नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन। यो त्याग, सङ्घर्ष, जेल, यातना, आन्दोलन, सम्झौता, असहमति र धेरै गहिरा व्यक्तिगत पीडाको पनि इतिहास हो। त्यसैले नेपालको राजनीतिक इतिहासमा लामो समय योगदान गरेका कुनै व्यक्तिको मूल्याङ्कन गर्दा उसको वर्तमान विवाद वा राजनीतिक लोकप्रियताका आधारमा मात्र निष्कर्ष निकाल्नु न्यायोचित हुँदैन। त्यसैगरी विगतको योगदानका नाममा वर्तमानका प्रश्न र सम्भावित कमजोरीलाई ढाकछोप गर्नु पनि लोकतान्त्रिक संस्कार होइन। यही सन्दर्भमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको राजनीतिक जीवनलाई पनि निष्पक्ष भएर हेर्नु आवश्यक छ।
शेरबहादुर देउवा जन्मिएकै जिल्लामा यो पङ्क्तिकारको जन्म भएको हुनाले, उहाँजस्तो व्यक्तित्व र देशको प्रधानमन्त्री पाँच–पाँच पटकसम्म बन्न सफल नेता आफ्नै जिल्लामा जन्मनुले गर्व महसुस गर्नु स्वाभाविकै हो। तर, शेरबहादुर देउवासँग मेरो कुनै व्यक्तिगत सम्बन्ध, पारिवारिक सम्बन्ध वा विशेष सम्पर्क छैन। म उहाँको राजनीतिक दल नेपाली काङ्ग्रेसको कार्यकर्ता पनि होइन। उहाँको पक्षमा राजनीतिक लाभ खोज्ने वा उहाँको बचाउ गर्नुपर्ने मेरो कुनै व्यक्तिगत कारण वा राजनीतिक लेनदेन छैन।
त्यसैले यो लेखलाई शेरबहादुर देउवाको प्रशंसा वा एकपक्षीय समर्थनको दस्तावेजका रूपमा नबुझियोस्। न त यो पूर्वाग्रही विरोध हो। मेरो आग्रह केवल एउटै हो- इतिहासलाई इतिहासकै आँखाले हेरौँ र वर्तमानका प्रश्नलाई कानुनकै आँखाले हेरौँ। सुदूरपश्चिमको डडेलधुराजस्तो भौगोलिक र विकासका दृष्टिले लामो समयसम्म पछाडि परेको क्षेत्रबाट उठेर नेपालको राष्ट्रिय राजनीतिमा आफ्नो छुट्टै स्थान निर्माण गर्नु सामान्य कुरा होइन।
मेरो आग्रह केवल एउटै हो- इतिहासलाई इतिहासकै आँखाले हेरौँ र वर्तमानका प्रश्नलाई कानुनकै आँखाले हेरौँ। सुदूरपश्चिमको डडेलधुराजस्तो भौगोलिक र विकासका दृष्टिले लामो समयसम्म पछाडि परेको क्षेत्रबाट उठेर नेपालको राष्ट्रिय राजनीतिमा आफ्नो छुट्टै स्थान निर्माण गर्नु सामान्य कुरा होइन।
देउवाको राजनीतिक यात्रा विद्यार्थी अवस्थादेखि नै सङ्घर्षसँग जोडिएको देखिन्छ। पञ्चायती व्यवस्थाविरुद्धको राजनीतिक आन्दोलनमा सक्रिय हुँदै उहाँले लामो जेल जीवन र विभिन्न प्रकारका यातना भोग्नुभयो। दलमाथि प्रतिबन्ध रहेको र राजनीतिक विचार राख्नु नै जोखिमपूर्ण रहेको त्यो कठिन समयमा राजनीतिमा लाग्नु भनेको पद र प्रतिष्ठाको खोजीभन्दा ठूलो जोखिम मोल्नु थियो।
आजको जस्तो खुला र स्वतन्त्र राजनीतिक वातावरण उतिबेला थिएन। आज त सामाजिक सञ्जालमा आफ्ना विचार र अभिव्यक्ति दिएर सजिलै कसैको समर्थन वा विरोध गर्न सकिन्छ, घरमै बसेर राजनीतिक नेतृत्वको आलोचना वा प्रशंसा गर्न पाइन्छ। तर, उतिबेलाको समय त्यस्तो थिएन। आफ्नो विचार राख्नु वा राजनीतिक रूपमा सङ्गठित हुनु भनेको सीधै राज्यको दमनमा पर्नु, सर्वस्वहरण हुनु वा जीवन नै जोखिममा पार्नु थियो।
