वन्यजन्तु सप्ताह : सचेतना र संरक्षणमा जोड « Khabarhub

वन्यजन्तु सप्ताह : सचेतना र संरक्षणमा जोड


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु सप्ताह विभिन्न जनचेतनामूलक तथा प्रवर्द्धनात्मक कार्यक्रमसहित सञ्चालन भइरहेको छ । ‘सुरक्षित मानिस, सुरक्षित वन्यजन्तु : जैविक विविधताको सदुपयोग, समृद्धिको सेतु’ भन्ने मूल नाराका साथ वैशाख १ देखि सप्ताह मनाइँदै छ ।

निकुञ्जका सहायक वार्डेन विनयकुमार झाले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै क्षति घटाउने र जैविक विविधताको दिगो उपयोगमार्फत समृद्धि हासिल गर्ने उद्देश्यका साथ कार्यक्रम भइरहेको बताए ।

उनका अनुसार, निकुञ्जको मुख्य कार्यालय मझगाउँमा सरसफाइ कार्यक्रमसँगै वन्यजन्तु, वातावरण तथा जैविक विविधताबारे सचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिएको छ । स्थानीय समुदाय, विद्यार्थी र सरोकार भएका निकायको सहभागितामा संरक्षणसम्बन्धी जानकारी दिइएको छ ।

निकुञ्जका रेञ्जर प्रयास केसीले सोमबार (वैशाख ७) पूर्वी सेक्टर अर्जुनीस्थित पूर्व–पश्चिम महेन्द्रराजमार्ग क्षेत्रमा सरसफाइ कार्यक्रम र वन्यजन्तु, जैविक विविधता र संरक्षणसम्बन्धी कार्यक्रम आयोजना गरी सप्ताह समापन गरिने बताए । वन्यजन्तु सप्ताहका अवसरमा निकुञ्जमा बाह्रसिङ्गा (स्वाम्प डियर) गणना कार्यक्रमसमेत सुरु गरिने उनले जानकारी दिए ।

गणनाका क्रममा बाह्रसिङ्गाको सङ्ख्या, वासस्थान र आहाराको उपलब्धताबारे विस्तृत अनुगमन गरिने रेञ्जर केसीले बताए ।

अघिल्लो गणनामा यहाँ बाह्रसिङ्गाको सङ्ख्या दुई हजार ३०३ रहेको पाइएको थियो । यसपटक संरक्षणका प्रयासलाई थप बढावा दिइएकाले त्यो सङ्ख्या वृद्धि भएको अनुमान गरिएको छ ।

नेपालमा सन् १९८० को दशकदेखि सुरु भएको संरक्षण अभियानबाट दुर्लभ वन्यजन्तुको संरक्षण र सङ्ख्या वृद्धिमा उल्लेखनीय सफलता हासिल भएको छ ।

यस्ता उपलब्धि सरकारी, सुरक्षा निकाय, स्थानीय समुदाय र संरक्षण साझेदारबीचको सहकार्यबाट सम्भव भएको निकुञ्ज व्यवस्थापनले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  १० : ५६ बजे

आज २०८३ साल असार ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३ गते बुधबार । सन्

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि