काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा अधिवेशनले तीव्रता पाएको छ । महाधिवेशनको पूर्वतयारीका रूपमा असोज ३ गतेदेखि सुरु भएको वडा अधिवेशनको दोस्रो दिनसम्म ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न भएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ताप्लेजुङदेखि कैलालीसम्मका अधिकांश जिल्लामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयनको प्रक्रिया पूरा भएको हो। अधिवेशनमा सहभागी कांग्रेसका प्रतिनिधिहरूले उत्साहपूर्वक मतदान गर्दै वडा तहको नेतृत्व तथा क्षेत्रीय प्रतिनिधि चयन गरेका छन् ।
केन्द्रीय कार्यसमितिले तय गरेको कार्यतालिकाअनुसार कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुँदैछ। त्यसअघि वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला तहका अधिवेशन सम्पन्न गर्ने प्रक्रिया अघि बढाइएको छ ।
निर्वाचन समितिका अनुसार केही जिल्ला तथा निर्वाचन क्षेत्रमा भने वडा अधिवेशन सम्पन्न हुन बाँकी रहेको छ । रसुवा, नुवाकोट र धादिङका साथै सप्तरीका क्षेत्र नं. २ र ४, सिरहा, मोरङ क्षेत्र नं. ६, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नं. २ र परासी क्षेत्र नं. २ मा अधिवेशन बाँकी रहेको समितिले जनाएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालले जारी गरेको विज्ञप्तिमा बाँकी रहेका वडा अधिवेशन असोज ५ गते सोमबार पनि निरन्तर सञ्चालन हुने उल्लेख छ। तोकिएको कार्यतालिकाअनुसार बाँकी रहेका वडाको अधिवेशन प्रक्रिया पूरा गर्न सम्बन्धित जिल्ला तथा क्षेत्रका सरोकारवालालाई समितिले आग्रह गरेको छ।
कांग्रेसले १५औँ महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारीस्वरूप वडा तहदेखि नै संगठनात्मक तथा निर्वाचन गतिविधिलाई अघि बढाएको छ। वडा अधिवेशनबाट निर्वाचित हुने प्रतिनिधिहरू आगामी तहका अधिवेशन हुँदै केन्द्रीय महाधिवेशन प्रक्रियामा सहभागी हुनेछन्।












प्रतिक्रिया