पञ्चायती व्यवस्थाको समयमा राजनीतिक गतिविधिमा संलग्न हुनु आफैँमा अत्यन्तै जोखिमपूर्ण काम थियो। त्यो पुस्ताका नेताले भोगेको सङ्घर्षलाई आजको सुविधाजनक राजनीतिक वातावरण र सामाजिक सञ्जालको सजिलो अभ्यासबाट मूल्याङ्कन गर्दा हामीले इतिहासको त्यो कठिन समयलाई पनि गम्भीरतापूर्वक सम्झनुपर्छ।
देउवाको राजनीतिक जीवनमा जेल, गिरफ्तारी, कुटपिट र यातनाका प्रसङ्ग जोडिएका छन्। तर, कुनै राजनीतिक नेताको आलोचना गर्दा उसका राजनीतिक निर्णयको आलोचना गर्न सकिन्छ, उसका शासनकालका कमजोरीमाथि प्रश्न उठाउन सकिन्छ, तर लोकतन्त्रका लागि उसले भोगेको सङ्घर्षलाई इतिहासबाट मेट्न सकिँदैन।
देउवा पाँच पटक नेपालको प्रधानमन्त्री बन्नुभयो। डडेलधुराबाट लगातार सात वटा निर्वाचन जितेर प्रतिनिधित्व गर्नुभएको तथ्य सार्वजनिक अभिलेखमा छ। कसैले यसलाई उहाँको राजनीतिक सफलताको प्रमाण मान्न सक्छ, कसैले लामो समयसम्म सत्ता र पार्टी राजनीतिमा प्रभाव कायम राख्न सक्ने क्षमताका रूपमा बुझ्न सक्छ, त कसैले उहाँको शासनशैली र राजनीतिक निर्णयको आलोचना पनि गर्न सक्छ। यी सबै दृष्टिकोण लोकतन्त्रमा स्वीकार्य छन्।
कुनै राजनीतिक नेताको आलोचना गर्दा उसका राजनीतिक निर्णयको आलोचना गर्न सकिन्छ, उसका शासनकालका कमजोरीमाथि प्रश्न उठाउन सकिन्छ, तर लोकतन्त्रका लागि उसले भोगेको सङ्घर्षलाई इतिहासबाट मेट्न सकिँदैन।
नेपालको समकालीन राजनीतिक इतिहास देउवाको नामबिना पूर्ण हुँदैन। डडेलधुराबाट एउटा व्यक्ति पटक–पटक निर्वाचित हुँदै देशको प्रधानमन्त्रीसम्म पुग्नु केवल व्यक्तिगत सफलता मात्र होइन, सुदूरपश्चिमका जनताको लामो राजनीतिक यात्राको पनि एउटा जीवन्त विम्ब हो। यसको अर्थ देउवाका सबै काम सही थिए भन्ने होइन, उहाँको योगदान र कमजोरी दुवैलाई एउटै तराजुमा राखेर हेर्नुपर्छ।
राजनीतिमा सबैभन्दा कठिन कुरा आफूले भोगेको पीडालाई बिर्सनु होइन, त्यो पीडालाई प्रतिशोधमा परिणत हुन नदिनु हो। देउवाले आफ्नो राजनीतिक जीवनमा धेरै किसिमका विरोध, अपमान, कुटपिट, जेल र राजनीतिक सङ्घर्ष भोग्नुभयो। माओवादी द्वन्द्वका क्रममा उहाँलाई लक्षित गरेर माओवादीले एम्बुस थापेको जस्ता गम्भीर हिंसात्मक घटना उहाँको जीवनमा जोडिएको पाइन्छ।
देउवाको राजनीतिक यात्रामा देखिएको एउटा अत्यन्तै अनुकरणीय पाटो भनेको आफूले भोगेका ती ठूला पीडा र आघातलाई कहिल्यै पनि व्यक्तिगत प्रतिशोधको स्थायी राजनीतिक हतियार बनाउनु भएन। हिजो आफूविरुद्ध द्वन्द्व सिर्जना गर्ने र एम्बुस थाप्ने माओवादीसँग समेत पछि गएर मिलेर सत्ता सञ्चालनदेखि अन्य सबै राजनीतिक विषयमा सहकार्य गर्दा उहाँले कुनै किसिमको प्रतिशोध साँध्नुभएन।
त्यसैगरी, २०८२ साल भाद्र २४ गतेका दिन उत्पन्न भएको जेन्जी विद्रोह वा त्यस क्रममा घटेका घटनाका बेला उहाँको घर जलेको र उहाँमाथि कुटपिटसमेत भएको थियो। त्यस्तो असहज र संवेदनशील परिस्थितिमा समेत उहाँले कसैप्रति कुनै किसिमको प्रतिशोधात्मक व्यवहार वा बदलाको भावना देखाउनु भएन।
लोकतन्त्रका लागि जेल र यातना भोगेका पुस्ताका नेताले आफ्ना अनुभवलाई संयमका साथ कसरी सम्झिन्छन् भन्ने यो एक ज्वलन्त उदाहरण हो। हिजो आफूमाथि हिंसा वा आक्रमण गर्नेसँग पनि राष्ट्रिय राजनीतिको आवश्यकताअनुसार संवाद र सहकार्यको बाटो खोज्ने यो राजनीतिक चरित्रले उच्च राजनीतिक परिपक्वताको पाठ सिकाएको छ।
