जनताले ठूलो भारी बोकाउनुभएको छ, दायाँबायाँ गर्ने छुट रास्वपालाई छैन : विपिन आचार्य « Khabarhub

जनताले ठूलो भारी बोकाउनुभएको छ, दायाँबायाँ गर्ने छुट रास्वपालाई छैन : विपिन आचार्य

नसोचेको जनमत आएको छ, खेर जान दिँदैनौँ



काठमाडौं- विपिन आचार्य स्थापनाकालदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध छन् । पार्टीको व्यवस्थापन पक्ष सम्हाल्दै आएका उनले २०७९ को निर्वाचनमा प्रत्यक्ष लडेनन्, समानुपातिकमा पनि परेनन् । ०८२ मा भने उनलाई पार्टीले समानुपातिकको खस आर्यतर्फ पहिलो नम्बरमा राखेको थियो । तर उनले उम्मेदवारी फिर्ता गरेर दाङ-२ बाट प्रत्यक्ष चुनाव लडे । उनले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरिदिए । सभापति रवि लामिछानेनकिट उनले बालेन्द्र साह नेतृत्वको शक्तिशाली सरकारमा कुनै एक मन्त्रालयमा पाउने पनि चर्चा छ । खबरहबसँगको कुराकानीमा भने उनी पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने बताउँछन् । तर आफू पद र भाग खोज्दैन नहिँड्ने उनले बताए ।

विपिनले चैतको दोस्रो साताभित्र बालेन्द्र प्रधानमन्त्री बन्ने कुरामा द्विविधा नरहेको सुनाए । पाँचै वर्ष बालेन्द्रले सरकार चलाउनुहुन्छ ? भन्ने प्रश्नमा भने उनले प्रष्ट जवाफ दिएनन् । उनले भने, ‘हामीलाई नागरिकले म्यान्डेट त्यही भनेर दिनुभएको हो । जे बाचा गरेका छौँ, त्यो पूरा गर्छौँ ।’ रविले पार्टी चलाउने हो ? भन्ने प्रश्नमा पनि विपिन खुलेर बोल्न चाहेनन् ।

तर, पार्टीका अरु नेताहरू भने रवि यो पटक बालेन्द्र सरकारमा नगएर पार्टी मात्रै चलाउने कुरामा लगभग सहमति भएको बताउँछन् । मन्त्रिपरिषद्को विषयमा विपिनले भने, ‘राम्रा मान्छे नहुँदा समस्या हुन्थ्यो । सही मान्छेहरूको बीचमा अझ सही छान्न पाउनु यो चाहिँ सुखद समस्या हुन्छ ।’

विपिनले पार्टीले दुईतिहाइ बहुमतनजिकको सिट ल्याएको विषयलाई अनपेक्षित नतिजाको संज्ञा दिए । जनताले पार्टीलाई ठूलो भारी बोकाएकाले यसलाई सामान्य रूपले लिन नमिल्ने उनको भनाइ छ । यसबारे भन्छन्, ‘यो त ठूलो भारी हो । यो तहको माया, अपेक्षा र भरोसा मतदाताले गर्नुभएको छ, यो एकदमै ठूलो भारी हो । यसलाई सामान्य रूपमा लिन थाले हामीले जनतालाई न्याय गर्दैनौँ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रभन्दा एक इन्च पनि तलमाथि नभइ कार्यभार पूरा गर्ने उनी बताउँछन् । उनने त्यसै अनुसार पार्टीले आगामी रणनीति बनाइरहेको उल्लेख गरे । व्यक्तिगत महत्वाकाङ्क्षाबाट माथि उठेर काम गर्ने बताउँदै उनले भने, ‘जनतासँगको बाचा पूरा गरेनौँ भने अर्कोपटक अनुहार कसरी देखाउनु ?’

विपिनले नयाँ शक्तिका रुपमा उदाएको हर्क साम्पाङको श्रम संस्कृति पार्टीसँग अहिले नै सहकार्य गरेर जाने अवस्था नरहेको स्पष्ट पारेका छन् । उनीसँग निर्वाचनको नतिजा, अबको सरकार, अन्य दलसँगको सहकार्य र समग्र वस्तुस्थितिबारे खबरहबले कुराकानी गरेको छ ।

बधाई छ यहाँहरूलाई दुईतिहाइ नजिकको सिट ल्याउनुभएको छ, अब कसरी काम गर्ने सोच बनाउनुभएको छ ?

