काठमाडौँ- बराह बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा ठगी गरेको आरोपमा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सहकारीका संस्थापक काठमाडौँ महानगरपालिका–२२ बस्ने ४५ वर्षीय शिवकुमार विश्वकर्मा (लामिछाने) र ऋण उपसमिति सदस्य धरान उपमहानगरपालिका–१५ बस्ने ३३ वर्षीया अस्मिता भण्डारी रहेका छन् ।
प्रहरीका अनुसार धरानमा मुख्य कार्यालय रहेको बराह बचत तथा ऋण सहकारी संस्थाले नेपालका विभिन्न स्थानमा ३० वटा र विदेशमा चारवटा कम्पनी स्थापना गरी पीडितको बचत रकम अपचलन तथा ठगी गरेको आरोप छ । सोही कसुरमा संलग्न रहेको आरोपमा दुवै जना फरार रहँदै आएका थिए ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सुनसरीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट बुधबार पक्राउ गरेको हो ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पक्राउ परेका दुवै जनामाथि सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको छ ।














प्रतिक्रिया