काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विभिन्न पाँच जिल्लाका सहकारीको बचत रकम ठगी गर्दा प्रत्यक्ष संलग्न रहेको प्रमाण सार्वजनिक गरेका छन्।
काठमाडौंमा बिहीबार आयोजित खुला प्रश्नोत्तर कार्यक्रमका क्रममा उनले सहकारीको करोडौं रुपैयाँ बचत रकम ठगी र हिनामिनामा पूर्वगृहमन्त्री तथा गोर्खा मिडिया नेट्वर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेको संलग्नता पुष्टि हुने आधारसहितका अदालता कागजात र चेकहरूको विवरण सार्वजनिक गरिदिएका हुन्।
प्रश्नोत्तरका क्रममा थापालाई रविको संलग्नताबारे प्रश्न आएपछि उनले त्यसबारे व्याख्यासहित प्रमाण सार्वजनिक गरिदिएका हुन् । ‘साथीहरूले कमेन्टमा प्रमाण खोइ भन्नुहुन्छ, म आज यहाँ प्रमाणसहित उपस्थित भएको छु,’ उनले भने, ‘यो मैले आफैं बनाएर यो लगाएको आरोप होइन, सम्मानित सर्वोच्च अदालतको डिभिजन बेन्चको फैसला र विभिन्न जिल्ला अदालतमा पेश भएका तथ्यहरू हुन्।’
थापाले चितवन र रुपन्देहीका अदालतले मुद्दाको आदेश दिँदा प्रस्तुत गरेका मिसिलको पनि चर्चा गर्दै सहकारीका सदस्य नै नरहेका लामिछानेको नाममा करोडौँ रुपैयाँ ऋण प्रवाह भएको पुष्टि भइसकेको उल्लेख गरे ।
लामिछानेले जीबी राईसँगै लगानीकर्ता र कर्मचारीका रुपमा गोर्खा मिडिया नेट्वर्कमा छँदाको समयमा विभिन्न सहकारीहरूबाट गैरकानुनी रुपमा ल्याएको रकम आफैंले पटक पटक चेक काटेर खर्चेको पनि खुलाएका छन् । लामिछानेले सहकारीबाट आएको उक्त रकम गोर्खा मिडियामा रविले आफ्नै हस्ताक्षरबाट चेकहरूमार्फत् भुक्तानी गरेको देखिएको कागजपत्र पनि थापाले सार्वजनिक गरिदिएका छन्।
‘जिल्ला अदालत चितवनको रेकर्ड विवरढअनुसार रवि लामिछानेको नाममा सहारा सहकारी संस्थाबाट ११ करोड ७० लाख रुपैयाँ गोर्खा मिडियामा गएको देखिन्छ’, थापाले भने, ‘सहकारीबाट गएको रकम गोर्खा मिडियामा खर्च गर्ने क्रममा उहाँ आफैँले हस्ताक्षर गरेका ४१४ वटा चेक भेटिइसकेका छन् ।’
उता रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाबाट पनि रविले गैरकानुनी रुपमा बिनाधितो २ करोड रुपैयाँ लगेको भेटिएको उनले बताए । गगनका अनुसार उक्त रकम रवि लामिछानेको व्यक्तिगत नाममा ऋणका रुपमा लिएको भेटिएको हो ।
यस प्रकरणमाा थापाले सर्वोच्च अदालतको वेबसाइटमा राखिएका फैसलाको बुँदा पढ्न पनि सुझाएका छन् । थापाले लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक हुनुअघि नै सञ्चालक समितिको बैठकमा सहभागी भई बैंक खाता खोल्ने निर्णयमा सही गरेर संलग्न रहेको पनि खुलाएका छन् ।
‘उहाँले निःशुल्क सेयर पाएको दाबी गर्नु भएको छ। तर उक्त सेयर लगानी गर्न सहकारीकै रकम प्रयोग भएको देखिएको छ,’ थापाले भने, ‘कम्पनीबाट अलग भएको भनिएको मितिपछि पनि सयौँ चेकमा उहाँले हस्ताक्षर गरेको भेटिएको छ। छाडिसकेको कम्पनीमा गएर फेरि चेकमा हस्ताक्षर निरन्तर गरिरहनुबाट अर्को बदमासी पनि पुष्टि भएको छ।’
त्यसक्रमममा थापाले यी सबै तथ्य सार्वजनिक दस्तावेजका रूपमा अदालतलदेखि संसदीय छानबिन समितिसँग पनि रहेको बताएका छन् । अहिले पनि हेर्न चाहनेका लागि सर्वोच्च अदालतको वेबसाइटमा यस प्रकरणका कागजपत्र सुरक्षित रहेको उनले खुलाएका छन् ।













प्रतिक्रिया