हामीले कस्तो खालको काम गर्छौँ भन्ने कुरा घोषणापत्रमा लेखिसकेकाले त्यसभन्दा बाहिर जाँदैनौँ । फागुन ७ गते सार्वजनिक बाचापत्र अनुरुप नै गतिविधि अगाडि बढाउछौँ । अतिआवश्यक र बाचापत्रमा भएका कुरा पहिले गरेर देखाउँछौँ ।

यहाँहरूले दुईतिहाइ नजिकको सिट आउने अपेक्षा गर्नु भएको थियो ?

नागरिकको माया फिल गरिरहेको पार्टीले अपेक्षा त राख्छ, तर यति धेरै र यस्तो ठूलो जिम्मेवारीका साथ मत दिनुहुन्छ भन्ने लागेको थिएन । अपेक्षा थियोभन्दा पनि यही व्यवस्थाअनुसार पत्याउने कुरा होइन । अब थिएन भन्दा पनि आएको छ ।

हामीले त ट्यागलाइन पनि ‘देशलाई उपहार रास्वपाको दुईतिहाइ सरकार’ भनेका थियौँ । तर बाहिरका व्यक्तिहरूले विश्वास गर्नुभएन । हाम्रो राम्रै सङ्ख्या आउँछ भनेर अपेक्षा त गरेको हो । तर नै यति सङ्ख्यामा आउला भन्ने थिएन, यो परिणाम त आश्चर्यजनक नै हो ।

उसो भए सरप्राइज हुनुभयो?

नम्बर र संख्यामा हामीले यतिसम्म काउन्ट गरेको थिएनौँ । यस पटक नागरिकले हामीलाई माया गर्नुहुन्छ भन्ने चाहिँ थियो । नागरिकले परिवर्तन चाहेका कुराको अनुभूति गरेका थियौँ । यति धेरै नम्बरमा सिट आउने अपेक्षा थिएन । तर बहुमत आउने अनुमान लगाएका थियौँ । प्रत्यक्षमै यति धेरै सिट आउला भन्ने कल्पना थिएन । यही संविधानलाई टेकेर जनताले हामीमाथि अहिलेसम्मकै ठूलो भरोसा देखाउनुभएको छ, यसलाई पूरा नगर्ने छुट हामीलाई छैन ।

तपाईंहरूलाई भारी महसुस पो भयो कि ?

भारी त हामीले धेरै बोकेका छौँ । जुन माया देशका हरेक कुनाबाट पाएका छौँ, त्यो सानो जिम्मेवारी होइन । यो जिम्मेवारी बोध गरिएन र यसलाई सामान्य मानियो भने हामी कसरी काम गर्न सक्छौँ ? यो त ठूलो भारी हो । मतदाताले जुन तहको माया, अपेक्षा र भरोसा गर्नु भएको छ, यो एकदमै ठूलो भारी हो । यसलाई सानो भन्न मिल्दैन ।

सानो भारी मान्नु पनि हुँदैन । बुधबार सभापति रवि लामिछानेले अभिमुखीकरणमा भनेजस्तो हामीलाई आशीर्वाद दिँदै बुबाआमाले देश बचाउन भन्नुभएको छ । त्यो आशीर्वाद कसरी सानो हुन्छ ? त्यो भारी त एकदमै ठूलो हो । जनताले दिएको यो भारीलाई पूरा गर्ने प्रयत्नमा हामी लागेनौँ भने अर्कोपटक उहाँहरूसँग पुग्न पनि सक्दैनौँ । यताउता र ल्याङल्याङ गर्ने छुट हामीलाई छैन ।

फरक कुरा गरौँ, अबको योजना के छ ? सरकार कहिलेसम्म बन्छ ?

हामी नआत्तिई विधि स्थापित गरेर अगाडि बढ्छौँ । हामीले गर्ने कामहरू विधिमा आधारित होस् भनेरै लागेका छौँ । सरकार गठनको प्रक्रिया समानुपातिकको प्रमाणपत्र वितरण भइसकेपछि सुरू हुन्छ । हामी व्यक्तिगत महत्वाकाङ्क्षाभन्दा माथि उठेर काम गर्छौँ । हाम्रा हरेक क्रियाकलापको अनुभूति जनता र यहाँहरुले गर्न सक्नुहुन्छ । जनतासँगको बाचा पूरा गरिएन भने अर्कोपटक यो अनुहार कसरी देखाउनु र ?

अबको प्रधानमन्त्री को हो भन्ने नै अलमल भयो, जनताले शङ्का गरे, पार्टीको सह-ममन्त्रीका नाताले निदिनु न ?

