एमालेसँगको तालमेल गल्ती थियो, यस पटक सबै ढोका बन्द गरिसकेँ : राजेन्द्र लिङ्देन (अन्तर्वार्ता) « Khabarhub

एमालेसँगको तालमेल गल्ती थियो, यस पटक सबै ढोका बन्द गरिसकेँ : राजेन्द्र लिङ्देन (अन्तर्वार्ता)

पूर्वराजा ज्ञानेन्द्रको सद्भाव राप्रपालाई छ



काठमाडौं– फागुन २१ गते आयोजना हुने प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका राजेन्द्र लिङ्देन तेस्रो जितको खोजीमा छन् ।

०७४ र ०७९ सालको निर्वाचनमा उनले नेकपा एमालेको सहयोगमा जित निकाले । लिङ्देनले ०७९ को निर्वाचनमा तत्कालीन लोकतान्त्रिक-वाम गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौलालाई एमालेको सहयोगमा हराए ।

त्यसअघि ०७० सालको निर्वाचनमा सिटौलाले लिङ्देनलाई पराजित गरेका थिए । ०७४ मा ४४ हजार ६१४ मत ल्याएका लिङदेनले २०७९ को निर्वाचनमा ४० हजार ६४८ ल्याए । उनका निकटम् प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत ल्याए ।

झापा-३ मा करिब १२ वर्षपछि एमालेले आफ्नै उम्मेदवार उठाएको छ । तर अहिले पनि एमाले अध्यक्ष केपी शर्मा ओली र लिङ्देनबीच तालमेलको चर्चा छ। यो चर्चा चलिरहँदा लिङ्देन भने ओलीसँग आजित देखिएका छन् । उनी कुनै हालतमा राष्ट्रिय प्रजातन्त्र पार्टीले झापा-३ र ५ मा तालमेल नगर्ने बताउँछन् । लिङ्देन विगतका निर्वाचनमा भएको तालमेललाई पनि अहिले गल्तीका रुपमा व्याख्उा गरिरहेका छन् ।

उनी अन्य क्षेत्रमा भए पनि झापा-५ र ३ मा भने आफूले तालमेलका लागि सबै ढोका बन्द गरेको बताउँछन् । ‘तालमेलको कुरा बेतुकको हो । मैले झापा-५ र ३ मा तालमेलका सबै ढोका बन्द गरिसकेँ,’ उनले खबरहबलाई भने, ‘विगतका निर्वाचनमा तालमेल नगरे जित्ने अवस्था थियो, तर साथीहरुले सहयोग मागेपछि दिएको हो, मैले गल्ती गरेछु ।’

एमाले अध्यक्ष ओलीले आफूलाई तालमेलका लागि प्रस्ताव गरेको संकत गर्दै सबै कुरा पत्रपत्रिका र मिडियासामु नराख्ने उनी बताउँछन् । हामीले लिङ्देनलाई तालमेलबारे दोहोर्‍याएर प्रश्न गरेका थियौँ । उनले भने, ‘लेखेर राख्नुहोला झापा-५ र ३ मा कुनै पनि हिसाबले तालमेल हुँदैन ।’

उनी यसपटकको निर्वाचनबाट राजसंस्था फर्काउने एजेण्डा ठीक या बेठीक भनेर जनताले पुष्टि गर्छन् होइन ? भन्ने प्रश्नमा उनी थप्छन्, ‘यो एउटा निर्वाचनले पुष्टि गर्ने कुरा होइन । हामी आफ्नो एजेण्डामा क्लियर छौँ र जनतालाई कति बुझाउन सक्छौँ, हामी बुझाउँदै जानेछौँ । एजेण्डा कुनै पनि हिसाबले छोडिँदैन । यो व्यवस्था ठीक छैन ।’

०७९ को निर्वाचनमा प्रत्यक्ष र समानुपातिकबाट १४ सिट ल्याएको राप्रपा यसपटक कमल थापाको राप्रपा नेपालसहित चुनावमा होमिएको छ । यसपटक राप्रपाको १४ सिटको तेब्बर प्रतिनिधि सभामा आउनेमा लिङ्देन बताउँछन् ।