नेपालको राजनीतिमा एउटा ठूलो समस्या के छ भने हामी राजनीतिक प्रतिस्पर्धालाई व्यक्तिगत शत्रुतामा परिणत गर्न खोज्छौँ। तर आजको विरोधी भोलिको सहयात्री हुन सक्छ र आजको प्रतिस्पर्धी भोलि राष्ट्रिय सङ्कटमा सहकार्य गर्नुपर्ने व्यक्ति हुन सक्छ। देउवाको लामो राजनीतिक यात्रामा विभिन्न राजनीतिक धारका व्यक्तिहरूसँग सहकार्य र संवादका प्रसङ्ग देखिन्छन्।
लोकतन्त्रमा सबै कुरा आफूले भनेजस्तो हुँदैन। सम्झौता र संवाद गर्नुपर्छ। यस अर्थमा देउवाको लामो राजनीतिक जीवनले नेपाली राजनीतिलाई एउटा महत्त्वपूर्ण पाठ दिएको छ- राजनीतिमा स्थायी शत्रु र स्थायी मित्रभन्दा स्थायी राष्ट्रिय स्वार्थ ठूलो हुनुपर्छ। साथै, उहाँले राजनीतिक रूपमा प्रतिबद्धता व्यक्त गरेका व्यक्ति तथा समूहसँग कठिन परिस्थितिमा पनि लामो समयसम्म सम्बन्ध कायम राख्ने प्रयास गर्नुभएको पाइन्छ।
हाम्रो राजनीतिक संस्कारको एउटा ठूलो कमजोरी के हो भने हामी व्यक्तिलाई या त भगवान् बनाउँछौँ या अपराधी। आफ्नो पक्षको नेता भए उसका सबै कमजोरीमा मौन बस्छौँ र विरोधी पक्षको नेता भए उसका सबै योगदानलाई अस्वीकार गर्न खोज्छौँ।
हाम्रो राजनीतिक संस्कारको एउटा ठूलो कमजोरी के हो भने हामी व्यक्तिलाई या त भगवान् बनाउँछौँ या अपराधी। आफ्नो पक्षको नेता भए उसका सबै कमजोरीमा मौन बस्छौँ र विरोधी पक्षको नेता भए उसका सबै योगदानलाई अस्वीकार गर्न खोज्छौँ। तर लोकतन्त्रको सुन्दरता यसमा होइन। लोकतन्त्रको सुन्दरता त त्यहाँ हुन्छ, जहाँ हामी भन्न सक्छौँ- “तपाईंले राम्रो गर्नुभएको ठाउँमा हामी सम्मान गर्छौँ, गल्ती गर्नुभएको ठाउँमा प्रश्न गर्छौँ र कानुन उल्लङ्घन गर्नुभएको प्रमाणित भए कारबाहीको माग गर्छौँ।”
देउवाका हकमा पनि यही दृष्टिकोण आवश्यक छ। उहाँले देशका लागि गरेको योगदानको सम्मान हुनुपर्छ, विवादास्पद निर्णयको आलोचना हुनुपर्छ र गम्भीर आरोप छन् भने निष्पक्ष अनुसन्धान हुनुपर्छ। तर आरोप लाग्नु र दोष प्रमाणित हुनु एउटै कुरा होइन।
कुनै पनि पूर्वप्रधानमन्त्री कानुनभन्दा माथि हुनुहुन्न। देउवा अपवाद हुने कुरै भएन। यदि उहाँमाथि कुनै आर्थिक, प्रशासनिक वा अन्य गम्भीर अनियमितताको आरोप छ भने राज्यले तथ्य र प्रमाणका आधारमा निष्पक्ष र पारदर्शी अनुसन्धान गर्नुपर्छ। सम्बन्धित व्यक्तिलाई आफ्नो तर्फबाट निष्पक्ष कुरा राख्ने अवसर दिनुपर्छ र दोष प्रमाणित भए कानुनअनुसार कारबाही हुनुपर्छ। तर, अनुसन्धानको नाममा व्यक्तिलाई सार्वजनिक रूपमा अपराधी घोषणा गर्ने, सामाजिक रूपमा अपमानित गर्ने वा राजनीतिक प्रतिशोध साध्ने प्रयास स्वीकार्य हुन सक्दैन।
राज्यले बदला होइन, न्याय दिनुपर्छ। आज राज्यले कुनै व्यक्तिलाई राजनीतिक पूर्वाग्रहका आधारमा निशाना बनायो भने भोलि त्यही हतियार अर्को राजनीतिक पक्षमाथि प्रयोग हुन सक्छ। त्यसैले हामीले व्यक्तिभन्दा माथि संस्थालाई र राजनीतिक भावनाभन्दा माथि कानुनलाई राख्नुपर्छ। भीडको हातमा न्यायको जिम्मेवारी सुम्पिनु भनेको लोकतन्त्रलाई कमजोर बनाउनु हो।












प्रतिक्रिया