अबको प्रधानमन्त्री बालेन्द्र साह नै हो । तपाईंले प्रश्न सोधेको भएर मात्रै मैले उत्तर दिएको हो । बालेन्द्र प्रधानमन्त्री हुने विषयमा न हिजो विवाद थियो न आज पार्टीभित्र विवाद छ । देश बनाउने भनेर जोडिएका साथीहरू बीचमा सुमधुर सम्बन्ध नहुनुपर्ने कुनै कारण नै छैन ।

पार्टीभित्र शक्ति सन्तुलनलाई लिएर मनमुटाव सुरु भएको हो ?

जनताले जुन कुरा हामीलाई गर भनेर म्यान्डेट दिएर पठाउनुभएको छ, त्यो कुरा हामी गर्छौँ । पार्टीभित्र मनमुटाव, ल्याङल्याङ र शक्ति सन्तुलनको विषयलाई लिएर तलमाथि गर्ने छुट हामीलाई छैन र गर्दैनौँ पनि । जनतासँग हामीले जे-जे कुराहरु गर्छौँ भनेर वाचा गरेका छौँ, त्यसमा एक इन्च तलमाथि हुँदैन । पार्टी सभापति, वरिष्ठ नेता, अन्य शीर्ष नेता र सबैको कुरा कहीँ पनि नमिलेको र तलमाथि भएको छैन । बाहिर जुन प्रचार गर्न खोजिएको छ, यतिबेला म निर्धक्क भन्छु- पार्टीभित्र कुनै हिसाबले मनमुटाव भएकै छैन ।

यहाँहरूले केन्द्रीय कमिटीको बैठक बोलाउनुभएको छैन। कहिले बोलाउनुहुन्छ ?

आयोगले आज समानुपातिकका साथीहरूलाई सर्टिफिकेट दिइसकेको छ । संसद् सचिवालयले जुन कार्यसूची बनाउँछ, त्यसलाई आत्मसात गर्ने हिसाबले हामी सेड्युल बनाउँछौँ । केन्द्रीय कमिटीको बैठकबाट विधान संशोधन गरेर बालेन्द्रज्यूलाई संसदीय दलको नेता चयन गर्नुपर्ने जिम्मेवारी छ । अब यो कुरा हामीले आइतबारसम्म सक्ने तयारी गरेका छौँ ।

तपाईंले यसो भन्नुको अर्थ चैतको दोस्रो साता नयाँ सरकार बन्छ हो ?

यो ठ्याक्कै संसद सचिवालयको मितिसँग पनि जोडिने भएकाले हाम्रो पक्षबाट ढिला हुँदैन । संसद् सचिवालयले काम गरिदिनुभयो भने पार्टीले आफ्नो तर्फबाट ढिलो गर्दैनौँ । सम्भवत: चैतको दोस्रो साता भनेको १४ गतेसम्म नयाँ सरकार बनिसक्छ । तर यो पार्टीको मात्रै निर्णयको कुरा नभएकाले प्रक्रियागत रुपमा जाँदा केही तलमाथि पनि हुनसक्छ ।

मन्त्रिपरिषद् बनाउन चाहिँ यहाँहरुलाई कठिन छ है ? आकांक्षी व्यवस्थापनमा चुनौती देखियो नि !

यहाँले भनेजस्तो सबै जना आ-आफ्नो क्षेत्रमा अब्बल नेताहरू भएकाले यो चुनौती गज्जबकै छ । राम्रा मान्छे नहुँदा पनि समस्या, सही मान्छेबीचमा अझ सही छान्न यो चाहिँ सुखद समस्या हुन्छ । सही र गलत मान्छे भइदिएको भए गलतलाई छोडेर सही छान्न ठिक्क हुन्थ्यो । सबै सही भइसकेपछि अलिकति चुनौती हुन्छ ।

यहाँ आफूचाहिँ मन्त्री दाबेदार हो कि होइन ?

पार्टीले जे जिम्मेवारी दिन्छ, म त्यो लिन तयार छु । मेरो दाबेदारीको कुरै छैन । म जिम्मेवारी लिने मान्छे हुँ । जुनसुकै जिम्मेवारी लिन्छु, तर मन्त्री हुनेतिर सोचेको छैन । म भर्खर त सांसद बन्दैछु । सांसद बनेर गर्नुपर्ने धेरै काम छन् । जो भए पनि बन्ने हो, त्यसैले त्यसलाई त्यही रुपमा बुझिदिन आग्रह गर्दछु ।

पार्टी निर्माणमा धेरै लागे पनि पहिलो पटक प्रत्यक्ष लड्नुभयो, छोटो अनुभव सुनाइदिनु न ?