यस पटक लिङ्देन झापा-३ मा रक्षात्मक छन् भन्ने टिप्पणी भइरहेको छ। स्थलगत अवलोकन गर्दा झापा-३ का मतदाताहरू लिङ्देनबारे त्यति नकारात्मक टिप्पणी गर्दैनन् । यहाँका केही मतदाता राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मत दिने कि राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिनेमा अलमल परेका छन् ।

आफ्ना क्षेत्रका जनतालाई नबिझाएको र ‘भ्रष्टाचार गर्नु आमाको खुन खानुसरह’ भएको कुरा बताउने लिङ्देन झापा-३ बाट सजिलै जित्ने दाबी गरिरहेका छन्। तर उनलाई अरू १७ जना उम्मेदवारले टक्कर दिइरहेका छन् ।

कांग्रेसबाट कृष्ण सिटौलाको ठाउँमा राजेन्द्रकुमार घिमिरेलाई टिकट दिइएको छ । एमालेबाट संविधानसभा सदस्य हरिबहादुर राजवंशी उम्मेदवार छन् । रास्वपाका जिल्ला सभापति प्रकाश पाठक, नेपाली कम्युनिस्ट पार्टीका डिल्लीराम घिमिरे उम्मेदवार छन् । तर यी चुनौतीबीच लिङ्देन ह्याट्रिक जितको खोजीमा छन् ।

लिङ्देनसँग हामीले उनको निर्वाचन क्षेत्रको अवस्था, प्रतिनिधि सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीको उपस्थिति र एमाले लगायत अन्य दलसँगको तालमेलसहितका विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौँ :

झापा ३ बाट तेस्रो पटक जित्छु जस्तो लागेको छ ?

मलाई जित्न कुनै संकट छैन । कम्फर्टेबलल्ली जित्छु । अघिल्लो चोटी मेरो विपक्षीले पाएको मतमा पनि गठबन्धन थियो । अहिले कसैको बीचमा गठबन्धन छैन, कम्फर्टेबल छ । चुनाव जित्न समस्या छैन ।

यहाँको क्षेत्रमा पुरानालाई धेरैपटक हेर्‍यौँ, नयाँलाई हेरौँ भन्ने भन्ने पनि सुनियो नि ?

पुरानफो भनेको के हो ? विचारले नयाँ चाहिने हो कि व्यक्तिको कुरा हो ? मेरो क्षेत्रका मतदाता सचेत छन् । विचारले नयाँ हुनुपर्‍यो भन्ने कुरालाई उहाँहरूले अवलम्बन गर्नुभएको छ । त्यही गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता अथवा अहिलेको असफल भएको व्यवस्था मुख्य कारक हुन । अहिलेकै व्यवस्था ठिक छ भनेर हिँड्नेहरू कुनै हालतमा नयाँ होइनन् ।

नयाँ त विचारको नयाँ हुनुपर्‍यो । यही नेतृत्व र यही व्यवस्थाबाट देश अगाडि बढ्न सक्दैन । जनताको अवस्थामा परिवर्तन आउन सक्दैन । हाम्रो अवस्थामा परिवर्तन आउन व्यवस्थामै परिवर्तन ल्याउनुपर्छ । अहिलेको अवस्थामा कति नयाँ भन्ने कुराले मात्रै मान्छे भ्रममा पर्ने छैनन् ।

मेरो क्षेत्रका मतदाता प्रष्ट छन् । अहिले नयाँ र परिवर्तनको कुरा कसले उठाएको छ भन्दा, त्यो राष्ट्रिय प्रजातन्त्र पार्टी हो । स्थिर रूपमा आफ्ना कुरा राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली राजनीतिमा उठाइराखेको छ । हामीले देशभर आफ्ना उम्मेदवार उठाएका छौँ । धेरै क्षेत्रका अधिकांश उम्मेदवारले कम्फर्टेबल रुपमा जित्नुहुन्छ ।

यहाँले यसो भनिरहँदा राजेन्द्र लिङ्देनले अब के गर्न बाँकी छ र, उनलाई किन जिताउनु’ भन्ने पनि प्रश्न रहेछ नि ?

