछ। यस परिवर्तनले निएलसनलाई साना विज्ञापनदाता र मिडिया आउटलेटहरूलाई पनि समेट्न सहज बनाएको छ।

त्यस्तै खेलकुद प्रतियोगिताका क्रममा खेलाडीको जर्सीमा ब्रान्डको उपस्थिति ट्रयाक गर्ने काममा पनि एआईको प्रयोग भइरहेको छ। बेंग्लुरुमा आयोजित ‘इनोभेसन डे’ का क्रममा दिइएको जानकारी अनुसार पहिले फ्रेम-बाई-फ्रेम परीक्षण गर्दा लाग्ने लामो समयलाई एआईले केही घण्टामा सीमित गरिदिएको छ। कम्पनीले यसलाई रियल-टाइम बनाउने दिशामा काम गरिरहेको छ, जसले गर्दा विज्ञापनदाताहरूले खेलकुद प्रतियोगिताको समयमै ब्रान्डको एक्सपोजर बुझ्न सक्नेछन्।

उपभोक्ताहरू परम्परागत टेलिभिजन, कनेक्टेड टिभी, स्ट्रिमिङ सेवा, सोसल मिडिया, गेमिङ र मोबाइलमा बाँडिएका बेला कम्पनीले दर्शक मापनको आफ्नो मुख्य व्यवसायमा पनि एआईलाई जोड दिएको छ। फरक-फरक प्लेटफर्मले आफ्नै तरिकाले दर्शकको संख्या देखाउने भएकाले कुल कति अलग-अलग मानिससम्म पहुँच पुग्यो भन्ने पत्ता लगाउन गाह्रो हुने गर्छ। यसका लागि निएलसनले मेसिन लर्निङ मोडल र डिभाइस आईडी, आईपी ठेगाना तथा इमेल जस्ता विविध डेटा सिग्नल प्रयोग गरी एउटै व्यक्तिले फरक प्लेटफर्ममा सामग्री हेरिरहेको छ वा छैन भन्ने निर्धारण गर्ने प्रविधिमा लगानी गरिरहेको छ।

यसका साथै उपभोक्ताहरूले च्याटजीपीटी, जेमिनी र क्लडजस्ता एआई प्लेटफर्ममा कति समय बिताउँछन् र तिनले निर्णय प्रक्रियामा कसरी प्रभाव पार्छन् भन्ने विषयमा पनि कम्पनीले अध्ययन गरिरहेको छ। एआई प्लेटफर्ममा बिताइएको समय र ध्यानको अंश मापन गर्नु अहिलेको मुख्य प्राथमिकता रहेको गोयलले उल्लेख गरेका छन्।

प्रकाशित मिति : २ कार्तिक २०८३, सोमबार  ४ : ५४ बजे

अमेरिकी नीतिमा परिवर्तनको आशा गर्नु भ्रम हो : इरानी सर्वोच्च नेता

तेहरान – इरानका सर्वोच्च नेता मोजताबा खामेनीले अमेरिकी नीतिमा परिवर्तन

त्रिविको ७०५ रोपनी जग्गा फिर्ता

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले काठमाडौँ उपत्यकाभित्र आफ्ना नाममा रहेका

बिर्तामोडमा आगलागीबाट छ करोड बराबरको क्षति

झापा – झापाको बिर्तामोडमा आज भएको आगलागीबाट करिब रु छ

इजरायलको निर्वाचनमा धाँधली भएको छैन : आयोग

जेरुसेलम– इजरायलको निर्वाचन आयोगले गत साता सम्पन्न निर्वाचनमा धाँधली भएको कुनै