प्रत्यक्ष निर्वाचनको आफ्नै अनुभव हुँदो रहेछ । नागरिकहरूले हामीप्रति देखाउनुभएको माया, आशीर्वाद र अपनत्व पहिलो पटक अनुभव गर्न पाएँ । जनतासामु पुग्दा हामीप्रतिको माया र विश्वास देखेर मेरा आँखा धेरै पटक रसाए । त्यसलाई मैले जिम्मेवारीका रुपमा लिएको छु । कसलाई हराएँ, पराजित गरेँ भन्दा पनि नागरिकको अपेक्षा र आशा पूरा गर्न धेरै मिहिनेत गर्नुपर्ने हिसाबले अगाडि बढ्दैछु । मैले अझै धेरै काम गर्नु छ । मिहिनेत गर्छु।

पार्टीले अभिमुखीकरण पनि सम्पन्न गरेको छ, अब संसद्मा कसरी प्रस्तुत हुने होला ?

दुई दिनको सेसनमा सबै कुरा सिकिँदैन । सिक्नुपर्ने र आफूले मिहिनेत गर्नुपर्ने धेरै कुरा छन् । धेरै कुरा जान्नु र सिक्नुपर्नेछ अध्ययन गर्नुपर्नेछ । यो त केबल सुरुवात हो ।

अर्को कुरा, राष्ट्रिय मुद्दामा सहमति कायम गर्न र नयाँहरू मिल्ने नारालाई अवलम्बन गर्न हर्क साम्पाङसँग सहकार्य सम्भव छ ?

अहिले हामी त्यो बिन्दुमा छैनौँ । देशलाई माया गर्ने सबै जनासँग सहकार्य, सद्भाव र चाहिएको विषयमा मिलेर अगाडि बढ्न सकिन्छ । अहिले चाहिँ यो सरकारमै सहकार्य गरेर जान सम्भव छैन । राष्ट्रिय स्वतन्त्र पार्टीले नै सबैथोक गरोस्, कुनै अवरोध नहोस् भनेर जनताले कार्यभार सुम्पिनु भएको छ । हामी कसरी सु-संस्कृत राजनीति गर्ने र त्यही ट्रयाकमा देशलाई अगाडि बढाउने भन्नेमै छौँ । सही व्यक्तिबाट आउने गाली-ताली सबै कुरा शीरोधार्य गरेर अगाडि बढ्छौँ ।

मन्त्रिपरिषद्को आकार घटाउने विषय पनि उठेको छ। खास कति राख्न खोज्नुभएको ?

हामीले बाचापत्रमै आवश्यक परेका मन्त्रालय राख्ने भनेका छौँ। अहिले यतिउति नै अङ्कमा भन्दा कानुनी पाटा र कार्यभार कम भएका मन्त्रालयलाई नराख्ने योजना छ । मन्त्रिमण्डललाई छरितो बनाउँछौं । यति नै भनेर किटान गर्न सकिनँ तर २५ पुग्दैन, धेरै सानो हुन्छ। हामीले बाचापत्रमा राखेका कुरा पूरा गरेनौँ भने अर्कोपटक कुन नैतिकताका आधारमा भोट माग्न जाने ? त्यसकारण हामी मन्त्रालयका आकार घटाउँछौं।

उसो भए अब सरकारको नेतृत्व बालेन्द्रले गर्नुहुन्छ, पार्टी चाहिँ रवि लामिछानेले चलाउनुहुन्छ ?

सायद त्यस्तै हुन्छ होला । तर यस विषयमा यहाँलाई म फेरि भन्छु, यसबारे गहिरोसँग कुरा हुन पाएको छैन । प्रधानमन्त्रीको विषयमा कुनै पनि द्विविधा छैन ।

उसो भए बालेन्द्र प्रधानमन्त्री भएको सरकार पाँचै वर्ष चल्छ ?

मतदाताले हामीलाई त्यसैको म्यान्डेट दिनुभएको हो । एउटा अनुहार देखाएर अर्को काम गर्ने हाम्रो संस्कार छैन । नागरिकले के भन्नुभएको छ र हामीले उहाँहरुसँग के वाचा गरेका छौँ, हामी त्यही अनुसार अगाडि बढ्छौँ । नागरिकले हामीलाई हामीले आफ्नो काम गर्‍यौँ, अब तिमीहरू देश बनाउने काममा लाग भनेर प्रष्ट म्यानडेट दिनुभएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  ६ : ५४ बजे

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित

कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ — धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा बाढीका कारण