भौतिक पूर्वाधार विकासको हिसाबले आठ वर्षअगाडि मैले त्यो क्षेत्रको नेतृत्व लिँदा एउटा कालोपत्रे सडकको टुक्रो थिएन । मेची र बिरिङ नदीले त्यो क्षेत्र पूर्ण रुपमा डुबान र कटानमा पारेको थियो । त्यहाँका मानिस विस्थापित अवस्थामा थिए । आज यो क्षेत्र बाढीको समस्याले मुक्त भएको छ ।

तपाईंले कालोपत्रे सडकमै हिँडेर सबै स्थानीय तह एकै पटक भ्याउनुहुन्छ । एक घण्टाको बीचमा सबै क्षेत्र हिँड्न सक्ने अवस्था छ । थुप्रै काम गर्न बाँकी होलान् । तर यो क्षेत्रले भौतिक पूर्वाधार र विकासको हिसाबले अभूतपूर्व रूपमा फड्को मारेको छ । त्यहाँको स्थानीय तह राष्ट्रिय प्रजातन्त्र पार्टीले जितेको छ । खानेपानी शिक्षा निःशुल्क छ ।

नेपालकै एउटा नमूना स्थानीय तह भएको छ । स्वास्थ्यमा एमबीबीएस डाक्टरहरू स्थानीय तहले राखेको छ । २४ घण्टे स्वास्थ्य सेवा पुर्‍याएको छ । त्यहाँका मानिसहरू राजेन्द्रलाई जिताउन पाए, मुलुकको नेतृत्वमा पुर्‍याउन सकिए हाम्रो यो जीवनकालकै देश बनेको देख्न पाइन्छ भनेर उत्साहित हुनुहुन्छ । मलाई जिताउन ऊर्जावान भएर लागिराख्नुभएको छ ।

तर, बाहिर जे-जे भने पनि झापा-५ मा लिङ्देनले ओलीलाई सहयोग गर्नुहुन्छ भन्छन् नि ?

यो अहिलेको लागि यो वाहियात कुरा हो । हामीले आआफ्ना उम्मेदवार उठाएका छौँ । ०७९ सालको निर्वाचन सकिँदै राष्ट्रिय प्रजातन्त्र पार्टीले ०८४ को निर्वाचनमा कुनै पनि पार्टीसँग गठबन्धन गर्दैन भनेको थियो । हामीले एमालेसँग गठबन्धन गरेर भूल गरेछौँ भन्ने स्वीकारिसकेको हो ।

त्यसबेला ०८४ मा निर्वाचन हुन्छ भनिएको थियो, ०८२ मै हुने भयो । यो निर्वाचनमा कसैसँग गठबन्धन गर्दैनौँ । देशमा विभिन्न राजनीतिक दलसँग गठबन्धन र तालमेल भए पनि झापा-५ र झापा-३ मा राष्ट्रिय राष्ट्रिय प्रजातन्त्र पार्टीले केही गर्दैन । म व्यक्तिगत रूपमा कसैसँग तालमेल नगरी निर्वाचन लड्छु भनिसकेँ । यही कुरा तपाईंहरूले बारम्बार नकोट्याइदिनु होला ।

मतदान कसैको गोठको गाईवस्तु हो र ? अन्तिममा चाहिँ यसमा भोट दिनुपर्‍यो भन्दा फ्याट्ट दिइहाल्ने । पार्टीमा नैतिकता भन्ने कुरा हुँदैन ? त्यसकारण यो कुनै काल्पनिक विषय होइन । अहिले हामी जनतासँगै तालमेल गरेर, गठबन्धन गरेर निर्वाचन लडिरहेका छौँ । अब तालमेलको कुरा बेतुकको भयो । मैले तालमेलका लागि सबै ढोका बन्द गरेँ। झापा-५ र ३ का लागि त पहिले नै बन्द गरिसकेँ । विगतका निर्वाचनमा तालमेल नगरी जित्ने अवस्था थियो । तर साथीहरूले सहयोग मागेपछि दिएको हो । मैले गल्ती गरेछु ।

किन झापा ५ र ३ चाहिँ नगर्ने भन्नुभएको ?

धेरै भन्नु छैन । अहिले झापा ३ र ५ भनेको सत्य र असत्यको लडाईं हो । झापा-३ मा म जहिले पनि सत्य र निष्पक्षताको पक्षमा राजेन्द्र लिङ्देन छ । कोहीसँग नमिली चुनावै जित्दैन, हार्छ भन्ने जस्ता भाष्य पैदा भएका छन् । यसले गर्दा हेर्नुहोला कसैसँग तालमेल हुँदैन । फागुन २३–२४ गते परिणाम आउँछ, त्यसबाट राजेन्द्रले जित्छ कि हार्छ भन्ने थाहा भइहाल्छ । म कुनै हिसाबले तालमेलको पक्षमा छैन ।

यहाँलाई एमाले अध्यक्ष ओलीले फोन गरेर भेटवार्ता गरौँ भन्नुभयो रे, तपाईंकै मुखबाट भन्दिनु न किन रहेछ ?

एउटा राजनीतिक दलको नेताले अर्को राजनीतिक दलको नेतालाई भेटेर कुराकानी गरौँ भन्नु सामान्य कुरा हो । यो विषयलाई अन्तर्वार्तामा समेट्नु कति ठिक होला र ? एउटा दलको नेताले अर्को राजनीतिक दलको नेतालाई फोन गर्नु र भेट्नु सामान्य कुरा भयो । फोन गर्नुभएको थियो होला । यी कुरा निर्वाचनको समय र अरु बेला पनि सामान्य हुन् ।

सहकार्यका लागि ओलीले संवाद गर्न खोज्दा यहाँले रिसिभ नगरेको कुरा आयो नि त ?

यस्तो कुरा पनि पत्रिकालाई दिने कुरा हो र ? कति चोटी फोन गर्नुभयो होला ,कति पटक उठाउन पाइएन होला । कति पटक संवाद गर्न पाइएन होला । त्यो त आफ्नो ठाउँमा छ नि । कहिले सन्चो बिसन्चोबारे वार्ता भयो होला । कहिले के छ स्थिति भनेर सोधिएला । धेरै नेताहरूसँग कुरा हुन्छ नि । कतिपय राजनीतिक इस्युहरू फोनमै छलफल हुने गरेका छन् ।

यदि ओलीसँग मेरो कुरा भयो, उहाँले फोन गर्नुभयो वा मैले पनि गरेँ । गगन थापासँग, शेरबहादुर देउवाजीसँग, प्रचण्डजीसँग जुनसुकै नेताहरुसँग पनि संवाद हुन्छ । रवि लामिछानेसँग पनि मेरो कुरा भयो । त्यो के असम्भवको कुरा हो र ? तर, यहाँले भनेजस्तो जुन तालमेल र सघाउने कुरा यस पटक हुँदैन । मैले दोहोर्‍याएँ, यस पटक आफ्नै बलबुतामा एक्लै निर्वाचन लड्छु र झापा-५ का उम्मेदवार पनि आफैँ एक्लै निर्वाचन लड्नुहुन्छ ।

उसो भए कुनै पनि हिसाबले एमालेसँग तालमेल गर्नुहुन्न ?

त्यस्तो कुरा पनि हुन्छ र ? लेखेर राख्नुहोला झापा क्षेत्र नम्बर ३ र ५ मा कुनै पनि हिसाबले राष्ट्रिय प्रजातन्त्र पार्टीले तालमेल गर्दैन । झापा-३ मा त म कसैसँग तालमेल नगरी जित्छु ।

२०७९ मा १४ सिट जितेको राप्रपाले यसपटक कस्तो निकाल्ला परिणाम ?

हामी देश दौडाहामा निस्किँदा विभिन्न क्षेत्रका जनताको माया पाइरहेका छौँ । देशभर राष्ट्रिय प्रजातन्त्र पार्टीको भित्री लहर चलेको छ। पहिले सबै ठाउँमा उम्मेदवार उठाउन सकिएकफो थिएन । कतिपय ठाउँमा पार्टी विभाजनको असरले उठाउन सकेका थिएनौँ ।

यस पटक सबै ठाउँमा उठाएका छौँ । झापा, कैलाली, कञ्चनपुर डुलिसकेर अहिलेको समयमा म मधेस प्रदेश जाँदैछु । हामी जनताको नजर र आँखामा परिसकेका छौँ । यो पटक राष्ट्रिय प्रजातन्त्र पार्टीले शान्त ढङ्गले अप्रत्याशित मत परिणाम ल्याउँदैछ ।

यो पटकको मतपरिणामले तपाईंहरूलाई राजा फर्काउने वा छाड्ने कस्तो निर्णय दिन्छ ?

हाम्रो एजेण्डा ठिक छ छैन भन्ने कुरा एउटा मतले, एउटा चुनावले प्रमाणित गर्ने कुरा होइन । हामीले नगनिने मत प्राप्त गरेको बेला र राष्ट्रिय पार्टी पनि नभनेको बेला पनि यो एजेण्डालाई बोकेर राख्यौँ । त्यसकारण धेरैले के भन्छन् ? कस्तो परिणाम आयो ? यो एजेण्डा ठीक छ कि छैन भन्ने कुराले अहिले निर्णय गर्ने अवस्था छैन ।

हाम्रो एजेण्डा ठीक छ तर हामीले जनतालाई कति बुझाउन सक्यौँ, यसको पक्षमा जनता कति ल्याउन सक्यौँ भन्ने कुरा महत्वपूर्ण हो । हामीले ऊर्जावान् र राम्रो ढंगले मत परिणाम र जनताको साथ पाइरहेका छौँ । हिजो राष्ट्रिय पार्टी बनेको थिएन । एक सिट मात्रै थियो । तर ०७९ मा १४ सिट ल्याएका हौँ ।

अहिले त्यसलाई मल्टिप्लाई गरेर तेब्बर/चौबर सिट आउने अवस्था छ । जनता यो एजेण्डाको पक्षमा क्रमशः अगाडि बढिरहेका छन् । जनताले यो एजेण्डालाई आत्मसात गरिरहेका छन् । यो एजेण्डा मजबुत छ । कुनै पनि हिसाबले हामी यो एजेण्डा छोड्दैनौँ । यो व्यवस्थाका थुप्रै पक्षहरू ठीक छैनन् करेक्सन गर्नुपर्छ भनेर हामी निरन्तर लागिरहेकै हुन्छौँ ।

अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पूर्वराजा ज्ञानेन्द्र शाहले सहयोग गरेको भन्ने चर्चा पनि छ। खास के हो यो बुझाइदिनु न ?

पूर्वराजाले सहयोग गर्ने वा नगर्ने कुरा होइन । स्वाभाविक रुपमा नेपालमा राजसंस्था चाहिन्छ भन्ने एकमात्रै राजनीति पार्टी भएको नाताले पूर्वराजाको शुभेच्छा सद्भाव हुने नै भयो । हामीले उहाँको समर्थन छ/छैन भन्ने कुरा उहाँ एउटा राजनीतिक दलको मात्रै राजा होइन । हामीले परिकल्पना गरेको र नेपालमा राजसंस्था चाहिन्छ भनेर मुद्दा उठाए पनि हामीले पार्टीको राजा चाहिन्छ भनेको होइन । हामीले देशको साझा राजा खोजेका हौँ । देशको राजा र सबैको राजा खोजेको हुनाले यो चुनावको राजनीतिमा राजसंस्थालाई मुछ्नु हुँदैन भन्ने कुरामा हामी स्पष्ट छौँ ।

यहाँलाई विश्वास लाग्छ राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय दल बन्छ ?

यो प्रश्न आफैँमा कति ठीक कति बेठीक छ, हेर्नुहोला । जनताको लहर र अहिलेको परिस्थितिले राष्ट्रिय प्रजातन्त्र पार्टी देशको पहिलो अथवा दोस्रो शक्ति बन्छ । देशभर हाम्रो पार्टीमा विश्वास गर्नेहरू बढेका छन् । राजसंस्था पुनर्स्थापना होस् भनेर जेन-जीहरूले नै भनिसकेका छन् नि !

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  ७ : २२ बजे

जुम्ला जिप दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरबाट उद्धार

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी

हाम्रो सरकार नढालेको भए जेनजी आन्दोलन नै हुने थिएन : नारायणकाजी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ- आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका

एमाले घोषणापत्र : श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याइने

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा निर्वाचन २०८२ घोषणापत्र